१५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा १५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । ‘४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ ‘घ’’ नामक सो मात्राको ऋणपत्र आज (असार २ गते) नेप्सेमा थपिएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन भएका उक्त ऋणपत्र विकास ऋणपत्र धितोपत्र सूचीकरण विनियमाववली, २०७५ को विनियम ८ अनुसार सूचीकृत भएको हो । ५ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा ४.७९ प्रतिशत व्याजदर पाइने छ । जुन अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ । त्यस्तै, २०७८ जेठ १३ गतेदेखि निष्काशन भएको उक्त ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ १३ गते हुने जनाइएको छ ।
आधा घण्टामै पौने ३ अर्बको कारोबार, ३२ अंकले घट्यो नेप्से
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेकाे विज्ञप्तिको प्रभाव बुधबारको सेयर बजारमा परेको छ । जसकाे कारण नियमित कारोबार खुलेको ३० मिनेट नबित्दै नेप्से परिसूचकमा तीव्र उतारचढाव र उच्च कारोबार भइसकेको छ । ११ बजेर ३० मिनेट जाँदा नेप्से परिसूचक ३२.३३ अंकले घटेर २९८९.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०७ प्रतिशतले घटी हो । शुरुवातमा ओरालो लागेपछि बजार खुलेको १२ मिनेटमा बढेर ३०२३ बिन्दुमा पुगेको परिसूचक पुनः ३००० बिन्दु तल झरेको छ । यो अवधिमा उच्च कारोबार भइसकेको छ । आधा घण्टाको अवधिमै १९२ कम्पनीको पौने ३ अर्ब अर्थात २ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । ३० मिनेट नबित्दै कम्पनीको १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जसको मूल्य प्रतिकित्ता १८८५ रुपैयाँ रहेको छ । यो अवधिमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । उता सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर भने सर्किट लेभलमा कारोबार भएको छ । जसको मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ७३३ रुपैयाँ पुगेको छ ।
बोर्डको विज्ञप्तीले लगानीकर्ताको लगानीलाई भत्काउन सक्दैनः पौडेल
काठमाडौं । पुँजीबजारका भेट्रान लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बोर्डको विज्ञप्तीले लगानीकर्ताको लगानीलाई भत्काउन नसक्ने टिप्पणी गरेका छन् । लगानीकर्ताले लगानी गर्दा कम्पनीको बारेमा बुझेर लगानी गरेको हो भने त्यसलाई बोर्डले प्रकाशित गरेको विज्ञप्तीले कुनै असर नगर्ने उनको घारणा रहेको छ । साथै, उनले लगानीकर्तालाई आफ्नाे लगानी र छनौटमा दृढ हुन आग्रह गरेका छन् । र, त्यसमा प्रतिफल निश्चित पाइने उनले जानकारी गराए । ‘पक्कै पनि हामीले लगानी गर्दा तत् कम्पनीको बारेमा निश्चित मान्यता राखेर लगानी गरेका हौँ भनें हिजोको बोर्डको विज्ञप्तीले त्यसलाई भत्काउन सक्दैन । आफनो लगानी र छनौटमा दृढ बस्न सके प्रतिफल निश्चित छ। विश्वासको बाँधले कहिले काहीँ आउने अनपेछित बाढीलाई छेक्नु पर्दछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।