नेपाल बैंकका नवनियुक्त सञ्चालक शाक्यले लिए शपथ, भन्छन्- सक्दो योगदान गर्छु

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिमा रितेशकुमार शाक्य नियुक्त भएका छन् । शाक्य अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक शाक्यले गत कार्त्तिक ४ गते सञ्चालक समितिको अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष सुमनराज अर्यालले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य रितेशकुमार शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, नवनियुक्त सञ्चालक शाक्यले नेपाल बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद दिँदै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो । यसअघि उक्त पदमा सुमन दाहाल रहेका थिए । अब उनको सट्टा मन्त्रालयका सहसचिव शाक्यले बैंकको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।  

प्रुडेन्सियल इन्स्योरेन्समा श्रवणकुमार रावललाई कार्यवाहक सीईओको जिम्मा

तस्विर: रावलको सामाजिक सञ्जालबाट काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण कुमार रावलले पाउने भएका छन् । कार्त्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले कार्त्तिक ७ गतेदेखि लागू हुने गरी रावललाई कार्यवाहक सीईओको जिम्मा दिएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले कार्त्तिक ३ गते राजिनामा दिएका थिए । उनको राजिनामालाई स्वीकृत गर्दै इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओमा रावललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो । नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स(नेपाल) को तर्फबाट इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त भएका हुन् ।