ट्रम्पको अर्थ नीति : यी तीन शीर्षकमा कर नलाग्ने, भन्सार शुल्क बढाउनेदेखि ब्याजदर घटाउनेसम्म

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा पुनः डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । हप्तौंको चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन् । उनले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो पटक विश्व शक्तिमान राष्ट्र अमेरिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् । राष्ट्रपतिमा ट्रम्पको पुनः आगमनसँगै अब अमेरिकासँगै अन्य देशहरूको पनि व्यापार व्यवसाय, कुटनीतिक, सामाजिक तथा सांस्कृतिक विषयमा पनि बहस हुन थालेको छ । ठूलो अर्थतन्त्र भएको देश भएकोले पनि अमेरिकाको नेतृत्वको कार्यशैली र नीतिले धेरै देशमा प्रभाव पार्छ । ट्रम्प राष्ट्रपति बनेसँगै अब अमेरिकासँगै अन्य देशको अर्थतन्त्र कस्तो दिशा समात्ला ? उनको आर्थिक नीति के हो ? उनले चुनावी सभामा के कस्ता कार्यक्रम तथा प्रतिवद्धताहरू गरेका थिए ? आज हामीले उनले चुनावमा अगाडि सारेका प्रतिवद्धता र अब अवलम्बन गर्न सक्ने नीतिको विषयमा चर्चा गरेका छौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा कर राहत प्रदान गर्ने, मूल्य कम गर्ने, भन्सार शुल्क बढाउने र अर्थतन्त्रलाई मजबुत बनाउने कार्यक्रमहरू अगाडि सारेका थिए । उनका तिनै प्रतिवद्धताहरू मन पराएर अमेरिकी जनताले उनलाई बहुमत दिएर जिताए पनि । अहिले उनका ती प्रतिवद्धतालाई धेरै चासोका साथ हेरेका छन् । ट्रम्प यसअघि राष्ट्रपति हुँदा पनि उनले सन् २०१७ मा ट्याक्स कट्स एन्ड जब्स ऐन पारित गरेका थिए । सो ऐनले विभिन्न वस्तुमा कर घटाउन सहयोग पुर्‍याएको थियो । डेमोक्र्याटहरूले भने यो ऐनले धनीहरूलाई फाइदा भएको भन्दै आलोचनासमेत गरेका थिए । ट्रम्प पुनः यस ऐनले प्रदान गरेका सबै व्यक्तिगत आय कर र सम्पत्ति कर कटौतीलाई विस्तार गर्न चाहन्छन् । उनी व्यक्तिको आम्दानीमा लाग्ने कर र सम्पत्ति करको दर घटाउन चाहन्छन् । साथै, ट्रम्पले राज्य र स्थानीय कर कटौतीमा रहेको सीमा हटाउने प्रस्ताव पनि गरेका छन् । ट्रम्पले कर्पोरेट कर दरलाई १५ प्रतिशतमा झार्ने प्रस्ताव गरेका छन् । अहिले अमेरिकामा २१ प्रतिशत कर्पोरेट कर छ । ट्रम्पले कम्पनीहरूलाई उपकरण र अनुसन्धानमा लगानीको लागत तुरुन्तै कटौती गर्न सक्ने व्यवस्था पनि पुनः लागू गर्ने योजना बनाएका छन् । कर हटाउने योजना राष्ट्रपति ट्रम्पले विभिन्न कर के कसरी घटाउने, कति घटाउने भन्ने विषय चुनावी अभियानमा घोषणा गरेका थिए । उनले टिप्स, सामाजिक सुरक्षा र ओभरटाइम पारिश्रमिकमा लाग्ने कर हटाउने योजना प्रस्तुत गरेका थिए । ट्रम्पले टिप्समा लाग्ने कर अन्त्य गर्ने प्रतिवद्धता गरेका थिए । ट्रम्पले संघीय आयकर र पे–रोल कर (जसले सामाजिक सुरक्षा र मेडिकेयरलाई वित्तीय सहायता पुर्‍याउँछ) दुवै कर हटाउने प्रतिवद्धता पनि चुनावी प्रचारप्रसारमा गरेका थिए । ट्रम्पले टिप्समा लाग्ने पे-रोल कर हटाएमा लगभग सबै टिप्स प्राप्त गर्ने कर्मचारीहरूले कर राहत पाउनेछन् । उनले जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षामा पनि कर नलाग्ने घोषणा गरेका थिए । ट्रम्पले ओभरटाइम पारिश्रमिकमा लाग्ने कर हटाउने पनि प्रस्ताव गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले यी तीन शीर्षकमा कर नलाग्ने व्यवस्था गरेमा सामाजिक सुरक्षा कोषलाई वित्तीय चुनौती हुनेछ । यसले सरकारको राजस्व पनि घट्नेछ । ट्रम्पले यसको सट्टा भन्सार शुल्कबाट प्राप्त राजस्व प्रयोग गर्ने योजना बनाएका छन् । मध्यम वर्गलाई राहत ट्रम्पले चुनावी अभियानमा अमेरिकन नागरिकहरूको जीवनयापनको लागत कम गर्न विभिन्न योजनाहरू सार्वजनिक गरेका छन् । उनले क्रेडिट कार्डको ब्याजदरलाई अस्थायी रूपमा १० प्रतिशतको हाराहारीमा