सरकारको नजरमा सुधार, व्यवसायीको भोगाइमा डामाडोल

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सकिनै लाग्दा निर्माण क्षेत्र भने सुस्त बनेको छ । विगतका वर्षहरुमा यतिबेला असारे विकासले भ्याइनभ्याई हुने निर्माण क्षेत्र यो वर्ष भने सुस्त बनेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले निर्माण क्षेत्रमा सुधार हुँदै गएको र चलायमान पनि भएको दाबी गरिरहँदा निर्माण व्यवसायी भने विगतको भन्दा थप निर्माण सुुस्त भएको बताइरहेका छन् ।  अहिले निर्माण क्षेत्र मुख्य गरी तीनवटा चुनौतीबाट गुज्रिरहेको निर्माण व्यवसायीले बताइरहेका छन् । इन्धनमा भएको मूल्यवृद्धि, आयोजनाहरूको म्याद थपमा देखिएको जटिलता र राष्ट्रिय गौरवका बाहेक अन्य आयोजनामा सुस्त प्रगतिले समग्र निर्माण क्षेत्र थला परेको छ ।  निर्माण व्यवसायीहरुले भने राज्यको भूमिकाप्रति पनि प्रश्न उठाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान महासचिव रोशन दाहाल भन्छन्, ‘राज्यले नै मूल्य बढाउने अनि व्यवसायीले चाहिँ दुई वर्ष अगाडिको दररेटमा काम गर्नुपर्छ भन्नु कति न्यायोचित छ ?’ उनका अनुसार निर्माण क्षेत्रको प्रगति विगतको तुलनामा निकै कमजोर छ ।  आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा निर्माण कार्यले गति लिनुपर्नेमा उल्टै काम सुस्त भएको र व्यवसायीहरू पलायन हुने स्थिति सिर्जना भएको उनले बताए । दाहालले फागुनदेखि वैशाखसम्म पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीको लागत आकासिएको र यसले निर्माण क्षेत्रलाई सुस्त बनाएको गुनासो गरे ।   ‘राज्य नियन्त्रित आयल निगमले एकैचोटी डिजेल र पेट्रोलमा ३० देखि ५० रुपैयाँसम्म मूल्य बढाउँछ । तर, व्यवसायीले दुई वर्षअघिको दररेटमा काम गर्नुपर्ने बाध्यता छ,’ दाहालले भने, ‘राज्यले बढाएको मूल्यको भार व्यवसायीले मात्रै कतिन्जेल थाम्न सक्छन् ? मूल्य समायोजन नहुँदा धेरै व्यवसायीहरू टाट पल्टिने अवस्थामा पुगेका छन् । ’ चालु आर्थिक वर्षभित्र सकिनुपर्ने साना तथा ठूला धेरै ठेक्काहरू मूल्यवृद्धिकै कारण समयमा सम्पन्न हुन नसकेको उनले बताए । ‘सरकारले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै ठेक्काहरूको एकमुष्ठ म्याद थप गरिदिनुपर्छ,’ उनले थपे । यदि म्याद थप र सहजीकरण नगरिए असार मसान्तमा धेरै ठेक्काहरू तोडिने र व्यवसायीहरूले भुक्तानी नपाउने जोखिम रहेको उनको दाबी छ । पछिल्लो समय कर्मचारी र निर्माण व्यवसायीबीच दूरी बढाउन खोजिएको तर्फ संकेत गर्दै दाहालले भने, ‘कर्मचारी र व्यवसायी एउटै रथका दुई पाङ्ग्रा हुन् । प्राविधिकहरूको निरीक्षण र सुपरिवेक्षण बिना आयोजना सफल हुन सक्दैनन् । दुवै पक्षलाई अलग राखेर काम गराउन खोज्नु आयोजनालाई झन् अधुरो बनाउनु हो । ’ व्यवसायीहरूलाई हेर्ने नकारात्मक दृष्टिकोणमा परिवर्तन आउनुपर्ने र गुणस्तरीय कामका लागि दुवै पक्षबीच समन्वय अनिवार्य रहेको उनको तर्क छ । निर्माण क्षेत्रमा देखिएको वर्तमान संकटले व्यवसायीहरूमा निरासा छाएको छ । मूल्य समायोजन नहुने, म्याद थपमा झन्झट हुने र समयमा भुक्तानी नपाउने समस्याले गर्दा धेरै व्यवसायीहरू पेशाबाटै पलायन हुने खतरा बढेको दाहालले चेतावनी दिए । निर्माण व्यवसायीहरूका अनुसार म्याद थप नहुने र बजेट अभावका कारण असार मसान्तपछि थप धेरै ठेक्काहरू तोडिने जोखिम बढेको छ ।  महासंघका उपमहासचिव मंगलबहादुर शाहीले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धिका कारण मुलुकको निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताउँछन् । तेलको मूल्यमा भएको अप्रत्यासित वृद्धिले निर्माण सामग्रीहरूको लागत समेत बढाउँदा देशभरका निर्माण कार्यहरू अवरुद्ध जस्तै भएको उनको भनाइ छ । उपमहासचिव शाहीले भने, ‘तेलमा भएको अप्रत्यासित मूल्यवृद्धिका कारण सम्पूर्ण निर्माण सामग्रीको भाउ बढेको छ । यसले गर्दा व्यवसायीहरूले काम गर्न खोज्दाखोज्दै पनि नसकिने अवस्था सिर्जना भएको छ ।’ उनका अनुसार आर्थिक रूपमा सबल र आफ्नै उपकरण भएका केही ठूला व्यवसायीहरूले काम जारी राखे तापनि साना व्यवसायीहरू भने काम गर्न नसक्ने गरी थला परेका छन् ।  अन्तर–मन्त्रालय समन्वयमा सुधार निर्माण क्षेत्रमा देखिएका समस्याका बाबजुद सरकारले पछिल्लो समय केही सकारात्मक कदम चालेको शाहीले उल्लेख गरे । अन्तर-मन्त्रालय समन्वयमा विगत २० वर्षदेखि कायम रहेको झन्झटिलो प्रक्रियामा सुधार आएको उनले बताए ।  ‘पहिले स-साना समन्वयका कामहरूका लागि पनि अर्थ मन्त्रालय धाउनुपर्ने बाध्यता थियो । अहिले सरकारले यो समस्या समाधान गरेको छ,’  शाहीले भने, ‘अन्तर-मन्त्रालय समन्वयको पाटो बलियो हुनु बजेट खर्च गर्ने सन्दर्भमा निकै सकारात्मक र सहज पक्ष हो । ’ मन्त्रालयहरूबीचको समन्वय र नीतिगत सहजता भए तापनि बजारमा चुलिएको मूल्यवृद्धिका कारण लक्ष्य अनुसारको बजेट खर्च हुन नसकेको उनले औंल्याए ।  व्यवसायीहरूले फरक–फरक समूह बनाएर धमाधम काम गरिरहेको चर्चा चले पनि यथार्थमा मूल्यवृद्धिकै कारण सोचे जस्तो प्रगति हुन नसकेको उनको दाबी छ । सरकारले निर्माण कार्यलाई अगाडि बढाउने राम्रो अवधारणा ल्याएको भए तापनि बजारको अस्थिर मूल्य र निर्माण सामग्रीको अभावले निर्माण क्षेत्रमा अहिले पर्ख र हेरको अवस्था रहेको उपमहासचिव शाहीको तर्क छ ।  यस्तै, सडक विभागका महानिर्देशक विजय जैसी पेट्रोलियम पदार्थमा भएको अप्रत्यासित मूल्यवृद्धिका कारण मुलुकको निर्माण क्षेत्र प्रभावित भएको बताउँछन् । महानिर्देशक जैसीले तेलको मूल्य बढेसँगै निर्माण सामग्रीको लागत समेत ह्वात्तै बढेकाले निर्माण कार्यमा अवरोध सिर्जना भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थमा सतप्रतिशतसम्म मूल्यवृद्धि भएकाले साना निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसक्ने अवस्था सिर्जना भएको छ । ‘निर्माण सामग्रीमा भएको यो अप्रत्यासित मूल्यवृद्धिका कारण व्यवसायीहरूले साइटमा गएर पनि काम गर्न नसक्ने समस्या छ,’ उनले भने ।  यद्यपि, आर्थिक रूपमा सबल र उपकरणहरू भएका ठूला व्यवसायीहरूले भने काम जारी राखेका छन् । नयाँ सरकार आएपछि निर्माण क्षेत्रका समस्या समाधानका लागि नीतिगत तहमा धेरै सुधार भएको जैसीको दाबी छ ।  सार्वजनिक खरिद ऐन संशोधन भएपछि व्यवसायीहरूलाई काम गर्न केही सहज भएको उनले बताए । सरकारले व्यवसायीहरूसँगको सम्पर्क बढाएर सहजीकरण गरिरहेको र पूर्वाधार विकास कार्यालयहरू हाल निकै सक्रिय रहेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय ठेकेदारहरु आफ्नो कामप्रति सजग बनेका छन् ।  १४० ठेक्का तोडिए  निर्माणको कामको प्रगति र ठेक्काको अवस्थाबारे जानकारी दिँदै जैसीले चालु आर्थिक वर्षमा मात्रै करिब १४० वटा ठेक्काहरू तोडिएको विकासन्युजलाई जानकारी दिए ।  उनका अनुसार गत वर्षको तुलनामा यो संख्या केही बढी हो । विगतका वर्षहरूमा निर्माण क्षेत्रमा करिब ८० प्रतिशत प्रगति हुने गरेकोमा यस वर्ष मूल्यवृद्धि र वर्षातका कारण ५० देखि ५५ प्रतिशतको हाराहारीमा मात्र प्रगति भएको उनी बताउँछन् । कठिन परिस्थितिका बाबजुद पनि सरकारले राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । हाल सूर्यविनायक-धुलिखेल सडकखण्ड र नागढुङ्गा सुरुङमार्गजस्ता आयोजनाहरूमा धमाधम काम भइरहेको छ ।  सडक विभागले अहिले ८० वटा मुख्य राजमार्ग, उत्तर–दक्षिण करिडोर र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) जस्ता ठूला आयोजनाहरूलाई केन्द्रमा राखेर काम अगाडि बढाइरहेको महानिर्देशक जैसीले जानकारी दिए ।  निर्माण व्यवसायीहरूले आफ्नो जिम्मेवारी र तोकिएको समय सीमाभित्र काम सक्नुपर्ने दायित्व बोध गरे पनि बजारको मूल्यवृद्धि नै मुख्य बाधक बनेको सडक विभागको निष्कर्ष छ । यस्तै, मनसुन सक्रिय भएको भन्दै सडक अवरोध र प्राकृतिक विपत्तिको जोखिम बढ्ने भन्दै सडक विभागले देशभर उच्च सतर्कताका साथ पूर्वतयारी पूरा गरेको महानिर्देशक जैसीले बताए । उनले मुख्य राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भए दिउँसोको समयमा ३० मिनेटभित्र प्राविधिक टोली घटनास्थलमा पु¥याउने र सामान्य अवस्थामा दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको जानकारी दिए ।  जैसीका अनुसार विभागको जिम्मामा रहेका करिब १५ हजार किलोमिटर सडक सञ्जालमध्ये १० हजार किलोमिटर ‘अल वेदर’ सडकमा विशेष प्राथमिकताका साथ जनशक्ति, उपकरण र प्राविधिक टोली परिचालन गरिएको छ । यस वर्ष विभागले पहिलो पटक ‘सेतु’ सफ्टवेयर प्रयोग गरेर देशभर रहेका २ सय ७७ वटा हेभी इक्विपमेन्ट र तिनका अपरेटरको लाइभ लोकेसन निगरानी गर्ने व्यवस्था मिलाएको हो । कुनै स्थानमा पहिरो वा सडक अवरोधको सूचना प्राप्त हुनासाथ सबैभन्दा नजिक रहेको मेसिन तत्काल परिचालन गर्न सकिने भएकाले उद्धार तथा सडक खुलाउने काम अझ छिटो हुने विभागको विश्वास छ । महानिर्देशक जैसीका अनुसार यान्त्रिक महाशाखा र सिभिल डिभिजन कार्यालयबीच समन्वय गरी जोखिमयुक्त क्षेत्रको नजिकै उपकरण तयारी अवस्थामा राखिएको छ । जसले आकस्मिक अवस्थामा प्रतिक्रिया दिने समय घटाउनेछ । पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा पनि विभागले दीर्घकालीन समाधानतर्फ काम अघि बढाएको जनाएको छ । बजेट र क्षमताको सीमितताका बाबजुद नागढुङ्गा-मुग्लिङ, नारायणगढ–मुग्लिङ र कान्ति लोकपथका प्रमुख पहिरो क्षेत्रमा बायो–इन्जिनियरिङ, रक एङ्करिङ र सर्टक्रिटिङ जस्ता प्रविधिबाट ढलान स्थिर बनाउने काम सम्पन्न गरिएको छ । विभागका अनुसार झ्याप्ले खोला, महेश खोला र कृष्णभिर जस्ता पुराना तथा जटिल पहिरोहरू नियन्त्रणमा आइसकेका छन् भने नारायणगढ-मुग्लिङको तुइन खोला र कान्ति लोकपथका केही जोखिमयुक्त स्थानमा स्थायी समाधानका काम जारी छन् । 

मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित, आयोजना ठप्प हुने जोखिम

काठमाडौं । लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको जनाएको छ । सङ्घका अध्यक्ष रमेश बेल्वासेले रासससँगको कुराकानीमा पछिल्लो समय निर्माण लागत अत्यधिक बढेकाले आयोजना कार्यान्वयनमा समस्या देखिएको बताए । उनका अनुसार डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिकको पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा निर्माण कार्य अघि बढाउन नसकिने अवस्था सिर्जना भएको छ । इन्धन र बिटुमिनको मूल्य आकासिँदा निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेको उनले बताए । अध्यक्ष बेल्वासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गरे । समयानुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित भएको उनको भनाइ छ । समयमै मूल्य समायोजन नभए विकास आयोजना ठप्प हुने जोखिम बढ्ने भन्दै उनले बैंक ग्यारेन्टी, बीमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।

निकोलश पाण्डेको नेतृत्वमा महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार, निर्माण क्षेत्रको गरिमा उकास्ने अठोट

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले सोमबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ ।  अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बिच नवनिर्वाचित अध्यक्ष निकोलश पाण्डेसहितका पदाधिकारी तथा सदस्यहरूले आफ्नो कार्यभार सम्हाल्दै शपथ लिएका हुन् ।  शपथ ग्रहणसँगै नयाँ नेतृत्वले निर्माण क्षेत्रको वर्तमान चुनौतीहरूलाई चिर्दै खस्कँदो गरिमालाई पुनस्र्थापित गर्ने र व्यवसायीहरूको हकहितका लागि दृढतापूर्वक लाग्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू, सातै प्रदेशका प्रतिनिधिहरू र निर्माण क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।  महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन भएका पदाधिकारीहरू अध्यक्षमा निकोलश पाण्डे, महासचिवमा शिवहरि घिमिरे, महिला उपाध्यक्षमा गङ्गा पोखरेल, कोषाध्यक्षमा उज्ज्वल गौतम, सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ, नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष साह, प्रादेशिक उपाध्यक्षहरूमा प्रदेश निर्वाचित उपाध्यक्ष कोशी धिरेन्द्र दाहाल, मधेस शम्भु ठाकुर, बागमती बालकृष्ण थापा, गण्डकी खिमप्रकाश मल्ल, लुम्बिनी शहदेव खड्का कर्णाली हिमबहादुर बुढा तथा सुदूरपश्चिम प्रकाशबहादुर शेट्टी रहेका छन् ।  अधिवेशनले देशभरका निर्माण व्यवसायीहरूमाझ आपसी एकता र सहकार्यको नयाँ ऊर्जा सञ्चार गरेको सहभागीहरूले बताएका छन् । नयाँ टिमले विशेष गरी निर्माण उद्योगमा देखिएका नीतिगत समस्याहरूको समाधान र व्यवसायीहरूको सुरक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने विश्वास लिइएको छ । 

निर्माण क्षेत्रको नयाँ परीक्षा, घुस बिनाको विकास सम्भव छ ?

