प्रा.डा. खड्ग केसीले सम्हाले त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खड्ग केसी नयाँ उपकुलपति बनेका छन् । प्रधानमन्त्री एवं त्रिवि कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रा.डा. केसीलाई अर्को व्यवस्था नहुञ्जेलसम्म उपकुलपतिको कार्यभार दिइएको हो । केसीले जिम्मेवारीबारे प्रतिक्रिया दिँदै भने, 'मैले उपकुलपतिको पत्र बुझिसकेको छु, अब कार्यभार सम्हाल्छु ।' यसअघि उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पदबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।

पूर्वसुरक्षाकर्मी परिषद् चन्द्रागिरीको अध्यक्षमा पाण्डे, वरिष्ठ उपाध्यक्षमा थपलिया

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् चन्द्रागिरि नगरपालिका कार्य समितिको अध्यक्षमा  विक्रम पाण्डे निर्वाचित भएका छन् । समितिको चैत ३० गते सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।   यस्तै, समितिको वरिष्ठ उपाध्यक्षमा सुब्बा थपलिया, उपाध्यक्ष डाक बहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । समितिको सचिवमा दीपेन्द्र न्यौपाने, कोषाध्यक्षमा रेशम भण्डारी, सह सचिवमा सरिता पौडेल निर्विरोध निर्वाचित भएका छन् ।  समितिको सदस्यमा हिमालय खड्का, प्रकाश राज रेग्मी, शान्ति महर्जन चयन भएको वरिष्ठ उपाध्यक्ष थपलियाले जानकारी दिए ।  विक्रम पाण्डेको अध्यक्षतामा ग्रीनल्यान्ड पार्टी प्यालेस थानकोटमा सम्पन्न भएको समितिको अधिवेशनको प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरी रहेका थिए ।  साथै कार्यक्रममा विशेष अतिथि उपप्रमुख वसन्ती श्रेष्ठ, नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष नारायण प्रसाद कोइराला, नगर प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष कृष्ण प्रसाद खडकी, वडा नं ५ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं १३ अध्यक्ष कृष्ण केसी , वडा नं १५का अध्यक्ष घनश्याम लुइँटेल, अतिथिहरु ईश्वर लामा, केन्द्रीय उपाध्यक्ष आनन्द सिम्खडा, केन्द्रीय सचिव तथा प्रवक्ता फडिन्द्र राज घिमिरे, उपाध्यक्ष उत्तर कुमार श्रेष्ठ लगायत २ सयभन्दा बढी पूर्वसुरक्षाकर्मीहरूको भेला रहेको थियो । 

नेपाली सेनामा भर्ना खुला : २,६०० भन्दा बढी जनशक्ति माग, वैशाख २७ सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाली सेनाले सैनिक पदका लागि ठूलो संख्यामा भर्ना प्रक्रिया सुरु गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सूचना प्रकाशित गर्दै २,६०० भन्दा बढी जनशक्ति माग गरेको जनाएको छ । सेनाले प्रकाशन गरेको सूचनाअनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियाबाट पदपूर्ति गरिनेछ । यसका लागि इच्छुक उम्मेदवारहरूले तोकिएको भर्ना केन्द्रमा आवेदन फाराम बुझाउन सक्नेछन् । उम्मेदवारहरूले वैशाख २७ गतेसम्म नियमित रूपमा आवेदन दिन सक्नेछन् । यदि तोकिएको समयमा आवेदन दिन नभ्याएमा दोब्बर दस्तुर तिरेर थप ७ दिन, अर्थात् जेठ ३ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सेनाले तोकेको न्यूनतम शैक्षिक योग्यता अनुसार, उम्मेदवारले कम्तीमा कक्षा ८ पास गरेको हुनुपर्नेछ । यस अतिरिक्त, शारीरिक मापदण्डमा पुरुषका लागि ५ फिट ३ इन्च र महिलाका लागि ५ फिट उचाइ अनिवार्य गरिएको छ । नेपाली सेनामा सेवा गर्न चाहने युवायुवतीहरूका लागि यो एक महत्वपूर्ण अवसर हो । योग्य र इच्छुक व्यक्तिहरूलाई समयमै आवश्यक कागजातसहित आवेदन दिन सेनाले अनुरोध गरेको छ ।