श्रीलङ्काको पर्यटन आयमा वृद्धि

काठमाडौं । श्रीलङ्कामा सन् २०२४ को पहिलो नौ महिनामा पर्यटन क्षेत्रबाट सङ्कलित राजस्वमा करिब ६१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैङ्क अफ श्रीलङ्का (सीबीएसएल) को तथ्याङ्कले देखाएको छ । श्रीलङ्काले सन् २०२४ को पहिलो नौ महिनामा पर्यटनबाट दुई अर्ब ३५ करोड डलर आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड डलर रहेको थियो । यस दक्षिण एसियाली देशले गत सेप्टेम्बरको महिनामा मात्र पर्यटन क्षेत्रबाट १८ करोड १० लाख अमेरिकी डलर आम्दानी गरेको सीबीएसएल तथ्याङ्कमा उल्लेख भएको छ । यसैबीच, श्रीलङ्कामा गत सेप्टेम्बरमा एक लाख २२ हजार १४० जना पर्यटक भ्रमण गरेका थिए । यो सन् २०२३ को सेप्टेम्बर महिनाको तुलनामा नौ दशमलव ११ प्रतिशतले बढी हो । श्रीलङ्कामा पहिलो नौ महिनामा कुल १४ लाख ८० हजार पर्यटक भ्रमण गरेका छन् भने यस वर्षको अन्त्यसम्म २३ लाख पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । पर्यटन श्रीलङ्काको लागि प्रमुख विदेशी राजस्व स्रोत हो ।

