९३ वर्ष पुग्दा पनि जिम्बाबेका राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक
हरारे । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुगेका छन् । उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । उनले एक रोडियो प्रसारणलाई दिएको अन्तर्वार्तामा पदत्याग गर्ने माग आफ्नो पार्टी, पार्टीको महासभा तथा केन्द्रीय समितिबाट आउनुपर्ने बताए । यो अन्तर्वार्ता यसै साता प्रसारण हुनेछ र त्यसको केही भाग राज्यद्वारा सञ्चालित सनडे मेल समाचारपत्रमा प्रकाशित भएको छ । उनले यस विषयमा नकारात्मक अवस्था देखिएको र पार्टीका संयन्त्रले आफू निर्वाचनमा उम्मेदवार होस् भन्ने चाहेको बताए । उनले बहुसङ्ख्यक जनताले आफ्नो प्रतिस्थापक भएको अनुभव नगरेको र उनीहरूले आफ्नो स्वीकार्य प्रतिस्थापक नदेखेको बताए । सन् १९८० मा जिम्बाबे स्वतन्त्र हुँदादेखि शासन नियन्त्रणमा लिएका मुगाबेले स्वास्थ्यको समस्याका कारण पदत्याग गर्न अस्वीकार गरेका छन् । रासस/एएफपी
बेलायती कम्पनी रोल्स रोयसलार्इ ५.५ अर्ब अमेरिकी डलर बराबर नोक्सानी
लन्डन। केही महिना अघिदेखि अमेरिकी डलर तथा विश्व अर्थ बजारका बलिष्ठ मुद्राका तुलनामा बेलायती स्टर्लिङ्ग पाउण्ड अवमूल्यन हुँदा ठूला जेट विमानका इन्जिन तथा मुख्य मुख्य पार्टपुर्जा उत्पादक, ख्यातिप्राप्त बेलायती कम्पनी रोल्स रोयसले ठूलो नोक्सान सहनु परेको छ । बेलायतमा सन् २०१६ को जुन महिनामा सम्पन्न जनमत सङ्ग्रहमा युरोपेली सङ्घबाट बेलायत बहिर्गमन हुने बहूमतीय जनादेश आएपछि उत्पन्न आर्थिक तथा राजनीतिक हलचलले विश्वब्यापी रुपमै बेलायती मुद्रा–स्टर्लिङ्ग पाउण्डको मूल्यमा भारी गिरावट आएको थियो । अमेरिकी डलरको तुलनामा स्टर्लिङ्ग पाउण्डको मूल्यमा भारी गिरावट आएकै कारण अन्य बेलायती उत्पादक वा व्यापारिक घरानाको तुलनामा सबभन्दा कडा मार पर्न गयो रोल्स रोयसलाई । प्रत्यक्ष व्यापार घाटा (म्यानुफ्याक्चरिङ्ग लस) नदेखिए ता पनि गत जुनदेखि हालसम्म चार दसमलव चार अर्ब स्टर्लिङ्ग पाउण्ड जति (पाँच दसमलव पाँच अर्ब अमेरिकी डलर बराबर) को मुद्रागत नोक्सानी (मनिटरी लस) सहनुपरेको हिसाब रोल्स रोयसले निकालेको छ । विभिन्न राष्ट्रका आफ्ना ग्राहकसँग विमानका ईन्जिन तथा अन्य पार्टपुर्जा आपूर्ति गर्ने प्रयोजनका लागि गरेको आर्थिक करार सम्झौताको अवधिमा स्टर्लिङ्ग पाउण्डको मूल्यमा करिब बीस प्रतिशतले गिरावट आएपछि सो मौद्रिक विनिमय नोक्सानी सहनु परेको रोल्स रोयसले जनाएको हो । मौद्रिक विनिमय नोक्सानीका अतिरिक्त मौद्रिक विनिमयमा घुसखोरी गरेको (ब्राइबरी एल्लिगेसन) आरोपमा रोल्स रोयसले ६७ करोड दस लाख स्टर्लिङ्ग पाउण्ड जति त जरिवानाबापत नियमन निकायलाई तिर्नु बुझाउनु परेको थियो । सन् २०१५ मा आठ करोड चालीस लाख पाउण्ड खुद मुनाफा आर्जन गर्न रोल्स रोयसले यस्तै यस्ता कारणवश सन् २०१६ मा चार अरब पाउण्ड खुद नोक्सानी सहनु परेको र यस नोक्सानीले बिराम नलागे ता पनि केही बर्षसम्म कम्पनी थला परी व्यापार यात्रा कठिन हुने देखिएको छ । यद्यपि, सन् २०१५ मा १३ अर्ब सत्तरी करोड पाउण्ड कुल आय रहेकोमा सन् २०१६ मा यसमा केही वृद्धि भई १५ अर्ब पाउण्ड पुगेको थियो । ठूला जेट विमानको इन्जिन र इन्जिन सम्बन्धित पार्टपुर्जा उत्पादन गर्नेः जनरल इलेक्ट्रिक, सिएफएम, डग्लास म्याक डोनेल, प्राट् एण्ड ह्विट्ने लगायतका कम्पनीहरुको तुलनामा रोल्स रोयसद्वारा उत्पादित इन्जिन तथा सरसामानहरुको अलि बढ्तै बिश्वसनीयता भएकै कारण विश्व उड्डयन उद्योगको बजारमा यस कम्पनीले ख्याति तथा मुनाफा आर्जन गरिरहेको थियो । संसारका अति सम्पन्न वा अति धनीमानीवर्ग तथा राजघरानाले मात्र चढ्न पाउने, अन्य सर्वसाधारण जनताले त किन्नै पनि नपाउने महँगो गाडी भनी नाम कहलिएको रोल्स रोयस लक्जरी एण्ड सेफ्टी कारको विगतका कैयन दशकसम्म उत्पादन र बिक्री वितरणबाट संसारभर आफ्नो विशिष्ट पहिचान बनाएको पुरानो र ख्याति प्राप्त यस कम्पनीले केही दशकपूर्वदेखि सो कार उत्पादन गर्न छाडेर विमानका इन्जिन र पार्टपुर्जा उत्पादनतर्फ हात हालेको थियो । वर्तमानमा यस्ता रोल्स रोयस लक्जरी एण्ड सेफ्टी कार जस्तै महँगो गाडीहरु बिएमडब्लु नामक कम्पनीले उत्पादन र बिक्री वितरण गर्ने गर्छ । रासस/एपी
