फ्रान्सलाई खुला सोच र दृढ नेतृत्वको खाँचो रहेको निवर्तमान प्रधानमन्त्रीको भनाइ

पेरिस । फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले भने । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । निवर्तमान प्रधानमन्त्री फिलीपले सन् २०१७ देखि गत शुक्रबारसम्म देशको प्रधानमन्त्रीको भूमिका निर्वाह गरे । उनले शुक्रबार राजनीनामा दिए । पदहस्तान्तरण कार्यक्रममा फिलीपले भने, “प्रिय जाँ कास्टेक्स, मेरो उत्तराधिकारीको रुपमा तपाईलाई पाउँदा मलाई धेरै खुशी लागेको छ, बधाई तथा शुभकामना छ ।” उनले अगाडि थपे, “हाम्रो देशलाई खुल्ला सोच र दृढ निश्चयी व्यक्ति चाहिन्छ । तपाईले फ्रान्सको आवश्यकतालाई पूरा गर्नुहुनेछ भन्नेमा मलाई कुनै द्वुविधा छैन ।” निवर्तमान प्रधानमन्त्री फिलीपले नयाँ प्रधानमन्त्री कास्टेक्सले प्रधानमन्त्रीका रुपमा सही निर्णयहरु गर्ने विश्वास पनि व्यक्त गरे । नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमन हुने देखेर उनले राजीनामा दिए । फिलीपसँगै उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेको छ । नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाउने राष्ट्रपति म्याक्रोँले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरिएको थियो । रासस/एएनआई

महामारीलाई वेवास्था नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ, संगठनका आपतकालीन सेवा निर्देशक मिखायल र्यानले सञ्चारकर्मीसँगको भेटमा स्थानीय समय अनुसार शुक्रबार राति बताए । उनले भने, ‘अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी सङ्क्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ ।’ विश्वमा कैयौं राष्ट्रहरूले तथ्याङ्कले के भनिरहेको छ भन्ने कुरामा वेवास्था गरिरहेको बताउँदै विश्व स्वास्थ्य संगठनका अधिकारीले भने, “महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नु हुँदैन ।” उनले भने, “अर्थतन्त्रलाई चुस्त दुरूस्त राख्नुपर्ने बाध्यता कुनै पनि राष्ट्रहरूलाई छ । यो सबैले बुझ्न सक्ने कुरा हो तर स्वास्थ्य सङ्कटलाई पनि वेवास्था गर्नु हुँदैन । यो समस्या जादुमयी तरिकाले हट्नेछैन ।”  रासस/सिन्ह्वा

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड–१९ संक्रमणबाट मृत्यु

काबुल । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस संक्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो । अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ संक्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८ सय १९ व्यक्तिको मृत्यु भएकाे छ ।  रासस/सिन्ह्वा