मेगा बैंकको लाभांशसँगै मर्जर प्रस्ताव पारित

काठमाडाैं । मेगा बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे बिहीबार सम्पन्न साधारण सभाबाट बैंककाे प्रस्तावित ७.७९ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । सभाले मेगा बैंकको १०० कित्ता सेयर बराबर मेगा बैंकका सेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः९०) मा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको हो । दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ । मेगा बैंककाे चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैंयाले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा ३ अर्ब ९१ करोड रुपैंयाले वृद्धि भइ १ खर्ब ५३ अर्ब ९५ करोड रुपैंया पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैंया खूद मुनाफा आर्जन गरेको छ । यसैगरी, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैंया सहुलियत कर्जा र ५ अर्ब १९ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ । हाल बैंकको २०८ शाखा, २७ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।  

लाभांश र मर्जर प्रस्ताव पारित गर्न प्राइम बैंकले बोलायो साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंकले १५ औं वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र बैंकमा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा २ जना र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ५ जनाको निर्वाचन, मनोनयन वा नियुक्ति गर्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज गर्न आवश्यक सम्पूर्ण प्रक्रिया सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुमारी र एनसीसीलाई मर्जर गर्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई मर्जर गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । दुवै बैंक मर्जरको अन्तिम स्वीकृतिका लागि गत साता नेपाल राष्ट्र बैंक पुगेका थिए । सोही अनुसार राष्ट्र बैंकले दुवै बैंकलाई मर्जर गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते प्रारम्भिक मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुने बताइएको छ । बैंकको निक्षेप ३ खर्ब १ अर्व भन्दा बढी र कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ । दुवै बैंकले पुसको १७ गतेभित्रै एकीकृत कारोबार गर्ने गरी काम गरिरहेका छन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ ।    

नबिल बैंकले डाक्यो साधारण सभा, मुख्य एजेण्डा लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौं । नबिल बैंकले आफ्नो ३८ औं वार्षिक साधारण सभा बोलाको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते सिल्भर व्याङ्क्वेट ग्रैहीधारा काठमाडौंमा बहान ११ बजे वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वित्तीय विवरण र आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्नेछ । बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग, नेपाल बङ्गलादेश क्यापिटल, एनबिबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चूक्ता पूँजीको ११.५० प्रतिशत दरले हुन आउने २ अर्ब ६२ करोड ५७ लाख ८४ हजार ४९२.६८ रुपैयाँ बराबरको नगद लाभांश वितरण स्वीकृत गर्नेछ । आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ३ जनाको निर्वाचन गर्ने र बैंकको अधिकृत पूँजी वृद्धि गरी २८ अर्ब रुपैयाँ पुर्याइनेछ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १८.५० प्रतिश अर्थात् ४ अर्ब २२ करोड ४० लाख ८८ हजार ९६.९२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । (प्रत्येक १०० सेयर बराबर १८.५० बोनस सेयर जारी गरी बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९.२६ पुयाईनेछ । बैंकको प्रबन्धपत्रको दफा ५(१), ५(२) र ५(३) तथा नियमावलीको नियम ३१ (२), ३१(३) र ३१ (४) को संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति (समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिनेछ । आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) को प्रयोजनका लागि अनुमोदन गर्नेछ । नबिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न) तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांनका लागि मूल्याङ्गनकर्ता नियुक्त गर्ने, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल एसबिआई बैंकको साधारणसभामा लाभांश र मर्जर प्रस्ताव सहित १३ एजेण्डा

काठमाडौं । नेपाल एसबिआई बैंकले पुस २५ गतेका लागि २९ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । १. आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण (२०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनी नेपाल एसविआई मर्चेण्ट बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने । ४. संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई ७३ करोड ९८ लाख ८६ हजार ७३९.३८ रुपैयाँ बराबर (चुक्ता पुँजीमा ७.५३ प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने । ५. स्वतन्त्र संचालक नियुक्तिको जानकारी सम्बन्धमा (बैंकको संचालक समितिको मिति २०७८ चैत्र ३० मा सम्पन्न ४८३ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान बमोजिम डा.गोपाल प्रसाद भट्टलाई ४ वर्षका लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको) । ६. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने । ७. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई २९ करोड ४७ लाख ७५ हजार ५९३.३८ रुपैयाँ बराबर (चुक्ता पुँजीमा ३ तिशतका दरले) बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । ८. कम्पनीको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा र नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ९. बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २८, कमलादी, नेपाल कायम गर्न बैंकको प्रबन्धपत्रको दफा २ को उपदफा १ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । १०. संचालक समिति तथा संचालक समितिका उपसमितिहरूको बैठकमा भाग लिएबापत संचालक समितिका अध्यक्ष तथा अन्य संचालकहरूलाई दिइने बैठक भत्ता वृद्धि गरी क्रमशः १० हजार रुपैयाँ, १५ हजार रुपैयाँ प्रतिबैठक कायम गर्न बैंकको नियमावलीको नियम २९ को उपनियम (ख)संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ११. बैंकले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च १ करोड ४ लाख ३१ हजार ११६.८० रुपैयाँ कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्चलाई अनुमोदन गर्ने । १२. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने र गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्नेरगराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने । १३. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने । बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लागि पुस १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन ।

लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, मर्जरमा जाने प्रस्तावलाई निरन्तरता दिने

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले आफ्नो ७४औं वार्षिक साधारण सभा सो दिन बिहानको ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो । उक्त सभाले सेयरधनीलाई कूल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । त्यस्तै, इन्स्योरेन्सले मर्जरमा जाने प्रस्तावलाई नै निरन्तरता दिने विशेष प्रस्ताव गरेको छ । कम्पनीले उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकारलाई निरन्तरता दिने छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी पुस ८ गते बुक क्लोज गर्दै छ । यससँगै पुस ७ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् । यससँगै उक्त आवको सभा बोलाउनेमा नेपाल इन्स्योरेन्स पहिलो भएको छ । हालसम्म निर्जीवन बीमा व्यवसाय गर्दै आएका कुनै पनि कम्पनीले आर्थिक वर्ष २०७८/७९ को साधारण सभा डाकेका छैनन् ।

मर्जरको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक पुग्यो ग्लोबल आइएमई र बीओके

काठमाडनैं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बीओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् । उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । यस अघि ग्लोबल आइएमई र बीओकेबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुबै बैंकले मंसिर २३ गते दुवै बैंकका साधारण सभाबाट समेत पारित गरिसकेको छ ।

मर्जर प्रकृयामा रहेका १३ बीमा कम्पनी : एकीकृत कारोबारको लागि कसको तयारी के ?