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारणसभा तथा १३ औं महाधिवेशन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । तर, विगतका वर्षहरूमा जस्तो तामझामका बीच उद्घाटन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री मञ्चमा देखिएनन् ।  आइतबार महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साललाई निमन्त्रणा दिन मन्त्रालय पुगेको थियो तर परम्परा भत्काउँदै मन्त्री लम्सालले कार्यक्रममा जान अस्वीकार मात्र गरेनन्, एउटा मौखिक प्रस्ताव अघि सारे । मन्त्री लम्सालको अभिव्यक्ति थियो, घुस नदिए ढिलाइ हुँदैन ।  मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकलाई साक्षी राखेर मन्त्री लम्सालले भनेका कुरालाई उद्धृत गर्दै निर्माण व्यवसायी महासंघका एक पदाधिकारीले भने, ‘पूर्वाधार आयोजनाहरू ढिला हुनुको मूल कारण भ्रष्टाचार हो । यदि व्यवसायीले घुस दिन बन्द गर्छन् भने सरकारले कुनै पनि प्रशासनिक अवरोध बिना कामको तुरुन्त भुक्तानी दिनेछ ।’ मन्त्रीको यो अडानले महासंघलाई झस्कायो मात्रै होइन, कार्यबाहीका लागि बाध्य पनि बनायो । २४ घण्टाभित्रै महासंघले परिपत्र जारी गर्दै आफ्ना सदस्यहरूलाई सरकारी अधिकारीलाई अतिरिक्त भुक्तानी अर्थात् घुस नदिन र कसैले मागेमा सिधै मन्त्रीलाई रिपोर्ट गर्न निर्देशन दियो ।  मन्त्रीको बहिस्कार र नयाँ नीतिगत बहसका बीच महासंघको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । यसपटक नेतृत्वका लागि निकोलस पाण्डे र आङ दोर्जे लामा (एडी) को प्यानल चुनावी मैदानमा छन्। निकोलस पाण्डेको प्यानलले युवाजोस र एसोसिएट क्षेत्रको प्रतिनिधित्वलाई जोड दिएको छ । उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) देखि सातै प्रदेशका उपाध्यक्षहरूको बलियो टिम छ । जसमा कोशी प्रदेशबाट उपाध्यक्षमा धिरेन्द्र दाहाल, बागमती प्रदेशबाट उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेशबाट उपाध्यक्षमा राजेन्द्र पहाडी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा सहदेव खड्का, कर्णाली प्रदेशबाट उपाध्यक्ष हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा भीमबहादुर पाल, एसोसिएट उपाध्यक्षमा नरहरि थपलिया महासचिवमा बलिभद्र राणा, उपमहासचिव (नीतिगत) मा मंगल बहादुर शाही, उपमहासचिव (आन्तरिक) मा सुवित श्रेष्ठ, कोषाध्यक्षमा उज्वल गौतम तथा सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ रहेका छन् ।  अर्कोतर्फ आङ दोर्जे लामाको प्यानल अनुभव र पुरानो साख जोगाउने दाउमा छ । लामाको प्यानलमा रोशन दाहाल वरिष्ठ उपाध्यक्ष र शिवहरि घिमिरे महासचिवको उम्मेदवार छन् । दुवै प्यानलले आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । तर, यो निर्वाचन केवल व्यक्तिको छनोट मात्र नभएर, मन्त्रीले अघि सारेको भ्रष्टाचारमुक्त निर्माणको चुनौतीलाई कसले कसरी सामना गर्छ भन्ने परीक्षा पनि हुनेछ ।  विगतमा प्रज्ञा प्रतिष्ठानको हल खचाखच भरिने व्यवसायीहरूको उपस्थिति यसपटक केही पातलो देखियो । पूर्वअध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।  निर्माण व्यवसायीहरू सन् २०१९ देखि यो क्षेत्रले ठूलो आर्थिक संकट र प्रशासनिक जटिलता भोगिरहेको बताउँछन् । उनीहरूको गुनासो छ, फाइल अघि बढाउन र बिल पास गर्न कमिसन नदिई कामै हुँदैन । नेपालको अर्थतन्त्रमा पूर्वाधार क्षेत्रको ठूलो योगदान छ । तर, समयमै काम नसकिने, लागत बढ्ने र गुणस्तरहीन काम हुने समस्याले देशकै विकासको गति सुस्त बनाएको छ ।  मन्त्री लम्सालले देखाएको कडापन र महासंघले जारी गरेको परिपत्र यदि इमानदार कार्यान्वयन भयो भने यसले नीतिगत तहमा ठूलो सुधार ल्याउन सक्न व्यवसायीहरू बताउँछन्  । नयाँ नेतृत्वका लागि अबको बाटो सहज छैन। एकातिर सरकारको कडा निगरानी र अर्कोतिर वर्षौंदेखि रोकिएका भुक्तानी र निर्माणका समस्याहरू छन् । बिहीबारसम्म चल्ने यो महाधिवेशनले केवल नयाँ कार्यसमिति मात्रै चयन गर्ने छैन, बरु घुस बिनाको निर्माण सम्भव छ कि छैन भन्ने प्रश्नको उत्तर पनि खोज्नेछ ।

राजनीतिमा परिवर्तन आएसरी निर्माण क्षेत्रमा पनि व्यापक सुधार आउनेछ : आङ दोर्जे लामा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा नयाँ नेतृत्वका लागि अध्यक्ष उम्मेदवार आङ दोर्जे लामा (एडी) लामाले थला परेको निर्माण क्षेत्रमा अब बिस्तारै आशाका किरणहरू देखिन थालेको बताएका छन् ।  महासंघको २६औं साधारण सभा तथा १३औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान समयलाई निर्माण व्यवसायका लागि कालो बादलमा चाँदीको घेराको संज्ञा दिए । उपाध्यक्ष लामाले कोभिड-१९ को असर, रुस–युक्रेन युद्ध, मध्यपूर्वको तनाव र नेपाल सरकारले समयमा भुक्तानी नगर्दा निर्माण उद्योग अत्यन्तै नाजुक र पीडादायी अवस्थामा पुगेको उल्लेख गरे । ‘हामी निर्माण व्यवसायीहरू लामो समयदेखि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणले ठुलो मारमा छौं,’ उनले भने, ‘विशेष गरी सरकारले समयमा भुक्तानी नदिँदा व्यवसायीहरू धराशायी हुने अवस्थामा पुगेका छन् ।’ निर्माण क्षेत्रको मुख्य समस्याको जड राजनीतिक अस्थिरता रहेको लामाको तर्क थियो । बिना बजेटका आयोजनाहरू घोषणा गर्ने र सरकार परिवर्तन हुनासाथ अघिल्लो सरकारले लगाएका ठेक्काको भुक्तानी रोकिने प्रवृत्तिले निर्माण क्षेत्रलाई घातक असर पु‍र्याएको उनले बताए । राजनीतिक अस्थिरताकै कारण पटक–पटक प्रयास गर्दा पनि ऐन संशोधन हुन नसकेको उनको गुनासो थियो । पछिल्लो राजनीतिक परिवर्तन र नयाँ सरकारको कार्यशैलीप्रति व्यवसायीहरू उत्साहित देखिएका छन् । सरकार बनेको एक हप्ता पनि नबित्दै सार्वजनिक खरिद ऐन संशोधनका लागि ३० दिने कार्ययोजना अघि बढाउनु र व्यवसायीसँग सुझाव माग गर्नु सकारात्मक पक्ष भएको लामाले बताए । ‘भर्खरै बनेको सरकारले निर्माण क्षेत्रका विकराल समस्या समाधान गर्न देखाएको तत्परता हाम्रा लागि सुखद पक्ष हो,’ लामाले भने, ‘अबका दिनमा राजनीतिक स्थिरता कायम हुने र व्यवसायीले निर्धक्क भएर काम गर्ने वातावरण बन्नेमा हामी आशावादी छौं ।’ महासंघको १३औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले सरकारसँग समन्वय गरी निर्माण क्षेत्रमा देखिएका नीतिगत र व्यावहारिक गाँठो फुकाउने उनले विश्वास व्यक्त गरे ।  वर्षौंदेखिको अन्योल अन्त्य भई अब निर्माण क्षेत्रले नयाँ गति लिने र समृद्ध नेपाल निर्माणमा व्यवसायीको भूमिका अझ सशक्त हुने लामाको भनाइ थियो । सम्बोधनको अन्त्यमा उनले भने, ‘जसरी राजनीतिमा परिवर्तन आएको छ, त्यसैगरी निर्माण क्षेत्रमा पनि व्यापक सुधार आउनेछ । अब हाम्रो अनुहारमा छाएको निराशा हटेर सुखद दिनहरू आउनेमा म पूर्ण विश्वस्त छु ।’

'निर्माण क्षेत्रलाई व्यवस्थित गर्न सकियो भने तीन वर्षभित्र देशको भौतिक पूर्वाधारले फड्को मार्छ’

