महालक्ष्मी लाईफ इन्स्योरेन्सको सीईओमा रमेशकुमार भट्टराई
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्सले पुस १७ गतेदेखि लागू हुने गरी भट्टाईलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ भट्टाराईले आगामी ४ वर्षसम्म कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका सीईओ भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ । साथै, भट्टराईले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी समय काम गरिसकेका छन् ।
दुई लाख बढी घरेलु तथा साना उद्योगमा २४ लाखलाई रोजगारी
काठमाडौँ । नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ६४ हजार नवीकरणमा रहेका बताए । कति उद्योग चलेका छन् भन्नेमा यकिन विवरण नभएपनि अनुमानित दुई लाख उद्योग सञ्चालनमा रहेका महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले जानकारी दिए । नेपालमा सञ्चालित उद्योगमा कूल ३५ हजार ३०० करोड लगानी रहेको भन्दै महासङ्घका कर्याकारी निर्देशक भट्टराईले घरेलु उद्योगको विकासमा सरकारको कम ध्यान पुगेको बताए । विसं २०४७ मा सङ्घको रुपमा स्थापना भएको संस्था २०५३ सालमा महासङ्घ बनेको थियो । महासङ्घका ३५ हजार सदस्य रहेका छन् । महिला मात्रै ११ हजार छन् । उत्पादनमूलक सहकारी एशोसिएट सदस्य हुने व्यवस्था र १९ वस्तुगत सङ्घ रहेका जनाइएको छ । औद्योगिक व्यवसाय ऐन २०६३ अनुसार पाँच लाख पूँजी र नौ जना कामदार भएका तथा २० किलोवाट भन्दा कम विद्युत् खपत गर्ने उद्योग यसमा पर्छन् । घरेलु उद्योगमध्ये सेवामूलक उद्योगमा ४५ प्रतिशत रहेका कार्यकारी निर्देशक भट्टराईले बताए । ऊर्जा र सञ्चार क्षेत्रमा भने न्यून लगानी छ । सबैभन्दा बढी प्रदेश नं ३ मा ३७ प्रतिशत उद्योग सञ्चालनमा छन् । प्रदेश नं ५ मा १७, प्रदेश १ मा १४, प्रदेश ४ मा ९ सुदूरपश्चिममा ६ र गण्डकी प्रदेशमा ९ प्रतिशत उद्योग सञ्चलालनमा छन् । अमेरिकाले नेपालका ७७ वस्तुमा सन् २०२५ सम्म भन्सार नै नलिने घोषणा गरेको जानकारी दिँदै उनले अहिले पश्मिनालगायत न्यून मात्रै वस्तु निर्यात भइरहेको बताए । महासङ्घले साना तथा घरेलु उद्योगको लगानीको वातावरण प्रभावकारी हुन नसकेको बताएको छ । कर्जा लिनदेखि विभिन्न काममा साना उद्योगीलाई समस्या परिरहेको महाङ्घको भनाइ छ । महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि साना तथा घरेलु उद्योगको विकास जरुरी हुने औंल्याउँदै ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नारालाई देशव्यापी बनाउनु पर्नेमा जोड दिए । “साना तथा घरेलु उद्योगीलाई वित्तीय पहुँच नहुनु ठूलो समस्या छ”, प्रजापतिले भने, “ऋण पाउन र व्यापार प्रवद्र्धनमा समेत हामी सक्तनौं, समस्यामा पर्छौं ।” उद्योगमा सिप र दक्ष कामदारको सधै अभाव रहने गरेको महासंघको भनाई छ । नेपाल नविकरणीय उर्जा परिसंघका सल्लाहकार तथा पुर्व मन्त्री गणेश शाहले देशलाई परनिर्भरताबाट स्वावलम्वी बनाउन उद्यमशिलताको विकास जरुरी रहेको औंल्याए । नयाँ प्रविधिको विकाससँगै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिंदे शाहले दाता आउँदा खुसी हुने नभई रोजगारदाता आउँदा खुसी हुने अबस्था सिर्जना गर्नु पर्नेमा जोड दिए ।
आयल निगमकाे कार्यकारी निर्देशकका लागि ५ जना सर्टलिष्टमा
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि प्रारम्भिक छनोटमा पाँच जना परेका छन् । निगमको कार्यकारी निर्देशका लागि आवेदन दिएका उम्मेदवारमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यावसायिक कार्यायोजना र मामला अध्ययनसमेतको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने पाँच जनालाई प्रारम्भिक रुपमा छनोट गरिएको हो । छनोट हुनेमा अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का र सुरेन्द्रकुमार पौडेल रहेका छनोट तथा सिफारिश समितिले जनाएको छ । पाँच जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना र मामिला अध्ययनको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका आधारमा छनोट गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । छनोट भएका उम्मेदवारबाट यही पुस १९ गते मन्त्रालयमा व्यावसायिक कार्ययोजना र मामला अध्ययनको प्रस्तुतीकरण लिइनेछ । तीमध्ये निगमलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना पेश गर्ने योग्यतम् उम्मेदवारलाई निगमको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिश गरिनेछ । निगमको डिपोका लागि जग्गा खरीद प्रक्रियामा भएको अनियमितापछि सरकारले पूर्वप्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको थियो । (रासस)