कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक, २१ दिनभित्र अनलाइन फारम भर्नै पर्ने
काठमाण्डौ । सरकारले निजामती कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक गरेको छ। सामान्य प्रशासन मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै सूचना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समायोजनमा जाने कर्मचारीले मन्त्रालयको वेबसाइटबाट फारम भर्नुपर्ने बतायो । मन्त्रालयले २१ दिनभित्र अनलाइन फारम भर्न बाध्यकारी सूचना जारी गरेको हो । कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ५ को उपदफा १ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समयोजन गर्न समायोजन डट जिओभी डट एनपीमार्फत् अनलाइन फारम भर्नु पर्नेछ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा अध्यादेशअनुसार अनलाइन फारम नभर्ने कर्मचारीलाई जर्बजस्ती समायोजन प्रक्रियामा सामेल गराइने उल्लेख छ। मन्त्रालयले देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरिएको जानकारी दिएको छ। नयाँ दरबन्दीअनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी रहने छन्।
बेलायतमा साना उद्योग बन्द हुँदा १५० हजार रोजगारी गुम्यो, कति नेपाली प्रभावित ?
बेलायत । संयुक्त अधिराज्य (यूके) मा समस्याग्रस्त अवस्थामा रहेका फुटकर व्यवसायीहरुले सन् २०१८ मा एक लाख ५० हजार रोजगारका अबसरको कटौति गरेका छन् । व्यवसायिक सम्पत्तिमाथि लगाइएको उच्च कर, फुटपाथ व्यवसायको विकास र बढ्दो अनलाइन कारोबारका कारण रोजगारीका अबसरलाई कटौति गर्नुपरेको सोमबार सार्वजनिक एक अध्ययनले देखाएको छ । बेलायतमा करिब २० हजार पसल तथा रेष्टुरेण्ट बन्द भएपछि एक लाख ४८ हजार १३२ जनाको जागिरमा कटौति गरिएको बेलायतको प्रेस एसोसिएसन न्यूज एजेन्सीले सेन्टर फर रिटेल रिसर्च (सिसिअनर) जनाएको छ । बेलायतको यूरोपेली यूनियनबाट हुन लागेको बहिर्गमनले पार्ने प्रभाबबारे विभिन्न प्रक्षेपणहरू भइरहँदा फुटकर व्यवसायको भविष्य थप अन्धकारतर्फ धकेलिइरहेको बताइएको छ । “बेलायती संसदमा बहिर्गमनका प्रभावबारे छलफलहरू चलिरहेका समय व्यापार दर र निम्न वृद्धिदरका कारण फुटकर र महङ्गा पसलहरूमा निकै नकारात्मक प्रभाव परिरहेको छ,” सीआरआरका निर्देशक प्राध्यापक जोसुवा बामफिल्डले बताए । “हामीलाई के कुराको महशुस भएको छ भने यदि सरकारबाट अनलाइन व्यापारी र ‘आइ स्ट्रिट’ कुनै प्रभावकारी कदम चालिएन भने सन् २०१९ मा पनि व्यापकरूपमा रोजगारका अवसर कटौति हुने खतरा देखिएको छ ।” यो बर्ष व्यवसायिक करमा गरिएको वृद्धि तथा घरभाडामा बजेट विस्तारका कारण बेलायती फुटकर व्यापारीहरूले अनलाइन व्यापारीसँगको प्रतिस्पर्धामा पीडित बन्नुपरेको छ र यि सबै घटना ब्रेक्जिटबारे अन्यौल देखिइरहेका समय भएका छन् । नेपालबाट अध्ययनका लागि बेलायत गएका धेरै विद्यार्थीहरुले त्यस्तै साना उद्योग व्यवसायमा काम गर्दै आईरहेका छन् । साना उद्योग व्यवसाय बन्द हुन थालेपछि नेपाली विद्यार्थीलाई समेत प्रभाव पर्ने बताइन्छ ।
कोरिया पछि जापानमा पनि नेपालीलाई रोजगारीको अवसर जुट्दै
काठमाडौँ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै प्रकाशन गरेको समाचारमा आगामी पाँच वर्षका निम्ति तीन लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेका जनाइएको छ । नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने पनि समाचारमा उल्लेख छ । कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपाली, चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने उक्त समाचारपत्रमा जनाइएको छ । यसैबीच, नेपालीलाई जापानमा रोजगारी उपलब्ध गराउने सम्बन्धमा जापान सरकारबाट आधिकारिक जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आगामी जनवरीमा जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली कामदारलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अघि बढ्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले जानकारी दिए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा उनले नेपाली कामदार लैजाने विषयमा धेरै कुरा अघि बढेकाले आगामी अप्रिलदेखि कामदार जापान जाने प्रक्रिया शुरु हुने विश्वास व्यक्त गरेका थिए ।