काठमाडौं । बीमा कम्पनीहरुमध्ये हाल १३ वटा कम्पनी मर्जर प्रकृयामा रहेका छन् । जीवन र निर्जीवन गरी कूल १३ कम्पनी प्रारम्भिक सम्झौता गरी मर्जरको अन्तिम चरणमा छन् । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) ले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुले मर्जरको बाटो रोजेका हुन् । बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट (हिमालयन र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स) ले भने एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् । त्यस्तै, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर, ज्योति लाइफ र सुर्या लाइफ, प्रभु र महालक्ष्मी लाइफ, रिलायन्स र सानिमा लाइफ, प्राइम, गुराँस र युनियन लाइफ एक आपसमा मर्जमा जाँदै छन् । यीमध्ये केहीले एकीकृत कारोबारको लागि मिति तय गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज हुँदैछन् । हाल यी कम्पनीले मर्जरको प्रकृया लगभग टुङ्ग्याइ एकीकृत कारोबारकोे लागि मिति समेत तय गरिसकेको कम्पनी उच्च श्रोतले बतायो । ‘मर्जरको लागि डीडीएको काम सम्पन्न भइसकेको छ, अब आगामी माघ २ गतेदेखि एकीकृत कारोबार गर्ने योजना छ,’ उक्त श्रोतले विकासन्युजसँग बतायो । मर्जरमा जानको लागि दुबै कम्पनीले गत असार ३० गते नै प्राथमिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीले १०० बराबरका ८० को अनुपातमा मर्जरमा जान सहमति जनाएका थिए । जसअनुसार मर्जपछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । त्यस्तै, मर्जपछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी हुने छ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम पुँजीभन्दा कम हो । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । सिद्धार्थ र प्रिमियर निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरमा जान प्रारम्भिक सम्झौता गरिसकेका छन् । यी कम्पनीले गत असार २७ गते बराबरी हैसियतमा एक आपसमा मर्ज हुने गरी सम्झौता गरेका हुन् । तर हालसम्म पनि यी कम्पनीको मर्जर प्रकृया भने टुङ्गि सकेको छैन । ‘मर्जरको काम सेड्युल अनुसार नै भइरहेको छ, सबै प्रकया सकेर छिट्टै एकीकृत कारोबार गर्ने गरी मर्जर टीम लागिरहेको छ,’ प्रिमियर इन्स्योरेन्सका डीसीईओ सहदेव तिवारीले बताए । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो । ज्योति लाइफ र सुर्या लाइफको कहिले ? यता जीवन बीमा तर्फका दुई कम्पनी ज्योति लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा पुगिसकेका छन् । अब खाली कम्पनी रजिष्ट्रारको काम मात्र बाँकी रहेको ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री बताउँछन् । मर्जरमा जान गत असार १२ गते प्रारम्भिक समझदारी गरेका यी दुई कम्पनी एक बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जपश्चात बन्ने कम्पनीको नाम सुर्यज्योति लाइफ इन्स्योरेन्स हुनेछ । त्यसैगरी, मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सुर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् । हाल ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ र सुर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । १ बराबर ०.८२४५ को अनुपातमा मर्ज भएपश्चात बन्ने सुर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी करिब ४ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । प्राइम, गुराँस र युनियन लाइफ जीवन बीमा कम्पनीमध्ये प्राइम, गुराँस र युनियन लाइफले सबैभन्दा पहिले मर्जर सम्झौता गरेका हुन् । यी कम्पनीले गत बैशाख २९ गते नै एक आपसमा गाभिने सम्झौता गरेका थिए । तर हालसम्म पनि यी कम्पनीले मर्जरको प्रकृया टुङ्गाउन सकेका छैनन् । भ्यालुएसनको कामले नै मर्जरको काम सक्न ढिलाई भइरहेको एक कम्पनीको उच्च श्रोतले बतायो । ‘मर्जरको प्रकृया अगाडि बढी रहेको छ, गुराँस लाइफको आर्थिक वर्ष २०७७/७८ को भ्यालुएसन हुन बाँकी छ, त्यो स्वीकृत हुने बित्तिकै भइहाल्छ,’ ती श्रोतले विकासन्युजसँग भन्यो । उनका अनुसार प्राइम लाइफ र युनियन लाइफको भने उक्त आवको भ्यालुएसनको काम सम्पन्न भइसकेको छ । कम्पनीहरुको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब २३ करोड रुपैयाँ छ । तीन वटै बीमा कम्पनी १ बराबर १ को अनुपातमा गाभिए चुक्ता पुँजी कूल ७ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम, अध्यक्ष, सीईओ लगायतको विषयहरुको पनि टुङ्गो लागिसकेको छैन । प्रभु र महालक्ष्मी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जर प्रकृयामा छन् । मर्जरमा जान गत असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका यी दुबै कम्पनीले मर्जर प्रकृया अघि बढाइरहेका छन् । ‘दुबै कम्पनीको एक्चुरीको भ्याल्युएसन पास भइसकेको छैन, यो पास भइसकेपछि मर्जर प्रकृया अघि बढ्छ, अन्य आन्तरिक काम त भइरहेको छ,’ प्रभु लाइफका सीईओ सन्तोष पर्साईंले बताए । यी दुबै कम्पनी बराबरी हैसियत (स्वाप रेसियो १ः१) मा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ । मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । त्यस्तै, मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । रिलायन्स र सानिमा लाइफ रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा छन् । यी दुई कम्पनी समान हैसियत अर्थात स्वाप रेसियो १ बराबर १ को अनुपातमा मर्ज हुन लागेका हुन् । सो सम्बन्धमा दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यद्दपि, मर्जर प्रकृयामा रहेका सबै कम्पनीहरुले नेपाल बीमा प्राधिकरणले दिएको समय भित्रमा काम सक्ने गरी अघि बढीरहेका छन् । प्राधिकरणले २०७८ चैतभित्रमा तोकिएको पुँजी पुर्याउन जीवन र निर्जीवन बीमा दुबैलाई निर्देशन दिएको छ । जसअनुसार जीवन बीमाले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने छ । उक्त पुँजी पुर्याउनको लागि नै अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका हुन् ।

कुमारी र एनसीसी बैंकको मर्जर सम्झौता पारित, एकीकृत कारोबार कहिले ?

काठमाडौं । कुमारी र एनसीसी बैंकको विशेष साधारणसभाले एक आपसमा मर्ज गर्ने सम्झौता पारित गरेका छन् । दुवै बैंकको आइतबार भएको विशेष साधारणसभाले मर्जर सम्झौता पारित गरेका हुन् । आइतबार कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जवरा राणाको अध्यक्षतामा बसेको साधारणसभा र एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा छुट्टाछुट्टै भएको साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेका हुन् । यस्तै, बैंकहरुले १ः१ को डीडीए पनि पारित गरेका छन् । यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुने बताइएको छ । बैंकको निक्षेप ३ खर्व १ अर्व भन्दा बढी र कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ । दुवै बैंकले पुसको १७ गतेभित्रै एकीकृत कारोबार गर्ने गरी काम गरिरहेका छन् ।

बैंक अफ काठमाण्डूको लाभांशसहित मर्जर सम्बन्धी सबै प्रस्ताव पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले बैंक संचालक समितिले प्रस्ताव गरेको २०.९५ प्रतिशत पारित गरेको हो । याेसँगै बैंकका सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र १४.९५ प्रतिशतका दरले नगद लाभांश पाउनेछन् । यस्तै, सभाले ग्लोबल आइएमई बैंकसँग मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ । सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

