साउदी अरबले भारत र पाकिस्तानसहित १३ देशमाथि लगायो भीसा प्रतिबन्ध

काठमाडौं । साउदी अरबले १३ देशका नागरिकहरूका लागि अस्थायी रूपमा भीसा प्रतिबन्ध लगाएको छ ।  यो प्रतिबन्ध व्यापारिक (बिजनेस), पारिवारिक (फ्यामिली) र उमराह भीसामा समेत लागू हुनेछ । बिना दर्ता (रजिस्ट्रेशन) हजमा सहभागी हुने व्यक्तिहरूलाई रोक्नका लागि साउदी सरकारले यो अस्थायी कदम चालेको हो ।  यो प्रतिबन्ध जुन महिनाको मध्यसम्म अर्थात् यस वर्षको हज सम्पन्न नहुन्जेलसम्म लागु हुनेछ । साउदी अधिकारीहरूका अनुसार विदेशी नागरिकहरूले १३ अप्रिलसम्म मात्रै उमराह भीजाका लागि आवेदन दिन सक्नेछन् । त्यसपछि उमराह भीसा जारी गरिने छैन । बिना अनुमति हज गर्दा हजारौंको ज्यान गयो गत वर्ष हजको क्रममा हजारौं हज यात्रुहरूको मृत्यु भएको थियो । मृतकमध्ये धेरैजसो बिना अनुमति, अवैध रूपमा हजमा गएका थिए । त्यसैले यो प्रतिबन्धको उद्देश्य यस्ता अनधिकृत हज यात्रुहरूलाई रोक्नु हो । साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हज व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित राख्न वीजा प्रक्रियामा कडाई गर्ने निर्णय गरेका हुन् । यी १३ देशहरूमा प्रतिबन्ध साउदी अरबले जस देशमाथि अस्थायी भीजा प्रतिबन्ध लगाएको छ, ती देशहरू हुन्ः भारत, पाकिस्तान, बंगलादेश, इजिप्ट (मिस्र), इन्डोनेसिया, इराक, नाइजेरिया, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमन । हजलाई व्यवस्थित बनाउन लिइयो यस्तो निर्णय साउदी विदेश मन्त्रालयले जनाएको छ कि यो अस्थायी प्रतिबन्ध यात्रालाई सरल बनाउन मद्दत गर्नेछ । यसबाट हजको समयमा सुरक्षामा सुधार आउनेछ । अधिकारीहरूले सबैलाई नयाँ नियमहरूको पालना गर्न अनुरोध गरेका छन् ताकि यात्रुहरूलाई कुनै असहज नहोस् । यदि कसैले यो प्रतिबन्धको उल्लंघन गरेर गैरकानुनी रूपमा साउदी अरबमा बस्यो भने उसलाई ५ वर्षसम्म साउदी अरब प्रवेशमा प्रतिबन्ध लगाइनेछ । डिजिटल गाइड पनि जारी साउदी अरबले हज र उमराहका लागि पहिले नै १६ भाषामा एक डिजिटल गाइड पनि सार्वजनिक गरिसकेको छ । साउदी सञ्चारमाध्यमहरूका अनुसार यो गाइड विभिन्न फम्र्याटहरूमा उपलब्ध छ । अधिकारीहरूले भनेका छन् कि उनीहरू हजको समयमा यात्रुहरूको सुरक्षा प्रति गम्भीर छन् र यात्रुहरूले सुरक्षित र आरामदायी रूपमा हज पूरा गर्न सकून् भन्ने सुनिश्चित गर्न चाहन्छन् । हजको संख्यामा नियन्त्रण साउदी सरकारले प्रत्येक देशका लागि वार्षिक हज कोटामा सीमित संख्यामा अनुमति प्रदान गर्छ । तर, धेरैजसो विदेशी नागरिकहरूले बिना दर्ता हजमा सहभागी हुने गर्छन् । यो समस्या सन् २०२४ मा विशेष रूपमा गम्भीर बन्यो जब अत्यधिक गर्मी र भीडका कारण एक हजारभन्दा बढी हज यात्रुहरूको मृत्यु भएको थियो । यस घटनाले अनधिकृत हज यात्रुहरूको व्यवस्थापनमा सुधारको आवश्यकता औंल्याएको साउदी अधिकारीहरूको भनाइ छ ।

