काठमाडौं महानगरपालिकाले माग्यो ६५ जना नगर प्रहरी
काठमाडौं । जागीर खोज्नेहरुको लागि खुसिको खबर छ । काठमाडौं महानगरपालिकाले नगर प्रहरी मागको गरेको छ । महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै ६५ जना नगर प्रहरी जवानका लागि कर्मचारीको माग गरेको हो । महानगरका अनुसार रक्षा मन्त्रालयको असार १० गतेको पत्रमार्फत प्राप्त सैन्य पदको अन्तिम नजितामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रमअनुसारको नामावली लगतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवेदनमा सोही सूचीको योग्यता क्रमअनुसार करार सेवामा भर्ना गरिनेछ । इच्छुकले १५ दिनभित्रमा महानगरपालिकाको प्रशासन विभागमा निवेदन सक्ने पनि महानगरले जनाएको छ ।
नेको इन्स्योरेन्सका सीईओ खड्काले पाए निरन्तरता
काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्काले निरन्तरता पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खड्काको कार्यकाल थप्ने निर्णय गरी स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । उक्त प्रस्तावलाई प्राधिकरणले असार १९ गते स्वीकृत गरेको छ । यससँगै सीईओ खड्काले नेको इन्स्योरेन्समा दोश्रो कार्यकाल सम्हाल्ने भएका छन् । २०७६ साउनमा सीईओमा नियुक्त भएका सीईओ खड्काको पहिलो कार्यकाल आगामी साउनको तेश्रो सातादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको हो । इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्नु अघि खड्का नेको इन्स्योरेन्सको डेपुटी सीईओ थिए । वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा असिस्टेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरे । अधिकृतमा काम गर्दै गर्दा सो बैंक छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् । प्राइममा साढे दुई वर्ष काम गरेपछि खड्का स्टाण्डर्ड फाइनान्समा डिजीएम भए । स्ट्याण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यसयता उनी डेपुटी सीईओ थिए ।
नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ
काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमा नियुक्त गरेको हो । उनी तराई भिलेज इन्भेष्टमेन्ट प्रा. लि. को तर्फबाट सञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक श्रेष्ठले असार १५ गते नै पद बहाली गरेकी हुन् ।