कुमारी र एनसीसी बैंकको साधारणसभा रोक्न परेको मुद्दा फिर्ता, अब मर्जर अगाडि बढ्ने

काठमाडौं । कुमारी र एनसीसी बैंकको साधारणसभा रोक्न भन्दै अदालतमा परेको मुद्दा एनबी समूहले फिर्ता लिएको छ । एनबी समूहका लक्ष्मी बहादुर श्रेष्ठले यसअघि दुवै बैंकको साधारणसभा रोक्न भन्दै उच्च अदालतमा मुद्दा दायर गरे पनि शुक्रबार भने मुद्दा फिर्ता लिएका हुन् । मर्ज सम्बन्धि अन्तिम निर्णयको लागि एनसीसी बैंक र कुमारी बैंक दुबैले मंसिर २५ गते विशेष साधारण सभा बोलाएका छन् । उक्त साधारणसभा रोक्न माग गर्दै एनबी समूहले मंसिर १८ गते उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । तर, उनले शुक्रबार नै मुद्दा फिर्ता लिएका हुन् । अदालतले २० गतेको लागि छलफलमा दुबै पक्षलाई बोलाएको थियो । छलफलमा दुबै बैंकबाट उपस्थिति भएपनि निवेदकहरु नै उपस्थित भएनन् । आज अदालत पुगेर उनले मुद्दा फिर्ता लिएको स्रोतको भनाइ छ । अदालतले आजका लागि पेशी तोकेको थियो । उनले मुद्दा फिर्ता लिएसँगै अब एनसीसी बैंक र कुमारी बैंकको साधारणसभा पूर्व निर्धारित समयमै हुने बताइएको छ । यी दुई बैंकबीच मर्जरको सम्झौता पनि भइसकेको छ । एनबी समूहले मर्जरपछि बन्ने कुमारी बैंकको सञ्चालकमा आफ्नो छोरालाई पनि राख्नु पर्ने र हरिसिद्धीको जग्गा आफुले पाउनु पर्ने माग राख्दै आएका छन् । त्यसैका लागि पनि उनले मुद्दा दर्ता गराएको स्रोतको भनाइ छ ।

‘मर्जरपछि पनि बैंकको नाम ग्लोबल आइएमई हुनुपर्छ, लाभांश पनि उत्कृष्ट दिन्छौं’

काठमाडाैं । ग्लाेबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक अफ काठमाण्डू(बिओके)सँग मर्जरपश्चात् पनि नाम ग्लाेबल आइएमई नै हुनुपर्ने बताएका छन् । शुक्रबार सम्पन्न बैंककाे १६ ‍औं वार्षिक साधारणसभा उनले मर्जरपछि बैंककाे नाम ग्लाेबल आइएमई नै राख्नु पर्ने बताएका हुन् । ‘मर्जर पश्चात् बैंकको नाममा कन्फ्युजन नहोस् भन्नको लागि सबै व्यवस्थापन मिलाएका छाैं, नाम परिवर्तन भयो भने सुरुवातदेखि नै सबै काम गर्नु पर्छ, सबैको सुझाव अनुसार ग्लोबल आइएमई बैंक नै राख्ने सहमति गर्नु पर्नेछ,’ उनले भने । ढकालले पुस १८ देखि २५ गतेभित्र बिओकेसँग एकीकृत कारोबार गर्न लक्ष्य रहेकाे जानकारी दिएका छन् । उनले मर्जरपछि बैंकले अहिले भन्दा धेरै लाभांश वितरण गर्ने पनि बताए । यस्तै, उनले हेड अफिसले मात्र सेवा दिएर सबै ग्लोबलको बैंकको सेवा राम्रो हुन नसक्ने बताए । ‘बैंक ठूलो भएका हुँदा ४० लाख ग्राहकलाई सर्भिस दिन सके सक्षम र सफल हुन सकिन्छ, व्यवस्थापन रहेका कर्मचारीलाई तत्काल सेवा तिब्र बनाउन सीईओ लगायत सबै कर्मचारीलाई निर्देशन छ,’ उनले भने । मर्जर पश्चात् बन्ने नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा रत्नराज बज्राचार्य रहने सहमति भएको छ। मर्जर पश्चात् बैंकको कूल पुँजी ५२.२९ अर्ब, चुक्ता पूँजी ३४.४१ अर्ब, कूल निक्षेप ३८४ अर्ब, कूल कर्जा ३८० अर्ब सहित कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ ।

मर्जर र लाभांश प्रस्ताव पारित गर्न प्रभु बैंकले डाक्यो साधारण सभा, सेञ्चुरीलाई १:१ अनुपातमा गाभ्ने

