कम्बोडियाको होटलमा आगलागी हुँदा १९ को मृत्यु

कम्बोडिया । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुुसार १९ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् । प्रहरीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका जनाएको छ । सो प्रतिवेदनमा २३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना सामान्य घाइते रहेका छन् ।होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरुलाई लागेपछि उनीहरुको जलेर मृत्यु भएको बताइएको छ । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरु कुनै कोठामा निसास्सिएर रहेको हुनसक्ने बताएको छ ।

करिब ५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायता आवश्यक

एजेन्सी । श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आइसिआरसीले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका अनुसार श्रीलङ्काका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेका छन् । हालैका केही महिनायता श्रीलङ्काले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ । यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा देखिएको छ । पछिल्लो समयमा श्रीलङ्का मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव झेल्नुपरेको छ । जसका कारण यहाँको आर्थिक अवस्था निकै कमजोर हुदै गएको छ । यहाँ आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ । खाद्य असुरक्षाका कारण नै यहाँका नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । मल बीऊको अभावमा यहाँ स्वदेशी कृषि उपज पनि आवश्यक मात्रामा उत्पादन हुन नसकेको र स्वदेशी खाद्यान्नबा राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको बताइएको छ । श्रीलङ्कामा आर्थिक समस्यासँगै कृषिमा पनि समस्या उत्पन्न भएको छ । किसानले समयमै मल र बीऊ पाउन नसकेकाले यस्तो आवस्था आएको बताइएको छ । यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको बताइएको छ । यसरी यहाँको जनसंख्याको करिब २२ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको समस्यामा परेको पनि सो प्रतिवेदनमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । एक सय वर्षीया आमा हिरावेनको शुक्रबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार अहमदवादको यूएन मेहता अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले यसै वर्ष १८ जुनमा आमा हिरावेनको शताब्दिऔं जन्मजयन्ती मनाएका थिए ।