दिल्ली र मुम्बईलाई पछि पार्ने दौडमा नोएडा, प्रोपर्टीको हबमा छिरे डेभलपर्स

काठमाडौं । यसअघि भारतमा जहिले पनि ठूला सहरमा सम्पत्ति किन्ने कुरामा दिल्ली र मुम्बईको नाम अगाडि आउने गर्दथ्यो । तर, पछिल्ला केही वर्षमा तस्बिर फेरिएको छ । भारत र संसारभरिका मानिसहरू निवास र व्यापारको लागि उत्तर प्रदेश र एनसीआरको प्रमुख सहर नोएडातिर लागिरहेका छन् । यही कारणले गर्दा नोएडामा जग्गाको मूल्य आकाशिन थालेको छ । त्रैमासिक आधारमा सन् २०२४ मा यहाँ जग्गाको मूल्य ७ प्रतिशतले बढेको एक प्रतिवेदनले देखाएको छ । नोएडा एनआरसीको प्रमुख सहरमा पर्छ । दिल्लीसँग जोडिएको पश्चिमी उत्तर प्रदेशको यो सहरले पछिल्ला केही वर्षमा धेरै ठूला परिवर्तनहरू देखेको छ । यस्ता परिवर्तनले व्यवसायलाई मात्रै गति दिएको छैन, रोजगारीको अवसर पनि बढाएको छ । देशकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पनि यहीँ बनिरहेको छ । उक्त विमानस्थल आगामी अप्रिलबाट सुरु हुने अपेक्षा गरिएको छ । यसैबीच, सेमीकन्डक्टर र अन्य धेरै क्षेत्रहरूसँग सम्बन्धित कम्पनीहरूले पनि नोएडामा आफ्नो प्लान्ट स्थापना गर्न लागेका छन् । नोएडामा भइरहेको विकासलाई देखेर यहाँ रियल इस्टेटमा उछाल आएको छ । पहिले धेरै किफायती मूल्यका परियोजनाहरू हुने गरेको भए पनि अहिले प्रिमियम लक्जरी दायराका परियोजनाहरू सुरु भएका छन् । विकासकर्ताहरूले ५ करोडभन्दा माथिको प्रिमियम लक्जरी परियोजनाहरू सुरू गर्दैछन् । यो परिवर्तनले बलियो पूर्वाधार र विलासी जीवन बिताउने इच्छालाई झल्काउँछ । नोएडामा महँगो बन्नुका कारण जेवर विमानस्थल जेवर विमानस्थल ग्रेटर नोएडामा निर्माण भइरहेको देशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । यसको काम द्रुत गतिमा भइरहेको छ । आगामी अप्रिलदेखि यहाँबाट उडान सुरु हुनेछ । तर, यो विमानस्थल पूर्णरूपमा तयार हुन अझै समय लाग्ने छ । मेट्रो कनेक्टिभिटी  मेट्रो दिल्लीका जनताको जीवन रेखा बनेको छ । नोएडामा पनि यो द्रूत गतिमा फैलिरहेको छ । हाल नोएडामा ब्लू लाइन र एक्वा लाइन चल्छ । यी मेट्रोलाई विस्तार गर्ने र नयाँ रुटमा मेट्रो सञ्चालन गर्ने काम पनि तीव्र गतिमा भइरहेको छ । नमो भारत ट्रेन नोएडामा पनि चल्नेछ । यसबाहेक अन्य धेरै प्रकारका यातायात सञ्चालन हुन थालेका छन् । अन्य सहरहरूसँग कनेक्टिभिटी नोएडा एक्सप्रेसवेको हब पनि बनिरहेको छ । जसमा यमुना एक्सप्रेसवेदेखि इस्टर्न पेरिफेरल एक्सप्रेसवेसम्म पर्दछन् । साथै, नोएडासँग राष्ट्रिय राजमार्ग २४, र राष्ट्रिय राजमार्ग ९१ सहित धेरै राजमार्गहरूसँग जोडिएको छ । दिल्ली–मुम्बईबीच निर्माण भइरहेको एक्सप्रेसवे पनि नोएडा हुँदै जानेछ । यस्तो अवस्थामा नोएडाबाट सडक हुँदै देशको कुनै पनि कुनामा सजिलै पुग्न सकिन्छ । सेमीकन्डक्टर हब नोएडालाई सेमीकन्डक्टर हब बनाउने तयारी भइरहेको छ । यसका लागि ठाउँ तयार छ । धेरै कम्पनीहरूले यहाँ आफ्नो प्लान्ट स्थापना गर्ने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले हालै कौटिल्य कन्क्लेभमा भनेका थिए कि विश्वमा ‘मेड इन इन्डिया’ चिप्स हुनेछ । यस्तो अवस्थामा यहाँ भविष्यका उद्योगहरूको सेटअप भइरहेका छन्, जसका कारण आगामी दिनमा यो सहर विश्वको नक्सामा चम्किने देखिन्छ । एजेन्सी

९० प्रतिशतभन्दा बढी बाह्य ऋण पुनर्संरचना हासिल गरेको घानाको दाबी

काठमाडौं । घानाले सन् २०२२ को डिसेम्बरमा ऋण पुनर्संरचना प्रक्रिया सुरु गरेदेखि नै आफ्नो बाह्य ऋणको ९० प्रतिशतभन्दा बढी पुनर्संरचना हासिल गरेको बताएको छ । अर्थमन्त्री मोहम्मद अमीन आदमले अर्थतन्त्रको अवस्थाको बारेमा मासिक प्रेस ब्रिफिङमा घानाको युरोबन्ड ऋण विनिमय र सहमति अनुरोध प्रक्रिया पूरा भएको घोषणा गर्दा सो टिप्प्णी गरेका हुन् । सेप्टेम्बरको अन्त्यमा अन्तिम म्यादसम्म सेप्टेम्बरको सुरुमा सुरु गरिएको प्रस्तावमा विद्यमान ऋणपत्रहरूको मान्यता प्राप्त मुल रकम प्रतिनिधित्व गर्ने ऋणपत्रधारकहरूको ९८ प्रतिशत सहभागी भइसकेका थिए । सफल विनिमय प्रस्तावको परिणाम स्वरूप देशले आगामी हप्ताहरूमा नयाँ बण्डहरूको लागि युरोबण्डमा १३अर्ब अमेरिकी डलर साट्ने बताए ।