यतिबेला देश निर्वाचनमय छ । जताततै निर्वाचनको लहर चलिरहँदा निर्माण व्यवसायीहरूलाई भने आफ्नै चुनाव लागेको छ । नेपाल निर्माण व्यवसायी महासंघको माघ १५ गते हुने भनिएको निर्वाचन ढेड महिनाभन्दा पछि धकेलिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लागू भएको आचारसंहिताका कारण महासंघको निर्वाचन स्थगित भएको छ । यसै विषयमा महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी ई. आङ दोर्जे लामा (एडी) सँग विकासन्युजका लागि नरेन्द्र विष्टले विकास बहस गरेका छन् ।  नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनको चर्चा चुलिएको थियो । अहिले निर्वाचन स्थगित भयो । अब कसरी अगाडि बढ्दै हुनुहुन्छ ?  निर्माण व्यवसायी महासंघको अधिवेशन माघ १५, १६ र १७ गते का लागि तय भएको थियो । तर, देशमा विकसित राजनीतिक घटनाक्रम र निर्वाचन आचारसंहिताका कारण निर्वाचन आयोगबाट पत्र आयो । हामी राजनीतिक दलसँग आबद्ध नभए पनि एउटा मर्यादित संस्था भएकाले आचारसंहिता पालना गर्नुपर्ने भयो । त्यसैले, अहिलेलाई निर्वाचन स्थगित गरिएको छ  । आचारसंहिता हटेको १५ दिनभित्र निर्वाचन गर्ने गरी हामीले भर्खरै निर्णय गरेका छौं । आयोगको निर्देशनअनुसार आज आकस्मिक बैठक बसेर हामीले आचारसंहिता हटेको १५ दिनभित्र निर्वाचन सम्पन्न गर्ने निर्णय गरेका छौं । अहिले भर्खरै बैठक सम्पन्न गरेर म यही निर्णय सार्वजनिक गर्न आएको हुँ ।  अध्यक्षका लागि आफू पनि प्रतिस्पर्धी भएको बताउँदै आउनु भएको छ । सहमति हुन्छ कि निर्वाचनमै जानुहुन्छ ? हाम्रो विधानले हरेक तीन वर्षमा निर्वाचन भन्छ । अहिले निर्माण क्षेत्र इतिहासकै कठिन मोडमा छ । यस्तो बेला हार–जितले व्यवसायीमा फाटो ल्याउन सक्छ भन्ने हाम्रो डर हो । त्यसैले मेरो प्रयास सर्वसम्मत नेतृत्व चयनमै छ । तर, ७७ जिल्लाका प्रतिनिधिहरूको भावना र लोकतान्त्रिक अधिकारलाई सम्मान गर्दा चुनावी प्रतिस्पर्धा हुने सम्भावना पनि उत्तिकै छ । निकोलस पाण्डेजी र मेरो समूह अहिले चुनावी मैदानमा छौं । त्यसैले हामी सकेसम्म सर्वसम्मतमार्फत नेतृत्व चयन गरौं भन्ने प्रयासमा छौं । ताकि संगठन अझ मजबुत र एकताबद्ध रहोस् । यदि सहमति सम्भव भएन भने पनि हामी विधानअनुसार लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचन गरेर अगाडि बढ्नुपर्ने बाध्यतामा छौं ।  तपाईंको अध्यक्ष पदमा दाबेदारी किन ?  यो पेशा मेरो लागि केवल व्यवसाय मात्र होइन, पुस्तौंदेखि जोडिएको जीवनयात्रा हो । मेरा बुवाले २०२६ सालमा यो पेशा सुरु गर्नुभयो । त्यसपछि दाइले लामो समयसम्म यसै क्षेत्रमा योगदान दिनुभयो र आज पनि उहाँ मसँगै सक्रिय हुनुहुन्छ । मैले इन्जिनियरिङ पढाइ सकेपछि ३१ वर्ष यही पेशामा बिताएँ । अहिले मेरा छोराहरू पनि यही क्षेत्रमा आबद्ध भइसकेका छन् । यसरी हेर्दा यो पेशा हाम्रो परिवारको तेस्रो पुस्तासम्म आइपुगेको छ । तर आज यो पेशाले पाउनुपर्ने मर्यादा र प्रतिष्ठा जति हुनुपर्थ्यो, त्यति नपाएको अवस्था छ । यही यथार्थले मलाई यस पेशालाई अझ मर्यादित, पारदर्शी र सम्मानित बनाउने दिशामा अघि बढ्न प्रेरित गरेको हो । निश्चय नै यो क्षेत्रमा थुप्रै विकृतिहरू छन्, केही हाम्रा आफ्नै कमजोरीका कारण केही राज्यका नीतिगत कारणले केही सामाजिक सोचका कारण र केही राजनीतिक अस्थिरताका कारण उत्पन्न भएका हुन् ।  यी सबै पक्षलाई समग्र रूपमा सम्बोधन नगरी यो पेशालाई समाजमा सम्मानित र सशक्त बनाउनु सम्भव छैन । देश विकासमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने यो पेशामार्फत वार्षिक ३/४ खर्ब पुँजीगत खर्च गर्ने यो क्षेत्रलाई मर्यादित बनाउनु मेरो मुख्य लक्ष्य हो । यस्तो जिम्मेवार क्षेत्रको संस्थागत नेतृत्वमा रहेर केही न केही सुधार गर्न सकिन्छ र गर्नैपर्छ भन्ने दृढ विश्वासका साथ म अघि बढिरहेको छु । त्यसकारण यो पेशालाई हेर्ने समाजको नजर र यसमा रहेका विकृति सुधार गर्न मेरो दाबेदारी हो ।  तपाईंले महासंघको नेतृत्व गरेपछि हुने परिवर्तन के हो ? निर्माण व्यवसायी महासंघ ७७ वटै जिल्लाका व्यवसायीहरूको प्रतिनिधित्व गर्ने छाता संस्था हो । यस संस्थालाई मर्यादित, व्यवस्थित र पेशागत बनाइनुपर्छ भन्ने विषयमा सबैको एकमत छ । तर विगतका केही कालखण्डमा महासंघ विभिन्न बेथिति र गलत प्रवृत्तिले प्रभावित भयो, कतिपय समयमा बाह्य अवाञ्छित समूहको हस्तक्षेपले पनि संस्थाको छवि धुमिल बनायो । यद्यपि पछिल्ला ३/४ कार्यकालदेखि रवि सिंहको नेतृत्वमा महासंघलाई पेशागत, संस्थागत र प्रोफेसनल ढंगले अगाडि बढाउने प्रयास सशक्त रूपमा अघि बढेको छ । सोही यात्रामा म दुई कार्यकाल उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको हैसियतले नेतृत्व टिमसँगै रहेर राज्यसँग आवश्यक लबिङ, नीतिगत सुधार र संस्थागत परिवर्तनका धेरै पहलमा सक्रिय भूमिका निभाउँदै आएको छु । धेरै सुधार सम्भव भएका छन्, तर अझै धेरै काम गर्न बाँकी छन् । ती अधुरा कामलाई निरन्तरता दिन र महासंघलाई अझ बलियो, विश्वासयोग्य र प्रभावकारी बनाउन नेतृत्वको निरन्तरता आवश्यक छ । यही आवश्यकतालाई पूरा गर्न मैले नेतृत्वको जिम्मेवारी लिनुपर्ने निर्णय गरेको हुँ । के छन् तपाईंका एजेन्डाहरू ? मेरो पहिलो एजेण्डा लाइसेन्स वितरणमा कडाइ हुनेछ । किनकी अहिले ७५३ वटा स्थानीय तहबाट जथाभाबी ‘डी’ क्लासका फर्म बाँडिएको छ । यसले अस्वस्थ प्रतिस्पर्धा बढायो । बैंकहरू मर्ज भए जस्तै निर्माण कम्पनीहरूलाई पनि एउटा मापदण्डमा ल्याउनुपर्छ । दोस्रो लो–बिडिङको अन्त्य जसमा लागत अनुमानभन्दा ४०/५० प्रतिशत कममा ठेक्का हाल्ने परिपाटीले न कामको गुणस्तर रह्यो, न समयमा सकियो । अर्बौं रुपैयाँ राज्यको पैसा बालुवामा पानी हालेजस्तै भइरहेको छ । त्यसैले १५ प्रतिशतभन्दा बढी बिलो हाल्न नपाइने स्पष्ट नीति बनाउन सरकारसँग हाम्रो माग छ, ताकि काम समयमै होस् र गुणस्तरीय बनोस् । यो नियमका लागि लबिङ गरिरहेका छौं । अर्काे झन्झटिलो कानुनको संशोधन ५९ को दफा ८ जस्ता ‘क्रुर’ कानुनहरू जसले निर्माण व्यवसायीलाई जन्म-जन्मान्तरसम्म दायित्व सुम्पिन्छ, ती खारेज हुनुपर्छ ।  यसैगरी, ठेक्का तोडिँदा बाँकी रकमसमेत निर्माण व्यवसायीबाट असुलउपर गर्ने अत्यन्त कठोर कानुनले निर्माण क्षेत्र ध्वस्त पार्ने खतरा पैदा गरेको छ । कुनै पनि कारणले काम गर्न नसकेमा पुस्तौंसम्म असुली गर्ने यस्तो प्रावधान संसारमै दुर्लभ छ, जसलाई तत्काल संशोधन गर्नुपर्छ । यी सबै समस्या समाधान गर्न हामीले स्पष्ट एजेन्डासहित अघि बढिरहेका छौं । निर्वाचनपछि आउने सरकारले यी मागलाई गम्भीरतापूर्वक सम्बोधन गरेमा निर्माण उद्योगमा गुणस्तर, समयपालन र विश्वास स्वतः स्थापित हुनेछ । यही उद्देश्यका साथ हामी यी एजेन्डालाई केन्द्रमा राखेर निर्वाचनमा अघि बढिरहेका छौं । अहिले निर्माण व्यवसायीहरू कुन-कुन समस्याहरूसँग जुधिरहेका छन् ?  निर्माण व्यवसायी क्षेत्रमा आजको सबैभन्दा ठूलो समस्या डिमान्ड र सप्लाइको गम्भीर असन्तुलन हो । संविधान जारी भएपछि डी–क्लास निर्माण फर्म स्थानीय तहबाट वितरण गर्ने प्रावधान राखिनु अत्यन्त दुर्भाग्यपूर्ण निर्णय भएको हाम्रो ठम्याइ छ । अहिले ७५३ वटै स्थानीय तहबाट हरेक वर्ष हजारौं नयाँ डी–क्लास फर्म दर्ता भइरहेका छन् । एउटा स्थानीय तहबाट वर्षमा १० वटा मात्रै फर्म दर्ता भए पनि देशभर वार्षिक ७ हजारभन्दा बढी नयाँ निर्माण व्यवसायी थपिन्छन् । नेपालजस्तो सानो अर्थतन्त्र, जहाँ वार्षिक पुँजीगत खर्च मुस्किलले ३/४ खर्ब रुपैयाँ हुन्छ, त्यस्तो अवस्थामा हरेक वर्ष यति ठूलो संख्यामा निर्माण व्यवसायी थपिनु आफैमा विडम्बना हो । यो व्यवस्था तत्काल रोक्नुपर्छ भन्ने हाम्रो प्रमुख माग हो । बैंकिङ क्षेत्रमा अत्यधिक प्रतिस्पर्धा देखिएपछि सरकारले मर्जरको नीति लिएको उदाहरण हामीसामु छ । यदि ३०/४० वटा बैंक धेरै भए भनेर मर्ज गर्नुपरेको हो भने, अत्यन्तै प्राविधिक, पूँजी र दक्षता आवश्यक पर्ने निर्माण क्षेत्रमा अन्धाधुन्ध फर्म वितरण गर्नु झनै खतरनाक छ । ठेकेदारले काम गरेन मात्र भन्छन् । तर, वास्तविकता फरक छ । १० करोडको ठेक्कामा सरकारले वार्षिक १० लाख बजेट पठाउँछ भने त्यो काम १० वर्ष लाग्नु स्वाभाविक हो । साइट क्लियर नहुने, डिजाइनमा समस्या हुने र वनको स्वीकृति नपाउने जस्ता सरकारी कमजोरी धेरै छन् ।   आज नागरिकता र केही कागजकै आधारमा डी–क्लास फर्म वितरण भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधिका नातागोता, चिनजान र राजनीतिक पहुँचका आधारमा फर्म बाँडिने अवस्था बनेको छ । जब कि निर्माण व्यवसाय साधारण पेशा होइन । यसमा प्राविधिक ज्ञान, दस्तावेज बुझ्ने क्षमता, उपकरण, पूँजी र जिम्मेवारी चाहिन्छ । हचुवाको भरमा लिइएको नीतिले समग्र निर्माण उद्योगको छवि नै बिगारेको छ । त्यस्तै, दुई करोड रुपैयाँसम्मको ठेक्कामा कुनै पनि योग्यता नचाहिने व्यवस्था अर्को गम्भीर समस्या हो । आज फर्म दर्ता गरेको भोलिपल्टै दुई करोडको ठेक्का हाल्न पाइने भएपछि ठेक्कालाई सजिलो कमाइको माध्यम ठान्ने गलत बुझाइ फैलिएको छ । परिणामस्वरूप काम सुरु नहुने, बीचमै छाडिने र ठेक्का अलपत्र पर्ने प्रवृत्ति बढेको छ, जसले निर्माण उद्योगको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । अहिले धेरै आयोजनाहरू रुग्ण बनेका छन् । ठेकेदारहरूले समयमै आयोजनाहरू सम्पन्न गरेनन् भन्ने आरोपहरू छन्, यसमा दोष कसेको हो ? नेपालमा सयौं ठेक्काहरू वर्षौंदेखि अलपत्र परेका छन् । कतिपय ठेक्का  १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेका छैनन् । सतहमा हेर्दा ठेकेदारले काम गरेन भन्ने बुझाइ बनाइन्छ । तर वास्तविकता त्यसभन्दा धेरै जटिल छ । धेरै ठेक्काहरू राजनीतिक भाषण, चुनावी रणनीति र हचुवाको निर्णयका आधारमा निकालिएका छन् । १० करोडको ठेक्का निकाल्दा बजेट १० लाख पनि नछुट्याइने अवस्था छ । वर्षमा एक करोड मात्रै बजेट छुट्याइएपछि १० करोडको योजना सम्पन्न हुन १० वर्ष लाग्नु स्वाभाविक हो । त्यसैगरी, डिजाइन समस्या, साइट क्लियर नहुनु, जग्गा प्राप्ति र वन फँडानीको अनुमति नपाइनु, वातावरणीय प्रभाव मूल्यांकन (ईआईई) नहुनु जस्ता प्रशासनिक कमजोरीले पनि काम रोकिएको छ । राजनीतिक अस्थिरताले समस्या झनै बढाएको छ । औसतमा १२/१३ महिनामा प्रधानमन्त्री, ७/८ महिनामा मन्त्री, सचिव, महानिर्देशक र प्रोजेक्ट म्यानेजर परिवर्तन हुने परम्पराले दुई वर्षको परियोजनामा ४/४ जना प्रोजेक्ट म्यानेजर फेरिनुपर्ने अवस्था छ । यसले निर्णय प्रक्रिया ठप्प बनाएको छ । निर्णय गरे अख्तियारको डर, नगरे काम रोकिने, यही द्वन्द्वले निर्माण क्षेत्र ग्रसित छ । यही कारणले धेरै ठेक्काहरू रुग्ण ‘क्रोनिक’ बनेका छन् । पछिल्लो समय ठेक्का तोड्ने अभियान सुरु हुँदा निर्माण व्यवसायीको कारणले मात्रै काम नहुने ठेक्का तोडिनुपर्छ भन्नेमा हाम्रो समर्थन छ । तर सरकारकै कमजोरीका कारण अलपत्र परेका ठेक्कालाई पनि एकै डालोमा हालेर तोड्नु गलत हो । त्यस्ता अवस्थामा स्विस आधारमा समाधान, क्षतिपूर्ति दिएर निरन्तरता, वा सहमतिमा परियोजना अन्त्य गर्ने विकल्प अपनाउनुपर्छ । निर्माण क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड हो । वार्षिक १२/१५ खर्ब बजेटमध्ये अधिकांश तलब, भत्ता र ऋणको साँवा–ब्याजमै खर्च हुन्छ । वास्तविक विकास खर्च डेढ खर्ब पनि पुग्दैन । यस्तो अवस्थामा निर्माण क्षेत्रमा देखिएका विकृति र अव्यवस्था तत्काल सुधार नगरे देशको अर्थतन्त्र चलायमान हुन सक्दैन । समग्रमा भन्नुपर्दा आम मानिसले ‘ठेकेदारले काम गरेन’ मात्र भन्छन्, तर वास्तविकता फरक छ । १० करोडको ठेक्कामा सरकारले वार्षिक १० लाख बजेट पठाउँछ भने त्यो काम १० वर्ष लाग्नु स्वाभाविक हो । साइट क्लियर नहुने, डिजाइनमा समस्या हुने, र वनको स्वीकृति नपाउने जस्ता सरकारी कमजोरी धेरै छन् । अर्को ठूलो समस्या भनेको ‘प्रोजेक्ट म्यानेजर’को छिटो–छिटो सरुवा हुनु हो । एउटा आयोजना अवधिभर ४/५ जना म्यानेजर फेरिँदा कसैले पनि जिम्मेवारी लिँदैनन् । त्यसैले आयोजना प्रमुखलाई काम नसकिँदासम्म सरुवा नगर्ने नीति चाहिन्छ । यही विषय लिएर आगामी निर्वाचित सरकारसँग गम्भीर छलफल गरी निकास निकाल्नुपर्छ भन्ने हाम्रो धारणा छ । साना र मझौला निर्माण व्यवसायीको हित सुरक्षित गर्न के काम गर्नुहुन्छ ? निर्माण व्यवसायी महासंघभित्र साना, मझौला र ठूला सबै व्यवसायीको हित सन्तुलन गर्न विगतका कार्यकालमै महत्त्वपूर्ण सुधार गरिएका छन् । ठूला निर्माण व्यवसायीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन १० अर्बसम्मका ठेक्कामा विदेशी कम्पनीलाई एक्लै आउन नदिई जोइन्ट भेन्चर अनिवार्य गरियो । ५ अर्बसम्मका ठेक्कामा विदेशी कम्पनीलाई पूर्ण रूपमा प्रतिबन्ध गरियो । साना व्यवसायीको हकमा एक पटकमा पाँचभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था लागू गरियो । यसले ठूला व्यवसायीलाई साना ठेक्काबाट अलग गर्‍यो र जिल्लास्तरका साना व्यवसायीलाई अवसर सुनिश्चित गर्‍यो । साथै, योग्यता प्रमाणपत्रको मापदण्ड ८० प्रतिशतबाट ६० प्रतिशत र १० करोडभन्दा मुनि ४० प्रतिशतमा झारेर साना व्यवसायीलाई जोइन्ट भेन्चर खोज्दै केन्द्र धाउनुपर्ने बाध्यता हटाइयो। यी सुधारहरू हाल नियमावलीमा सीमित छन् । अब ती व्यवस्थालाई ऐनमै समेट्न आवश्यक छ, ताकि मन्त्रिपरिषद्को निर्णयले सजिलै उल्ट्याउन नसकियोस् । निर्माण व्यवसायीमैत्री र विकासमैत्री कानुनी संरचना बिना यो क्षेत्र व्यवस्थित हुन सक्दैन । यही कारण अन्तर्राष्ट्रिय स्तरका ठूला चिनियाँ, जापानी वा भारतीय कम्पनीहरू पनि नेपाल आएर काम गर्न नसकेको अवस्था छ । यी सबै समस्याको संस्थागत समाधान, नीतिगत सुधार र निर्माण क्षेत्रको विश्वसनीयता पुनःस्थापना गर्न नेतृत्वको निरन्तरता आवश्यक छ । यही उद्देश्यका साथ हामी यी एजेण्डा बोकेर अगाडि बढिरहेका छौं । अहिले सार्वजनिक खरिद ऐनको विषय पनि चर्चामा छ, जसले व्यवसायीहरूलाई व्यवसायीमैत्री नबनाएको आरोपहरू लाग्दै आएको छ । यसमा तपाईंहरूको धारणा के छ ? २०७५ सालमा रवि सिंहको नेतृत्वमा हामी महासंघको जिम्मेवारीमा आएपछि निर्माण नियमावलीमा सुधारको एउटा लामो र जटिल यात्रा सुरु भयो । त्यसबेला पाँचौँ संशोधन भइरहेको थियो । त्यसपछि छैठौं, सातौं, आठौं, नौं, दशौं, एघारौं हुँदै अहिले तेह्रौं र चौधौं संशोधनसम्म आइपुगेका छौं । तर, यसलाई निर्माण व्यवसायीको दबाबमा गरिएको संशोधन भनेर प्रचार गरिनु सरासर गलत हो । सामान्यतया ऐन १५/२० वर्ष र नियावली कम्तीमा ५/७ वर्ष स्थिर रहनुपर्छ । तर यहाँ त हरेक ३/६ महिनामा, कहिलेकाहीँ दुई महिनामै नियमावली संशोधन गरियो । त्यो पनि निर्माण व्यवसायीलाई सहज बनाउने उद्देश्यले होइन, बरु कसरी कजाउन सकिन्छ, कसरी दबाबमा राख्न सकिन्छ भन्ने सोचबाट गरिएका अव्यवहारिक संशोधनहरू थिए । यसको ज्वलन्त उदाहरण छैठौं संशोधन हो, जहाँ ५० प्रतिशतभन्दा बढी म्याद थप्न नपाइने व्यवस्था गरियो । तर धेरै ठेक्का त सरकारकै कारणले ५० प्रतिशत समय कटिसकेका थिए । परिणामस्वरूप देशभरका ठेक्का अलपत्र पर्ने अवस्था आयो । त्यसपछि दुई महिना नबित्दै सातौं संशोधन ल्याइयो । त्यसपछि आठौं, नवाैं पनि आए, तर समस्या समाधान भएन । दशौं संशोधनदेखि मात्र सरकारले सरोकारवालासँग छलफल सुरु गर्‍यो । महासंघ, सम्बन्धित निकाय र अन्य स्टेकहोल्डरसँग बसेर छलफल गरेपछि पाँचौंदेखि नौं संशोधनमा भएका कमजोरीहरू क्रमशः सुधार हुँदै गए । त्यसैको परिणामस्वरूप तेह्रौं र चौधौं संशोधनसम्म आइपुग्दा केही सकारात्मक सुधार सम्भव भएका छन् । तर अझै धेरै काम गर्न बाँकी छ । पटक–पटकका संशोधनले अहिले नियावली आफैभित्र जुधिने, अस्पष्ट र अन्योलपूर्ण बनेको छ । अब त यसलाई टालटुल गर्ने अवस्था छैन, सम्पूर्ण रूपमा ‘रि–राइट’ गर्नुपर्ने चरणमा पुगेको छ ।  अर्को ठूलो समस्या के छ भने सार्वजनिक खरिद ऐन निर्माण क्षेत्रका लागि मात्र नभई कलमदेखि ग्यास सिलिन्डरसम्म किन्न एउटै कानुन प्रयोग गरिएको छ । यसले विशेष गरी दक्ष जनशक्ति नहुने स्थानीय तहहरूमा ठूलो अन्योल सिर्जना गरेको छ । त्यसैले निर्माण क्षेत्रलाई छुट्टै पहिचान दिएर निर्माणका लागि मात्रै अलग ऐन र नियमावली बनाउन आवश्यक छ । यसले स्थानीय तहदेखि केन्द्रसम्मको निर्णय प्रक्रिया स्पष्ट, सरल र व्यावहारिक बनाउँछ । अब निर्वाचनपछि नयाँ नेतृत्व र जेनजी आन्दोलनपछिको नयाँ सरकारसँग यो विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने हाम्रो तयारी छ । सरकारले यो कानुनी संरचनामा गम्भीर सुधार गरे निर्माण व्यवसायको अमर्यादा, नकारात्मक धारणा र अविश्वास क्रमशः हट्दै जानेछ । यो पेशालाई समाजमा सम्मानित र व्यवस्थित बनाउन सकिन्छ भन्नेमा हामी पूर्ण विश्वासका साथ अघि बढिरहेका छौं । ऐन संशोधनका लागि अब आउने सरकारसँग तपाईंको लबिङ कस्तो हुन्छ ?  निर्माण व्यवसायी महासंघ नेपाल सरकारको ऐनद्वारा मान्यता प्राप्त संस्था भएकाले सरकारसँगको सहकार्य अनिवार्य र निरन्तर रहने विषय हो । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)सँग सम्बन्धित ऐन संशोधनका प्रस्ताव पटक–पटक संसदमा पुगे पनि कहिले संसदको म्याद सकिनु, कहिले विघटन हुनुजस्ता राजनीतिक कारणले दुई-तीन पटकसम्म फर्किनु परेको यथार्थ छ ।  यी सबै प्रक्रिया अहिले सरकारको संस्थागत स्मृतिमा स्पष्ट रूपमा दर्ज भइसकेका छन् । विकास बजेट देशको अर्थतन्त्र चलायमान बनाउने मुख्य आधार हो । वार्षिक तीन–चार खर्ब रुपैयाँ बराबरको निर्माण खर्चले सिमेन्ट, डण्डी, इँटा, क्रसर उद्योगदेखि लाखौं श्रमिकसम्मलाई प्रत्यक्ष रूपमा आश्रित बनाएको छ । त्यसैले निर्माण क्षेत्रलाई व्यवस्थित नगरी देशको समग्र आर्थिक गतिविधि व्यवस्थित हुन सक्दैन । यही कारण सरकारले निर्माण क्षेत्रलाई बेवास्ता गर्न सक्दैन, बरु महासंघसँग सहकार्य गर्न बाध्य छ र त्यो आवश्यक पनि छ । अब आउने नयाँ नेतृत्वको सरकारले यी विषयलाई गम्भीरतापूर्वक लिँदै सरोकारवालासँग बसेर नीतिगत सुधारतर्फ अघि बढ्नेमा हामी विश्वस्त छौं । जेन्जी आन्दोलनपछि पुराना र नयाँ दुवै राजनीतिक दलमा सोचको परिवर्तन देखिन थालेको छ । पुरानो ढर्राबाट अब देश चल्दैन भन्ने यथार्थ सबैले महसुस गर्न थालेका छन् । विगतका कमजोरी सच्याउन, नीति र कानुनलाई व्यावहारिक बनाउन र देशलाई अगाडि बढाउन अब स्टेकहोल्डरसँग गम्भीर संवाद र सहकार्य अपरिहार्य भएको स्पष्ट भइसकेको छ । यही परिवर्तित सन्दर्भ र सोचका कारण हामी आशावादी छौं । निर्माण क्षेत्रमा भ्रष्टाचार र सेटिङको आरोप पनि लाग्ने गर्छ । यसलाई कसरी न्यूनीकरण गर्नुहुन्छ ? जहाँ आर्थिक कारोबार हुन्छ, त्यहाँ चलखेलको सम्भावना हुन्छ । यसलाई रोक्ने भनेकै पारदर्शी नीतिले हो । अहिले कर्मचारीहरू अख्तियारको डरले सही निर्णय लिन पनि डराउँछन् । अख्तियारले आर्थिक भिन्नता मात्र हेर्ने होइन, आयोजना किन असफल भयो भन्ने प्राविधिक पक्ष पनि हेर्नुपर्छ । म नेतृत्वमा आएपछि कर्मचारी, मन्त्रालय र व्यवसायीबीच एउटा यस्तो संयन्त्र बनाउनेछु जहाँ ‘एकाउन्टिबिलिटी’ (जवाफदेहिता) स्पष्ट होस् ।  महासंघमा साना र ठूला व्यवसायीबीच सधैं द्वन्द्व देखिन्छ । यसलाई कसरी सन्तुलन गर्नुहुन्छ ? हामीले रवि सिंहजीकै पालादेखि सुधार सुरु गरेका हौं । ५ अर्बसम्मको ठेक्कामा विदेशी आउन नपाउने र एउटा व्यवसायीले एक पटकमा ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने नियमले साना व्यवसायीलाई राहत पुगेको छ । यसलाई अझै परिष्कृत गर्दै जिल्लाका साना ठेक्का सम्बन्धित जिल्लाकै व्यवसायीले पाउने वातावरण बनाउनुपर्छ । ठुलालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र सानालाई माथि उठाउने नै मेरो नीति हो ।  निर्वाचनपछि तपाईंको प्रतिद्वन्दीलाई कसरी मिलाएर लैजानुहुन्छ, हामी देख्छौं राजनीतिक दलहरुमा आफू विरुद्ध जो प्रतिस्पर्धी छ, उसले पराजित भइसकेपछि उसलाई नटेरेको, वास्ता नगरेको, स्थान नदिएको देखेका छौं  । यो अवस्थामा निर्माण व्यवसायीभित्र पनि आउन सक्छ, कसरी मिलाउनुहुन्छ ?  यस विषयमा हामी अलि उदार दृष्टिकोण राख्छौं । परम्परागत रूपमा हाम्रो पेशामा अध्यक्ष निर्वाचित भए वा पराजित सबै साथीहरूलाई प्रायः सल्लाहकार वा समन्वयकर्ताको भूमिका दिन्छौं । यसको मतलब यो होइन कि हामी कसैलाई इग्नोर गर्ने, अवहेलना गर्ने वा हटाउने नीतिमा विश्वास गर्छौं । हाम्रो विगतको परम्परा यही हो, समान व्यवहार र सहकार्यको संस्कृति कायम राख्ने । आगामी दिनहरूमा पनि हामी पेशाकर्मीका रूपमा काम गर्छौं, हामी राजनीतिक गतिविधिमा संलग्न छैनौं  र राजनीतिसँग सरोकार पनि राख्दैनौं । यसैले तपाईंले भनेजस्तो कुनै असमान वा विभाजनकारी व्यवहार हाम्रो क्षेत्रमा लागू हुँदैन । हामी विश्वास गर्छौं, सबै साथीहरूलाई समेटेर अघि बढ्दा मात्रै यो पेशा सशक्त र प्रभावकारी बनाइनेछ । सहकार्य र पारदर्शितामा आधारित यही हाम्रो मार्गदर्शन हो, र यसै आधारमा हामी अघि बढ्नेछौं ।  निर्माण क्षेत्रमा महिलाहरूको सहभागिता अझै न्यून छ । यस्तो किन ? हाम्रो समाज पितृसत्तात्मक भएकाले केही पछि परेको सत्य हो । तर अहिले हामीले महासंघमा उपमहासचिव र सदस्य पदहरूमा महिला कोटा अनिवार्य गरेका छौं । कतिपय महिला निर्माण व्यवसायीहरूले पुरुषले भन्दा उत्कृष्ट काम गरिरहनुभएको छ । उहाँहरूलाई थप प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनेछौं । मेरो पहिलो १०० दिन सरकारलाई निर्माण मैत्री कानुन बनाउन बाध्य पार्नेमा केन्द्रित हुनेछ । विशेष गरी ‘जेन्जी’ आन्दोलन पछाडि बन्ने नयाँ सरकारसँग समन्वय गरेर सार्वजनिक खरिद ऐनलाई निर्माण क्षेत्रको विशिष्टता अनुसार संशोधन गर्न पहल गर्नेछु ।  निर्माण व्यवसायीलाई गाली गरेर मात्र विकास हुँदैन, वातावरण बनाउनुपर्छ भन्ने कुरा म प्रमाणित गरेर देखाउनेछु ।  ७७ वटै जिल्लाका ९ सय ६८ प्रतिनिधि साथीहरूलाई म के अनुरोध गर्छु भने तपाईंहरूले ३५ हजार व्यवसायीको भविष्य बोकेर आउँदै हुनुहुन्छ । कसले इमानदारीपूर्वक यो पेशाको मर्यादा बचाउन सक्छ र कसले सरकारसँग दह्रो लबिङ गर्न सक्छ, त्यसलाई हेरेर मतदान गर्नुहोला । पूर्वाधार क्षेत्रलाई विकासको मेरुदण्डको रुपमा लिइन्छ । राजनीतिक दलहरू यतिबेला चुनावी सरगर्मीमा होमिइसकेको अवस्था छ । कसैले घरदैलो अभियान गर्दै हुनुहुन्छ, कसैले घोषणापत्र पनि तयार गर्दै हुनुहुन्छ । दलहरूका घोषणापत्रमा निर्माण क्षेत्र के चाहन्छ ? मैले यसअघि नै स्पष्ट रूपमा भनिसकेको छु- कन्स्ट्रक्सन सेक्टर आज देशको मेरुदण्ड बनेको छ । औपचारिक रूपमा करिब १५ लाख र अनौपचारिक रूपमा झण्डै २५ लाख मानिसलाई रोजगारी दिने यो क्षेत्र सिजनल भए पनि रोजगारी सिर्जनाको हिसाबले अत्यन्तै महत्त्वपूर्ण छ । यो क्षेत्रमा करिब चार खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने वार्षिक रूपमा तीन खर्ब रुपैयाँभन्दा बढी बजेट खर्च हुने यो सेक्टर आफैमा अर्थतन्त्रको ठूलो चालक हो। त्यसैले यो पेशालाई केवल सहायक क्षेत्रका रूपमा होइन, मुख्य प्राथमिकतामा राखेर राज्यले अघि बढ्नैपर्छ ।  अहिले निर्वाचनको समय भएकाले राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । हामीले सबैको घोषणापत्र हेर्न पाएका छैनौं, तर हाम्रो अपेक्षा स्पष्ट छ- पुराना हुन् वा नयाँ, जुनसुकै पार्टीको सरकार बने पनि कन्स्ट्रक्सन सेक्टरलाई प्राथमिकतामा राख्नैपर्छ। नत्र देश अघि बढाउँछौं भन्ने कुरा भाषणमै सीमित हुन्छ । देश विकास गर्ने वास्तविक ‘मेन कडी’ नै कन्स्ट्रक्सन सेक्टर हो । यसले कहिलेकाहीँ जीडीपीमा ११/१२ प्रतिशतसम्म योगदान दिएको छ र कृषि पछिको सबैभन्दा ठूलो रोजगारी प्रदायक क्षेत्र पनि यही हो । त्यसैले हरेक राजनीतिक दलले यसलाई प्राथमिक एजेण्डा बनाउनेछ भन्ने हाम्रो विश्वास छ । यदि कुनै पनि दल वा नेतृत्व देशलाई साँच्चिकै अघि बढाउन गम्भीर छ भने, उसले कन्स्ट्रक्सन सेक्टरका समस्या समाधान गर्ने स्पष्ट प्रतिबद्धता आफ्नो घोषणापत्रमा समेट्नैपर्छ । त्यो प्रयासमा हामी पूर्ण सहयोग गर्न तयार छौं । आउँदो सरकारले केही सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने आशासहित हामी आज पनि आशावादी छौं ।  निर्माण व्यवसायीहरूलाई के भन्नुहुन्छ, के छ सन्देश ? ७७ वटै जिल्लाका ९ सय ६८ प्रतिनिधि साथीहरूलाई म के अनुरोध गर्छु भने तपाईंहरूले ३५ हजार व्यवसायीको भविष्य बोकेर आउँदै हुनुहुन्छ । कसले इमानदारीपूर्वक यो पेशाको मर्यादा बचाउन सक्छ र कसले सरकारसँग दह्रो लबिङ गर्न सक्छ, त्यसलाई हेरेर मतदान गर्नुहोला । मलाई विश्वास छ, हामीले यो क्षेत्रलाई व्यवस्थित बनाउन सक्यौं भने दुई/तीन वर्षभित्रै देशको भौतिक पूर्वाधारमा ठूलो परिवर्तन देखिनेछ । 

सिङ्गापुरको निर्माण क्षेत्रमा वृद्धि, औषधि उत्पादनमा कमी

सिङ्गापुर । सिङ्गापुरको निर्माण उत्पादन डिसेम्बर सन् २०२५ मा वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको सरकारको तथ्याङ्कले सोमबार देखाएको छ । मौसमी रूपमा समायोजित आधारमा, नोभेम्बरसँग तुलना गर्दा कुल उत्पादन १३.३ प्रतिशत घटेको छ । छ वटा प्रमुख समूहमध्ये इलेक्ट्रोनिक्स, यातायात इन्जिनियरिङ् र प्रिसिजन इन्जिनियरिङ्ले वार्षिक वृद्धि देखाएका छन् । यसमध्ये इलेक्ट्रोनिक्सले ३०.८ प्रतिशतले सबैभन्दा ठूलो वृद्धि देखाएको छ । तर, बायोमेडिकल निर्माण उत्पादन वार्षिक आधारमा ३८.८ प्रतिशतले घटेको छ । सिङ्गापुर आर्थिक विकास बोर्डका अनुसार औषधि खण्डमा उत्पादन ६९.७ प्रतिशतले घटेको छ, किनभने गत वर्षको तुलनामा सक्रिय औषधि तत्व (एपीआई) को मिश्रण फरक भएको थियो । रासायनिक उत्पादनमा पनि वार्षिक कमी देखिएको छ, जबकि सामान्य निर्माण उत्पादन स्थिर रहेको छ । रासस  

महासंघको खबरदारी : निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार अघि नबढोस्

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार जान नहुने बताएका छन् । बिहीबार महासंघ परिसरमा महासंघका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौं स्मृति दिवसमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने बताए । रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्ने माग गरे । जेनजी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट सरकार पाएको उल्लेख गर्दै अध्यक्ष सिंहले अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताए ।  मुलुकको आर्थिक अवस्था नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित बनेको जिकिर गरे । अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने मात्र नभइ जेन जीहरुको पवित्र उद्देश्यअनुरुप मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि गम्भीर हुनुपर्ने बताए । अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव भइरहेको र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीहरुलाई लाइसेन वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन मात्रै वितरण गरिरहेको बताए ।  उनले भने, ‘जेन जी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट हामीले सरकार पाएका छौँ । अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको छ । मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित भएको छ । प्राकृतिक प्रकोपको पनि सामना गरिरहेका छौँ । निर्माण क्षेत्रलाई व्यवस्थित गर्न तल्लिनका साथ अघि बढेका छौँ । निर्माण क्षेत्रमा आपराधिक गतिविधि गर्नेहरुको संलग्नता विगतमा जुन हुने गर्दथ्यो, त्यसबाट हामीले आपराधिक गतिविधिहरु गर्ने र उहाँहरु जसरी निर्माण क्षेत्रमा हाबी हुनुभएको थियो ।’ कुनैपनि निर्माण कार्यको स्टिमेट गर्दा वास्तविक हुनुपर्ने र सकेसम्म कामहरु साना प्याकेजहरु बनाएर बढी भन्दा बढी निर्माण व्यवसायीहरुलाई सहभागिता जनाउने र स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउनसके निर्माणको गति अघि बढ्नसक्ने जिकिर गरे ।  सडकबाट बनेको सरकारबाट निर्माण व्यवसायीहरुले ६ महिनाभित्र निर्वाचन गराउने मात्रै अपेक्षा नगरेको स्पष्ट पारे । मुलुकमा भएको बेथिति, भ्रष्टाचारलाई अन्त्य गरेर आम जनतालाई सन्देश दिन सक्नुपर्ने उल्लेख गरे । जनतालाई सुखद् अनुभुति दिन नसके अहिलेको सरकार पनि विगतको भन्दा फरक नहुने जिकिर गरे । 

निर्माण क्षेत्रका ‘ठेकेदार महिला’

काठमाडौं । निर्माण व्यवसायी भन्नेवित्तिकै धेरैको दिमागमा आउने चित्र हो पुरुष । किनकि सडक, घर, भवनको ठेक्कापट्टा गर्ने काम पुरुषको हो भन्ने सोच अझै जनमानसमा छ । जसका कारण झट्टै दिमागमा पुरुषको चित्र आउँछ । तर, आजभोलि महिलाहरू पनि यो व्यवसायमा सक्रिय बन्दै गएका छन् । यिनै मध्येकी एक व्यवसायी हुन् मोहन कालीकोटे । उनी यो क्षेत्रमा काम गर्दै आएको २६ वर्ष भयो । अविरल निर्माण सेवाबाट काम सुरु गरेकी उनी विसं २०६० सालदेखि कञ्चन निर्माणसेवा कम्पनी स्थापना गरेर यो क्षेत्रमा लागेकी हुन् । अवस्था सहज थिएन, ठेक्का पाउन निर्माण व्यवसायीबिच निकै हानथाप हुन्थ्यो । जुन कम्पनीमा ठेक्का खुलेको थाहा भयो, व्यवसायीको लाम लाग्थ्यो । मोहन पनि त्यही लाइनमा हुन्थिन् । पुरुषको लाइनमा देख्नेबित्तिकै धेरैले उनलाई हाँसेरै उडाउँथे । मोहनलाई यस्ता कुराले छोएन । उनी आफ्नो काममा लाग्दै गइन् । यही क्रममा उनले काठमाडौं उपत्यकाका सडकदेखि विभिन्न विद्यालय बनाउने सम्मका धेरै ठेक्का पाएर काम सम्न्नि गरिसकेकी छन् । मोहन कालीकोटे । उनी भन्छिन्, ‘काम हो, जुनसुकै काम जसले गर्दा पनि हुन्छ, तर त्यसमा संघर्ष आवश्यक हुन्छ, जसका कारण म यो ठाउँमा पुग्न सकेँ ।’ उनलाई यो ठाउँमा पुग्दा थुप्रै चुनौतीका चाङसँग पैठेजोरी खेल्नुपर्यो । २०६२/६३ को कुरा हो । सडक डिभिजन कार्यालयले एउटा सडकको ठेक्का लागि सूचना जारी गरेको थियो । ठेक्काका लागि विभिन्न निर्माण व्यवसायी कम्पनी फाइल दर्ता गर्न लाइन लागेका थिए । उनी पनि गइन् । तर, उनलाइ रोक्न धेरै प्रयास भयो । ती दिनहरु स्मरण गर्दै उनले विकासन्युजसँग भनिन्, ‘मलाई पुरुष व्यवसायीहरूले फाइलले पाखुरामा हान्थे, हातबाट फाइल भुइँमा झारिदिने नियत उनीहरूको हुन्थ्यो तर मैले खुट्टाले फाइल भित्र पठाएर पनि दर्ता गरेको छु ।’ मोहनले काठमाडौं उपत्यकाका रिङरोडदेखि थुप्रै भित्रि सडक निर्माण गरेकी छन् । काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा पनि उपत्यकाको सडक मर्मत गर्ने जिम्मा उनकै कम्पनीको थियो । मैले काठमाडौंका भित्रिसडक, भवन निर्माणका काम थुप्रै गरेँ, ’उनी भन्छिन्, ‘उपत्यकामा सडकको काम गर्न निकै सकस हुन्छ, राती काम सकेर बिहान काम पुरा गरिसक्नुपथ्यो, मैले कामका लागि न दिन भनेँ न रात भनेँ । तर, अहिले पनि मैले विभिन्न ठेक्काको करोड बढी पैसा पाउन सकेको छैन ।’ मोहनको घर पूर्वको इलाम हो । उनी इलाममै हुर्किन्, बढिन् । एसएलससी पास गरेपछि उनले धरानमा विवाह गरिन् । छोराछोरी जन्मिसकेपछि उनलाई जिम्मेवारी थपियो । छोराछोरीको पालन पोषणका लागि उनी दुबइ जाने तयारीमा काठमाडौं आइन् । उनले म्यानपावर कम्पनीलाई ९० हजार बुझाइन् । तर, उनलाई विदेश नपठाउँदै म्यानपावर कम्पनी हरायो । विदेश जान नसकेपछि गाउँमा पनि फर्कने अवस्था थिएन । त्यसपछि उनी काठमाडौंमा संघर्ष गर्दै बसिन् । उनले नापी कार्यालयमा सरकारी जागिर गरिन् । काठमाडौंमा बस्दै जाँदा उनको संगत राजनीतिज्ञहरूसँग हुन थाल्यो । उनलाई पनि राजनीतिप्रति आस्था बढ्यो । त्यसपछि उनी सरकारी जागिर छोडेर राजनीतिमा लागिन् । भन्छिन्, ‘म यो क्षेत्रमा आउनु रहेछ र त विदेश पनि भएन, जागिर पनि भएन, अहिले म जुन क्षेत्रमा जसरी पुगे यसमा निकै खुसी छु ।’ उनी अहिले महिलाको सहभागिता निर्माण क्षेत्रमा पनि उल्लेख्य रहेको बताउँछिन् । श्रीमानको सहयोगले ठेकेदार बनेकी गंगा गंगा पोखरेल । बर्दियाको गुलरिया नगरपालिकाकी गंगा पोखरेललाई निर्माण व्यवसायमा लागेको २० वर्ष भयो । विवाह नहुँदासम्म उनलाई यो क्षेत्रबारे खासै ज्ञान थिएन । जब उनले विवाह गरिन् त्यसपछि सुरु भयो उनको निर्माण व्यवसायीको यात्रा । किनकि उनका श्रीमान ठेकेदार थिए । उनी सडकदेखि भवन निर्माणका काम गर्थे । श्रीमानले एक्लै हाकेको व्यवसायमा गंगाले काँध थापिन् । त्यसपछि श्रीमान श्रीमती दुवै मिलेर यो व्यवसायमा अघि बढे । त्यति बेला निर्माण क्षेत्रमा महिलाहरु फ्याट्फुट्ट मात्रै देखिन्थे । जानअञ्जानमा सुरु गरेको यो यात्रामा श्रीमानको सहयोगले अहिले उनको परिचय नै ठेकेदार बनेको छ । उनलाई गाउँमा सबैजनाले यही नामले चिन्छन् । गंगा अहिले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा काम गरिरहेकी छन् । उनले भण्डारी निर्माण सेवा र देउराली निर्माण सेवामार्फत् काम गरिरहेकी छन् । भण्डारी निर्माण सेवाको नेतृत्व गंगाले गरिरहेकी छन् भने उनका श्रीमानले देउराली निर्माण सेवा कम्पनीको नेतृत्व गरिरहेका छन् । ‘म यहाँसम्म पुगेको श्रीमानकै कारण हो, काखमा तीन वर्षको छोरा हुँदै मैले यो काम सिकेँ, मेरो सफलतामा रोलमोडल मेरै श्रीमान हुनुहुन्छ,’ उनले भनिन् । गंगा निर्माण क्षेत्रमा काम गर्न ठूलो चुनौती रहेको बताउँछिन् । ‘हामीलाई धेरै समस्या छ । पाठेघरको समस्यादेखि गर्भवतीसम्मको पीडा । त्यसमा पनि अझ पुरुषहरुको तुलनामा महिलालाई हेर्ने दृष्टिकोण समाजमा फरक छ,’ उनी भन्छिन्, ‘ यो चिर्न आवश्यक छ ।’ उनी पहिलेको तुलनामा अहिले मान्छेको सोंच परिर्वतन हुँदा यो क्षेत्रमा धेरै सुधार आएको बताउँछिन् । पहिले महिलाले गरेको काम मन नपराउनेहरु अहिले तारिफ गर्छन् । अन्य क्षेत्रमा जस्तै हाल निर्माण क्षेत्रमा पनि महिलाको सहभागिता बढेको उनको भनाइ छ । गंगा अहिले सडक निर्माण पुल, भवन, सिंचाइ खानेपानीलगायत क्षेत्रमा काम गरिरहेकी छन् । गंगा अहिले निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्यका रुपमा पनि काम गरिरहेकी छन् भने महिला ठेकेदार समन्वय समितिकी संयोजक समेत हुन् । उनी यसअघि निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष थिइन् । सुदूरपश्चिममा निर्माणको काम गरिरहेकी यमुना यमुना भट्ट । निर्माण क्षेत्रकी अर्की अब्बल व्यवसायी हुन् यमुना भट्ट । यमुना विसं २०६५ सालदेखि निर्माण क्षेत्रमा आवद्ध छिन् । उनी सुरुवातमै जिल्ला संघमा सदस्य आवद्ध भएकी थिइन् भने हाल केद्रीय सदस्य छिन् । जसले पुरुष प्रधान समाजलाई उछिन्दै एक साहसी निर्माण व्यवसायीको परिचय बनाएकी छन् । सुदुरपश्चिम प्रदेशको धनगढी घर भएकी उनले सप्तशती निर्माण सेवा कम्पनीमार्फत् काम गरिरहेकी छन् । सुदुरपश्चिमका विभिन्न भौतिक पूर्वाधार निर्माण कार्यमा उनी सक्रिय छिन् । ‘पूर्वाधार निर्माणका कामहरु गर्न गाह्रो छ, घरको सम्पूर्ण जिम्मेवारी हाम्रै काधँमा हुन्छ, जसमा चुलो चौकोका कामसँगै बच्चाहरुको रेखदेखको काम पनि आफै गर्नुपर्छ,’ उनी भन्छिन्, ‘चुनौतीका बाबजुत पनि काम गरिएको छ ।’ असहले आफूले गरेको कामले सम्मान पाउने गरेको उनले सुनाइन् । ‘सुरु–सुरुमा कामप्रति विश्वास नै गर्दैनथे, ठेक्का लगाए पनि महिलाले के काम गर्न सक्छिन् र भन्ने बुझाइ हुन्थ्यो, विस्तारै काम गर्दै गइयो, धेरैको मन जित्न सफल भइयो, अहिले पृथक किसिमको सम्मान पाइन्छ, खुसी लाग्छ,’ उनले सुनाइन् । काममा इमान्दारिता र लगनशिलता देखायो भने विश्वास जित्न सकिने उनको भनाइ छ । उनका श्रीमान् सरकारी इन्जिनियर भएपनि उनी अहिले रिटायर्ड भइसकेका छन् । कर्मचारीदेखि मालिकसम्म गीता शाही । गीता शाहीको घर जुम्ला हो । उनी हाल ललितपुरमा बस्दै आएकी छन् । सुरुमा निर्माण कम्पनीमै काम गरेकी गीता हाल कम्पनीकी मालिक छिन् । उनी निर्माण क्षेत्रमा विस २०६५ सालदेखि आवद्ध भएकी हुन् । उनले हाल एस एल कन्स्ट्रक्सन कम्पनीमार्फत् काम गरिरहेकी छन् । निर्माण क्षेत्रमा पुरुषको तुलनामा महिलालाई बढी समस्या रहेको उनको अनुभव छ । ‘महिलालाई यो क्षेत्रमा ठूलो कठिनाइ छ, केही महिला यो क्षेत्रमा भएपनि अझ पनि महिलालाई पत्याउने अवस्था छैन,’ उनी भन्छिन्, ‘विश्वास आवश्यक छ ।’ ‘महिला पनि ठेक्कापट्टा गर्न सक्छन् भन्ने प्रश्न उठ्ने गर्छ । तर, हामीले काम गरेर देखाएका छौं,’ उनी भन्छिन्, विगतको तुलनामा अहिले महिलाले पनि गर्न सक्छन् है भन्ने विश्वास जागेको छ ।’ उनले कान्तिपथ सडक निर्माणदेखि अन्य धेरै ठूला आयोजना सफलताका साथ सम्पन्न गरेको सुनाइन् । उनी निर्माण व्यवसायी महासंघकी केन्दीय सदस्य हुन् भने पुर्वाधार महिला महासंघकी अध्यक्ष पनि हुन् । पूर्वाधार महिला महासंघ भनेको निर्माण क्षेत्रको महिलाहरुको संगठन हो । यो दर्ता गरेको दुई महिना भएको छ । महिलाहरुलाई निर्माण क्षेत्रमा ल्याउनका लागि यो संस्थाको स्थापना गरिएको उनले सुनाइन् ।

पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान, निर्माण क्षेत्र ऋणात्मक

काठमाडाैं। राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान गरेको छ । कार्यालयले मंगलबार चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गर्दै वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान गरेको हो । गत आव अन्तिम चौमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशतमात्र विस्तार हुने अनुमान कार्यालयको छ । सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल हुने उल्लेख गरेको छ । मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा आधारभूत मुल्यको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन करिब करिब बराबर रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । चालु आवको प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये ६ वटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको हो । यद्यपी, विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान कार्यालयको छ । पहिलो त्रैमासमा सबैभन्दा उच्च दरले वृद्धि भएको क्षेत्र विद्युत् र ग्यास रहेको देखिएको छ । कार्यालयका अनुसार यो क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ । दोस्रो स्थानमा यातायात र गोदाम रहेको छ । कार्यालयले आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५.७ प्रतिशत, प्रशासनिक सहयोगी सेवा क्षेत्र वृद्धिदर ५.४, वैज्ञानिक तथा प्राविधिक सेवा वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान गरेको छ । यस्तै, थोक तथा खुद्रा व्यापार ०.५ प्रतिशत, औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, शिक्षा ०.४ प्रतिशत, स्वास्थ्य ४.१ प्रतिशत, घरजग्गा कारोबारमा ३.१ प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशतमात्र रहने अनुमान छ । यस्तै,पहिलो त्रैमासमा निर्माण क्षेत्र ०.६ प्रतिशतले ऋणात्मक हुने कार्यालयको अनुमान छ ।

कृषि र निर्माण क्षेत्रको कर्जा घट्यो, माग नै भएन कि डिफल्ट बढ्ने त्रास ?

काठमाडौं । पछिल्लो केही महिनायता निर्माण क्षेत्र र कृषि कर्जा घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा यी दुई क्षेत्रमा घटेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले कार्तिकसम्म १ खर्ब ८७ अर्ब ७४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकले भदौमा १ खर्ब ८८ अर्ब ४ करोड ९० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए । २०८१ को भदौसम्म भने वाणिज्य बैंकसहित बैंकिङ क्षेत्रले कुल २ खर्ब १० अर्ब ४५ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । यस्तै, २०८० को अन्तिममा २ खर्ब ७ अर्ब २२ करोड र २०७९ मा २ खर्ब ३ अर्ब ३७ करोड ९० लाख रुपैयाँ ऋण निर्माण क्षेत्रले उपभोग गरेको देखिन्छ । यस्तै, २०७८ मा १ खर्ब ९० अर्ब १९ करोड ६० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा ऋण प्रवाह गरेका छन् । निर्माणसँगै कृषि क्षेत्रको कर्जा पनि घटेको छ । गत वर्ष ३ खर्ब ६९ अर्ब ६२ करोड रुपैयाँ रहेको कृषि कर्जा पनि निरन्तर घट्दै गएको छ । अहिले सो कर्जा ३ खर्ब ५९ अर्ब ७८ करोड ६० लाख रुपैयाँमा सीमित भएको हो । बैंकरहरूले निर्माण र कृषि क्षेत्रमा डिफल्ट बढ्दै गएकोले उल्लेख्यरूपमा कर्जा प्रवाह गर्न सकेको छैनन् । अहिले कर्जाको माग पनि न्यून रहेको बैंकरले बताउँदै आएका छन् । अहिले बैंकिङ क्षेत्रसँग करिब ७ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ ।

वीरगञ्जबाट डिजेल आयात घट्यो, निर्माण क्षेत्र ठप्प रहेकाले आयात घटेको अध्यक्ष सिंहको भनाइ

पर्सा । वीरगञ्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताए । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, ‘सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन ।’ त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

देशको निर्माण क्षेत्र हाँकिरहेका १० ठूला व्यवसायी : अर्बौंको कारोबार, कामको भ्याइनभ्याई

