ग्लोबल आइएमईले माग्यो कर्मचारी

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । राष्ट्रियस्तर कार्यक्षेत्र भएको लघुवित्तले ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्न विभिन्न पदहरूमा स्थायी रुपमा कर्मचारी मागेको हो । लघुवित्तले विभागीय प्रमुख तथा सहायक, कानून अधिकृत, प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी मागेको हो । इच्छुक योग्य व्यक्तिले हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकलाई निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ । महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै श्रमिक अभावका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । निर्माण क्षेत्रमा भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । श्रमिकका लागि राज्यले एकद्वार प्रणालीमार्फत तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष सिंहले महासङ्घले सुरु गर्न लागेको तालिम केन्द्र सञ्चालनमा सहयोग गर्न आग्रह गरे । महासङ्घले राज्यका विभिन्न निकायले दिने तालिमलाई समयानुकूल बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष सिंहले मुलुकमा निर्माण उद्योगले २० लाखभन्दा बढी जनालाई रोजगारी दिइरहेको उल्लेख गर्दै स्वदेशमा श्रमिकको अभाव भएर भारतबाट मजदुर ल्याउनुपर्ने अवस्था अन्त्य गरिनुपर्ने बताए । ध्यानाकर्षणपत्र बुझ्दै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीअन्तर्गत निर्माण क्षेत्रमा जाने श्रमिकलाई दक्ष बनाउन महासङ्घसँगको सहकार्यमा तालिम दिइने बताए । उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट प्रदान गरिने सीप तालिमलाई अन्तर्राष्ट्रियस्तरको बनाइने स्पष्ट पारे ।

कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिव प्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै, संघको उपाध्यक्षमा विजय कुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओम प्रकाश अग्रवाल र सदस्यहरुमा क्रमशः केशव कुमार कार्की, विनोद कुमार अग्रवाल, दिलिप कुमार अग्रवाल, मोहित कुमार जैन र प्रशान्त अग्रवाल निर्वाचित भएका छन् । देशभर छरिएर रहेका कत्था उत्पादकहरुको छाता संस्थाको रुपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरु आबद्ध रहेका छन् । वस्तु निकासीमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौलाई रोजगारी प्रदान गरिरहेको छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालबाट २ अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कूल निकासी व्यापारमा यस क्षेत्रको १.४ प्रतिशत योगदान रहेको छ । स्वदेशी कत्था उद्योगहरुले भारत, बंगलादेश, पाकिस्तान लगाएतका छिमेकी मुलुकहरुमा उत्पादन निर्यात गर्दै आइरहेका छन् । शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकोले यसको सम्बर्द्धन र प्रवर्द्धनमा राज्यको अहम भूमीका रहने संघका नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।