फिफा विश्वकपमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

काठमाडौं । कतारमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विजेता बनेको हो । यससँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । लुसिल स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरेका थिए । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गर्न सफल भए ।

विश्वकप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा

काठमाडौं । कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् । बुधवार भएको खेलमा २–० गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् । विश्वकपको इतिहासमा पहिलोपटक अफ्रिकी मुलुक मोरक्को सेमिफाइनलमा पुगेर फ्रान्ससँग आमनेसमाने भएकामा उनीहरू हर्षित थिए । ‘फ्रान्ससँग पराजित भए पनि मोरक्कन फाइनलमा हामीसँगै हुनेछन्, यो जित सबै फ्रान्सेली भाषीको हो,’ मध्यप्यारिसको बास्टिल स्क्वायर नजिक विजय उत्सवमा सहभागी २२ वर्षीय एड्रिन भिग्नाउले ‘डिफेन्डिङ च्याम्पियन’ क्रोएसियालाई हराएर सेमिफाइनलमा मोरक्को पुग्नु ठूलो उपलव्धि भएको उल्लेख गर्दै भने । मोरक्कन टोलीको आँसु उनीहरूको उत्कृष्ट प्रदर्शनले पुछेको उनले बताए । फ्रान्स र अर्जेन्टिनाबीचको फाइन खेलको व्यग्र प्रतीक्षामा आफू रहेको बताउँदै उनले अर्जेन्टिनी ‘स्टार’ खेलाडी लियोनल मेस्सीको प्रहार र प्रस्तुति पनि रोचक हुनेमा आफू ढुक्क रहेको जनाए । प्रतिद्वन्द्वी भएपनि उनको प्रहार गर्ने शैली आकर्षक रहेको उनले बताए ।

विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो । फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचाँै मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए । त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए । उनी ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । यसअघि फ्रान्स क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो । यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । फाइनल खेल आइतबार हुनेछ ।

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को फ्रान्सलाई पराजित गर्दै एतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ । यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएर मोरक्कोले सेमिफाइनलमा स्थान बनाएको हो । आजको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । गए राति अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएर फाइनल यात्रा तय गरेको छ ।

फिफा विश्वकप फुटबल : सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १–० को जित हासिल गरेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलअन्तरले हराएको थियो । क्रोएसियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनल यात्रामा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इङ्ग्ल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको इतिहास छ ।

फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २(१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । रासस

