डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ (राउन्ड अफ ३२) को खेलमा बुधबार (आज) राति एटलान्टा स्टेडियममा इंग्ल्यान्डले डीआर कङ्गोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार पौने ११ बजे सुरु हुने भएको हो । यस खेलमा इंग्ल्यान्डलाई बलियो टोली मानिएको छ । प्रशिक्षक थोमस टुचेलको टोलीले शनिबार पानामालाई २–० ले पराजित गर्दै समूह ‘एल’को शीर्ष स्थान सुरक्षित गरेको थियो । तर त्यो जित निकाल्न इंग्ल्यान्डले अपेक्षाभन्दा धेरै संघर्ष गर्नुपरेको थियो । इंग्ल्यान्डले एक घण्टाभन्दा बढी समयसम्म गोल गर्न सकेन । त्यसपछि जूड बेलिङ्घमले कर्नरबाट आएको बललाई आकर्षक शैलीमा गोलमा परिणत गर्दै अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि कप्तान ह्यारी केनले अर्को गोल गर्दै विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक ११ गोल गर्ने खेलाडी बने । तर यो जितले समर्थकहरूको असन्तुष्टि पूर्ण रूपमा भने हटाउन सकेन । किनभने यसअघि इंग्ल्यान्डले घानासँग गोलरहित बराबरी खेलेको थियो, जहाँ टोलीले ७८.९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि जित निकाल्न सकेन । समूह चरणभर कुनै पनि टोलीले यति धेरै बल नियन्त्रणमा राखेर पनि खेल जित्न नसकेको तथ्यांक छ । डीआर कङ्गोले पनि इंग्ल्यान्डलाई त्यस्तै कठिन चुनौती दिन प्रयास गर्ने अपेक्षा गरिएको छ । समूह चरणमा डीआर कङ्गोको औसत बल नियन्त्रण केवल ३८.५ प्रतिशत थियो, जुन सबै टोलीमध्ये ३८औं स्थानमा थियो । यता इंग्ल्यान्ड भने ६५.३ प्रतिशत औसत बल नियन्त्रणसहित तेस्रो स्थानमा रह्यो । टुचेलको उत्कृष्ट सुरुआत हालसम्म केही उतारचढावपूर्ण प्रदर्शन गरे पनि टुचेलको प्रशिक्षणमा इंग्ल्यान्डले खेलेका ११ प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको छैन । टोलीले १० खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । यो सुरुआत इंग्ल्यान्डका पूर्व प्रशिक्षक रोन ग्रिनवुड (१९७७–१९८० बीच लगातार १६ खेल) र रोय होज्सन (२०१२–२०१३ बीच १४ खेल) पछि तेस्रो उत्कृष्ट अपराजित सुरुआत हो । यद्यपि टुचेलले डीआर कङ्गोलाई हल्का रूपमा नलिन चेतावनी दिएका छन् । ‘यदि हामी बहकियौं र अन्तिम १६ वा त्यसपछिका सम्भावित प्रतिद्वन्द्वीबारे सोच्न थाल्यौं भने त्यसको सजाय पाउनेछौं । अहिले हाम्रो ध्यान केवल एटलान्टामा हुने डीआर कङ्गोविरुद्धको खेलमा केन्द्रित हुनुपर्छ,’ टुखेलले भने । इतिहास रच्दै नकआउटमा पुगेको डीआर कङ्गो समूह ‘के’को अन्तिम खेलमा उज्बेकिस्तानसँग लामो समय १–० ले पछि परेको डीआर कङ्गो प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । तर योआने विस्साले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । त्यसपछि फिस्टोन मायेले र पुनः विस्साले गोल गर्दै डीआर कङ्गोलाई ३–१ को ऐतिहासिक जित दिलाए । यो जितसँगै डीआर कङ्गो पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो । विस्साले प्रतियोगितामा डीआर कङ्गोका चारमध्ये तीन गोल गरेका छन् । उनले क्लब फुटबलमा २०२५–२६ सिजनभरि गरेका गोलको संख्या पनि यही हो । क्लबका लागि उनले औसत ३०१ मिनेटमा एक गोल गरेका थिए भने विश्वकपमा प्रत्येक ९० मिनेटमा एक गोल गर्ने प्रभावशाली लयमा छन् । अफ्रिकी टोलीको कठिन चुनौती डीआर कङ्गोको यो विश्वकप नकआउट चरणमा प्रवेश ऐतिहासिक भए पनि अब उसले पूर्वविश्वविजेता इंग्ल्यान्डसँग खेल्नुपर्नेछ । यो विश्वकपको नकआउट चरणमा अफ्रिकी टोलीले पूर्व विश्वविजेतासँग खेल्ने ११औं अवसर हुनेछ । यसअघि सन् २०२२ मा मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर मात्र यस्तो चुनौती पार गर्न सफल भएको थियो । प्रशिक्षक सेबास्टियन डेसाब्रेले अनुभवी स्ट्राइकर सेड्रिक बाकाम्बुलाई निरन्तरता दिने कि उज्बेकिस्तानविरुद्ध प्रभावशाली प्रदर्शन गरेका फिस्टोन मायेलेलाई सुरुआती रोजाइमा राख्ने भन्ने निर्णय गर्नुपर्नेछ । इंग्ल्यान्डको टोली ह्यारी केन फेरि गोल गर्ने लक्ष्यमा हुनेछन् । उनले समूह चरणमा तीन गोल गर्दै पुरुष विश्वकपमा इंग्ल्यान्डका सर्वाधिक गोलकर्ता बनेका छन् । यदि उनले डीआर कङ्गोविरुद्ध पनि गोल गरे भने विश्वकप नकआउट चरणमा चार गोल पु‍र्याउँदै ज्योफ हस्र्टको कीर्तिमान बराबरी गर्नेछन् ।  इंग्ल्यान्डका लागि नकआउट चरणमा सबैभन्दा बढी ६ गोल गर्ने कीर्तिमान भने ग्यारी लिनेकरको नाममा छ । मिडफिल्डर डेक्लान राइस पिण्डुलाको सामान्य समस्याका कारण पानामाविरुद्ध विश्राममा थिए । उनी यस खेलमा सुरुआती टोलीमा फर्किने अपेक्षा गरिएको छ । इलियट एन्डरसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले यस विश्वकपमा इंग्ल्यान्डका खेलाडीमध्ये सबैभन्दा धेरै लाइन (ब्रेकिङ पास (३०), बल पुनः जित्ने (२०) र द्वन्द्व जित्ने (२४) तथ्यांक बनाएका छन् । समूह चरणमा इक्वेडरका पेड्रो भिटे बाहेक कुनै अन्य खेलाडीले यी तीनै सूचकमा २० भन्दा बढी उपलब्धि हासिल गरेका छैनन् । रक्षापङ्क्तिमा जारेल क्वान्सा घुँडाको चोटका कारण बाहिर रहने सम्भावना छ । रीस जेम्स अझै उपलब्ध नभएकाले टुचेलले राइट ब्याकमा जेड स्पेन्स वा एज्री कोन्सालाई खेलाउन सक्नेछन् ।  हेड–टु–हेड घानासँग बराबरी खेलेपछि यो विश्वकपमा इंग्ल्यान्डले दोस्रो अफ्रिकी टोलीसँग खेल्न लागेको हो । यसअघि सन् १९९० को विश्वकपमा इंग्ल्यान्डले समूह चरणमा इजिप्टलाई १–० ले तथा क्वार्टरफाइनलमा क्यामरुनलाई ३–२ ले हराएको थियो । विश्वकपको नकआउट चरणमा अफ्रिकी टोलीविरुद्ध इंग्ल्यान्डको अर्को खेल सन् २०२२ मा सेनेगलसँग भएको थियो, जहाँ इंग्ल्यान्ड ३–० ले विजयी भएको थियो । टुचेलको प्रशिक्षणमा इंग्ल्यान्डले जम्मा चार खेल मात्र जित्न सकेको छैन, जसमध्ये दुई खेल अफ्रिकी टोलीविरुद्ध परेका छन् । घानासँगको बराबरीबाहेक सन् २०२५ जुनमा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड सेनेगलसँग ३–१ ले पराजित भएको थियो ।  खेलको सम्भावित नतिजा रक्षापङ्क्तिमा केही चोटको समस्या र आक्रमणमा अस्थिर प्रदर्शन देखिए पनि इंग्ल्यान्डलाई यस खेलको स्पष्ट दाबेदार मानिएको छ । अप्टा सुपरकम्प्युटरले गरेको २५ हजार सिमुलेसनअनुसार : ९० मिनेटभित्र इंग्ल्यान्डको जित्ने सम्भावना : ७३.९५ प्रतिशत डीआर कङ्गोको जित्ने सम्भावना : ११.३५ प्रतिशत खेल बराबरी हुने सम्भावना : १४.८५ प्रतिशत समग्रमा अन्तिम १६ मा पुग्ने सम्भावना : इंग्ल्यान्ड – ८२.०५ प्रतिशत डीआर कङ्गो – १८.०५ प्रतिशत