काठमाडौं । निर्माण क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । पूर्वाधारको विकासमार्फत् निर्माण कम्पनीले अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएका छन् । देशभरका २४ हजार बढी निर्माण कम्पनीले आर्थिक गतिविधमा ठूलो योगदान पुर्‍याएका छन् । वार्षिक लाखको कारोबारदेखि अर्बौं रुपैयाँको कारोबार गर्ने कम्पनी पनि देशमा छन् । सडक, हाउजिङ, भवन, पुल, सिँचाइ, पर्यटकीय क्षेत्र र जलविद्युत लगायत क्षेत्रको पूर्वाधारको विकास गरेर अर्थतन्त्रमा निर्माण कम्पनीले ठूलो जिम्मेवारी बहन गरेका छन् । आज हामीले देशका ठूला १० निर्माण कम्पनी र ती कम्पनीको नेतृत्व गर्ने व्यवसायीको विषयमा यो सामग्री तयार गरेका छौं । कालिका कन्स्ट्रक्सन विक्रम पाण्डे कालिका कन्स्ट्रक्सन नेपालको सबैभन्दा ठूलो निर्माण कम्पनी हो । जसको नेतृत्व विक्रम पाण्डेले गरिरहेका छन् । विसं २०६३ सालमा स्थापना भएको यो कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा छ । यो कम्पनी नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी हो । भवन, सडक, पुल, खानेपानी तथा सिँचाइ र जलविद्युत परियोजना निर्माण गर्ने कालिका कन्स्ट्रक्सनले १४ वटा पुल, ११ वटा खानेपानी आयोजना, ६५ वटा राजमार्ग, ३ हाइड्रोपावर, ७ वटा सिँचाइ परियोजना एक अन्तर्राष्ट्रिय गरी कुल १०१ परियोजनाहरूको निर्माण कार्य सम्पन्न गरिसकेको छ । बहुचर्चित कोशी पुल, मदन भण्डारी राजमार्ग र दरौदी हाइड्रोपावर लगायतका निर्माण आयोजना यस कम्पनीले निर्माण गरेको हो । सिक्टा सिँचाइ आयोजना पनि यो कम्पनीले निर्माण गरिरहेको छ । कालिका ग्रुपका अध्यक्ष पाण्डे राजनीतिमा पनि सक्रिय छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । कालिका कन्स्ट्रक्सनको व्यवसाय पनि पछिल्लो तीन आर्थिक वर्षमा निरन्तर बढ्दो छ । यस कम्पनीले २०८० मा ४ अर्ब २८ करोड १० लाख, २०७९ मा ३ अर्ब ६३ करोड ३० लाख र २०७८ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ । यो तीन वर्षको अवधिमा यस निर्माण कम्पनीको व्यवसाय ५० प्रतिशतले बढेको तथ्यांकबाट प्रष्ट हुन्छ । यो निर्माण कम्पनीको १५ अर्ब बढी ऋण लिन सक्ने ल्याकत छ । शर्मा कन्स्ट्रक्सन शर्मा कन्स्ट्रक्सन प्रालि पनि नेपालको ठूलोमध्येको एक निर्माण कम्पनी हो । विसं २०२३ सालमा स्थापना भएको यस निर्माण कम्पनीको नेतृत्व रमेश शर्माले गरिरहेका छन् । सीतापाइला काठमाडौंमा मुख्य कार्यालय रहेको यस कम्पनीमा एक हजार बढी कर्मचारी कार्यरत छन् । रमेश शर्मा । कम्पनीका चिप म्यानेजर उपेन्द्र श्रेष्ठकाअनुसार यस कम्पनीले देशका ठूल्ठूला परियोजना निर्माण गर्दै आएको छ । भवन, सडक र पुल निर्माण, खानेपानी आपूर्ति, सिँचाइ, एयरपोर्ट, सीवेज (सीडी) निर्माण लगायतका कार्यहरूमा यो कम्पनी संग्लन छ । यसले भवनमा आवासीय र व्यावसायिक भवन निर्माणका साथै अपार्टमेन्ट र अन्य संरचनाहरूको निर्माण गर्दै आइरहेको छ । यस कम्पनीले राष्ट्रपति भवन, राष्ट्रिय वाणिज्य बैंकको भवन, नागरिक लगानी कोषको कार्यालय, मेडिसिडी अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयको भवन, वीर अस्पतालको नयाँ भवन लगायत अन्य ठूला आयोजना सफलताका साथ काम सम्पन्न गरिसकेको छ । ए वर्गको यस निर्माण कम्पनीले २०८० मा ३ अर्ब ६२ करोड ५० लाख, २०७९ मा २ अर्ब ४७ करोड ६० लाख र २०७८ मा १ अर्ब ८९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । यस कम्पनीले करिब ११ अर्बको ऋणका लागि रेटिङ पनि गराएको छ । अध्यक्ष शर्मा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत हुन् । शर्मालाई सरकारले २०८० चैतमा किर्गिजस्तानका अवैतनिक महावाणिज्यदूतमा पनि नियुक्त गरेको थियो । अहिले कम्पनीले धेरै परियोजनाहरू निर्माण गरिरहेको छ । हाल ४ वटा परियोजनाको काम निर्माणधीनको चरणमा रहेको कम्पनीका चिप म्यानेजर श्रेष्ठले बताए । गुणस्तर र प्राविधिक दक्षता भएको कम्पनीले समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने र नवीनतम प्रविधिको प्रयोगमा ध्यान दिने कम्पनीको भनाइ छ । यो कम्पनी ठूलो पुँजी भएको कम्पनी हो । तुन्डी कन्स्ट्रक्सन ऋषी प्रसाद सुवेदी । तुन्डी कन्स्ट्रक्सन प्रालि नेपालको अर्को ठूलो निर्माण कम्पनी हो । विसं २०४१ सालमा भएको यो कम्पनीको नेतृत्व ऋषिप्रसाद सुवेदीले गरिरहेका छन् । यस कम्पनीले करिब दुई सय बढी ठूला निर्माण परियोजनाहरू सम्पन्न गरिसकेको जानकारी दिएको छ । यो कम्पनीले आवासीय र व्यावसायिक भवनहरू, सडक र पुल निर्माण, हाइड्रो, इन्फ्रास्ट्रक्चर प्रोजेक्ट, मर्मत र पुनर्निर्माण र अन्य निर्माणजन्य काम गर्दै आएको छ । उच्च गुणस्तरीय निर्माण कार्य र ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गर्न आधुनिक प्रविधि र दक्ष मजदुरको प्रयोग गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण परियोजनाको समग्र व्यवस्थापन, डिजाइन, र कार्यान्वयनमा बढी जोड दिने गरेको बताएको छ । यस कम्पनीले अहिले संसीय संसद भवनको निर्माणको काम गरिरहेको छ भने राष्ट्रपति भवन, काठमाडौं विश्वविद्यालय, नारायणी सिमेन्ट उद्योग, त्रिभुव विश्वविद्यालयको भवन, धनगढी विमानस्थल, चमेलिया दार्चुला सडक, पूर्व-पश्चिम राजमार्गको बेलबारी सडक खण्ड, भालुवाङ–प्युठान सडकलगायत ठूला परियोजना निर्माण सम्पन्न गरेको छ । ठूला रकमको कारोबार गर्ने यो निर्माण कम्पनीले यसअघि १३ अर्ब रुपैयाँको ऋणका लागि रेटिङ गराएको थियो भने वार्षिक ६ अर्ब रुपैयाँ बढीको कारोबार गर्ने गरेको छ । अनक कन्स्ट्रक्सन श्रीराम मर्हजन । अनक कन्स्ट्रक्सन प्रालि नेपालको अर्को ठूलो निर्माण कम्पनी हो । विसं २०४२ सालमा स्थापना भएको यो निर्माण कम्पनीको नेतृत्व श्रीराम मर्हजनले गरिरहेका छन् । रविभवन काठमाडौंमा मुख्य कार्यालय रहेको यस कम्पनीले पनि देशका ठूला गौरव गर्न लायक पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको भवन, कर्मचारी सञ्चय कोष भवन, नेपाल पर्यटन बोर्ड र दोलखा जिल्ला अस्पताल लगायत ठुल्ठूला भवन तथा सडकहरु निर्माण सम्पन्न गरेको छ । यो कम्पनी आवासीय, व्यावसायिक र सार्वजनिक संरचनाहरूको निर्माणमा संलग्न छ । पुल, भवन, राजमार्ग, सिँचाई, जलविद्युत सडकलगायत अन्य गरी जम्मा ७३ ठूला वटा प्रोजेक्ट यस कम्पनीले सम्पन्न गरेको छ भने ३ वटा आयोजना निर्माणाधीनको चरणमा रहेका कम्पनीका सञ्चालक कविन महर्जनले बताए । उनका अनुसार यस कम्पनीले आवासीय निर्माणमा घर, अपार्टमेन्ट, फ्ल्याट र अन्य आवासीय परियोजनाहरू, व्यावसायिक निर्माणमा कार्यालय भवन, सपिङ मल, होटल, व्यावसायिक केन्द्रहरू जस्ता संरचनाहरूको निर्माण र मर्मत गर्दै आएको छ । आफ्ना निर्माण परियोजनामा सस्तो र टिकाउ समाधानको साथसाथै उच्च सुरक्षा मानकहरू पालना गर्दै काम गर्न सुनिश्चित गर्ने गरेको कम्पनीले दाबी गरेको छ ।यो कम्पनीले पनि कारोबार बढाउँदै गएको छ । कम्पनीले वार्षिक अर्ब बढीको कारोबार गर्दै आएको छ । समानान्तर निर्माण सेवा अच्युतप्रसाद खरेल । समानान्तर कन्स्ट्रक्सन प्रालि पनि ठूलो निर्माण कम्पनी हो । विसं २०५० सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व अच्युतप्रसाद खरेलले गरिरहेका छन् । पुरानो बानेश्वर, काठमाडौंमा कार्यालय रहेको यस कम्पनीले घर, अपार्टमेन्ट, फ्ल्याट, कार्यालय भवन, शपिङ मल, होटललगायत विभिन्न आयोजनाहरूको निर्माण गर्दै आइरहेको छ । यस कम्पनीले हालसम्म जम्मा ५४ वटा निर्माण परियोजनाहरूमध्ये ४७ वटा सम्पन्न गरिसकेको छ भने ७ वटा निर्माणकै चरणमा रहेका छन् । गुणस्तरीय निर्माण, नवीनतम प्रविधीहरूको प्रयोग र समयमै परियोजनाहरूको पूरा गर्ने लक्ष्य राखेको समानान्तर कम्पनीले जनाएको छ । यस कम्पनीले पनि २०७८ मा ३ अर्ब १३ करोड ९० लाख, २०७९ मा ३ अर्ब १९ करोड ९० लाख र २०८० मा २ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । वार्षिक एक अर्ब बढी कारोबार गर्ने कम्पनीको सूचिमा यो निर्माण कम्पनी पनि पर्दछ । समानान्तरले सर्वोच्च अदालत र भक्तपुर जिल्लाको नयाँ भवन, काठमाडौंमा बनिरहेका मुख्य सरकारी भवनहरु, नेपाल आयल निगमको कर्पोरट भवन, नेपाल प्रहरीको बहुउद्देश्यीय हल, भैंसेपाटीमा बनेका प्रदेशका मुख्यमन्त्रीका लागि बनेका भवन, गंगालाल राष्ट्रिय हृहदयरोग केन्द्र, बालाजु औद्योगिक क्षेत्र र त्रिपुरेश्वरस्थित पासपोर्ट विभागको भवन निर्माण गरेको हो । कतिपय परियोजना अहिले पनि निर्माण गरिरहेको छ । स्वच्छन्द निर्माण सेवा जयराम लामिछाने । स्वच्छन्द निर्माण प्रालि पनि नेपालको ठूलो मध्येको निर्माण कम्पनी हो । जसको नेतृत्व नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका जयराम लामिछानेले गरिरहेका छन् । कंलकी, काठमाडौंमा कार्यालय रहेको यस कम्पनीको स्थापना विसं २०४४ सालमा भएको हो । आवासीय, व्यावसायिक र सार्वजनिक संरचनाहरूको निर्माणमा यो कम्पनी संलग्न छ । घर, फ्ल्याट, अपार्टमेन्ट, भवन, शपिङ मल, होटल, सडक, पुल, ढल, पानी आपूर्तिलगायत गरी जम्मा ३२ वटा प्रयोजनाहरू निर्माण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, दोलखा सिंगटी सडक, सिन्धुली सडक, कालिमाटी-बल्खु रोड, संखमुल गौशाला रोड, डाउनटाउन अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, दुधकोशी, सुनकोशी र धेरी पुल लगायको निर्माण तथा डिजाइन गरेको यो निर्माण कम्पनी देशको प्रख्यात कम्पनी हो । अहिले बहुचर्चित नागढुङ्गा सुरुङमार्ग निर्माण, पोखरा खानीपानी आपूर्ति परियोजना यही कम्पनीले निर्माण गरिरहेको छ । उत्कृष्ट काम गरेबापत यो कम्पनी धेरै पटक सम्मानित भइसकेको छ । यस निर्माण कम्पनीले २०८० मा ६४ करोड ६० लाख, २०७९ मा ७४ करोड र २०७८ मा ८० करोड बढीको कारोबार गरेको थियो । आशीष निर्माण सेवा ऋषिकेश गौली । आशीष निर्माण सेवा पनि ठूलो मध्येको एक निर्माण कम्पनी हो । विसं २०४१ सालमा स्थापना भएको यो कम्पनीको नेतृत्व ऋषिकेश गौलीले गरिरहेका छन् । भरतपुर, चितवनमा कार्यालय रहेको यस कम्पनी पूर्वाधार निर्माणको क्षेत्रमा परिचित नाम हो । यस निर्माण कम्पनीले ठूला ८० वटा परियोजनाहरूको निर्माणको काम सम्पन्न गरिसकेको छ । १५ सय बढी कर्मचारी रहेको यस कम्पनीले आवासीय निर्माण, घर, फ्ल्याट, अपार्टमेन्ट र विलासिता आवासहरूको निर्माण, कार्यालय भवन, सपिङ मल, पुल, सडक, खानेपानी, होटल लगायतका ठूला परियोजना निर्माण गर्दै आएको छ । कम्पनीले इन्जिनियरिङतर्फ निर्माणको प्राविधिक पक्षको योजनाबद्धता, डिजाइन र कार्यान्वयन, जस्तै संरचनात्मक, सिभिल र विद्युतीय इन्जिनियरिङको क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । कम्पनीले आफ्नो काममा गुणस्तरीय सामग्री र आधुनिक प्रविधिको प्रयोग गर्दै उच्च स्तरको निर्माण कार्य सुनिश्चित गर्दै आइरहेको दाबी गरेको छ । यस कम्पनीको वार्षिक कारोबार पनि बढ्दै गएको छ । गत वर्ष यस कम्पनीले ६अर्ब रुपैयाँको कारोबार गरेको थियो भने अघिल्लो वर्ष ५ अर्ब रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले १० अर्ब रुपैयाँ बढीको ऋणका लागि रेटिङ पनि गरेको थियो । यस निर्माण कम्पनीले कर्णाली प्रदेशको प्रादेशिक अस्पताल, काठमाडौं–तराई फाष्ट ट्र्याक, जनकपुर-धल्केवरको सडक, धरान खानेपानी, नेपाल इन्टरमोडल यातायात विकास बोर्डको भवन, भन्सार विभागको भवन, बीपी आँखा कान अस्पताल भक्तपुरको भवन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन, दमकको भ्यू टावर लगायत ठूला परियोजनाको काम गरिसकेको छ । हाल यस निर्माण कम्पनीले रानी विराटनगर सडक र कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट–रामपुर सडक पनि निर्माण गरिरहेको छ । कुमार श्रेष्ठ कन्स्ट्रक्सन ऋषिकेश गौली । निर्माण क्षेत्रमा आफ्नो पृथक परिचय स्थापित कम्पनी हो- कुमार श्रेष्ठ कन्स्ट्रक्सन । विसं २०३४ सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व प्रेमकुमार श्रेष्ठले गरिरहेका छन् । यो कम्पनीले आवासीय र व्यावसायिक भवनहरू, सडक र पुल निर्माण, इन्फ्रास्ट्रक्चरका परियोजना निर्माण गरिरहेको छ । हाल यसले जम्मा गरी १३ वटा ठूला परियोजनाहरू सम्पन्न गरेको छ भने ८ वटा निर्माणाधीन चरणमै रहेका छन् । कैलालीको गेटा मेडिकल कलेज, किर्तिपुर क्रिकेट मैदान, लमही-कोइलाबास सडक, धनखोला-शिवखोला सडक, टनकपुर लाइन सडक लगायतका ठूला परियोजना निर्माण सम्पन्न गरिसकेको छ । यस कम्पनीले हाल महाकाली पुल, सहजपुर-बोकटान सडक खण्ड लगायत परियोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ मा करिब ४ अर्ब र २०७८ मा साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको थियो । यस कम्पनीले आफ्नो काममा दक्षता, इन्जिनियरिङ प्राविधिकता र आधुनिक प्रविधिहरूको प्रयोगलाई प्राथमिकता जोड दिएको बताएको छ । लामा कन्स्ट्रक्सन जिबछिरिङ लामा । लामा कन्स्ट्रक्सन प्रालि पनि नेपालको पूरानो मध्येको एक ठूलो निर्माण कम्पनी हो । विसं २०३२ सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व जिबछिरिङ लामाले गरिरहेका छन् । साढे चार दशकको समयावधिमा कम्पनीले ५० बढी ठूला परियोजना सम्पन्न गरिसकेको छ । कम्पनीका सुपरभाइजर गणेश चौहानका अनुसार कम्पनीले संरचना निर्माण, इन्जिनियरिङ र परियोजना व्यवस्थापनजस्ता सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले भवन निर्माणमा आवासीय, व्यावसायिक र औद्योगिक भवन निर्माण गर्दै आएको छ भने सार्वजनिक संरचना अन्तर्गत सडक, पुल, स्कूल, अस्पताल जस्ता पूर्वाधार निर्माण गरिरहेको छ । पुर्ननिर्माण तथा मर्मतको काम पनि कम्पनीले गर्दै आएको छ । कम्पनीले खानेपानी, जलविद्युत र सञ्चार नेटवर्क स्थापना गर्ने परियोजना पनि निर्माण गर्दै आएको चौहानले बताए । उनका अनुसार सोलार प्यानल इन्स्टलेसन, हरित भवन निर्माण लगायत आयोजनाहरूमा पनि यो कम्पनीले निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ मा करिब एक अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा २०७८ मा साढे एक अर्ब र २०७७ मा १ अर्ब बढी रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । २०७९ मा यस निर्माण कम्पनीले साढे चार अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको थियो । रसुवा कन्स्ट्रक्सन अनन्तप्रसाद आचार्य । रसुवा कन्स्ट्रक्सन पनि नेपालको ठूलो मध्येको एक निर्माण कम्पनी हो । कम्पनीको नेतृत्व अनन्तप्रसाद आचार्यले गरिरहेका छन् । कम्पनीले नेपालमा विभिन्न प्रकारका निर्माण परियोजनाहरूमा काम गर्दै आएको छ । आवासीय घर, फ्ल्याट, अपार्टमेन्ट र अन्य आवासीय संरचनाहरूको निर्माण गर्दै आएको छ । कम्पनीले कार्यालय भवन, व्यापारिक केन्द्र र अन्य व्यावसायिक संरचनाहरूको निर्माण गर्दै आएको छ भने सडक, पुल, ढल र सार्वजनिक संरचनाहरूको निर्माण गर्दै आइरहेको छ । यस निर्माण कम्पनीले पूराना भवनहरूको पुर्ननिर्माण तथा मर्मत, खानेपान र जलविद्युत परियोजनाको निर्माण पनि गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षमा साढे एक अर्ब, २०८० मा साढे दुई अर्ब, २०७९ मा साढे तीन अर्ब, २०७८ मा साढे चार अर्ब रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले करिब १० अर्ब रुपैयाँको ऋणका लागि पनि रेटिङ गराएको छ ।

मन्दीमा छैन निर्माण क्षेत्र, डुबेका छैनन् व्यवसायी

काठमाडौं । ‘निर्माण क्षेत्र मन्दीमा गयो, व्यवसायी डुबे, धेरैले आत्महत्या नै गरे, अधिकांश पलायन भए ।’ पछिल्लो तीन/चार वर्षको अवधिमा निर्माण व्यवसायीका नेताहरूको मुखबाट फुस्किने शब्द हुन् यी । पत्रकार वा सरकारी अधिकारीसँगको छलफल तथा अन्तर्कियामा निर्माण व्यवसायका नेताहरूले निर्माण क्षेत्र मन्दीमा गएको भन्दै गुनासो पोख्छन् । उनीहरू भन्छन्, ‘सरकारले हाम्रो कुरै सुनेन, निर्माण क्षेत्र धरासायी भयो, हामी डुब्यौं ।’ लामो समयदेखि धरासायी भयौं भनेर गुनासो गरिरहेका निर्माण व्यवसायीहरू साँच्चिकै समस्यामा छन् ? उनीहरूको व्यवसाय बर्सेनि खस्किँदै गएको छ ? उनीहरुले लिने ऋण रकम घट्दै गएको छ ? आउनुस्, आजको यो सामग्रीमा यिनै जिज्ञासाको जवाफ खोजौं । यी जिज्ञासाको जवाफ खोज्न केही निर्माण कम्पनीको व्यवसायको प्रवृति हेरौं । बुटवलको सुगम कन्स्ट्रक्सनले २०८०मा कुल ४ अर्ब ५९ करोड ७० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गर्यो । यो निर्माण कम्पनीले २०७९ मा ३ अर्ब २४ करोड र २०७८ मा १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । २०७९ को तुलनामा २०८० मा ४१.८२ प्रतिशत र २०७९ मा २०७८ को तुलनामा १२२.५२ प्रतिशतले सो निर्माण कम्पनीको व्यवसाय र आम्दानी बढेको देखिन्छ । काठमाडौंको बालुवाटारमा मुख्य कार्यालय रहेको कालिका ग्रुपबाट सञ्चालित कालिका कन्स्ट्रक्सनको व्यवसाय पनि पछिल्लो तीन आर्थिक वर्षमा निरन्तर बढ्दो छ । व्यवसायी बिक्रम पाण्डेले नेतृत्व गरिरहेको सो निर्माण कम्पनीले २०८० मा ४ अर्ब २८ करोड १० लाख, २०७९ मा ३ अर्ब ६३ करोड ३० लाख र २०७८ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ । यो तीन वर्षको अवधिमा यस निर्माण कम्पनीको व्यवसाय ५० प्रतिशतले बढेको तथ्यांकबाट प्रष्ट हुन्छ । यो निर्माण कम्पनीको १५ अर्ब बढी ऋण लिन सक्ने ल्याकत छ । सडक निर्माण, भवन तथा पुल लगायतका पूर्वाधार निर्माणको काम गरिरहेको काठमाडौंको मोतिदान कन्स्ट्रक्सनको व्यवसाय पनि पछिल्लो आर्थिक वर्षमा बढ्दै गएको छ । यो निर्माण कम्पनीले २०८० मा ३ अर्ब ६८ करोड ८० लाख, २०७९ मा २ अर्ब ७० करोड ९० लाख र २०७८ मा ३ अर्ब १२ करोड ३० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यस निर्माण कम्पनीको व्यवसाय ३६ प्रतिशत बढीले वृद्धि भएको छ । जनकपुरमा निर्माणजन्य काम गर्दै आएको बि वर्गको कम्पनी रोशन कन्स्ट्रक्सनको व्यवसाय पनि तीन वर्षमा दोब्बर भएको छ । २०८० मा २ अर्ब ७६ करोड ९० लाख रुपैयाँ, २०७९ मा १ अर्ब ८२ करोड १० लाख र २०७८ मा १ अर्ब ९६ करोड १० लाख रुपैयाँबराबरको व्यवसाय गरेको यस निर्माण कम्पनीले पनि राम्रो पफर्मेन्स गरेको छ । अघिल्लो वर्षको तुलनामा यस निर्माण कम्पनीको व्यवसाय रकम ५२ प्रतिशतले बढेको छ । पश्चिम बाँकेमा सञ्चालित पीएस निर्माण सेवाले पनि पछिल्लो तीन वर्षको अवधिमा व्यवसाय बढाएको नै देखिन्छ । यस निर्माण कम्पनीले २०८० मा १९ करोड ८० लाख, २०७९ मा ९ करोड ८० लाख र २०७८ मा ७ करोड ७० लाखको सञ्चालन आम्दानी गरेको छ । यस्तै, पूर्वी धरानमा रहेको ए वर्गको निर्माण कम्पनी एमए कन्स्ट्रक्सनले पनि २०८० मा १ अर्ब ६३ करोड ३० लाख रुपैयाँ, २०७९ मा ८० करोड ९० लाख र २०७८ मा ५३ करोड १० लाख रुपैयाँको व्यवसाय गरेको छ । यो तीन वर्षको तुलनामा यस निर्माण कम्पनीको व्यवसाय २०७ प्रतिशतले बढेको छ । सुदूरपश्चिको कञ्चनपुरमा रहेको कुमार श्रेष्ठ निर्माण कम्पनीले पनि २०८० मा २ अर्ब ९२ करोड ५० लाख, २०७९ मा ३ अर्ब ६३ करोड २० लाख र २०७८ मा २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । यो तीन वर्षको अवधिमा यस निर्माण कम्पनीको व्यवसाय पनि सन्तोषजनक रुपमा वृद्धि भएको छ । कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा रहेको वाईएसएस निर्माण सेवाको व्यवसाय पनि पछिल्लो तीन वर्षमा स्थिर देखिन्छ । यस निर्माण कम्पनीले २०८० मा २८ करोड ४० लाख रुपैयाँ, २०७९ मा १६ करोड ३० लाख र २०७८ मा २९ करोड ७० लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ । विगत तीन वर्षमा व्यवसाय गरेका केही प्रतिनिधी निर्माण कम्पनी हुन् यी । हामीले यो समाचार सामग्रीमा पूर्व धरानदेखि पश्चिम कर्णाली र सुदूरपश्चिमसम्मका विभिन्न निर्माण कम्पनीको पछिल्लो तीन वर्षको व्यवसायको प्रकृति केलाउने प्रयत्न गरेका छौं । यो समाचारमा पाँच दर्जन बढी निर्माण कम्पनीको व्यवसायलाई नमुनाको रुपमा लिएका छौं । अर्ब बढी आम्दानी गर्ने १६ कम्पनी २०८० मा डेढ दर्जन कम्पनीले एक अर्ब बढी रकमको व्यवसाय गरेका छन् । वर्षमा एक अर्बबराबरको व्यवसाय गर्ने १६ वटा निर्माण कम्पनीमध्ये ११ कम्पनीको व्यवसाय अघिल्लो वर्षको तुलनामा बढेको छ भने पाँच वटा कम्पनीको व्यवसाय घटेको छ । व्यवसाय बढेका कम्पनीको व्यवसाय उल्लेख्य रुपमा वृद्धि भएको तथ्यांकबाट देखिन्छ भने व्यवसाय घटेका कम्पनीको झिनो रकमले कम भएको छ । तर, तीन वर्षअघिको तुलनामा भने सबै कम्पनीको व्यवसाय बढेको देखिन्छ । दुई वर्षको अवधिमा सगुन कन्स्ट्रक्सन, कालिका, रोशन, मोतिदान, रेलिगर, एमए, बन्दन भगवती, स्वामिनारायण, वेदालय, के एस र रौटह निर्माण कम्पनीको व्यवसाय बढेको छ । यस्तै, समानान्तर, सुमो, बानियाँ र पीआर खानी निर्माण सेवाको व्यवसाय झिनो रकमले घटेको छ । यी १६ निर्माण कम्पनीले यो एक वर्षको अवधिमा ८६ अर्ब ६२ करोड रुपैयाँको व्यवसाय गरेका छन् भने २०७९ मा ३१ अर्ब ६५ करोड र २०७८ मा ३२ अर्ब २ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको तथ्यांकबाट देखाउँछ । तीन वर्षको अवधिमा १६ वटा निर्माण कम्पनीको व्यवसाय निरन्तर बढ्दै गएको देखिन्छ । ८० करोडसम्म कारोबार गर्ने कम्पनी यो समाचार सामग्रीमा ३० करोड रुपैयाँदेखि ८० करोड रुपैयाँबराबरको व्यवसाय गर्ने निर्माण कम्पनीको संख्या १७ वटा रहेको छ । तीन वर्षको अवधिमा १० वटा कम्पनीको व्यवसाय बढेको छ भने सात वटा कम्पनीको व्यवसाय घटेको छ । अघिल्लो वर्षको तुलनामा २०८० मा नारायण निर्माण, डीएस कन्स्ट्रक्सन, रोयल कन्स्ट्रक्सन, पिके निर्माण सेवा, सक्षम निर्माण सेवा, विकास एण्ड ब्रदर्स, स्विटगंगा, रेनु कन्स्ट्रक्सन, प्रेरणा निर्माण सेवा र रोजन निर्माण सेवाको व्यवसाय बढेको छ भने अन्य कम्पनीको व्यवसाय घटेको छ । तर, २०७८ को तुलनामा भने २०८० मा अधिकांश निर्माण कम्पनीको व्यवसाय बढेको देखिन्छ । साना कम्पनी केही मारमा तथ्यांकले साना कम्पनीको बिजनेसमा भने स्थिर देखिन्छ । अधिकांश कम्पनीको बिजनेस स्थिर हुँदा केहीको भने घटेको छ । अधिकतम् वार्षिक तीन करोड रुपैयाँसम्मको व्यवसाय गर्ने कम्पनीहरु समस्यामा परेको तथ्यांकबाट देखिन्छ । तर, ठूला कम्पनीहरुले भने व्यवसाय बढाएको नै देखिन्छ । साना एक दर्जन कम्पनीको व्यवसाय बढ्दा एक दर्जन निर्माण कम्पनीको व्यवसाय घटेको नै देखिन्छ । ठूला निर्माण व्यवसायीभन्दा पनि साना निर्माण व्यवसायी वर्तमान अर्थतन्त्रको मन्दीको चपेटामा परेको तथ्यांकबाट प्रष्ट हुन्छ । [pdf id=522486] के भन्छन् निर्माण व्यवसायी ? निर्माण व्यवसायी भने अहिले निर्माण क्षेत्रमा समस्या नै रहेको बताउँछन् । उनीहरू खर्च बढेको, सरकारबाट बक्यौता भुक्तानी नभएको तथा ठूलो रकम कर तिर्नु परेको कारण ठूलो समस्या नै रहेको बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह अहिले पनि निर्माण व्यवसायी ठूलो समस्याको सामना गरिरहेको धारणा राख्छन् । तथ्यांकले व्यवसाय बढ्दै गरेको देखिन्छ, निर्माण व्यवसायी कसरी समस्यामा परे भन्ने जिज्ञासमा उनले भने, ‘निर्माण कम्पनीले देखाउनका लागि भएपनि रेटिङ राम्रो गराउँछन्, ठूलो कम्पनीको रेटिङ राम्रो नै हुन्छ, भइरहेको तथ्यलाई नकार्न सकिँदैन,’ उनले थपे,‘वास्तवमा भने हामी समस्यामा नै छौं ।’ उनका अनुसार केही जलविद्युत क्षेत्रमा काम गर्ने निर्माण कम्पनीहरूको व्यवसाय अन्यको तुलनामा राम्रो हुन सक्छ । बैंकबाट ऋण लिनैका लागि र निर्माणको सम्झौताका लागि पनि केहीले राम्रो व्यवसाय गरेको देखाएर रेटिङ राम्रो देखाउने गरेको अभ्यास रहेको उनको धारणा छ । रेटिङ एजेन्सी इक्रा नेपालकी बिजनेस हेड वर्षा श्रेष्ठले पनि रेटिङमा निर्माण कम्पनीको व्यवसाय राम्रै नै देखिने गरेको बताइन् । उनका अनुसार रेटिङ कम्पनीले उपलब्ध गराएको विभिन्न विवरणका आधारमा हुने भएकोले सोही आधारमा रेटिङ हुने गरेको छ । ऋण पनि बढ्दै प्रत्येक वर्ष निर्माण क्षेत्रमा प्रवाह हुने ऋण पनि बढ्दै गएको तथ्यांकबाट देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निर्माण क्षेत्रमा प्रवाह हुने ऋण रकम पनि बढ्दै गएको हो । २०८१ को भदौसम्म बैंकहरुले कुल २ खर्ब १० अर्ब ४५ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । यस्तै, २०८० को अन्तिमा २ खर्ब ७ अर्ब २२ करोड र २०७९ मा २ खर्ब ३ अर्ब ३७ करोड ९० लाख रुपैयाँ ऋण निर्माण क्षेत्रले उपभोग गरेको देखिन्छ । यस्तै, २०७८ मा १ खर्ब ९० अर्ब १९ करोड ६० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा ऋण प्रवाह गरेका छन् । पाँच दर्जन निर्माण कम्पनीहरुले २ खर्ब १५ अर्ब ७८ करोड रुपैयाँ ऋणका लागि पनि रेटिङ गराएका छन् । पछिल्लो तीन आर्थिक वर्षमा निर्माण क्षेत्रको व्यवसाय बढ्दै गएको छ भने बैंक तथा वित्तीय संस्थाले बढी नै ऋण प्रवाह गरेका छन् । तर, कुनै व्यक्ति तथा संस्था समस्यामा छ भने बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने हिम्मत गर्दैनन् । संकटमा परेको बेला बढी सावाँ ब्याज तिर्ने आँट व्यवसायी गर्दैनन् । तर, तथ्यांकले निर्माण कम्पनीहरुको व्यवसाय र ऋण रकम वृद्धि भएको देखाउँदा मन्दीमा छौं भनिरहेका निर्माण व्यवसायीको भाष्य हौवा होकि भन्ने अनुमान पनि लगाउन सकिन्छ । महासंघका अध्यक्ष सिंहले भने अहिले देशभरका २४ हजार बढी निर्माण कम्पनीहरु समस्यामा नै रहेको धारणा राख्छन् । उनले नेपाल राष्ट्र बैंकले धेरै नीतिगत सहजता प्रदान गरेकोले केही राहत मिलेको धारणा राखे ।

निर्माण क्षेत्र ठप्प हुँदा शिवम् सिमेन्टको नाफा ५८ प्रतिशत घट्यो

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको मन्दीका कारण शिवम् सिमेन्टको नाफा घटेको छ । गत आर्थिक वर्ष २०८०÷८१को चौथो त्रैमासमा कम्पनीले २५ करोड २ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४७ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ५८ प्रतिशत कम नाफा गरेको हो । निर्माण क्षेत्रमा देखिएको सिथिलता, मागको तुलनामा नेपालमा सिमेन्टको उत्पादन क्षमता अत्याधिक हुनु, विकास निर्माणसँग सम्बन्धीत सरकारी परियोजनाहरूका लागि छुट्याईएको बजेट न्यून खर्च हुनु, ठेकेदारहरूले निमार्ण कार्य सम्पन्न गरेता पनि भुक्तानी पाउन नसकेका कारण कम्पनीको आम्दानी घटेको बताइएको छ । गत असारसम्म कम्पनीले सिमेन्ट बिक्री गरेर ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७५ करोड २६ लाख रुपैयाँ सिमेन्ट बिक्री गरेर आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ३ करोड ४८ लाख रुपैयाँ गरेको छ । जबकी कम्पनीले अघिल्लो वर्ष १ अर्ब २८ करोड ५४ लाख रुपैयाँ कुल नाफा गरेको थियो । अघिल्लो वर्ष ३६ करोड ३७ लाख रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीले गत वर्ष १९ करोड ८५ लाख रुपैयाँ गरेको छ । कम्पनीको प्रशासनिक खर्च २२ करोड ७० लाख रुपैयाँ, वित्तीय खर्च ४ करोड ८९ लाख रुपैयाँ र कुल खर्च ९५ करोड ६३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले प्रशासनिक खर्च २२ करोड ३१ लख रुपैयाँ, वित्तीय खर्च ९ करोड ६६ लाख रुपैयाँ र कुल खर्च ९९ करोड ८१ लाख रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ, सेयर प्रिमियमा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोष ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १.५६ गुणा छ ।

