बजार बढ्नुको कारण यस्तो छः अध्यक्ष ढुङ्गाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पुँजीबजारको विकास र विस्तारको लागि बोर्डले चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमा बढ्दै गएको बताएका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष ढुङ्गानाले साे बताएका हुन् । पछिल्लाे समय धितोपत्रको दोश्रो बजारमा सक्रिय लगानीकर्ताको उल्लेख्य वृद्धि भएको बताउँदै उनले कोरोनाको कारण सरकारले घोषणा गरेको लकडाउनको अवधिमा बोर्डको अग्रसरता तथा समन्वयमा नेप्से, सीडीएससीको कारोबार प्रणालीमा सुधार गरी पूर्ण रुपले अनलाइनमा कारोबार गर्न सक्ने व्यवस्था बनाइएको कारण लगानीकर्तालाई लगानी गर्न सहजता भएको जनाएका छन् । साथै, कारोबारको लागत घटाइएको कारणले बजारप्रति सर्वसाधारणको आकर्षण वृद्धि भएको छ । यससँगै, अर्थतन्त्रमा अन्य लगानीको क्षेत्रहरु संकूचन भएको छ । बैंकिङ्ग क्षेत्रमा तरलता प्रर्याप्त रहेकोले पनि दोश्रो बजारका गतिविधिहरु ऐतिहासिक रुपले वृद्धि भएको उनकाे भनाई छ । ‘लामो समयदेखि स्पष्ट नभएको पुँजीगत लाभकर स्पष्ट भएसँगै बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको हो । बजारको बढ्दो स्वरुपका कारण पछिल्लो समय नेपाल सरकारको राजश्वमा पुँजीबजार भरपर्दो श्रोतको रुपमा रहन थालेको छ । गत वर्षसम्म सरकारलाई पुँजीगत लाभकरका रुपमा मुस्किलले एक अर्ब रुपैयाँसम्म योगदान पुर्याउने पुँजीबजार अहिलेको अवस्थामा एक महिनामै एक अर्ब रुपैयाँभन्दा बढी योगदान गर्न सक्षम भएको छ । त्यसैले, सबै क्षेत्रबाट पुँजीबजारको महत्व बढेको छ ।’, उनले भने । हाल दोश्रो बजारको स्थिति पनि उत्साहजनक  रहेकाे छ । परिसूचकहरु ऐतिहासिक उचाईंमा पुगेका छन् । नेप्से परिसूचक गत असारमा १३६५ बिन्दुबाट अहिले २९ सय बिन्दुका हाराहारिमा पुगेको छ भने १७ अर्बको हाराहारीमा कारोबार हुन थालेको छ । कूल ग्रहास्थ उत्पादनमा बजार पुँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्रै रहेकोमा हाल कुल ग्रहास्थ उत्पादन बराबर बजार पुँजीकरण पुगेको छ । यसले धितोपत्र बोर्डको बजार र तरलता पनि बढेको पुष्टि गर्दछ । एक वर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या करिब ६ प्रतिशतले वृद्धि हाल ३५ लाख नाघेको छ । मेरो सेयर खाताको संख्या एक वर्ष नपुग्दै तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ । धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले ५ लाख लगानीकर्ताले भाग लिने गरेकोमा हाल करिब १८ लाखले आवेदन दिन सक्ने अवस्थाको सिर्जना भएको छ । २०७७ असारमा धितोपत्र दोश्रो बजार अनलाइन कारोबारको लागि करिब ३५ हजारले मात्रै युजर आईडी लिने गरेकोमा हाल उक्त संख्यामा १७ गुणा बढीले वृद्धि भई हाल ६ लाख ६० हजार भन्दा बढीले अनलाइन कारोबार सुविधा लिएका छन् । औषतमा ६ लाख लगानीकर्ताहरु कारोबार सक्रिय रहेका छन् र लगानीकर्ताहरु क्रमशः प्रविधिमैत्री बन्दै गएका छन् । चालु आर्थिक वर्षको १० महिनामै धितोपत्रको प्राथमिक बजारमार्फत करिब ७८ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन हालसम्मकै उच्च हो ।

पुँजी बजारमा नकारात्मक पार्ने क्रियाकलाप नगरियोस्, बोर्डको भूमिका प्रभावकारी होस्: अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारको नियामक निकायको रुपमा रहेको बोर्डको भूमिका प्रभावकारी बनाउन आग्रह गरेका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले बोर्डलाई आगामी दिनमा आफ्नो कार्यलाई सशक्त बनाउन आग्रह गरेको हुन् । पुँजीबजारलाई विश्वसनीय तुलाउनको लागि यसमा कुनैपनि प्रकारका अनियमितता, पुँजीबजारमा नकारात्मक पार्ने कुनै पनि क्रियाकलाप प्रवेश गर्न नपाउन् भन्नेतर्फ बोडले विशेष ध्यान दिनुपर्ने उनले बताए । ‘पछिल्लो समय पुँजीबजार आकर्षणको केन्द्रबिन्दु बनेको छ । लगानीकर्ताको संख्या र लगानीको आकार पनि बढ्दै गएको छ । जुन सरकारप्रति लगानीकर्ताको विश्वास रहेको भन्नेमा विश्वस्त छु,’ उनले भने । त्यस्तै, आउने दिनमा लगानीकर्ताको हित र संरक्षणको पक्षमा धितोपत्र बोर्डको भूमिका प्रभावकारी बनाउन र लगानीका क्षेत्र र दायराहरु थप विस्तार गर्न उनले जोड दिएका छन् । सम्बन्धित समाचार कमोडिटी मार्केट सञ्चालनको लागि आवश्यक गृहकार्य शुरु गर्न अर्थमन्त्री पौडेलको निर्देशन  

ग्लोबल आईएमई लघुवित्तको सेयर सूचीकृत, सोमबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । साविकको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात संस्थाको सो मात्राको सेयर आज(जेठ २३ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सूचीकृत सेयर भोलि(जेठ २४ गते) सोमबारदेखि दोश्रो बजारमा कारोबार हुने छ । ग्लोबल आईएमई लघुवित्तले पोखरामा रहेको स्पर्स लघुवित्तलाई १ बराबर ०.९० को अनुपातमा प्राप्ति गरेको थियो । स्पर्सलाई प्राप्ती पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४३ करोड रुपैयाँभन्दा बढी पुगेकाे छ । त्यस्तै, संस्थाले ९५ वटा शाखा मार्फत १ लाख १५ हजार ग्राहक सदस्यमा सेवा पुग्ने छ वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृतले बताए । सम्बन्धित समाचार ग्लोबल आईएमई लघुवित्तको २८.९२ प्रतिशत लाभांश पारित, स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने