चार पटकको विजेता जर्मनी बाहिरिँदा अन्तिम १६ मा को-को भिड्दै छन् ?

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल (राउन्ड अफ ३२) का सबै खेल सम्पन्न भएसँगै अन्तिम १६ टोलीको टुङ्गो लागेको छ । शनिबार (आज) देखि प्रत्येक खेल जित वा घर फर्किने अवस्थाको हुने भएकाले उपाधि दौड थप रोमाञ्चक बनेको छ । राउन्ड अफ ३२ मा केही ठूला उलटफेर देखिए । चार पटकको विश्वविजेता जर्मनी पाराग्वेसँग टाइब्रेकरमा स्तब्ध बन्यो भने गत संस्करणमा तेस्रो भएको क्रोएसिया पोर्चुगलसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । दाबेदार नेदरल्यान्ड्स मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदा एसियाली शक्ति जापान ब्राजिलसँग तथा अफ्रिकाको बलियो टोली सेनेगल बेल्जियमसँग हार्दै बाहिरिए । यता साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, ब्राजिल, स्पेन, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल, मोरक्कोलगायतका उपाधि दाबेदार टोलीले भने अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।  सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै घरेलु समर्थकमाझ ऐतिहासिक सफलता हासिल गर्यो । ब्राजिलले जापानलाई हराउँदा नर्वेले आइभरी कोस्टलाई तथा फ्रान्सले स्वीडेनलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे ।  यस्तै मेक्सिकोले इक्वेडरलाई, इंग्ल्यान्डले कङ्गोलाई, बेल्जियमले सेनेगललाई र अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गरे । स्पेनले अस्ट्रियामाथि सहज जित निकाल्दा स्विट्जरल्यान्डले अल्जेरियालाई हरायो । इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा पराजित गर्दा अर्जेन्टिनाले केप भर्डेलाई र कोलम्बियाले घानालाई हराउँदै अन्तिम १६ मा स्थान बनाए ।  अब क्वाटरफाइनल प्रवेशका लागि हुने प्रतिस्पर्धामा आकर्षक भिडन्तहरू तय भएका छन् । पहिलो खेलमा शनिबार राति पौने ११ बजे क्यानडा र मोरक्को आमनेसामने हुनेछन् । त्यसपछि आइतबार बिहान पौने ३ बजे पाराग्वेले फ्रान्सको चुनौती सामना गर्नेछ ।  सोमबार बिहान पौने २ बजे ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन बिहान मेक्सिको र इंग्ल्यान्ड भिड्नेछन् ।  मंगलबार बिहान पौने १ बजे दुई युरोपेली शक्ति पोर्चुगल र स्पेनबीच बहुप्रतीक्षित खेल हुनेछ । त्यही दिन अमेरिका र बेल्जियम पनि क्वाटरफाइनल यात्राका लागि प्रतिस्पर्धामा उत्रिनेछन् ।  मंगलबार राति पौने १० बजे साविक विजेता अर्जेन्टिना र इजिप्ट आमनेसामने हुनेछन् भने अन्तिम प्रि-क्वाटरफाइनल खेल बुधबार बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुनेछ ।   

घानालाई पराजित गर्दै कोलम्बिया फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १-० ले पराजित गर्दै कोलम्बियाले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उक्त गोल नै खेलको निर्णायक बन्यो । यससँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रो पटक नकआउट चरणमा जित निकालेको हो । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो । कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकसहित समूह ‘के’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।

पेनाल्टीमा अष्ट्रेलियालाई हराउँदै अन्तिम १६ मा इजिप्ट

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको छ । यससँगै इतिहासमै पहिलो पटक इजिप्टले विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा खेल १-१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमार्फत भएको हो ।  डलास स्टेडियममा भएको खेलमा इजिप्टले १३औं मिनेटमै इमाम आशुरको उत्कृष्ट हेडरमार्फत अग्रता लिएको थियो । त्यसपछि अष्ट्रेलियाले लगातार दबाब सिर्जना गर्दै ५५औं मिनेटमा मोहम्मद हानीको आत्मघाती गोलको लाभ उठाएर खेल बराबरीमा ल्यायो । त्यसपछि दुवै टोलीले केही राम्रो अवसर बनाए पनि थप गोल निस्कन सकेन । पेनाल्टी सुटआउटमा भने इजिप्टका महमुद साबेर, रामी राबिया, मोहम्मद सलाह र हसम अब्देलमागुइदले सबै प्रहार गोलमा परिणत गरे । अष्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनको प्रहार असफल भएपछि इजिप्टले ४–२ को जित हात पार्दै ऐतिहासिक सफलता हासिल गर्यो । ​खेलभर अष्ट्रेलियाले संघर्षपूर्ण प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसर सदुपयोग गर्न सकेन । इजिप्टका कप्तान मोहम्मद सलाहले गोल गर्न नसके पनि टोलीको आक्रमण र पेनाल्टी सुटआउटमा महत्त्वपूर्ण भूमिका निभाए । यस जितसँगै इजिप्टले विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरण जित्दै अन्तिम १६ को यात्रा तय गरेको छ भने अष्ट्रेलियाको अभियान अन्तिम ३२ मै समाप्त भएको छ ।