मौद्रिक नीतिमार्फत् एएमसीको व्यवस्था गरिँदै, गभर्नर निर्माण क्षेत्रप्रति उदार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जा (एनपीएल) प्रति नियामक नेपाल राष्ट्र बैंक चिन्तित बनेको छ । पछिल्लो समय राम्रो बैंकहरूको पनि एनपीएल तीन प्रतिशतभन्दा बढी पुग्दा राष्ट्र बैंक चिन्तित बनेको हो । अहिले बैंकहरुको खराब कर्जा औसत करिब ४ प्रतिशत छ । यो अनुपात विगतका वर्षहरूको तुलनामा उच्च हो । अहिले अधिकांश वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतको हाराहारीमा छ । बढ्दै गइरहेको खराब कर्जाले बैंकको कर्जा क्षमतासँगै कर्जाको गुणस्तरमा पनि प्रश्न उठिरहेको छ । बैंकहरूलाई अहिले व्यवसाय गर्नेभन्दा पनि ऋण असुलीको विषय टाउको दुखाइ बनिरहेको छ । बैंकर र नियामक नेपाल राष्ट्र बैंकले अहिले धितोका रुपमा रहेको गैर-बैंकिङ सम्पत्तिको व्यवस्थापनको विषयमा विकल्प खोजिरहेका छन् । नियामक नेपाल राष्ट्र बैंकले बढ्दै गइरहेको गैर-बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि कम्पनी नै स्थापना गर्ने गरी तयारी गरिरहेको बुझिएको छ । नेपाल राष्ट्र बैंकका एक अधिकारीले राष्ट्र बैंकले आगामी शुक्रबार सार्वजनिक हुने मौद्रिक नीतिमार्फत् सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) स्थापनाका लागि नीतिगत व्यवस्था गर्ने तयारी गरिरहेको बताए । ‘अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढिरहेको छ, खराब कर्जाबापतको ठूलो रकम प्रोभिजनिङ गर्न पनि बैंकहरुलाई समस्या भइरहेको छ, त्यसले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता ह्रास हुनुका साथै व्यवसाय विस्तारमै असर गरिरहेको छ, बैंकहरुमा गैर–बैंकिङ सम्पत्ति बढेको बढ्यै छ, त्यसैले पनि यस पटक सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषयलाई मौद्रिक नीतिमा प्राथमिकताका साथ राखिएको छ,’ स्रोतले भन्यो । उसो त विगतका वर्षहरुमा पनि एएमसीको विषयमा मौद्रिक नीतिमा केही उल्लेख हुँदै आएको थियो । तर, उक्त व्यवस्था कार्यान्वयन हुन सकेको थिएन । अब कार्यान्वयन नै गर्ने किसिमले काम भइरहेको स्रोतको दाबी छ । अहिले बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता भएपनि कर्जा प्रवाह हुन सकेको छैन । राष्ट्र बैंकले मौदिक नीति मार्फत् कर्जा प्रवाह हुन सक्ने केही नीतिगत व्यवस्था गर्न लागेको पनि स्रोतको भनाइ छ । राष्ट्र बैंकले नीतिगत दरहरु केही चलाउन सक्ने सम्भावना छ । यस्तै, अहिले निर्माण क्षेत्र सुस्त गतिमा छ । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा समस्या छ । राष्ट्र बैंकले निर्माण क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष व्यवस्था गर्न लागेको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकले निर्माण क्षेत्रमा जाने ऋणलाई केही सहज र लचिलो बनाउन लागेको स्रोतको दाबी छ । उसो त राष्ट्र बैंकले निर्माण व्यवसायीको समस्या समाधानका लागि अर्थमन्त्रालय समक्ष पनि केही सुझावहरु पेस गरिसकेको छ । राष्ट्र बैंकबाट हुन सक्ने केही नीतिगत व्यवस्था गरेर निर्माण क्षेत्रलाई चलायमान बनाउने प्रयत्न भइरहेको स्रोतको भनाइ छ । अहिले मुख्य समस्या भनेको वित्तीय सहकारी संस्था र लघुवित्तमा पनि छ । ठूला सहकारीको नियमन राष्ट्र बैंकले नियमन गर्नु पर्ने नीतिगत व्यवस्था नै भइसकेको छ । त्यस कारण यस पटक राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नै ठूला वित्तीय सहकारीको नियमनको विषयमा मौद्रिक नीतिमार्फत् कुनै व्यवस्था गर्न सक्नेछ । सरकारले सहकारी क्षेत्रको नियमनका लागि प्राधिकरण निर्माण गर्ने तयारी गरिरहेको भएपनि राष्ट्र बैंकले पनि केही निश्चित सहकारीको नियमन गर्ने विषय मौद्रिक नीतिमार्फत् घोषणा गर्नेछ भने दोस्रोत तहको नियामकको विषयमा मौद्रिक नीतिमै उल्लेख गर्ने तयारी पनि छ । यस्तै, लघुवित्त क्षेत्रलाई बलियो बनाउन थप नीगित व्यवस्था गर्ने तयारी राष्ट्र बैंकको छ । स्रोतका अनुसार लघुवित्तमा तोकिएको १५ प्रतिशतको ब्यादरको सीमामा पुनरावलोकन गर्न सक्ने किसिमले राष्ट्र बैंकले तयारी थालेको छ । मौद्रिक नीति लेखन समितिले यो विषयमा पनि गम्भीर छलफल गरेको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने अभ्यास भएपनि यस पटक भने दोस्रो सातासम्म सरेको छ । आगामी शुक्रबार जसरी पनि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैनौँ, चाँडै भुक्तानी हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् । शुक्रबार निमार्ण व्यवसायी महासंघका पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताए । उनले निमार्ण व्यवसायीहरुले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको भने पनि १५ अर्ब मात्रै बाँकी देखिएको जानकारी दिए । यस्तै, उनले सम्बन्धित मन्त्रालयका सचिवहरुसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी बाँकी रहेको तथ्यांक आएको बताए । सम्बन्धित निकायहरूलाई निमार्ण सम्पन्न भएका आयोजनाहरुको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको बताए । सम्पन्न भएको आयोजना भुक्तानी नरोकिने बताए । अर्थमन्त्री पौडेलले निमार्ण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउने जानकारी दिए । ‘निमार्ण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुस्, निमार्णसँग जोडिएका समस्या समाधान सरकार लाग्छ, सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन । १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ, भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ’, उनले भने । भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निमार्ण क्षेत्रलाई उत्पादनमुलुक क्षेत्रमा राख्न माग गरे । उनले त्यसको लागि बैंकहरुलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्ने माग गरे । भुक्तानीको समस्या समाधान गर्न रकम रकमान्तर सम्बन्धि मन्त्रालयलाई अधिकार दिनुपर्ने बताए । स्रोत सुनिश्चितता नभएका आयोजना अगाडि बढाउन सम्बन्धि मन्त्रालय समन्वय गर्नुपर्ने जानकारी दिए । अध्यक्ष सिंहले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजिकरण गर्न माग गरे ।

लगानी सम्मेलनका लागि रवि सिंहका ५ सुझाव, निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्ने

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष सिंहले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ लिने निर्माण उद्योग चलायमान बनाउन आवश्यक रहेको बताएका हुन् । उनले लगानीको लाभ लिने निर्माण उद्योगमा नै निराशा छाएको अवस्थामा लगानी सम्मेलन सफल हुन नसक्ने बताए अध्यक्ष सिंहले लगानी सम्मेलन सफल बनाउनको लागि निर्माण उद्योगका समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने सुझाव दिए । निर्माण व्यवसायीहरुको हारेको मनोबलले लगानी सम्मेलनको महत्व सफल नहुने अध्यक्ष सिंहको भनाई छ । निर्माण उद्योग समस्याग्रस्त र भौतिक पूर्वाधारको काम गर्ने वातावरण नबनेको अवस्थामा सरकारले गर्ने लगानी सम्मेलन सफल हुन नसक्ने दाबी गरे । अध्यक्ष सिंहले निर्माण क्षेत्र चलायमान नभएको अवस्थामा नेपालमा लगानीकर्ता आकर्षित हुन नसक्ने बताए । उनले नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायीहरु समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएका लगानीकर्तालाई विश्वास दिलाउन सक्ने अवस्था नभएको दाबी गरे । उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई प्रश्तुत गर्ने परियोजनाहरु नै नभएको बताए । नेपालमा हरेक वर्ष भएका लगानी सम्मेलनको उपलब्धी शुन्य रहेको भन्दै लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभुति गर्नसक्ने अवस्था नभएको बताए । उनले २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगको नै मनोबल कमजोर अवस्थामा रहेको जिकिर गरे । लगानी गर्ने लगानीकर्ता आएपनि लगानीकर्तालाई प्रोत्साहन र आकर्षण गर्ने वातावरण बनि नसकेको बताए । नेपालमा ऐन,कानून र नियमहरु लगानी योग्य बनाउन आवश्यक रहेको बताए । विश्वमा सफल भएका निर्माण कम्पनी नेपालमा आएर असफल भएको भन्दै यो विषयमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । लगानी सम्मेलनका लागि अध्यक्ष सिंहका सुझावः लगानी सम्मेलन हुँदा सबैभन्दा पहिला फाइदा हुने भनेको निर्माण व्यवसायी हुन् । कुनैपनि सडक,जलविद्युत,सैर्य ऊर्जा,अस्पताल,पर्यटनमा लगानी आएपनि सबै भन्दा बढी र पहिलो फाइदा प्राप्त गर्ने निर्माण व्यवसायीहरु नै हौं । निर्माण व्यवसायीहरुले अहिले हारेको मनोवल लिएर लगानी सम्मेलनको महत्व छैन । निर्माण उद्योग समस्याग्रस्त छ । भौतिक पूर्वाधारको काम गर्ने वातावरण नेपालमा छैन भन्दै गर्दा सरकारले गर्ने लगानी सम्मेलन कसरी सफल हुन्छ । कसरी नेपालमा लगानीकर्ता आकर्षित हुन्छन् । नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायीहरु समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएर नेपालमा लगानी गर्छु भन्नेहरुलाई लगानीको लागि उत्तम छ भनेर कसरी प्रश्तुत गर्ने ? सरकारले नेपालमा लगानी गर्ने परियोजनाहरु प्रश्तुत गर्ने ? सरकारले लगानी सम्मेलन गरेर मात्रै मुलुक सफल हुँदैन । नेपालमा हरेक वर्ष विभिन्न किसिमका लगानी सम्मेलन भइरहेका छन् । तर उपलब्धी केही छैन । यो वर्ष हुने लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभुति गर्नसक्ने अवस्था छैन । नेपाल निर्माण व्यवसायीहरुले नेपालमा २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने भएपनि अहिले त्यो खालको मनोबल छैन । लगानी सम्मेलन लगानी गर्ने लगानीकर्ता आएपनि लगानीकर्तालाई प्रोत्साहन र आकर्षण गर्ने वातावरण बनिसकेको छैन । सरकारले नेपालमा लगानी गर्ने वातारण छ भन्दै गर्दा उठ्ने प्रश्नहरुको जवाफ दिनसक्ने क्षमता नेतृत्वमा हुनसक्छ । नेपालमा ऐन, कानून र नियमहरु लगानीयोग्य छन् । देशको सेनापतिले नेपालमा काम गर्ने वातावरण छैन भनेर सार्वजनिक रुपमा भन्ने मुलुक, विश्वमा सफल भएका निर्माण कम्पनी नेपालमा आएर असफल भएका छन् । यसलाई कसरी सफल बनाउने भन्ने सरकारको चिन्तन हुनुपर्छ । सरकारले लगानी सम्मेलन र योजना तर्जुमा गर्दैमा सफल हुने होइन । सही कार्यान्वयन भएपछि सफल हुने हो । लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्छ । सरकारले तत्काल निर्माण उद्योगमा भएका समस्यालाई औल्याएर आयोजनाहरुको म्याद थप गर्नुपर्छ । बाँकी रहेको भुक्तानी ऋण लिएर भएपनि भूक्तानी गर्दै जानुपर्छ । जुन योजनाहरु प्रतिफल दिँदैन । केही समयपछि सञ्चालन गर्दा हुने आयोजनाहरुलाई स्थगन र बन्द गर्नुपर्छ । दबाबकै भरमा योजनाहरु बन्ने काम हुनुहुँदैन ।

निर्माण क्षेत्रका नौ कम्पनी कालोसूचीमा (नामावलीसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । संघीय तथा स्थानीय तहबाट कालोसूचीमा राख्न सिफारिस भएपछि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा राखिएका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभरि कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ ।

११ महिनामा २ सय ठेकेदार कालोसूचीमा, निर्माण क्षेत्र प्रभावित

काठमाडौं । तोकिएको समयमा निर्माण सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीहरु कालोसूचीमा पर्ने क्रम बढ्दो क्रममा रहेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चालू आर्थिक वर्षको ११ महिनाको अबधिमा करिब २ सय निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्बन्धित कार्यालयले गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्दै आएको छ । कार्यालयले चालू आर्थिक वर्षको ११ महिनासम्म १५८ निर्माण कम्पनीलाई कालोसूचिमा राखेको कार्यालयका सूचना अधिकारी टीकाराम पोखरेल बताउँछन् । सम्बन्धित कार्यालयले पठाएको विवरणका आधारमा खरिद अनुगमन कार्यालयले एक वर्षदेखि ३ वर्षसम्मका लागि निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राख्दै आएको उनको भनाइ छ । कालोसूचीमा राखिएको अबधिभर उक्त निर्माण कम्पनीले सरकारी कुनै पनि आयोजनामा भाग लिन पाउदैन् ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह धेरै निर्माणको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीहरु हाबी हुँदा त्यसको असर निर्माण क्षेत्रमा देखिएको बताउँछन् । कालोसूचीमा बढ्दो क्रममा निर्माण व्यवसायीहरु रहेको भन्दै उनले त्यसको दोषी सरकार समेत रहेको बताए । ‘विविध कारणले निर्माणका कामहरु रोकिएका हुन्छन्, त्यसको दोष हामी व्यवसयीलाई लगाइन्छ, पछिल्लो ३ वर्षदेखि कोभिड महामारीका कारण निर्माणका कामहरु रोकिए, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अत्याधिक रुपमा बढ्दा त्यसको असर निर्माण क्षेत्रमा पर्याे’, उनले भने । सरकारकै कारण निर्माण क्षेत्रले गति लिन नसकेको भन्दै उनले नेपाल आयल निगमले मूल्य समायोजन नर्गदा निर्माणका कामहरु प्रभावित भएका बताए । ‘गत वर्ष म्याद थपका लागि साउन, भदौ र असोजमा नदिजन्य निर्माण सामग्री उत्खननमा रोक लाग्यो, कात्तिकमा तिहार, त्यसपछि निर्वाचनका कारण मंसिरमा काम रोकियो, पुस महिनामा सरकारले क्रसर उद्योग नै बन्द गर्याे’, उनले भने, ‘अहिले निर्माणको काम सुचारु गर्न हामीसँग पैसा छैन, काम सकेर भुक्तानी माग गर्दा सरकारले दिनै सकेको छैन ।’ उनले समयमै निर्माण सम्पन्न नहुनुको पछाडी सरकार र निर्माण व्यवसायी नै मुख्य जिम्मेवारी रहेको बताए । ‘म सरकारलाई मात्रै दोष दिदैन, कतिपय अवस्थामा हाम्रा साथीहरु थोरै रकममा ठेक्का लिने पछि काम सक्नै समस्या’, उनले भने, ‘थोरैमा भुक्तानी लिएका कारण पेट्रोलियम पदार्थकोे मूल्यबृद्धि तथा अनेकन कारणबाट निर्माण सम्पन्न गर्न समस्या उत्पन्न भयो, काम पाउनु पर्ने मात्रै उद्देश्य राखेर केही निर्माण व्यवसायीहरुले काम ओगटेर राख्दा, राम्रो काम गर्ने व्यक्तिहरुलाई समस्या देखियो ।’ काम नै नगर्नेलाई बचाउने तिर महासंघ नलाग्नै भन्दै उनले गल्तीको सजाय पाउनुपर्ने बताए । ‘काम नै नगरी होल्ड गर्नेलाई सरकारले कारवाही गर्नुपर्छ, हामी त्यसको समर्थन गछौँ, तर सरकारले कारवाहीसँगै भुक्तानीदेखि निर्माणजन्य सामग्रीको मूल्य समायोजनमा सहयोग गर्नुपर्छ’, उनले भने । ७० अर्ब भुक्तानी रोकियो सरकारले पछिल्लो समय ३ हजारभन्दा बढी आयोजनको ७० अर्बभन्दा बढी रुपैयाँ भुक्तानी नदिएको अध्यक्ष सिंहले बताए । ‘असार मसान्तमा ३ हजारभन्दा बढी आयोजनाको म्याद सकिदैछ्, सरकारले ल्याएको बजेटले यसलाई सम्बोधन नगरी माइलस्टोन हट्ने निर्णय भयो, सरकारकै कारण नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने त्यसको दोष हामीलाई थुपार्ने काम भयो ।’ उनले असार ४ गतेदेखि सरकारले मुलुकभरका आयोजनाको म्याद थप निर्णय नभएमा सम्पूर्ण आयोजनाको काम ठप्प हुने चेतावनी समेत दिए । यसअघि नै पत्रकार सम्मेलन गर्दै महासंघले सार्वजनिक बजेटबाट माग सम्बोधन नगरिएको भन्दै आगामी असार ४ गतेसम्म सरकारले आयोजनाहरुको म्याद थपको निर्णय नगरे देशभरका निर्माण कार्यहरू ठप्प पारेर इजाजत पत्र राज्यलाई बुझाउने चेतावनी दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले म्याद थप र भुक्तानी हुनुपर्ने, माइलस्टोनको व्यवस्था खारेज गर्नुपर्ने जस्ता जटिल समस्या सम्बोधन नभएको भन्दै उनले साउन १ गतेदेखि ८० प्रतिशतभन्दा बढी आयोजनाहरु बन्द हुने बताए । निर्माण सम्पन्न भइसकेका आयोजनाहरुको रकम भुक्तानीमा सरकारले आलटाल गरिरहेको भन्दै उनले व्यवसायीहरूको रकम भुक्तानी भएमा अर्थतन्त्र चलायमान भई त्यसको सकारात्मक प्रभाव देखिने बताए । माग सम्बोधन नभए असार मसान्तपछि सबै निर्माण कम्पनीहरू कालोसूचीमा परी मुलुकको निर्माण उद्योग नै समाप्त हुने उनको भनाइ छ । पटक÷पटक सरकारसँग आग्रह गर्दा पनि ३ हजारभन्दा बढी व्यवसायीको ७० अर्बभन्दा बढी रकम भुक्तानी नभएको भन्दै उनले आयोजनाहरु समयमै सम्पन्न नहुनुमा राज्यनै बढी दोषी रहेको बताए । साढे २४ हजार व्यक्ति कालोसूचिमा कर्जा सूचना केन्द्रले चालू आर्थिक वर्षको ११ महिनाको अबधिमा साढे २४ हजार व्यक्तिलाई कालोसूचिमा राखेको छ । केन्द्रले गत साउनदेखि जेठ २४ गतेसम्म २४ हजार ४५६ जनालाई कालोसूचिमा राखेको हो । केन्द्रले २०४६ को फागुनदेखि हालसम्म ५१ हजार ७९२ जनालाई कालोसूचिमा राखेको छ । यस्तै, केन्द्रले ४६७ माइक्रोफाइन्नास कम्पनीका ऋणीलाई समेत कालोसूचीमा राखेको छ ।