उत्तरी म्यानमारमा जेड खानी भत्किँदा ३० जना बेपत्ता
याङ्गुन । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् । स्थानीय बासिन्दाले उक्त दुर्घटनाबारे मंगलबार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन् । यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । एजेन्सी
अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलर घाटा
काराकस । अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताएका छन् । प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब २३२ अर्ब डलरको नोक्सानी बेहोरेको छ । साथै अन्तरराष्ट्रिय बैंकहरूमा रहेको भेनेजुएलाको २२ अर्ब डलरभन्दा बढीको सम्पत्ति पनि रोक्का गरिएको उपराष्ट्रपतिले बोलिभियाली शहर सान्ता क्रुज डे ला सिएरामा आयोजित अन्तरराष्ट्रिय गोष्ठीमा उल्लेख गरेका छन् । सन् २०२३ अक्टोबरमा सरकार र भेनेजुएलाका विपक्षी दलहरू बीच भएको बार्बाडोस सम्झौतामा अमेरिकाले प्रतिबन्ध हटाउने सहमति भए तापनि पालाना नभएको उनको गुनासो छ । उक्त सम्झौताले ‘जनरल लाइसेन्स ४४’ का नामले चिनिने राहत भेनेजुएलालाई उपलब्ध भएको भए तापनि राष्ट्रपति निकोलस मादुरोले विपक्षी दलबाट राष्ट्रपतिको उमेद्वारको दौडमा रहेका नेतालाई चुनावमा अगाडि बढ्न प्रतिबन्ध लगाएपछि बाइडेन प्रशासनले भेनेजुएला माथि पुनः प्रतिबन्ध लगाएको थियो । अमेरिकाको पछिल्लो कदम विपक्षी नेतालाई राष्ट्रपतिको उम्मेदवार हुनबाट प्रतिबन्ध लगाउने मादुरोको निर्णयको प्रतिक्रियामा आएको थियो। उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी एकपक्षीय नीतिहरूलाई ध्यानमा राख्दै अब ल्याटिन अमेरिकालाई ‘अनिवार्य रूपमा’ नयाँ वित्तीय संरचना चाहिएको बताएका छन् । ‘यदि हामी नयाँ वित्तीय संरचनाको बारेमा सोच्न चाहन्छौं भने हामीले आफ्नै मुद्रामा व्यापार गर्नुपर्दछ,’ उनले भने ।
अडानी समूहले विमानस्थल व्यवसायमा थप ६ खर्ब लगानी गर्ने, यस्तो छ पूरा योजना
काठमाडौं । भारतीय व्यावसायिक घराना अडानी समूहले विमानस्थल (एयरपोर्ट) व्यवसायमा वृहत् लगानी गर्ने योजना बनाएको छ । आगामी १० वर्षमा अर्बपति व्यवसायी गौतम अडानीको नेतृत्वमा रहेको समूहले एयरपोर्टसँग सम्बन्धित व्यवसाय विस्तार गर्न ६ खर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । समूहले भारतमा सञ्चालित सात विमानस्थलको आम्दानी थप वृद्धि गर्न यो ठूलो लगानी गर्न लागेको बताइएको छ । यो रकमको करिब आधा अर्थात् ३ खर्ब पाँच वर्षमा विमानस्थल टर्मिनल र धावनमार्ग सुधार गर्न खर्च हुनेछ । बाँकी ३ खर्ब रुपैयाँ आगामी १० वर्षमा विमानस्थल वरिपरिका सहरहरूमा पूर्वाधार विकास गर्न प्रयोग गरिने छ । समूहले कुल ६ खर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । यद्यपि, न्यु मुम्बई एयरपोर्टको पहिलो चरणका लागि पहिले नै विनियोजन गरिएको १८ खर्ब रुपैयाँ योबाट अलग छ । यो विमानस्थल मार्च २०२५ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेड (एएएचएल) का प्रमुख कार्यकारी अधिकृत अरुण बंशलले कम्पनीले आफ्नो नाफाबाट यो परियोजना सम्पन्न गर्ने बताए । लखनऊ एयरपोर्टको नयाँ टर्मिनलको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेपछि भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै अरुण बंशलले भने, ‘यो ठूलो रकम हो, तर अडानी इन्टरप्राइजेज लिमिटेड (एईएल) ले आफ्नो नाफाबाट यसलाई पूरा गर्न मद्दत गर्नेछ । हामी अझै प्रारम्भिक चरणमा छौं र अदानी इन्टरप्राइजेज लिमिटेड हाम्रो मूल कम्पनी हो, त्यसले नै फन्डिङ गर्ने छ ।’ हाल देशका ६ विमानस्थल अडानी समूहको व्यवस्थापनमा छन् । ती विमानस्थलमा लखनऊ, अहमदाबाद, जयपुर, गुवाहाटी, तिरुवनन्थपुरम र मंगलुरु पर्छन् । सन् २०२१ मा जीवेके ग्रुपबाट मुम्बई एयरपोर्ट लिएर न्यु मुम्बई एयरपोर्ट खरिद गरेपछि यो संख्या बढेर सात पुगेको छ । सन् २०४० सम्ममा विमानस्थलको यात्रु क्षमता २५ देखि ३० करोड हुने अनुमान छ । एजेन्सी