काठमाडौं । मर्जर तथा लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रभु बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते २१ औंँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । सभाले बैंकको अधिकृत पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँबाट वृद्धि गरी २४ अर्ब रुपैयाँ पुर्याइने, बोनस सेयर वितरणकाश्चात् जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ । यस्तै, सञ्चालकहरुको भत्ता तथा सुविधा वृद्धि गर्न नियमावलीमा संसोधन गर्ने, प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र संयुक्त प्राप्ति समितिले गरेका निर्णय लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्नेछ । प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि चल अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपातमा वर्तमान बजार मूल्य, संस्थाहरुको व्यवसायिक अवसर तथा भविष्यको बजार विस्तारको सम्भावना समेतका विषयहरुको आधारमा सेञ्चुरी बैंकको १०० कित्ता सेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्नेगरी प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ । सेञ्चुरी बैंकलाई प्राप्तिपश्चात् बैंकको पूँजी संरचनामा परिवर्तन हुने हुँदा सो बमोजिम हुने गरी प्रबन्धपत्रका विभिन्न दफामा आवश्यक संशोधन, हरेफेर गर्ने, प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै संशोधन एवं परिमार्जन गर्न निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

मर्जर र लाभांश प्रस्ताव पारित गर्न सेञ्चुरी बैंकले डाक्यो साधारण सभा, १:१ स्वाप रेसियो

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा पुस १४ गते आर्मी क्लब भद्रकाली काठमाडौंमा बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ आषाढ मसान्तको वासलात र नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्सको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागी लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँको ४.७५ प्रतिशत अर्थात् ४५ करोड ३८ लाख १० हजार ६८६ रुपैयाँ बराबरको बोनस सेयर र ०.२५ प्रतिशत अर्थात् २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले बोनस सेयर जारी पश्चात् बैंकको पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम बैंकको प्रवन्धपत्र र नियमावली संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । प्रभु बैंक र सेञ्चुरी बैंकको सम्पत्ति, दायित्व तथा कारोवारको मुल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गर्ने भएको हो । अर्थात् सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले प्रभु बैंकको १०० कित्ता सेयर प्राप्त गर्नेछन् । यस्तै, एक्विजिसन गर्न सम्पत्ति तथा दायित्वको मुल्यांकनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक सम्पत्ति दायित्व तथा कारोवारको मुल्यांकन प्रतिवेदन, समझदारी पत्र र अन्तिम सम्झौता पत्रलाई अनुमोदन गर्नेछ । बैंकको आठौं वार्षिक साधारण सभाद्वारा निर्वाचित बैंकको सञ्चालक समितिको कार्यकाल बैशाख १ गतेसम्म कायम रहनेछ ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौता, कहिले होला एकीकृत कारोबार ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर प्रकियाको अन्तिम सम्झौता सम्पन्न भएको छ । मंगलबार बसेको दुवै बैंककाे संचालक समितीको बैठकले मर्जरमा जाने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेको हो । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकिसकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनालले बताए । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु ३४.४३ अर्ब रुपैयाँ हुनेछ ।

प्रभु बैंक र मर्चेन्ट क्यापिटलबीचको मर्जर/प्राप्ति सम्झौता रद्द

काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच भएको मर्जर/प्राप्ति सम्झौता रद्द भएको छ । यसअघि प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच मर्जर सम्झौता भएपनि अहिले सम्झौता रद्द भएको सूचना सार्वजनिक गरेका हुन् । ‘प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने सम्बन्धमा दुबै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएकोमा क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको च.नं.३८ / ०७९/८०, मिति २०७२ मंसिर १ गतेको पत्रबाट सो सम्बन्धी सबै प्रकृया स्थायीरुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेकाले यस बैंकको मिति २०७९ मंसिर ८ गते दिनको ४ः०० बजे बसेको सञ्चालक समितिको २६९औं बैठकले सो संस्थाको अनुरोध बमोजिम क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु,’ प्रभु बैंकले नेप्सलेलाई पठाएको सूचनामा भनिएको छ । अहिले प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरको तयारीमा छ । प्रभु र सेञ्चुरी बैंकबीच १ः१ को सेयर स्वाप अनुपातमा मर्जर सम्झौता भएको छ ।

मर्जरलाई अन्तिम स्वीकृति दिन एनसीसी बैंकको विशेष साधारण सभा आह्वान

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले मंसिर २५ गते अनमोल ब्याङक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे विशेष साधारण सभा बोलाएको हो । बैंकको सभाले कुमारी बैंकसँगको मर्जर गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, दुई बैंकबीच मर्जरका लागि तय भएको १ः१ सेयर अनुपातलाई पारित गर्नेछ । साथै, मर्जर प्रकृया पुरा गर्न आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