बनाउने घोषणा गरेका छन् । जुन वर्तमान ब्याजदरको आधाभन्दा कम हुन आउँछ । ट्रम्पले गाडी कर्जामा तिर्ने ब्याजलाई पूर्ण रूपमा कर कटौती गर्ने योजना अगाडि सारेका छन् । धेरैले उनको यो नीतिले धनी अमेरिकनलाई मात्रै राहत मिल्ने बताइरहेका छन् । जेष्ठ नागरिक र तिनीहरूका परिवारका सदस्यलाई मद्दत गर्न ट्रम्पले परिवार हेरचाहकर्ताहरूका लागि कर क्रेडिटको प्रस्ताव गरेका छन् । साथै उनले घरमै हेरचाह सेवा बढाउने र हेरचाहकर्मीको अभावमा पुग्ने विकृति हटाउने योजना पनि अगाडि सारेका छन् । भन्सार शुल्क र व्यापारमा वृद्धि ट्रम्पले चुनावी घोषणा कार्यक्रममा आफू पुनः राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकामा आयात हुने वस्तुमा १० देखि २० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । उनले चिनियाँ वस्तुको आयातमा ३० प्रतिशतसम्म शुल्क लगाउने घोषणा गरेका थिए । यस्तै, उनले मेक्सिकोमा बनेका गाडीहरूमा वा अमेरिकाबाट मेक्सिकोमा उत्पादन स्थानान्तरण गर्ने कम्पनीहरूले बनाएका उत्पादनहरूमा १०० प्रतिशतदेखि २०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने प्रतिवद्धता गरेका थिए । भन्सार शुल्क बढाउँदा अमेरिकी निर्माण उद्योगलाई प्रवर्द्धन गर्ने, रोजगार सिर्जना गर्ने र अन्य नीतिहरूको लागि आवश्यक लाखौ‌ं डलर राजस्व उठ्ने उनको भनाइ थियो । मूल्य घटाउने ट्रम्पले निवर्तमान राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले मूल्य बढाउन भूमिका खेलेको भन्दै आलोचना गर्ने गरेका थिए । उनले आफू राष्ट्रपति बनेपछि ग्यास, किराना सामान र अन्य आवश्यक वस्तुहरूको मूल्य घटाउने प्रतिवद्धता जाहेर गरेका थिए । ‘तेल र ग्यासको उत्पादनलाई बढाएर मूल्य घटाउन सकिन्छ, थप ड्रिलिङको अनुमति दिएर उत्पादन बढाउन सकिन्छ,’ उनले चुनावी घोषणा कार्यक्रममा भनेका थिए । ट्रम्पले इन्फ्लेसन रिडक्सन एक्ट अन्तर्गत खर्च नगरेका कोषहरू रद्द गर्ने घोषणा पनि गरेका थिए । उनले संघीय सरकारको वित्तीय र प्रदर्शन अडिट गर्ने नयाँ कार्यकुशलता आयोग पनि स्थापना गर्ने योजना अघि सारेका छन् । अर्बपति एलन मस्कले उक्त आयोगको नेतृत्व गर्न सहमति जनाएका छन् । आवासलाई सस्तो बनाउने ट्रम्पले आवासलाई सस्तो बनाउने प्रतिवद्धता पनि गरेका छन् । आवासलाई बढी पहुँचयोग्य बनाउन र आपूर्ति बढाउनका लागि विद्यमान कानुन संशोधन गर्ने उनको भनाइ थियो । उनले आवास कर्जाको ब्याजदर पनि घटाउने बताएका थिए । उनले यस्तो घोषणा गरेपनि बैंकको ब्याजदर घटबढ गराउनमा राष्ट्रपतिको कुनै भूमिका हुँदैन । बैंकहरू ब्याजदर घटाउन वा बढाउन स्वतन्त्र हुन्छन् । ट्रम्पले आवासको मूल्य बढ्नुमा अवैध आप्रवासीहरूलाई दोष दिएका छन्, जसलाई उनले सामूहिक निष्कासनमार्फत समाधान गर्ने र तिनीहरूलाई मोर्टगेज प्राप्त गर्न रोक्ने प्रस्ताव गरेका छन् । उनले पहिलो पटक घर खरिद गर्नेलाई विशेष सुविधा तथा सहुलियत दिने घोषणा गरेका छन् । अमेरिकी व्यवसायमा लगानी गर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पले भन्सार शुल्कहरू बढाउने र कर्पोरेट कर दर घटाउने योजनाले अमेरिकी निर्माण उद्योगमा ठूलो वृद्धि हुने अपेक्षा गरेका छन् । भन्सार शुल्कहरूले विदेशी वस्तुहरूलाई अमेरिकी उत्पादनहरूभन्दा महँगो बनाउनेछ । भन्सार शुल्क बढाएर विदेशी वस्तु आयातमा कमी गर्ने उनको योजना छ । उनले अमेरिकाभित्र उत्पादन गर्ने कम्पनीहरूको लागि कर्पोरेट कर दरलाई १५ प्रतिशतमा झार्ने नीतिले निर्माणमा पुनर्जागरण हुने उल्लेख गरेका छन् । सर्वसुलभ स्वास्थ्य सेवा स्वास्थ्य सेवा ट्रम्पको पहिलो कार्यकालको प्रमुख प्राथमिकता थियो । उनले अघिल्लो कार्यकालमा औषधीको मूल्य घटाउने प्रयास गरेपनि त्यो सम्भव हुन सकेन । अब उनले सर्वसुलभ स्वास्थ्य सेवामा जोड दिने बताइरहेका छन् । एजेन्सी

