कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी, कुन पदमा कति ?

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११८ जना कर्मचारी मागेको छ । बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारी मागेको हो ।  बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।  योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का गोविन्द कोइराला निर्वाचित भएका छन् । सामुहिक वाम गठबन्धनलाई पराजित गर्दै नेविसंघका उम्मेदवारहरूले प्रमुख पदहरूमा विजय हासिल गरेका छन् । अध्यक्षसहित सचिव र कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम (थोमस) निर्वाचित भएका छन् । सबै बुथको मतगणना एकीकृत गरिने प्रक्रिया जारी रहेको बताइएको छ । निर्वाचन समितिले औपचारिक रूपमा नतिजा घोषणा गर्न बाँकी रहेको भए पनि नेविसंघका उम्मेदवारहरू अग्रस्थानमा रहेको पुष्टि भइसकेको छ ।

नेप्सेको सीईओ बने चुडामणि चापागाईं, को हुन् उनी ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यक्तित्व हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् । यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस गर्दा आलोचना हुन सक्ने सम्भावना देखिएपछि मन्त्रिपरिषद्ले पुन: चापागाईंलाई नयाँ सीईओ नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो । नयाँ नियुक्तिसँगै नेप्सेले अब व्यवस्थापकीय नेतृत्व पाउने भएको छ।