चीनको नयाँ सफलता : ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा अवतरण
काठमाडौं । चीनले बुधबार बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट ‘जुके–३’ को सफल प्रक्षेपण गरेको छ । यस अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमिनमा सफलतापूर्वक अवतरण गराउन सफलता प्राप्त गरेको हो । उत्तर–पश्चिमी चीनस्थित दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट जोनबाट बेइजिङ समयअनुसार बुधवार बिहान ७ः३५ बजे ‘जुके–३ वाई–२’ रकेट प्रक्षेपण गरिएको थियो । निर्धारित योजनाअनुसार नै रकेटको पहिलो खण्ड जमिनमा अवतरण भएको र उक्त उडान अभियान पूर्णरूपमा सफल भएको अधिकारीहरूले जनाएका छन् । यसअघि गत जुलाई १० मा चीनले ‘लङ मार्च–१० बी’ रकेटको पहिलो खण्डलाई समुन्द्रमा सफलतापूर्वक अवतरण गराएको थियो । तर अवतरणका लागि खुट्टाहरूको प्रयोग गरी जमिनमा नियन्त्रित रूपमा रकेट फिर्ता ल्याइएको यो चीनको पहिलो सफल परीक्षण हो । यस उपलब्धिलाई चीनको पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको क्षेत्रमा एक ठूलो फड्को मानिएको छ । यो सफलतासँगै चीनले अन्तरिक्ष अभियानको लागत घटाउने र रकेट प्रविधिलाई थप दिगो बनाउने दिशामा महत्वपूर्ण माइलढुङ्गा पार गरेको छ ।
दुई पाइलट शंकाको घेरामा, यसकारण चर्चामा छ एयर इन्डिया
काठमाडौं । फुकेट-दिल्ली उडानका क्रममा एयर इन्डियाको विमान आकाशमै करिब ३०० फिट तल झरेको थियो । त्यस घटनापछि सुरु गरिएको विशेष परीक्षणका क्रममा थप दुई पाइलटको प्रारम्भिक रिपोर्ट ‘नन–नेगेटिभ आएको छ । उनीहरूको नमुना अन्तिम पुष्टि परीक्षणका लागि पठाइएको छ भने दुवैलाई तत्कालका लागि उडान ड्युटीबाट हटाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसका पाइलटलाई लक्षित गरी अगस्ट १३ देखि सुरु गरिएको अनिवार्य ड्रग टेस्टअन्तर्गत हालसम्म करिब ३०० देखि ४०० पाइलटको परीक्षण भइसकेको छ । त्यसमध्ये दुई पाइलटको प्रारम्भिक परीक्षणमा ‘नन–नेगेटिभ’ नतिजा आएको हो । परीक्षण अभियान भने अझै जारी छ । ‘नन–नेगेटिभ’ आएको भन्दैमा ती पाइलटले प्रतिबन्धित पदार्थ सेवन गरेको अन्तिम रूपमा पुष्टि भएको भने होइन । प्रारम्भिक परीक्षणमा सम्भावित पदार्थको संकेत देखिएपछि नमुना थप विस्तृत परीक्षणका लागि पठाइन्छ । त्यसबाट प्राप्त हुने पुष्टि नतिजापछि मात्रै सम्बन्धित पाइलटको परीक्षण सकारात्मक वा नकारात्मक भएको टुंगो लाग्नेछ । यही कारण दुवै पाइलटलाई अन्तिम रिपोर्ट नआएसम्म उडानबाट अलग राखिएको हो । पाइलटमाथि यस्तो व्यापक परीक्षण सुरु हुनुको मुख्य कारण अगस्ट ४ मा भएको एयर इन्डियाको फुकेट–दिल्ली उडानको गम्भीर घटना हो । एयर इन्डियाको एआई २३७९ उडानमा रहेको एयरबस ए३२० नियो विमान थाइल्यान्डको फुकेटबाट भारतको नयाँदिल्लीका लागि उडिरहेको बेला अचानक करिब ३०० फिट उचाइ गुमाएको थियो । विमानमा १३७ यात्रु र आठ चालकदल सदस्य रहेको र घटनामा यात्रु तथा चालकदलका सदस्य गरी २४ जना घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ । विमान भने सुरक्षित रूपमा नयाँदिल्लीमा अवतरण गरेको थियो । घटनापछि सुरुमा विमान अचानक तल झर्नुलाई गम्भीर हावाको अस्थिरता अर्थात् टर्बुलेन्ससँग जोडेर हेरिएको थियो । तर त्यसपछि विमान निर्माता एयरबसले उडानको तथ्यांकमाथि