मर्जर प्रस्ताव पारित गर्दै अजोड इन्स्योरेन्स

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज हुँदैछ । कम्पनीको विशेष साधारण सभा आज मंसिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंसिर २ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । मर्जर प्रक्रियामा रहेका भएकाले साउन २ गतेदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । त्यसैले साउन २ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले सहभागी हुन पाउनेछन् । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच गत असार ३२ गते १००ः७० को अनुपातले मर्जर सम्झौता भएको थियो । अजोड इन्स्योरेन्सको १०० कित्ता बराबर प्रभु इन्स्योरेन्समा ७० कित्ता प्राप्त गर्नेछन् । मर्जरपछि अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठरहेनछन् भने प्रमुख कार्यकारी अधिकृतमा प्रभुका सञ्चित बज्राचार्य रहनेछन् ।

कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता, पुस १७ गतेभित्र एकीकृत कारोबार

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जानका लागि अन्तिम सम्झौता भएको छ । दुवै बैंकबीच बुधबार कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा मर्जरमा जानका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपात स्वाप रेसियोमा मर्ज हुने गरी अन्तिम सम्झौता गरेका हुन् । यद्यपी कुमारी बैंक र एनसीसी बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा फरक स्वाप रेसियो आएको भएपनि समान हैसियतमा मर्ज हुने सहमति भएको हो । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् । एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते प्रारम्भिक मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ । दुवै बैंकबीच एकीकृत कारोबार पुस १७ गतेभित्र गर्ने तयारी रहेको कुमारी बैंकका अध्यक्ष कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जेबी राणाले बताए । उनले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताएका छन् ।

‘मर्जरपछि लाभांशमा ‘नम्बर वान’ बैंक बन्ने लक्ष्य छ, अध्यक्षमा पनि दावी गर्छु’

