कोरोनाले रोकेको दक्षिण कोरिया रोजगारीः पहिलो चरणमा ४८ कामदार आज जाँदै
काठमाडौं । करिब बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ जना प्रतिवद्ध श्रमिक कोरिया जान लागेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरियामा ४ वर्ष काम गरेर नेपाल फर्किएका ४८ जना प्रतिबद्ध कामदार कोरिया जाने भएका छन् । पहिलो चरणमा ५० जना कामदारलाँई पठाउने तयारी भएकोमा २ जनाको भिसा प्रोसेसमा ढिलाइ भएपछि ४८ जनालाई कोरिया पठाउन लागिएको विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिए । कोरियाले सन् २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा कोरियाबाट फर्केका ११९ जना नेपाली प्रतिबद्ध कामदारको नामसमेत पठाइसकेको छ । सोही अनुसार पहिलो चरणमा ४८ जना कोरिया जान लागेका हुन । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ । नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्रयाक्ट’ आइसकेका करिब ५ हजार र कोरियाबाट प्रतिबद्ध कामदारका रूपमा फर्किएका ३ हजार श्रमिक प्रक्रिया पुगे पनि रोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाले ट्रान्जिट उडानबाट नभइ सिधा उडानबाट श्रमिक लैजाने व्यवस्था गरेसँगै नेपाली श्रमिकलाई थप आर्थिक भार पर्नेभएको छ । यसअघि नेपाली कामदार हङकङ, थाइल्यान्ड, दुबईलगायतका मुलुकलाई ट्रान्जिट बनाएर कोरिया जाने गरेका थिए । यसअघि इपीएस शाखाले दक्षिण कोरियामा सिधा हवाई उडानका लागि टिकटको मूल्य तय गर्न विभागले टेन्डरसमेत आह्वान गरेको थियो । टेन्डरमा कोरियन एयरलाइन्सको मात्रै आवेदन परेपछि विभागले सार्वजनिक खरिद ऐनअनुसार नभएको भन्दै रद्द गरेको छ । निर्देशिका संशोधनपछि प्रतिबद्ध कामदार जाने बाटो खुला भए पनि भाषा परीक्षा दिएर बसेका हजारौं नेपालीको कोरिया यात्रा अझै अनिश्चित छ । कोरियाली सरकारको सर्तअनुसार कोरिया जाने कामदारले अनिवार्य रूपमा बिमा गनुपर्नेछ । कोरिया पुगेपछि १४ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यस्तै, ४८ घन्टाको पिसिआरसमेत गर्नुपर्नेछ ।
नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेले दिए राजिनामा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले राजिनामा दिएका छन् । उनले कार्त्तिक ७ गते आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई सोही दिन बसेको कम्पनीको ११औं बैठकले स्वीकृत गरेको हो । अध्यक्ष वाग्लेले आफ्नो व्यक्तिगत घरयासी कारणले बैंकको अध्यक्ष तथा सञ्चालक दुबै पदबाट राजिनामा दिएका हुन् ।
दुई वर्षपछि खुल्यो कोरोनाले रोकेको मलेसियाको रोजगारी
काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मलेसियाको रोजगारी आंशिक रुपमा खुला भएको छ । नेपाली श्रमीकको श्रम गन्तव्यको रुपमा रहेको मेलेसीयाको रोजगारी आंशीक रुपमा खुला भएको श्रम व्यवसायीहरु बताउँछन् । मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो । काठमाडौंस्थित मलेसियाली दूतावासले पनि नेपाली श्रमिक लाने बाटो खुलाइएको जनाएको छ । कोरोना महामारी सुरु भएपछि मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लान बन्द गरेको थियो । मलेसिया प्रवेशका लागि निश्चित मापदण्ड भने तोकिएको छ । मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्नेछ । यस्तै, अहिलेको नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिक सरकारी अनुमति प्राप्त क्वारेन्टिनमा ७ दिन बस्नुपर्नेछ । क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै श्रमिकले प्रवेश गर्न पाउनेछन् । मलेसिया रोजगारीको बाटो खुला भए पनि कामदार शून्य लागतमा जान पाउने टुंगो भने लाग्न सकेको छैन ।