नेपालमा बस्ने पूर्वभारतीय सैनिकले मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा पाउने

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसिएचएच) बीच सम्झौता सम्पन्न भएको छ । नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबिएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाईडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटो र नेपाल स्थित भारतीय राजदुतावासका इसिएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले आज कार्तिक १८ गते एक समारोहका बीच दुईपक्षिय सम्झौतामा हस्ताक्षर गरेका हुन् । अब नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसिएचएस कार्यक्रम अन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । नेपाल स्थित भारतीय राजदुतावास अन्तर्गत रहेको इसिएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिश भई आउने छन् । कार्यक्रममा अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. राज राणा तथा इसिएचएसका कर्णेल उदय विजय सगानीको उपस्थिति रहेको थियो ।  

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना सङ्क्रमण

लण्डन  कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन । विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ । अनावश्यक यात्रा नगरौँ सङ्घले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानो भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन शुरु भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न सङ्घले आव्हान गरेको हो । सङ्घ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन अनुरोध गरेको छ ।

बेलायतमा दोस्रो पटक बन्दाबन्दी घोषणा

लण्डन ।  बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरेका छन् । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ । हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो । आगामीे डिसेम्बर २ तारिखपछि बन्दाबन्दी अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ ।