विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा, सबैभन्दा धेरै भारत र चीनसँग

काठमाडौं । विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो तीन महीनाको विवरणअनुसार भारतसँग दुई खर्ब २२ अर्ब ९५ करोड ९२ लाख पाँच हजार रुपैयाँ बराबरको व्यापार घाटा छ । भारतबाट मात्रै दुई खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने १३ अर्ब १६ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ । व्यापार घाटाको दोस्रो स्थानमा रहेको चीनबाट पछिल्लो तीन महीनामा ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सो अवधिमा नेपालबाट रु ५६ करोड ४० लाख बराबरको माल वस्तु मात्रै निर्यात भएको छ । नेपाल र चीनबीचको व्यापार घाटा रु ५२ अर्ब ५५ करोड १५ लाख ८९ हजार रहेको छ । नेपालको तेस्रो व्यापार घाटा युरोपेली देश फ्रान्ससँग रहेको छ । रु १४ अर्ब २६ करोड ५३ लाख बराबरको माल वस्तु सो देशबाट आयात भएको छ भने नेपालबाट रु ३५ करोड २२ लाख ८८ हजार बराबरको सामान मात्रै निर्यात हुँदा व्यापार घाटा रु १३ अर्ब ९१ करोड ३० लाख १३ हजार हुन पुगेको छ । यस्तै युनाइटेड अरब इमिरेट्स (युएइ)सँगको व्यापार घाटा चौथो स्थानमा रहेको छ । उक्त देशबाट रु सात अर्ब ९० करोड ८३ लाख ८५ हजार बराबरको सामान आयात भएकामा नेपालबाट रु तीन करोड ७५ लाख ४७ हजार बराबरको सामान मात्रै निर्यात भएको छ । सो देशसँग नेपालको व्यापार घाटा रु सात अर्ब ८७ करोड ८३ लाख ८० हजार बराबर छ । नेपालको व्यापार घाटा रहेका देशमा थाइल्याण्ड, स्वीट्जरल्याण्ड, इन्डोनेशिया, क्यानडा, मलेसिया, अर्जेन्टिना, युक्रेन, साउदी अरब, दक्षिण अफ्रिका, इटाली, भियतनाम, दक्षिण कोरिया, अष्टे«लिया, तुर्केमेनिस्तान, चीनको ताइवान, जापान, सिङ्गापुर, हङ्कङलगायत ११२ देश रहेका छन् । अल्वानियाबाट रु एक लाख १४ हजार बराबरको माल सामान आयात भएको छ भने नेपालबाट सो देशमा कुनै पनि माल वस्तु निर्यात हुन सकेको छैन । रुवाण्डाबाट रु एक लाख २२ हजार बराबरको मालसामान आयात भएकामा नेपालबाट रु दुई लाख २० हजार बराबरको निर्यात भएको छ । संयुक्त राज्य अमेरिकासँग भने नेपालको व्यापारमा फाइदा रहेको विभागको पछिल्लो विवरणमा उल्लेख छ । अमेरिकामा रु तीन अर्ब १९ करोड ७८ लाख ५९ हजार बराबरको व्यापार भएको छ । सो देशबाट नेपालमा रु दुई अर्ब ५२ करोड ९५ लाख ३५ हजार बराबरको समान आयात भएकामा रु ६६ करोड ८३ लाख बराबरको नाफा रहेको छ । नेपालको व्यापारमा नाफा रहेका देशमा नर्वे, फिनल्याण्ड, अष्ट्रिया, माल्दिभ्स, मोरक्को, इस्टोनिया, अफगानिस्तान, लेवनान, एल साल्भाडोर, उरुग्वे, साइप्रस लगायतका देश छन् । पछिल्लो तीन महीनामा रु तीन खर्ब ४९ अर्ब ८४ करोड २३ लाख २८ हजार बराबरको व्यापार घाटा हुन पुगेको छ । कूल रु तीन खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख ५८ हजार बराबरको माल वस्तु आयात हुँदा रु २३ अर्ब ७४ करोड ४९ लाख ३० हजार बराबरको मात्रै निर्यात हुन सकेको छ । रासस

व्यापारिक तनावका कारणा विश्वको आर्थिक वृद्धिदर खुम्चदै, नेपालकाे वृद्धिदर ६ प्रतिशत नाघ्ने

