प्रवासीलाई सम्बन्धित देशलेनै नेपालमा छाड्ने, सरकार भन्छ: उनीहरुले भनेकै मितिमा आउन दिइन्न
काठमाडाैं । विदेशमा रहेका नेपालीलाई नेपाल छाड्नका लागि सम्बन्धित देशनै सकारात्मक भएका छन् । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका हुन्। यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको बताए । तर, तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था नभएकाे उनले बताए । उनकाअनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था छ । विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् । ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ,’ उनले भने । भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए । ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने छ ।’ उनले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताए । ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुन्छ,’ उनले भने ।
गाउँ फर्किएका युवा विकास निर्माणमा
काठमाडौं । कोभिड –१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउनका कारण अध्ययन तथा रोजगारीका बन्द भएपछि गाउँ फर्किएका प्युठानका युवा स्थानीयस्तरमा विकासनिर्माणका काममा जुटेका छन् । गाउँमा आएर बेरोजगार जस्तै बनेका युवालाई परिचालन गरी स्थानीयस्तरको विकास निर्माणमा सहभागी बनाइएको छ । प्युठान नगरपालिका वडा नं ५ जुम्रीकाँढा ढुंगेठाटीका युवा लकडाउनको सदुपयोग गर्दै सवारीसाधन नचलेका समयमा सडक स्तरोन्नतिका काममा लागेका छन् । जुम्रीकांँढा ठूलो गाउँका ४० युवाले नमूना बस्ती विकासको काम गरिरहेका छन् भने ढुंगेठाँटी क्षेत्रका १८ युवाले अर्थोपार्जनसँंगै सडक स्तरोन्नतिको काम थालेका छन् । प्रदेश नं ५ सरकारको करीब १ करोड बजेटमा नमूना बस्ती विकाससंँगै सडक स्तरोन्नतिको कार्य भइरहेको वडाध्यक्ष लछुमन भण्डारीले बताए । युवाले काम गर्दा आफूलाई सुरक्षित राख्दै सामाजिक दूरी कायम गरेको उनको भनाइ छ । दैनिक ज्यालादारीमा एक युवकले ६ सयदेखि ८ सय रुपैयाँसम्म कमाउने गरेका छन् । प्युठान ८ का युवाको सक्रियतामा सडक स्तरोन्नतिको काम थालिएको छ । दुई वर्षअघि सडक खनिए पनि बीचबीचमा खाल्डा र नाली व्यवस्थित नभएपछि यस क्षेत्रका युवा मिलेर स्तरोन्नतिको गरेको स्थानीयवासी युवा दिलबहादुर दसौँदीले बताए । स्थानीय सात युवाले आफूहरुले साधन र स्रोत जुटाई सडक स्तरोन्नति गरेका हुन् । स्थानीय राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य मुकेश थापा, अनेरास्ववियु पूर्व कोषाध्यक्ष दिलबहादुर दसौंदी, व्यवसायी महेश पाण्डे, शिक्षक शेरबहादुर पाण्डे, माधव केसीलगायतको सक्रियतामा सडक स्तरोन्नतिको काम भएको हो । “पटक–पटक सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय, प्युठान नगरपालिका र वडा कार्यालयमा भन्दा सुनुवाइ नभएपछि हामी युवाहरु मिलेर सडक सुधार्नेतर्फ अग्रसर भएका हौं”, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य थापाले बताए । रासस
अमेरिकामा कुल जनसंख्या १४.७ प्रतिशत बेराेजगारी
वासिङ्टन । अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा बढेर १४.७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए। कोरोना भाइरसको संक्रमण फैलिन जान थालेपछि सामाजिक दुरी कायम गर्नु पर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले करिब ३१ करोड घरमै बसेका छन् । हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको छ । अधिकारीहरुका अनुसार अमेरिकामा पहिलो पटक सवैभन्दा धेरै मानिसले बेरोजगारी भत्ताका लागि फाराम भरेका छन् । पछिल्लो विवरणमा ३ करोड ३० लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् । बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका व्याकेजहरु पनि घोषणा गरेको छ । रासस/एएनआई