गरेको प्रारम्भिक मूल्यांकनले घटनाबारे थप गम्भीर प्राविधिक प्रश्न उठाएको छ । प्रारम्भिक मूल्यांकनअनुसार विमानका तीनवटै स्वतन्त्र हाइड्रोलिक प्रणालीमा छोटो समयका लागि समस्या देखिएको थियो । त्यसका कारण केही सेकेन्डका लागि विमानका उडान नियन्त्रण प्रणालीमा समस्या आएको र विमानले करिब ३०० फिट उचाइ गुमाएको बताइएको छ । एयरबसको प्रारम्भिक मूल्यांकनले यो असामान्य किसिमको प्राविधिक समस्या हुन सक्ने देखाएको छ । यद्यपि यो नै घटनाको अन्तिम कारण हो भन्ने निष्कर्ष भने निकालिएको छैन । प्राविधिक अनुसन्धानका क्रममा हाइड्रोलिक प्रणालीमा देखिएको समस्या वास्तविक प्रणालीगत खराबी थियो वा कुनै प्राविधिक गडबडीका कारण त्यस्तो संकेत देखिएको थियो भन्ने विषयमा समेत अध्ययन भइरहेको छ । विमानको उडान रेकर्डरबाट प्राप्त तथ्यांक, मर्मतसम्भारसम्बन्धी विवरण तथा घटनाका अन्य प्राविधिक पक्षलाई अनुसन्धानको दायरामा राखिएको छ । यसैबीच, घटनामा संलग्न उडानका क्याप्टेनको पदार्थ परीक्षणले पनि विषयलाई थप संवेदनशील बनाएको छ । घटनापछि गरिएको परीक्षणमा क्याप्टेनको प्रारम्भिक परीक्षणमा थप जाँच आवश्यक पर्ने संकेत देखिएको थियो । त्यसपछि गरिएको पुष्टि परीक्षणमा गाँजासँग सम्बन्धित पदार्थ अर्थात् मारिजुआना सकारात्मक देखिएको रिपोर्ट सार्वजनिक भएको छ । रोयटर्सले स्रोतलाई उद्धृत गर्दै क्याप्टेनको पुष्टि परीक्षणमा मारिजुआना सकारात्मक देखिएको जनाएको छ । यद्यपि क्याप्टेनको परीक्षण सकारात्मक देखिएको विषयलाई विमान ३०० फिट तल झर्नुको प्रत्यक्ष कारणका रूपमा स्थापित गरिसकिएको छैन । विमानको प्राविधिक समस्या र चालकदलसँग सम्बन्धित पक्षलाई अनुसन्धानकर्ताहरूले छुट्टाछुट्टै कोणबाट हेरिरहेका छन् । घटनाको वास्तविक कारणबारे अन्तिम निष्कर्ष अनुसन्धान पूरा भएपछि मात्रै आउनेछ । क्याप्टेनको परीक्षण सकारात्मक देखिएपछि एयर इन्डिया समूहले आफ्ना सबै पाइलटको एकपटक अनिवार्य पदार्थ परीक्षण गर्ने निर्णय गरेको हो । एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसका गरी करिब ५ हजार पाइलट यस अभियानको दायरामा छन् । कम्पनीले नियमित रूपमा हुने परीक्षणभन्दा बाहिर गएर यो अतिरिक्त परीक्षण सुरु गरेको हो । परीक्षण एयर इन्डिया समूहका विभिन्न पाइलट बेस तथा प्रशिक्षण केन्द्रमा सञ्चालन भइरहेको बताइएको छ । यस अभियानको उद्देश्य पाइलटहरू उडानका लागि पूर्ण रूपमा योग्य र सुरक्षित अवस्थामा छन् भन्ने सुनिश्चित गर्नु रहेको कम्पनीको कदमबाट देखिन्छ । हालसम्म परीक्षण गरिएका पाइलटमध्ये दुई जनाको प्रारम्भिक नतिजा नन–नेगेटिभ आएपछि उनीहरूलाई उडानबाट हटाइएको हो । उनीहरूको अन्तिम परीक्षण नतिजा आएपछि मात्रै थप निर्णय हुनेछ । यस घटनाको अनुसन्धान भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले गरिरहेको छ । प्राविधिक अनुसन्धानमा विमान निर्माता एयरबस र फ्रान्सको बीईएले पनि सहयोग गरिरहेका छन् । अनुसन्धानकर्ताहरूले विमानको उडानसम्बन्धी तथ्यांक, मर्मतसम्भार अभिलेख र चालकदलसँग सम्बन्धित विवरणलगायत विषय अध्ययन गरिरहेका छन् । यसरी हेर्दा फुकेट–दिल्ली उडानमा भएको ३०० फिटको अचानक उचाइ गिरावट अहिले एयर इन्डियाका लागि बहुआयामिक सुरक्षा अनुसन्धानको विषय बनेको छ । एकातिर विमानको तीनवटै हाइड्रोलिक