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ । संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत कायम गरेको छ, कोषले सोमबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा विकासशील अर्थतन्त्र रहेका मुलुकहरुको आर्थिक परिदृश्यमा खासै वृद्धि नहुने अनुमान गरिएको छ । सन् २०१९ मा चीन र संयुक्तराज्य अमेरिकाको पनि आर्थिक वृद्धिमा कमी आउने कोषको अनुमान छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार युद्धले चीन सहित अरु एसियाली मुलुकहरु र अर्जेन्टिना, टर्की तथा ब्राजिल समेतका मुलुकमा जोखिम निम्त्याउने छ । तर नेपालकाे  वृद्धिदर भने ६ प्रतिशत भन्दा बढी हुने  विश्व बैंकले जनाएकाे छ । विश्व बैंकले नेपालमा अागामी तीन वर्षसम्म अार्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहने प्रक्षेपण गरेकाे छ ।

अमेरिकाले व्यापार युद्ध हार्ने युरोपेली बैंककाे घाेषणा, अमेरिकनको जीवनस्तर घट्ने र रोजगारी गुम्ने

फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् । इसीबीका अध्यक्ष मारिओ ड्रागी र विश्व व्यापार संगठनका प्रमुख रोबर्टो आज्भेडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका प्रथम” नीतिले विश्व अर्थतन्त्रमा संरक्षणवादको विजारोपण गरेको चेतावनी दिएपछि इसीबीको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो । अमेरिका बाहेक सबैलाई समान रुपमा व्यापार युद्धमा राखिएको अवस्थामा सिर्जना हुने आर्थिक ढाँचाका बारेमा फ्रान्कफर्टस्थित इसीबीका विज्ञहरुले अध्ययन गरेका छन् । उनीहरुले वासिङ्टनले सबै आयातमा १० प्रतिशत करवृद्धि गर्ने र त्यसको जवाफमा अमेरिकासँगका व्यापारिक साझेदारले पनि त्यही शैली पछ्याउने हो भने अर्थ व्यवस्थामा नकारात्मक असर पर्ने बताएका छन् । कर वृद्धिको प्रत्यक्ष असर व्यापारमा पर्ने अवस्थामा ती अर्थशास्त्रीले सार्वजनिक तथा वित्तीय बजारको आत्मविश्वासमा देखिने प्रभावको अध्ययन गर्ने कोशिस गरेका थिए । यो विषम परिस्थितिमा विश्वको सेयर बजारमा कमी आउने र अमेरिकी बजारमा १६ प्रतिशतसम्मले गिरावट आउने छ । उनीहरुले तीन वर्षपछि कूल गार्हस्थ्य उत्पादनमा पनि एक प्रतिशतले कमी आउने प्रक्षेपण गरेका छन् । एउटा अर्थतन्त्रले करवृद्धि गर्दछ र अर्कोले प्रतिशोध राखेर करवृद्धि गर्दछ भने त्यहाँ परिस्थिति नाजुक हुनुबाहेक अर्को विकल्प छैन, अर्थशास्त्रीहरुको निचोड छ – “अमेरिकी मानिसको जीवनस्तर घट्छ र रोजगारी पनि गुम्छ ।” व्यापारमा, अमेरिकी उपभोक्ता र फर्महरुले महङ्गोमा पाइने विदेशी सामानको साटो अमेरिकी सामान नै किन्नेतर्फ लाग्छन् भएकाले अमेरिकी सामानको पनि निर्यातमा स्वाभाविक रुपमै कमी आउँछ । अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले खरिद पनि कटौती गर्नेछन् । कम्पनीहरुले पनि लगानीमा कमी ल्याउनेछन् र कम कामदारलाई रोजगारी दिनेछन् । यहीबीच यस व्यापार युद्धमा पहिलो चरणमा चीनले जित्ने सम्भावना पनि देखिन्छ । अमेरिकासँगको व्यापारमा असर पर्ने अवस्थामा अरु मुलुकले अमेरिकी सामानको साटो चिनीया सामान खरिद गर्न सक्ने सम्भावना रहन्छ । “व्यापार युद्धको पछिल्लो परिदृश्यले नाटकीय असर अवश्य पर्नेछ,” विश्व व्यापार संगठनका प्रमुख आज्भेडोले बर्लिनमा आयोजित कार्यक्रममा भने । उनले अन्तर्राष्ट्रिय व्यापारका आधारभूत सिद्धान्तमाथि नै अमेरिकाले चुनौती निम्त्याइरहेको बताए । रासस