चार महिनादेखि तलव नपाएपछि जेट एयरवेजका पाइलटहरू हडतालमा
नयाँ दिल्ली । विगत चार महिनादेखि तलब नपाएपछि भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका पाइलटहरूले विरामी भएकाे बहाना गर्दै हडताल गरेका छन् । तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै काममा नअाएपछि सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । स्थानीय सञ्चार माध्यमअनुसार गत अगस्तदेखि यस कम्पनीले घाटामा गएको भन्दै वरिष्ठ व्यवस्थापकहरू, चालक, इन्जिनियरलगायतलाई तलब दिएको छैन । उडानहरू रद्ध भएपछि कम्पनीले एक वक्तव्य जारी गर्दै अप्रत्यासित रूपमा उडान सेवा दिन नसकिएको जनाएको छ । विषेश परिस्थिति र विमान चालकहरूको असहयोगका कारण विमान सेवा सुचारु हुन नसकेको भन्दै कम्पनीले विमान चालकहरूलाई दोष दिएको छ । कति उडान रद्ध भएका छन् भन्ने बारेमा भने कम्पनीले वक्तव्यमा केही उल्लेख नगरेको समाचारमा जनाइएको छ ।
अमेरिकमा अफिमको प्रयोग र अात्महत्या बढ्याे, अाैसत अायु लगातार घट्दै
टाम्पा । औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ । सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलब ७ प्रतिशत बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा औसत आयू सन् २०१६ को तुलनामा शून्य दशमलब १ ले कमी आएको छ अर्थात् औसत आयू ७८ दशमलब ६ वर्ष भएको छ । अमेरिकामा पछिल्ला वर्षहरुमा अफिमको प्रयोग बढेको, दुखाई कम गर्ने औषधिको प्रयोग बढेको तथा हेरोइन र फेन्टानाइलजस्ता लागूपदार्थको प्रयोग बढेको छ । एक दशकपछि सन् २०१५ मा अमेरिकी औसत आयूमा पहिलोपटक कमी आएको थियो, र यसको प्रमुख कारणमा औषधिको अतिरिक्त प्रयोग (ओभरडोज) मानिएको छ । समग्रमा, सन् २०१४ देखि नै औसत आयू घट्ने प्रवृत्ति रहेको तथ्याँकले पुष्टी गरेको छ । राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का विश्लेषक रोबर्ट एन्डरसनका अनुसार सन् २०१४ देखि हालसम्म औसत आयूमा शून्य दशमलब ३ प्रतिशतले कमी आइसकेको छ । “औसत आयू घट्टो क्रममा रहेकाले हामीलाई चिन्ता लागेको छ,” एन्डरसनले बताए । यस किसिमको प्रवृत्ति सन् १९१८ को विनाशकारी फ्लू र पहिलो विश्वयुद्धमा पनि देखिएको थिएन । “हामी विकसित मुलुक हौं, हामीसँग धेरै स्रोतसाधन पनि छ, र हाम्रो बढ्दो औसत आयू हुनुपर्ने हो, तर परिस्थिति भिन्न हुँदै गएको छ ।” सीडीसीको सन् १९९९–२०१७ को अवधिको अत्यधिक औषधि सेवनबाट भएको मृत्युको विश्लेषणले सन् २०१७ मा मात्र ७० हजार २३७ जनाको औषधिको ओभरडोजकै कारण मृत्यु भएको छ । अधिकांश यो मृत्यु अप्राकृतिक देखिएको छ । सन् २०१६ मा सन् २०१५ को तुलनामा २१.६ प्रतिशत बढी मानिसको मृत्यु औषधिको ओभरडोजका कारण भएको छ । एजेन्सी
स्विजरल्याण्डको बीपीसीसँग आइमार्कको सहकार्य, भुक्तानी प्रणालीलाई सजिलो बनाउने
काठमाडौं । नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतीय प्रणालीमार्फत सहज बनाउन स्विजरल्याण्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सम्झौता गरेको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ । स्मार्ट भिस्टाले विश्वका कयौँ बैंक तथा वित्तीय संस्थाहरुको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एशिया प्याशेफिकका प्रबन्ध निर्देशक राजन एस नारायणले सो प्रविधिका बारेमा जानकारी गराएका छन् । उनले भने, ‘स्मार्ट भिस्टाले अहिलेको समाजलाई क्यास लेस समाजमा रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्छ ।’ उनका अनुसार समग्र क्षेत्रका संस्थाहरु डिजिटल बैंकिङ प्रणालीमा आवद्ध भएर लाभान्वित हुन सक्नेछन् । यसले ब्यापार र समग्र क्षेत्रको भुक्तानीलाई सजिलो बनाउनेछ । बीपीसी बैंकिङ टेक्नोलोजीको स्थापना सन् १९९५ माभएको हो । जसको नेपाल साझेदारका रुपमा सन २००७मा स्थापनाभएको आइमार्क प्रालिरहेको छ । जसले हालसम्म नेपालका करिब ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुलाई विविध रुपमा क्यास लेस सोसाइटीको निमार्णमा सहजीकरण गर्दै आएको छ । बीपीसी बैंकिङ टेक्नोलोजीको स्मार्ट भिस्टा एटिएम स्वीच विश्वका ७३ भन्दा बढी देशका दुई सय भन्दा बढी बैंक तथावित्तीय संस्थाहरुले प्रयोग गर्दै आईरहेका छन् । सो अवसरमा आइमार्क प्रालिका प्रबन्ध निर्देशक रामप्रसाद ढुंगानाले विश्वसनीय भुक्तानी माध्यमका रुपमा सेवा दिन र सेवापछि पनि बलियो सम्बन्ध विस्तारका लागि आइमार्क तयार रहेको बताए । आइमार्कले नेपालको बैंकिङ क्षेत्रलाई डिजिटलाइज गराउन विगत एघार बर्षदेखि एक दर्जन बढी वाणिज्य बैंकहरुसँग सहकार्य गर्दै आईरहेको छ ।