अमेरिकामा गैरकानूनी रुपमा बस्ने पक्राउन पर्न थाले, ३० लाख आप्रवासी, नेपालीको सख्ंया पनि ठूलो पनि
काठमाडौं । गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो । प्रहरी कारबाहीपछि अमेरिकामा बसोवास गरेका हजारौँ आप्रवासी तनावमा परेका छन् । आप्रवासी प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशलाई अमेरिकी अदालतले प्रतिबन्ध लगाएको सन्दर्भमा सरकारले गैरकानुनी आप्रवासीमाथि छापा तीव्र पारेको हो । ट्रम्पले तीन साताअघि गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । ३० लाख गैरकानुनी आप्रवासी अमेरिकामा ३० लाख आप्रवासी गैरकानुनी रूपमा बसोवास गरेको भन्दै ट्रम्प प्रशासनले उनीहरूलाई देशनिकाला गर्ने योजना बनाएको छ । सोही योजनाअनुरूप प्रहरीले गैरकानुनी रूपमा बसोवास गरेका आप्रवासीमाथिको अनुसन्धानलाई तीव्र पारेको हो । एटलान्टा, सिकागो, न्युयोर्क, लस एन्जल्स, नर्थ क्यारोलाइन, साउद क्यारोलाइनालगायतका राज्यमा बसोवास गर्ने आप्रवासीमाथि प्रहरीले छापा मारेको वासिंग्टन पोस्टले जनाएको छ । प्रहरी छापाका कारण आप्रवासी समुदायमा त्रास उत्पन्न गरेको आप्रवासीको अधिकारका लागि कार्यरत विभिन्न संघसंस्थाले जनाएका छन् । देशनिकाला गरिने ट्रम्प प्रशासनले अपराधको अभियोग लागेका वा अदालतले दोषी ठहर गरेका आप्रवासीलाई तत्कालै देशनिकाला गर्ने जनाएको छ । आप्रवासीमाथिको छापा नियमित कार्य भएको अधिकारीहरूले जनाएका छन् । ‘आप्रवासीमाथिको अनुसन्धान नियमित कार्य हो,’ गृह मन्त्रालयका प्रेस सेक्रेटेरी गिलियन क्रिस्टिेनसेनले बताए । देशको आप्रावाससम्बन्धी कानुन उल्लंघन गर्ने जो–कोहीमाथि अनुसन्धान हुने उनले बताए । छुट दिएनन् ट्रम्पले ट्रम्प प्रशासनले पक्राउ गरेका आप्रवासीलाई यसअघि ओबामा प्रशासनले अमेरिका बस्न छुट दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । फिनिक्समा २१ वर्षदेखि बसोवास गर्दै आएकी एक महिलालाई गत साता प्रहरीले देशनिकाला गरेको थियो । सोको विरोधमा सो राज्यमा दिनहुँजसो विरोध प्रदर्शन भएको छ । रोजागारी प्राप्तिका लागि उनले सन् २००८ मा एउटा फर्जी सुरक्षा नम्बर प्रयोग गरेको प्रहरीले आरोप लगाएको छ । पूर्वराष्ट्रपति ओबामाको शासनकालमा पनि गैरकानूनी रूपमा बसोवास गरेका आप्रवासीमाथि अनुसन्धान भएको थियो । ओबामा प्रशासनले देशका लागि खतरनाक र सुरक्षित गरी आप्रवासीलाई दुई तहमा वर्गीकरण गरेको थियो । ओबामाको कार्यकालमा २० लाख गैरकानुनी आप्रवासीलाई देशनिकाला गरिएको थियो । सोपछि आलोचकहरूले ओबामालाई ‘डिपोर्टर इन चिफ’को संज्ञा दिएका थिए । अर्को यात्रा–प्रतिबन्ध ल्याउने तयारीमा ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निश्चित देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश ल्याउने तयारी गरेका छन् । मुस्लिम देशका आप्रवासीलाई अमेरिका प्रतिबन्ध लगाउने आदेशलाई अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति ट्रम्पले नयाँ कार्यकारी आदेशबारे योजना बनाएका हुन् । आप्रवासीलाई प्रतिबन्ध लगाउने अर्को नयाँ आदेश सोमबार वा मंगलबारसम्ममा आउने उनले बताए । आप्रवासीलाई नियन्त्रण गर्ने नयाँ योजना कस्तो हुन्छ भन्नेबारे ट्रम्पले विस्तृत रूपमा केही उल्लेख गरेका छैनन् ।