साधारणसभा भनेको कमी कमजोरी थाहा पाउने र त्यसलाई सच्याउने थलो हो । साधारणसभा सेयरधनीहरुको नितान्त सार्वभौम स्थल हो । सेयरधनीहरुले देख्नुभएका गतिविधिहरुलाई प्रस्ट रुपमा राख्न पाउनु हुन्छ । सबैले सुझाव पनि दिनु भएको छ । ती सुझावहरुलाई मनन् गर्दै कार्यान्वयन गर्न तर्फ अग्रसर हुनछौं । म फरक बिद्याबाट बैंकिङ क्षेत्रमा आएको हुँ । सायद पूर्व जन्मको बरदान वा सराप हुन सक्छ, एनसीसी बैंकको अध्यक्षका रुपमा भूमिका निर्वाह गर्ने । तर, मैले यसलाई बरदानको रुपमा लिएको छुँ । मेरो जीवनलाई सार्थक बनाउन यसले ठूलो भूमिका निर्वाह गरेको छ । यो अवसर दिनु भएकोमा सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । सबै सेयरधनीहरुको जिज्ञासा आफ्नो लगानीको सुरक्षा र प्रतिफल कस्तो आउँछ भन्ने विषयमा नै केन्द्रित छन् । भोलिका दिनमा यो सम्पत्ति कति सुरक्षित रहन्छ र यसले कति नाफा दिन सक्छ भन्ने धारणा नै सेयरधनीहरुले राख्नु भएको छ । यो विषय स्वभाविक रुपमा उठ्नु पर्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । आगामी दिनका गतिविधिहरु सफल बनाउन सरल तरिकाले अगाडि बढाउने प्रयास हुनेछ । अहिले गत आर्थिक वर्षको साधारण सभामा समीक्षा भएको हो । गत वर्षमा एनसीसी बैंकको स्प्रेडदर कम भएको स्वभाविक हो । त्यसले गर्दा केही हदसम्म नाफामा हिट गरेको हो । यसमा हाम्रो ध्यान केन्द्रिकृत भएको छ । यस वर्ष एनसीसी बैंकको स्प्रेडदर राष्ट्र बैंकले तोकिएको सीमा ४.४ रेसियोको नजिक पुग्छ । जसले नाफालाई योगदान गर्नेछ । निश्चित रुपमा एनसीसी बैंकको केही सम्पत्ति नन बैंकिङ एसेट (एनबिए)को रुपमा छ । त्यसलाई डिस्पोजल गर्न केही नीतिगत प्रक्रियामार्फत् तत्काल सम्भव नभएका कारण बाँकी छ । नन प्रफर्मेन्स एसेटहरु एनबिएको रुपमा रहेको छ । अरु पनि आइरहेको देखिन्छ । यी दुवै विषयलाई ध्यानमा राखिएको छ । नीतिगत रुपमा गर्नुपर्ने कामहरु अन्तिम प्रक्रियामा छन् । त्यो सफल भएपछि डिस्पोजल गर्ने अर्काे प्रयास पुरा हुनेछ । नन प्रफमेन्स एसेटलाई कम गर्न अहिलेको विषम परिस्थितीले हिट गरिरहेको छ । बैंकको खर्च पनि कम गर्ने योजना छ । बैंकको केन्द्रिय कार्यालय बनाउनका लागि खर्च भएको छ । राष्ट्र बैंकले मर्जरलाई कडाइका रुपमा अगाडि नल्याएको भए मर्जर प्रक्रिया हुँदैनथ्यो । एनसीसी बैंकले पार्टनर खोज्नका लागि धेरै बैंकसँग कुरा पनि गरेको हो । मर्जरका लागि पार्टनर नभेटिएपछि केन्द्रिय कार्यालयको स्पेस चाहियो भनेर अघि बढेको हो । थापाथलीमा रहेको रोटरी क्लबको भवनलाई केन्द्रिय कार्यालयको लागि ३ वटा फ्लोर लिने भनेर सम्झौता भएको थियो । यही बीचमा नेपाल राष्ट्र बैंकले मर्जरको नीतिलाई कडाइ गर्याे । त्यसपछि एनसीसी बैंकले पनि मर्जर प्रक्रिया अघि बढायो । यो अवसरलाई एनसीसी बैंकले पनि लिनुपर्छ भन्ने भयो । कुमारी बैंकसँग सम्झौता भयो । मर्जरमा गएपछि त्यो भवनलाई रद्द गरेको हो । त्यसको लागि केही शुल्क तिर्नु पर्यो । मर्जर नहुँदा आवश्यक थियो । मर्जर भएपछि त्यसलाई रद्द गरियो । पहिला सिलोन बैंक थियो । पछि एनसीसी बैंकको रुपमा आयो । एनसीसी बैंकले २०७२/७३ सालमा ४ वटा विकास बैंकहरुलाई मर्ज गरेको थियो । त्यसबेलामा नयाँ बैंकको नाम के हुन सक्छ भन्ने सन्दर्भमा एनसीसी बैंकका सेयरधनीहरुले कुमारी बैंकको नामलाई समर्थन गरेको थियो । यही साधारण सभामा उपस्थित हुनु भएका साथीहरु पनि त्यो बेलाको साधारण सभामा उपस्थित हुनुहुन्थ्यो । त्यो उपस्थित भएको साधारण सभामा कुमारी बैंकलाई एनसीसी बैंकका सेयरधनीहरुले स्वीकार गरेको थियो । यसपटक पनि एउटा नामको बारेमा बसेर छलफल गर्ने भनिएको थियो । कि कुमारी बैंक कि एनसीसी बैंक हुनुपर्छ भन्ने हामीहरुको प्रयास थियो । एनसीसी बैंक हुनुपर्छ र कुमारी बैंक हुनुपर्छ भनेर दुवै बैंकका सञ्चालकबीच बादविवाद पनि भयो । कुमारी बैंकका सञ्चालकहरु नामको विषयमा कम्प्रमाइज हुने अवस्था थिएन । एनसीसी नाम नछोड्दा मर्जरमा जाने अवस्था थिएन । एनसीसी बैंक राख्नु पर्छ भनेर प्रयास