१ अर्ब रूपैयाँ बराबरको ‘प्रभु सेलेक्ट फण्ड’को बिक्री खुला, यस्तो छ भावी योजना

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तर्गत पहिलो योजना ‘प्रभु सेलेक्ट फण्ड’को निष्काशन तथा बिक्री खुला भएकाे छ । क्यापिटलले आज (जेठ ५ गते)देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० करोड इकाईकाे बिक्री खुला गरेकाे हाे । निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । र, बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले जेठ ५ गतेदेखि छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ । उनीहरूले न्यूनतम १०० र अधिकतम ८ करोड ५० लाख इकाइका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे छ । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो । नेपालको सेयरबजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये अधिकतम ३० वटा कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड राखिएको छ । यो योजना अन्तरगत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ । कसरी दिने आवेदन ? लगानीकर्ताले  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । तर हाल कोभिड महामारीका कारण अधिकांश बैंक वित्तिय संस्थाका शाखाहरु बन्द भएको हुँदा लगानीकर्ताले सिडिएससीले प्रदान गरेको मेरो सेयरमा लगइन गरेर समेत आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेरो सेयरमा गई माइ आस्बा मेनुभित्र क्लिक गरेर प्रभु सेलेक्ट फण्डको बार्यातर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फारममा आवश्यक विवरणहरु राखेर आवेदन दिन सक्नेछन् । फण्डबाट उठेको रकम ३० कम्पनीमा लगानी गर्छौं, लगानीकर्तालाई ३ गुणाबढी प्रतिफल दिन्छौं- गिरी

बजारले एकैदिन तीन नयाँ कीर्तिमान रचेसँगै नेप्सेले भन्यो- कारोबार गर्दा कुनै समस्या भए यसो गर्नुस्

काठमाडाैं । आज (जेठ ४ गते) मंगलबारकाे सेयर बजारमा तीन नयाँ कीर्तिमान कायम भएकाे छ । एकैदिन कारोबार रकम, कारोबार संख्या र नेप्से परिसूचकमा नयाँ कीर्तिमान कायम भएकाे नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जनाएकाे छ । नेप्सेका अनुसार मंगलबार एक लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यसदिन २७९३.८९ विन्दु कायम भएको छ । कारोबार रकम, कारोबार संख्या तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हाे । यससँगै नेप्सले एक विज्ञप्ति जारी गर्दै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि बजारमा उक्त कीर्तिमान कायम भएकाे जनाएकाे छ । ‘गत २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार भएको छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि ६ लाखभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् ।’, नेप्सेले भन्याे । दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले सेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गर्नुपर्छ । खासगरी आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक  विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने दाेश्राे बजार सञ्चालक नेप्से जानकारी गराएकाे छ । साथै, कारोबार गर्दा कुनै समस्या भए यो लिंकलाई पछ्याउन नेप्सेले लगानीकर्तालाई आग्रह समेत गरेको छ । सम्बन्धित समाचार नेप्सेमा दैनिक नयाँ रेकर्ड, ११ अर्ब माथिको सेयर किनबेच, ३३ कम्पनीको मूल्यमा सर्किट

लघुवित्तले १५% भन्दा बढी व्याज लिन नपाउने व्यवस्था कार्यान्वयन, गाउँपालिकामा एउटा शाखा हुनैपर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका तेस्रो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्था कार्यान्वयनमा आएको बताएकाे हाे । त्यस्तै, इजाजतपत्र प्राप्त ‘क’, ख’, ग’ र थोक कर्जा प्रवाह गर्ने घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्ग कर्जाको रूपमा लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गर्ने कर्जामा ०.५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाइने व्यवस्था पनि कार्यान्वयनमा आएको बैंकले जानकारी गराएकाे छ । लघुवित्त वित्तीय संस्थाहरुले काठमाडौं उपत्यका बाहिरका महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा २०७७ पुस मसान्त पश्चात दुई शाखा खोली सञ्चालनमा ल्याएमा काठमाडौं उपत्यकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको स्थानीय तहका वडामा एक शाखा खोल्न पाउने व्यवस्था गरिएको छ । साथै, काठमाडौं उपत्यका बाहिर खोलिएका दुई शाखामध्ये कम्तिमा एक शाखा गाउँपालिकामा खोलिएको हुनुपर्ने छ ।