कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी
काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा रामशरण पुडासैनी नियुक्त भएका छन् । अर्थमन्त्रालयका राजश्व सचिव रहेका पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडाबाट कोषको अध्यक्ष पद शपद गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताएका छन् । यसअघि कोषको सो पदमा शिशिरकुमार ढुंगाना रहेका थिए । हाल अर्थसचिवको पदमा सरुवा भएसँगै अर्थमन्त्री डा. खतिवडाले पुडासैनीलाई गत चैत ९ गतेको बैंठकमा अध्यक्षको रुपमा नियुक्त गरेका थिए ।
भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ – उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमारनाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको सङ्ख्या दशगजा क्षेत्रमा देखिएको बेला नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भावनात्मक कुराका आधारमा मात्रै विपत्तिसँग जुध्न नसकिने बताए । कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका मन्त्री पोखरेलले सीमाना बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । “भारतका विभिन्न स्थानमा रोजगारी तथा अन्य सिलसिलामा पुगेका नेपाली नागरिक देश फिर्ताको माग गर्दै आएका छन् । केही नेपाली पौडेर महाकाली नदीसमेत पार गरेर आएका छन् । त्यसबाट कोरोनाको सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर जो जहाँ छन्, त्यहीँ राख्ने गरी व्यवस्था गरिएको हो”, मन्त्री पोखरेलको भनाइ छ । उनले भने, “भावनात्मक हिसाबले त उहाँहरुलाई फर्कन दिनुुपर्छ भन्ने कुरा स्वभाविक नै हो, तर यो भावना भन्दा परेको विषय हो । विपद्मा जो जहाँ छौँ, त्यहीँ बसौँ ।” भारतीय सीमाभित्र रहेका नेपालीको व्यवस्थापन भारतले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन नेपालले गर्ने नै तत्कालको लागि सबैभन्दा उत्तम विकल्प भएको बताए । विशेष गरी दार्चुलाको सीमापारि धार्चुला र कैलालीको नेपाल भारत सीमा क्षेत्रमा केही नेपाली जम्मा भई बसेका छन् । जोखिमपूर्ण वा सङ्कटको समयमा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलले समेत जो जहाँ छन्, त्यही सुरक्षित राख्ने वा रहन दिने भनेको छ । उनले कोरोनाको परीक्षण, रोकथाम तथा अन्य व्यवस्थाका लागि सरकारले जुनसुकै खालको पनि प्रयत्न गर्ने र त्यसमा साथ सहयोग नेपाली नागरिक तथा सम्बद्ध सरोकार भएका सबै क्षेत्र र निकायको रहनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । चीनबाट ल्याइएका मेडिकल सामग्री तथा अन्य उपकरणका विषयमा अनावश्यक हल्ला चलाइएको भन्दै उपप्रधानमन्त्री पोखरेलले जोसुकै व्यापारी तथा सामान आयतकर्तालाई पनि सामान ल्याउन आग्रह गर्दासमेत नमानेका कारण छोटो बाटो अपनाउनुपरेको जानकारी दिए । विपद्को समयमा सबैका साथ सहयोग जरुरी रहेको भन्दै अनावश्यक हल्ला, टीका टिप्पणीले यस्तो समयमा काम नगर्ने उनको कथन छ । सरकारले आवश्यक परेको खण्डमा जुनसुकै देशबाट पनि ‘जि टु जि’ अवधारणमा सामान आयात गर्न सक्ने स्पष्ट पारे । उनले भने, “सरकार नागरिकको अभिभावक पनि हो । आवश्यक पर्दा विषम परिस्थितिमा विषम निर्णय पनि लिन्छ । त्यसका लागि सरकार तयार छ ।” उनले निजी अस्पताल र मेडिकल कलेजले समेत सरकारलाई साथ दिने र सहयोग गर्ने बताएको र एकाधले केही कमजोरी गरेको भए पनि सरकारको आग्रहलाई स्वीकार गर्ने विश्वास व्यक्त गरे । लकडाउनको समयमा सबै नेपाली नागरिक इमान्दार भएर घर तथा आफ्नै निवासमा रहेर देश र आफ्नैसमेत सुरक्षा गर्नुपर्ने उनको भनाइ छ । उनले विपद् समग्र मानव सभ्यता र संस्कृतिविरुद्धको प्रहार भएकाले यसमा सबैको उत्तिकै साथ र सहयोग रहनुपर्नेमा उपप्रधानमन्त्री पोखरेलले जोड दिए । आइतबारको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी तथा श्रमिक वर्गका लागि विशेष राहत प्याकेज ल्याएको र त्यसको व्यावहारिक कार्यान्वयन गरिने भएकाले त्यस्ता व्यक्ति वा वर्गलाई नआत्तिनसमेत उपप्रधानमन्त्रीले आग्रह गरे । स्थानीय तहले नै कम आय भएका, ज्यालादारी तथा श्रमिक चिन्ने भएकाले विधिअनुसार नै उनीहरुले राहत पाउने र सरकारले उपलब्ध गराउने दृढता व्यक्त गरे । उपप्रधानमन्त्रीले सरकारले गरेका हरेक निर्णय नेपाल र नेपाली जनताको हितलाई केन्दमा राखेर भएकाले कुनै दुविधा नराख्न र गलत मनसाय राख्नेले चलाएको हल्लामा नलाग्नसमेत आग्रह गरेका छन् । रासस
विदेशबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई ५ हजार
काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाँउपालिकाले ५ हजार रुपैयाँ दिने निर्णय गरेकाे छ । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशबाट आएका मानिसहरु गोप्य रुपमा गाँउ प्रवेश गरेर संक्रमण नफैलियोस् भनि लकडाउन पछि उक्त निर्णय गरेकाे गाँउपालिकाका सूचना अधिकारी विशाल बाबु लिफङ राईले बताए । उनले भने – ‘विदेशबाट आइ लुकेर बसेका व्यक्तिको बारेमा पहिलाे पटक वडा कार्यालय तथा पालिकामा जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।’ काेराेनाकाे संक्रमण फैलिए नदिन थुलुङ दुधकोशी गाँउपालिकाले अपनाएकाे याे उदाहरणीय तथा नयाँ उपायकाे रूपमा विस्तार भएकाे छ । उक्त गाँउपालिकाले पछिल्लो समय सबै मानिस गाँउ फर्किएसँगै करेसाबारी निर्माण तथा विस्तारलाई जोड दिएको जानकारी दिएको छ । सरकारले घोषणा गरेको सबै नियमको पालना गर्दै गाँउ गाँउका मान्छेबीच जमघट तथा भेला नहुन दिएकाे छैन । नाैं वडा रहेको उक्त गाँउपालिका १ सय ८० वटा करेन्टाइन र ५ वटा आइसोलेशन वेड रहेको सूचना अधिकारी राईले जानकारी दिए । हालसम्म उक्त पालिकामा भारत तथा दुवईबाट आएका ७ जना व्यक्ति होम करेन्टाइनमा बसिरहेको स्वास्थ्य अवस्था सामान्य रहेको गाँउपालिकाले जनाएको छ ।