गरेको हो । तर, उहाँहरु नाममा कम्प्रमाइज हुनु भएन । मर्जरलाई निकास निकाल्नु पर्ने र मर्जर आवश्यकता भएकाले नाम छोड्नु परेको हो । राष्ट्र बैंकबाट मर्जको विषयमा एक हदसम्म सुझाव आएको थियो । जुन सुझावलाई इग्नोर गर्न सक्ने अवस्था पनि थिएन । एनसीसी बैंकलाई यस्तो परिस्थिती आएको थियो । मर्ज गर्दा कुमारी बैंकको नाममा सहमति ब्यक्त गरिएको हो हो । यसको मतलब नाम छोडेर अन्य कुरा लिन खोजेको भन्ने होइन । अध्यक्षमा एनसीसी बैंकको पनि दावी छ । दुवै बैंकको सञ्चालकको सहमतिबाट अध्यक्ष चयन गर्ने सहमति भएको छ । सञ्चालकमा ३/३ जना हुनेछ । मर्जर पश्चात् सञ्चालकमा को जाने भनेर बोर्डले निर्णय गर्नेछ । तर, हालसम्म को जाने भनेर एकिन भएको छैन । मर्जरपश्चात् अध्यक्षको चयन गरिनेछ । एनसीसी बैंक फलानो बैंकसँग मर्ज हुन खोज्यो तर हुन सकेन भनेर बाहिर चर्चा हुँदा ‘लिगल इन्स्यू’ बन्न सक्ने भयो । त्यसैले आन्तरिक रुपमा मर्जर प्रक्रियामा अभ्यास गरिएको थियो । यस पटक सेयरधनीहरुसित यो बैंकसँग यतिमा मर्जर हुँदैछ भन्ने कुरा नगरेको यहि कारण हो । तर, जसले चासो राखेर सोध्नु भएको थियो, सम्भावित बैंक यी हुन् भनेका थियौं । किनभने सबै बैंकसँग प्रयास गरेका थियौं । जो मर्जरका लागि कुरिरहेका थिए तर हामीसँग कति ‘विलीङ’ राख्दथे भन्ने हो । मर्जर गर्न उनीहरु तयार थिए तर एनसीसीसँग होइन भन्ने कुरा पनि बुझ्नुपर्छ । एनसीसी बैंकको मर्जर कमिटिसँग वान टू वान वार्ता गर्न सबै बैंकले आफैले ढोका ढकढक्याएका थिए । सबैसँग ढोका ढकढक्याउँदै जाँदा पाएको पार्टनर कुमारी बैंक हो । मर्जरपछि पनि एनसीसी बैंकले सीईओ रहनेछन् । एनसीसी बैंकको स्वामित्व, अपनत्व नरहने हो की भन्ने कुरा नसोचे पनि हुन्छ । किनभने सेयरधेनीको सेयर हैसियत स्वाप रेसियो १ः१ अनुपात नै हो । कसैलाई पनि आर्थिक रुपमा फाइनल नाफाको रुपमा तात्विक असर पर्ने छैन । यो विषयमा पनि ध्यान दिएको छ । किनभने धेरै डाउन साइजको स्वाप रेसियोमा मर्जरमा जान नसक्ने धेरै साथीहरुको भावनाबाट बुझिएको थियो । डीडीए रिपोर्ट आइसकेको छ । डीडीएपछि मर्जर कमिटिले स्वाप रेसियो १ः१ अनुपात पास गरिसकेको छ । एनसीसी बैंकको बोर्ड बैठकले डीडीए रिपोर्टलाई बन्द गरिसकेको छ । डीडीए रिपोर्टमा कुमारी बैंकको १ सय आएको थियो भने एनसीसी बैंकको ९६.५९ आएको थियो । तर, यसलाई १ः१ अुनपातमा मर्जर हुने भनेर मर्जर कमिटिले पारित गरिसकेको छ । मर्जरमा जाँदा केही ठाउँमा शाखा कार्यालय बन्द गर्नु पर्नेछ । महानगरपालिका र ठूलो मार्केट भएको स्थानमा शाखा पुनःस्थानान्तरण गर्ने योजना छ । यसो गर्दा एनसीसी बैंकका २०/२२ वटा शाखा बाहेकअरु शाखा कायम रहन्छन् । यसले गर्दा विजनेशमा कुनै असर गर्दैन । विजनेशलाई हेरेर नै उपयुक्त ठाउँमा शाखा ब्यवस्थापन गरिएको हो । मर्जरमा जाँदा पीडा छ । कही न कही साथीहरुको भावनात्मक रुपमा जोडिएको विषय बुझेको छु । केही कुराहरुको प्यार्टन परिवर्तन हुन्छ । रुट खोज्दा त्यो रुट कहिल्यै बिर्सिदैन पनि । आजको दिनमा गर्व गर्ने हो । २७ वटा वाणिज्य बैंकबाट मर्ज हुँदै २०/२१ वटा हुन्छन् । त्यसबेला कहाँनेर छौं भनेर हेर्ने हो । टप फाइभ भित्र पर्याै भने गर्व महसुस हुन्छ । तर एक्लै भएर अन्तिम नम्बर भयो भने गर्व गर्ने कुरा हुँदैन । बजारले निर्धारण गर्ने विषयलाई बजारलाई छोड्नुपर्छ । मर्जरपछि पूँजीमा टप फाइभमा भित्र हुन्छ । मर्जर प्रक्रियामा रहेका बैंकहरुमध्ये मर्जर पछि टप फाइभमा हुनेछ । मर्जरपछि पनि लाभांश वितरणमा टप फाइभ भित्र हुनुपर्छ । यो भन्दा कम हुनुहुँदैन । नम्बर वाने बन्ने प्रयास गर्ने हो । यो लक्ष रोखेका छौं । अर्काे वर्ष सेयरधनीहरुको हातमा यो वर्षको भन्दा धेरै लाभांश पर्नेछ भन्ने निश्चित गराउँछु । सेयरधनीहरुको लगानी पूर्ण रुपमा सुरक्षित रहनेछ । सँगसँगै कर्मचारीले खाइपाइ आएको सुविधामा कमी हुने छैन । कर्मचारीको सेवा सुविधाको ग्यारेन्टी छ । (एनसीसी बैंकका अध्यक्ष न्यौपानेले शुक्रबार बैंकको २५औं वार्षिक साधारण सभामा राखेको विचार )