१ करोडमा ‘डग होस्टेल’ सञ्चालन, पहिलो चरणमा २० कुकुर राखियो

काठमाडौं । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको थियो । ५० वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेवारिसे, बिरामी तथा अशक्त भएका २० सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगपालिकाले जनाएको छ । बागलुङ नगरपालिका-३ स्थित पाँच रोपनी जग्गामा १ करोड रूपैयाँ खर्चेर जग्गा तारबारसहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको  नगरपालिका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए ।  नगरपालिका-३ सिम्लेस्थित पाँच रोपनी सार्वजनिक जग्गामा बागलुङ नगरको ३५ लाख रुपैयाँ र मुख्यमन्त्री कार्यालयको ६५ लाख रुपैयाँ खर्च गरेर होस्टेल बनाइएको थियो । नगरपालिकाले दुई वर्षअघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य ल्याएको थियो । ‘कुकुर बन्ध्याकरणसमेत भइरहेको र छाडा कुकुरलाई होस्टेलमा खानपानसहित व्यवस्थापन गर्ने योजना छ,’ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘घरपालुवा कुकुर बिरामी परेपछि बजारमा छोड्ने चलनले बजारमा यात्रुलाई टोकेर, दुर्घटना निम्ताउने समस्या भएकाले होस्टेल निर्माण गरिएको हो ।’ नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ । साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ । दर्ता गरेको कुकुर सडकमा आएमा घरधनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ । दर्ता गर्दा २०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

इतिहास रच्दै नर्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ मा नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हात पारेको छ । मंगलबार अमेरिकाको डलास स्टेडियममा भएको अन्तिम ३२ को प्रतिस्पर्धामा नर्वेले अफ्रिकी टोली आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । नर्वेका लागि पहिलो गोल एन्टोनियो नुसाले ३९औं मिनेटमा उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत गरे । पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा आइभरी कोस्टले खेलमा शानदार पुनरागमन ग‍र्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका अमाद डियालोले ७४औं मिनेटमा बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला स्टार फरवार्ड एर्लिङ हालान्डले ८६औं मिनेटमा निर्णायक गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए । प्याट्रिक बर्गको लो–क्रसलाई उनले सहज रूपमा जाली चुमाएका थिए । यो जारी विश्वकपमा हालान्डको पाँचौं गोल पनि हो । आइभरी कोस्टले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसरको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । बराबरी गोल गरेपछि पनि रक्षापंक्तिमा आएको सानो कमजोरी नर्वेले पूरा उपयोग गर्दै अन्तिम १६ को यात्रा तय ग‍र्यो । यो जितसँगै नर्वेले विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जित्ने कीर्तिमान बनाएको छ । अब नर्वेले अन्तिम १६ मा पाँच पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।