बेलायतको ज्यागुआर ल्याण्ड रोभरले आफ्ना गाडी अमेरिका नपठाउने

काठमाडौं । ज्यागुआर ल्याण्ड रोभरले एक महिनाका लागि बेलायतमा निर्माण गरिएका कारहरूको अमेरिका निर्यात रोक्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २५ प्रतिशत भन्सार महसुलको लागतलाई कसरी न्यून पार्ने भन्नेबारे विचार गरिरहेका बेला कम्पनीले यस्तो निर्णय गरेको हो ।  भारतको टाटा मोटर्सको स्वामित्वमा रहेको ज्यागुआर ल्याण्ड रोभरले टाइम्स पत्रिकाले यसबारेमा समाचार प्रशारण गरेपछि अस्थायी रूपमा निर्यात रोकेको कुरा शनिबार पुष्टि गरेको हो । 'हाम्रा व्यापार साझेदारहरूसँगको नयाँ व्यापार सर्तहरूलाई सम्बोधन गर्न हामीले केही छोटो अवधिका कदमहरू चालिरहेका छौं जसमा अप्रिल महिनामा ढुवानी रोक्ने निर्णय पनि पर्दछ,' कम्पनीले इमेलमार्फत दिएको विज्ञप्तिमा भनिएको छ । बेलायतको कार उद्योग जसमा प्रत्यक्ष रूपमा २ लाख मानिस कार्यरत छन् । कम्पनी नयाँ भन्सार महसुलप्रति निकै संवेदनशील छ । अमेरिकी बजार युरोपेली आयोग (यूएन) पछि बेलायती कारहरूको दोस्रो सबैभन्दा ठूलो आयातकर्ता हो, जसको हिस्सा करिब २० प्रतिशत छ ।  बेलायतमा सबैभन्दा ठूलो उत्पादन गर्ने कम्पनीमध्ये एक ज्यागुआर ल्याण्ड रोभरले आफ्नो विज्ञप्तिमा अमेरिकालाई आफ्ना लक्जरी ब्रान्डहरूका लागि महत्त्वपूर्ण बजार भएको बताएको छ । कम्पनीले वार्षिक रूपमा ४ लाख वटा रेन्ज रोभर स्पोर्ट, डिफेन्डर र अन्य मोडेलहरू बिक्री गर्छ र तीमध्ये झन्डै एक चौथाइ अमेरिकी बजारमा निर्यात गरिन्छ । अमेरिकामा आयात गरिएका कार तथा लाइट ट्रकहरूमा २५ प्रतिशत भन्सार महसुल अप्रिल ३ बाट लागू भएको हो । बेलायतले भने अमेरिकासँग व्यापार सम्झौता गर्न केन्द्रित रहेको जनाएको छ । टाइम्सले जनाएअनुसार ज्यागुआर ल्याण्ड रोभरसँग अमेरिकामा केही महिनाको लागि पुग्ने पर्याप्त स्टक पहिले नै छ, जसमा नयाँ भन्सार महसुल लागू हुने छैन । यता  निसान मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका अटो ट्यारिफहरू पछि मेक्सिकोमा बनेका दुई इन्फिनिटी एसयूभीहरूको लागि अमेरिकाबाट नयाँ अर्डरहरू नलिने निर्णय गरेको छ । जापानी अटोमेकर निसानले अब मेक्सिकोमा मर्सिडिज–बेन्जसँग मिलेर सञ्चालन गरिएको कम्पास प्लान्टमा उत्पादन गरिएका इन्फिनिटी क्यूएक्स फिफ्टी र क्यूएक्स फिफ्टी फाइभ एसयूभीहरूको लागि अमेरिकी बजारको थप अर्डर स्वीकार नगरिने जनाएको छ । तर, अन्य बजारहरूका लागि ती मोडेलहरूको उत्पादन जारी रहने बताइएको छ । ट्रम्पको ट्यारिफपश्चात विभिन्न अटो निर्माताहरूले विभिन्न कदम उठाइरहेका छन् । ट्यारिफले अटो उद्योगलाई निकै घाटा हुने विज्ञहरूले चेतावनी दिएका छन् ।

ट्रम्पले गरे ६६ करोड ७५ लाख रुपैयाँको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

वाशिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा पहिलो ‘गोल्ड कार्ड’ भिसा अनावरण गरेका छन् । जसको मूल्य ५० लाख अमेरिकी डलर (६६ करोड ७५ लाख रुपैयाँ) राखिएको छ । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, 'विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ ।' उनले आफैं पहिलो खरीदकर्ता भएको घोषणा गर्दै नयाँ भिसा कार्यक्रमलाई 'अमेरिकी नागरिकताको अत्यधिक मूल्यवान् मार्ग' भनेर वर्णन गरे । ट्रम्पका अनुसार परम्परागत ग्रिन कार्डको उच्च मूल्य संस्करणको रूपमा ल्याइएको ‘गोल्ड कार्ड’ भिसा बिक्रीबाट संकलित रकमलाई रोजगारी सिर्जना र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गरिनेछ । फेब्रुअरीमा गरिएको घोषणाअनुसार, ट्रम्प प्रशासनले सम्भवतः १० लाख ‘गोल्ड कार्ड’ भिसा बिक्री गर्ने लक्ष्य राखेको छ । ट्रम्पले यस योजनामा रूसी कुलीन वर्गहरूलाई समेत समेट्न सकिने सम्भावना रहेको विषयलाई पूर्णरूपमा अस्वीकार नगरेको बताएका छन् । यो नयाँ भिसा कार्यक्रमलाई ट्रम्पको राष्ट्रपति पुनःनिर्वाचन अभियानको महत्वपूर्ण रणनीति को रूपमा हेरिएको छ । जसमा उनले लाखौँ कागजातविहीन आप्रवासीलाई देशनिकाला गर्ने नीति अघि सारेका छन् ।