आंशिक खुल्यो मलेसिया रोजगार, भिसा आएर पनि रोकिएका कामदार मलेसिया जान थाले

काठमाडौं । लामो समयदेखि बन्द मलेसिया रोजगार आइतबारदेखि आंशिक खुला भएको छ । भिसा आएर पनि रोकिएका कामदार मलेसिया जान थालेका छन् । नयाँ भिसाका लागि प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थालाई १५ दिनभित्र सूचीकृत हुन अनुरोध गरेको हो । मलेसियामा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए । दुई सय ३७ वटा संस्था संस्था दर्ता छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन । स्वास्थ्य परीक्षणका लागि मलेसियाले नयाँ मापदण्ड पठाएपछि सरकारले गृहकार्य गरेर मापदण्ड पुग्ने संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो । जेठदेखि रोकिएको मलेसिया रोजगार अब खुल्ने अन्तिम चरणमा पुगेकामा व्यवसायीसमेत खुसी देखिन थालेका छन् । प्रवक्ता डा. नारायण रेग्मीले मलेसियाले पठाएको मापदण्डका आधारमा सरकारले सूचना जारी सूचीकृत हुन आह्वान गरेको जानकारी दिए । रेग्मीका अनुसार यसअघि स्वास्थ्य परीक्षण गर्दै आएका ३७ वटा बायोमेट्रिक संस्थासमेत सूचीकृत हुन पाउँछन् । ‘मापदण्ड पुग्ने सबै संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनेछन्’, उनले भने । देशभर दुई सयभन्दा बढी स्वास्थ्य परीक्षण गर्ने संस्था छन् । कलिङ भिसा सुरु भएसँगै करिब सात हजार कामदार मलेसिया आइतबारदेखि जान थालेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

कोरिया भाषा परीक्षा जेठ २५ र २६ गते, ९२ हजारको आवेदन

काठमाडौं । ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९२ हजार ३७६ आवेदन परेको छ । कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो । यही चैत्र ८ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । ईपएिस शाखाका अनुसार अन्तिम दिन आइतबार रातिसम्म आवेदन दिएका ९३ हजार ३७६ मध्ये उत्पादनतर्फ ६३ हजार ४६७ र कृषि तथा पशुपालनतर्फ २८ हजार ८८९ आवेदन परेका छन् । गत वर्षभन्दा यस वर्ष करीब ११ भन्दा बढी आवेदन परेको छ । कोरियाले यसपाली १० हजार ५० जना नेपाली कामदार कोरिया लैजाने तयारी गरेको छ। परीक्षा जेठ २५ र २६ का लागि तय भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

सडक विभागमा केशव शर्मा, हटाईए श्रेष्ठ

काठमाडौं । सडक विभागको महानिर्देशक केशब कुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई हटाएर शर्मालाई विभागको नेतृत्व सुम्पिएका हुन् । उनले आइतबारै नियुक्तिको पत्र बुझेका छन् । ‘आजै मात्र पत्र बुँझे, भोलीबाट कार्यालय सम्हाल्छु’, शर्माले भने । महानिर्देशक नियुक्त भएका शर्मा यस अघि सडक विभागकै वैदेशिक समन्वय महाशाखामा कार्यरत थिए । शर्माले आफ्नो नेतृत्वमा सडकहरुको तिब्र निर्माण र गुणस्तरियता अभिवृद्धि गर्ने प्रतिववद्धता व्यक्त गरे ।