फण्डमा मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले लगानीकर्तालाई भन्यो- धन्यवाद

काठमाडौं । गत जेठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री बन्द भएको छ । प्रभु क्यापिटलले जारी गरेको उक्त फण्डमा ४ दिनमै मागभन्दा बढी आवेदन परेसँगै आज(जेठ ९ गते)बाट निष्काशन बन्द भएको हो । क्यापिटलका अनुसार जेठ ९ गते साँझ ५ बजेसम्म उक्त फण्डमा करिब २ गुणाभन्दा बढी आवेदन परेको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिम दिन अपरान्ह ५ बजेसम्म १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ । जसमध्ये ८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको हो । त्यस्तै, फण्डमा मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले सम्पूर्ण लगानीकर्तामा धन्यवाद व्यक्त गरेको छ । लगानीकर्ताले क्यापिटलको पहिलो स्किम अन्तर्गतको प्रभु सेलेक्ट फण्डमा देखाएको विश्वास र उत्साहजनक सहभागिता रहेको धन्यवाद दिँदै यसले आगामी दिनमा थप उचाईमा पुग्न प्रेरणा मिल्ने पनि बताएको छ । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ करोड रुपैयाँ लगानी वापत १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड रुपैयाँ लगानी वापत १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

एचआईडीसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले सो मात्रा अर्थात शतप्रतिशत हकप्रद जारी गर्ने भएको हो । बोर्डले जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो । यससँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले अब केही समयमै सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईमई क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ ।

नेपाल बैंकर्ससहित विभिन्न ८ संघ मिलेर शुरु गरे हातेमालो सामाजिक अभियान

काठमाडौं । नेपाल बैंकर्स संघसहित विभिन्न ८ संघको संयुक्त पहलमा हातेमालो सामाजिक अभियान शुरु भएको छ । महामारीको समयमा विभिन्न सरोकारवालाहरु एक हुनुपर्ने आवश्यकता महसुस गर्दै नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले स्वैच्छिक रुपमा सामुहिक हिसाबले अघि आई हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका हुन् । हाल कोभिड १९ को महामारीले गर्दा नेपालको स्वास्थ्य प्रणालीमा पर्न गएको असरले मानव जीवनको अकल्पनीय क्षतिका साथै देश अहिले पनि यस चुनौतीसँग लडिरहेको अवस्थामा केही सहयोग हुने अपेक्षसहित उक्क अभियान शुरु गरिएको जनाइएको छ । यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आवद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम नागरिक समेतले संस्थागत र व्यतिगत रुपमा एकजुट भई सहयोग गर्ने थलोको रुपमा स्थापना गरिएको हो । र, यस कोषमा जम्मा भएको रकम तत्कालका आवश्यकतालाई मध्यनजर गर्दै प्रभावकारी ढंगबाट परिचालन गरिने जनाइएको छ । हातेमालो मार्फत समाजका सरोकारवाला र आम नागरिक समेतलाई यस विषम परिस्थितिको प्रभावकारी रुपमा सामना गर्न एकजुट भई आर्थिक सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।