प्रणालीमा देखिएको क्षणिक समस्या र त्यसबाट उडान नियन्त्रण प्रभावित भएको विषय छ भने अर्कोतिर यस घटनापछि एयर इन्डियाको उडान सुरक्षा, पाइलट परीक्षण तथा चालकदलसँग सम्बन्धित सुरक्षा मापदण्डमाथि थप प्रश्न उठेको छ । तर अहिलेको अवस्थामा यी दुई पक्षबीच प्रत्यक्ष सम्बन्ध रहेको निष्कर्ष निकाल्न मिल्दैन । त्यस्तै, पछिल्लो परीक्षणमा ‘नन–नेगेटिभ’ आएका दुई पाइलटले प्रतिबन्धित पदार्थ सेवन गरेको पुष्टि भइसकेको भन्न पनि मिल्दैन । उनीहरूको पुष्टि परीक्षणको नतिजा आउन बाँकी छ । एयर इन्डियाको सुरुवात सन् १९३२ मा भएको हो । भारतीय उद्योगपति जे.आर.डी. टाटाले स्थापना गरेको यो कम्पनी सुरुमा ‘टाटा एयरलाइन्स’का रूपमा सञ्चालनमा आएको थियो । १५ अक्टोबर १९३२ मा कराँचीबाट मुम्बई हुँदै मद्रासतर्फ पहिलो उडान सञ्चालन गरिएको थियो । पछि सन् १९४६ मा टाटा एयरलाइन्सको नाम परिवर्तन गरेर एयर इन्डिया राखियो । सन् १९४८ मा भारत सरकार र टाटा समूहको साझेदारीमा एयर इन्डिया इन्टरनेशनल सुरु भयो र यसले अन्तर्राष्ट्रिय उडान विस्तार गर्यो । सन् १९५३ मा भारत सरकारले एयर इन्डियालाई राष्ट्रियकरण गर्यो । त्यसपछि करिब सात दशक एयर इन्डिया सरकारी स्वामित्वमा रह्यो । लामो समय सरकारी स्वामित्वमा रहेपछि सन् २०२२ मा एयर इन्डिया पुनः टाटा समूहकै स्वामित्वमा फर्कियो । भारत सरकारले घाटामा रहेको एयर इन्डियालाई टाटा समूहलाई बिक्री गरेको थियो । त्यसपछि एयर इन्डियालाई पुनर्संरचना गर्ने र अन्तर्राष्ट्रिय स्तरको ठूलो एयरलाइन बनाउने योजना अघि बढाइएको छ । अहिले एयर इन्डिया टाटा समूहको नेतृत्वमा रहेको एयरलाइन समूह हो । यसमा एयर इन्डियासँगै एयर इन्डिया एक्सप्रेसलगायतका कम्पनी छन्। समूहले विमान संख्या, अन्तर्राष्ट्रिय गन्तव्य र कर्मचारी संख्या विस्तार गरिरहेको छ ।
पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सार्न आदेश
काठमाडौं । पाकिस्तानको सुप्रीम कोर्टले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्न आदेश दिएको छ । उनलाई आगामी सेप्टेम्बर १६ मा हुने अर्को सुनुवाइसम्म अस्पतालमै राखिनेछ । सुप्रीम कोर्टको तीन सदस्यीय इजलासले इमरान खानलाई अस्पताल भर्ना गराउन माग गर्दै दायर गरिएको निवेदनमाथि सुनुवाइ गरेको हो । इजलासको अध्यक्षता न्यायाधीश शाहिद वाहिदले गरेका थिए । न्यायाधीश नईम अख्तर अफगान र न्यायाधीश इश्तियाक इब्राहिम इजलासका सदस्य थिए । सुप्रीम कोर्टले अदियाला जेलका प्रमुखलाई अदालतको अवहेलनासम्बन्धी सूचना पनि जारी गरेको छ । अदालतले इमरान खानको स्वास्थ्य अवस्थासँग सम्बन्धित सम्पूर्ण मेडिकल रेकर्ड पेस गर्न निर्देशन दिएको छ । अदालतले इमरान खानलाई उनका परिवारका सदस्यसँग हरेक साता भेटघाट गर्न दिने व्यवस्था सुनिश्चित गर्न पनि अधिकारीहरूलाई आदेश दिएको छ । यसका साथै अदालतले इमरान खानसँग भएका सबै भेटघाटको विस्तृत विवरण तथा उनीविरुद्ध विचाराधीन सबै मुद्दाको पूर्ण जानकारी उपलब्ध गराउन पनि निर्देशन दिएको छ । इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सुप्रीम कोर्टको निर्णयको स्वागत गरेका छन् । उनले भने, ‘इमरान खानलाई शिफा इन्टरनेसनल अस्पताल पठाउने आदेश सही छ । यो निर्णय पहिले नै भएको भए उनको आँखाको अवस्था र स्वास्थ्य यति खराब हुने थिएन ।’