ट्रम्पको जितले मस्कलाई मालामाल, एकैदिन बढ्यो २६.५ बिलियन डलर सम्पत्ति

काठमाडौं । डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले खुलेर ट्रम्पको समर्थन गरेका थिए । चुनावी प्रचारप्रसारका क्रममा उनले ट्रम्प क्याम्पलाई ११९ मिलियन डलर पनि सहयाेग गरेका थिए । बुधबार अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउनेबित्तिकै मस्कको कम्पनी टेस्लाको सेयर १४.७५ प्रतिशतले बढेको थियो । यसले मस्कको कुल सम्पत्ति २६.५ बिलियन डलरले बढ्यो । अर्थात् मस्कले एकै दिनमा आफ्नो लगानीको २२ हजार ५४४ प्रतिशत प्रतिफल पाएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति अहिले २९० अर्ब डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६१.३ बिलियन डलरले बढेको छ । मस्कसँग टेस्लाको ४११ मिलियन सेयर छ । बुधबार कम्पनीको सेयर १४.७५ प्रतिशतले वृद्धि भएकाे थियाे । योसँगै सेयर मूल्य दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । टेस्ला ९२६.१९ बिलियन डलरको मार्केट क्यापका साथ विश्वको १० औं सबैभन्दा मूल्यवान कम्पनी हो । मस्कले ट्रम्पको र्‍यालीमा जसरी प्रचार गरे त्यसले उनलाई सरकारमा पनि स्थान दिन सक्ने अनुमान गरिएको छ । उनलाई अर्थमन्त्री बनाइने अनुमान पनि छ । एक र्‍यालीमा उनले अमेरिकी बजेटमा दुई ट्रिलियन डलर बचत गर्न सक्ने बताएका थिए । शीर्ष १० मा को-को ? अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ पनि बुधबार ७.१४ बिलियन डलरले बढेको छ । उनी २२८ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । फेसबुकका सीईओ मार्क जुकरबर्ग (२०२ बिलियन डलर) तेस्रो स्थानमा, ल्यारी एलिसन (१९३ बिलियन डलर) चौथो स्थानमा र बर्नार्ड अर्नाल्ट (१७३ बिलियन डलर) पाँचौं स्थानमा छन् । यस सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१५९ बिलियन डलर) छैटौं, ल्यारी पेज (१५८ बिलियन डलर) सातौं, सर्गे ब्रिन (१४९ बिलियन डलर) आठौं, वारेन बफेट (१४८ बिलियन डलर) नवौं र स्टिभ बाल्मर (१४६ बिलियन डलर) दशौं स्थानमा छन् अम्बानी-अदानीको अवस्था मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ पनि बुधबार बढेको छ । रिलायन्सका अध्यक्षको कुल सम्पत्ति १.३० बिलियन डलरले बढेसँगै उनी फेरि १०० बिलियन डलरको क्लबमा सामेल भए । अडानी समूहका अध्यक्षको कुल सम्पत्ति ३ अर्ब ६२ करोड डलरले बढेर ९७.२ अर्ब डलर पुगेको छ । विश्वका धनी व्यक्तिको सूचीमा अम्बानी १७औं र अडानी १८औं स्थानमा छन् । अहिले दुवैको नेटवर्थमा तीन अर्ब डलरभन्दा कमको अन्तर छ । यस वर्ष अम्बानीको कुल सम्पत्ति ४.०१ बिलियन डलरले बढेको छ भने अडानीले १२.९ बिलियन डलर कमाएका छन् । एसियाली धनीहरूको सूचीमा अम्बानी पहिलो र अदानी दोस्रो स्थानमा छन् । (एजेन्सीको सहयाेगमा)

हामीले चुनाव हार्यौैँ, नतिजा स्वीकार गर्छौं : कमला ह्यारिस

काठमाडौं । अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् । वाशिंगटनडीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरूको अभियानमा गर्व गरेको र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् । आफ्नो भाषणमा ह्यारिसले डेमोक्र्याटका प्रमुख मुद्दाहरू जस्तै गर्भपात, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् । उनले आफूले निर्वाचित राष्ट्र डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयको लागि बधाई दिएको बताइन् । शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताइन् ।