अर्बपतिमा अमेरिकालाई उछिन्यो एशियाले, एशियाली अर्बपतिको सम्पती ३२ प्रतिशतले बढ्यो

काठमाडौं । पहिलोपटक अर्बपतिको संख्यामा एशियाले अमेरिकालाई उछिनेको छ । अहिले एशियामा अर्बपतिको संख्या अमेरिका भन्दा बढी रहेको पाइएको छ । यूबीएस तथा प्राइस वाटर हाउस कूपर्सले गरेको अनुसन्धानले यो तथ्य सार्वजनिक गरेको हो । अहिले अमेरिकी अर्बपतिहरुसँग १ हजार ७ सय ८९ खर्ब अमेरिकी डलर सम्पती छ । एशियाली अर्बपतिहरुसँग १ हजार २ सय ७७ खर्ब सम्पती छ । सन् २०१५ को तुलनामा २०१६ मा अमेरिकी अर्बपतिहरुको सम्पती १० प्रतिशतले वृद्धि भएको छ । एशियाली अर्बपतिहरुको सम्पती भने ३२ प्रतिशतले बढेको छ । यद्दपी अमेरिका अर्बपतिहरुको सम्पतीमा भने अगाडी नै रहेको छ । एशियाली मुलुक चीनमा हरेक तेस्रो सातामा एक व्यक्ति अर्बपति बन्ने गरेका छन् । यदी यो गति अनुसार एशियमा अर्बपतिको संख्या बढ्ने हो भने आगामी चार वर्षमा अर्बपतिको सम्पतिमा पनि तुलनात्मक रुपमा यसले अमेरिकालाई उछिन्ने छ । विज्ञहरुका अनुसार अर्बपतिहरुको संख्या बढ्नाले कला र खेलको क्षेत्रमा अभूतपूर्व विकास भइरहेको छ । यसको तथ्यांक अनुसार दुनियाँमा नयाँ अर्बपतिहरु ७५ प्रतिशत मानिस चीन र भारतका रहेका छन् । हाल एसियामा करिब ६१७ अर्बपति छन्, जसमा ११७ जना नयाँ छन् ।

अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक रिचार्ड थालरलाई

स्वीडेन । अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ । सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यीक्तगत निर्णयहरू तथा बजारका गतिविधिलाई प्रभावित तुल्याउँछन् भन्ने बिषयमा गरेको खोजमूलक अध्ययनका लागि थालरलाई पुरस्कृत गरिएको छ। समितिले पुरस्कार घोषणाबारे जानकारी दिन सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एएफ्पी

‘संसारकै ठुलो’ बैंक डकैती विफल, ५०० मिटर सुरुङ खनेर ३५ अर्ब लुट्नखोज्ने गिरोहको भण्डाफोर

साओ पाउलो । ब्राजीलका प्रहरीले संसारकै सबैभन्दा ठुलो ‘बैंक डकैती’ गिरोहको भण्डाफोर गरेको छ । देशको साओ पाउलो शहरमा पाँच सय मिटर लामो सुरुङ खनेर सो डकैतीको योजना रचिएको थियो । यो सुरुङमा बत्ती र भेन्टिलेसन सिस्टमको पनि सुविधा छ । प्रहरीको जाँचबुझमा केहि चोरीएका गाडी फेला परेका छन् । शुक्रबार गर्नलागिएको डकैतीमा डाकुले ती गाडीको समेत प्रयोग गर्ने योजना रहेको प्रहरीले जानकारी दिएको छ । बेलायती अखबार ‘द गार्जियन’ का अनुसार गीरोहले भाडामा लिएर बसेको घरबाट सुरुङ खन्न सुरु गरेका थिए । यो सुरुङ बैंक अफ ब्राजीलको शाखामा गएर अन्त्य हुन्छ । ती गिरोहले डकैती गरेर करिब २५ करोड पाउण्ड (३५ अर्ब रुपैयाँ) भन्दा बढी लुट्ने योजना बनाएका थिए । मुख्य अनुसन्धानकर्ता फ्याबियो पिनहिरोले यो डकैती हुने थियो भने संसारकै सबैभन्दा ठुलो डकैती हुने बताए । उनले भने, ‘यो गिरोह निकै खतरनाक छ र यिनले लामो आपराधिक इतिहास बोकेका छन् । तिनीहरुमाथि हत्या जस्तै थुप्रै हिंसात्मक अपराधको आरोप छ। अधिकांश डाकुहरुको उमेर ३५ वर्षभन्दा माथीको हुनुपर्छ ।’ यो घटनामा अहिलेसम्म १६ जना अभियुक्तलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएका छन् । उनीहरुका अनुसार जम्मा २० जनाले मिलेर डकैतीका लागि करिब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । प्रहरीले दुई महिनादेखि यो गिरोहमाथी कडा निग्रानी राखेको थियो । यो सुरंङलाई खन्नका लागि मात्र चार महिनाको समय लागेको थियो । हाल प्रहरीले ती गिरोहलाई फर्जी परिचयपत्रका भरमा घर भाडामा दिने एक महिलाको खोजी गरिरहेको छ। अधिकारीका अनुसार केहि अभियुक्तहरु सन् २०११को  साओ पाउलोको बैंक डकैतीमा पनि संलग्न थिए ।