विश्वकप फुटबल : रङ्गशालाको प्यारापिटमा पत्रकारको मृत्यु

एजेन्सी । प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको त्यहाँस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ । विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर सङ्कलनका क्रममा रङ्गशालाको पत्रकार दिर्घामा मृत्यु भएको हो । अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको रोमञ्चक खेलको अतिरिक्त समयमा पत्रकार दिर्घामा ढलेका ग्रान्टलाई उनीसँगै बसेका पत्रकारहरूले सहयोगका लागि आह्वान गरेका थिए । आपतकालीन सेवाका कर्मचारीले तत्काल उनलाई अस्पताल पुर्याए पनि त्यसअघि नै उनको मृत्यु भएको सञ्चारर्मीलाई बताइएको थियो । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिता आयोजक समितिले पत्रकार ग्रान्टलाई तत्काल एम्बुलेन्समा हालेर हमाद जनरल अस्पताल लगिएको तथा त्यहाँ उनको आपत्कालीन उपचार गरिएको जनाउँदै उनको परिवारको इच्छाअनुसार शव फिर्ता गर्ने प्रक्रिया सुनिश्चित गर्न अमेरिकी दूतावास र सम्बन्धित स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएको छ । यद्यपि फिफाले उनको मृत्युको कारण सार्वजनिक गरेको छैन । गत बुधबार उनले ट्वीट गर्दै त्यो दिन आफ्नो ४८ औँ जन्मदिन मनाएको बताएका थिए । अमेरिकी फुटबल महासङ्घले एक विज्ञप्तिमा निकालेर मानव अधिकार प्रवद्र्धनलाई अगाडि बढाउन खेलकुद क्षेत्र शक्तिशाली हुनेमा उनी विश्वस्त रहेको बताउँदै फुटबल खेलाडी र प्रेमीका निम्ति उनी प्रेरणाका स्रोत थिए भनेको छ । उनको निधनबाट महासङ्घ निराश भएको वक्तव्यमा उल्लेख छ । ग्रान्ट आफ्नो खेलपत्रकारिता ‘करिअर’को आठौं विश्वकपको समाचार सङ्कलनमा व्यस्त थिए । अघिल्लो सोमबार उनले आफ्नो वेबसाइटमा अस्वस्थताका कारण चिकित्सकहाँ गएको लेखेका थिए । निद्रा नपुगेको र धेरै कामले तनाव भएको उल्लेख गर्दै उनले संयुक्त राज्य अमेरिका र नेदरल्याण्ड्सबीचको खेल भएको दिन आफ्नो छातीको माथिल्लो भागमा असहज भएको बताएका थिए । केही दिनअघि मात्र ग्रान्टलाई फिफा र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले लगातार आठटा विश्वकप खेलको समाचार सङ्कलन एवम् सम्प्रेषण गरेकामा सम्मान गरिएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उनको निधनबाट विश्वभरका खेलपत्रकार मर्माहत भएका र उनको योगदान संसारले सम्झइरहने बताएका छन् । यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले ग्रान्ट वाहलको मृत्युको खबरले अमेरिकी सरकार मर्माहत भएको बताउँदै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रवक्ता प्राइसले ग्रान्टको परिवारको चाहना यथाशीघ्र पूरा गर्न कतारका वरिष्ठ अधिकारीहरूसँग निकट सम्पर्कमा रहेको जनाएका छन् । पत्रकार ग्रान्टकी श्रीमती डा। सेलिन गाउन्डर न्यूयोर्क युनिभर्सिटी स्कूल अफ मेडिसिनमा अध्यापन गर्छिन । बेलेभ्यु अस्पताल केन्द्रमा चिकित्सक र सिबीएस न्युजमा पनि उनी कार्यरत छन् । उनले आफ्ना पतिको असामयिक निधनमा समवेदना एवम् सहानुभूति प्रकट गर्ने ‘फुटबल परिवार’ का साथै सबैप्रति आभार व्यक्त गर्दै आफूमाथि ठूलो बज्रपात भएको बताएकी छन् ।

फिल्म हलमा विश्वकप फुटबल नदेखाउन चलचित्र बोर्डको निर्देशन

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिए । ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची–७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको खण्ड–७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तबमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरेका छौँ’, अध्यक्ष केसीले भने । बोर्डले नियमको पालना नगरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिँदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र सङ्घलाई समेत दिएको छ ।

कोका–कोलाले ७ जना नेपालीहरूलाई कतार रंगशालामा विश्वकप हेर्ने मौका प्रदान गर्यो

काठमाडौं । वल्र्डकप २०२२ को लागि कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासीहरुलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वल्र्डकप हेर्ने अवसर प्रदान गरेको छ । आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशीएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरुप कम्पनीले उक्त पहल लिएको कोका–कोला नेपालले जनाएको छ । फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वल्र्डकप हेर्न पाउनु आफुहरुको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोका–कोला प्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् । कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौं ।’ कोका–कोलाले यो भन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरुलाई कतार–नेपाल दुईतर्फी हवाइ टिकटको व्यवस्था गरिदिएको थियो जसले गर्दा उनीहरुले निकै लामो समयको अन्तराल पछि आफ्नो परिवारसँग बसेर दसैंँ तिहार मनाउने अवसर पाएका थिए ।

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं ।  ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि (क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४ (१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४(० ले अग्रता लियो । खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४(१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो । यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

‘विश्वकपको उपाधि जित्ने आफ्नो सपनामा केन्द्रित भएको छु’ एमबाप्पे

एजेन्सी । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ । २३ वर्षीय र एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्वकपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ । ‘म विश्वकपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गोल्डेन बुटबारे सोचिरहेको छैन’, पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले भने । उनले भने, ‘मेरो एकमात्र उद्देश्य विश्वकप जित्नु हो । अहिले क्वार्टरफाइनल सबैभन्दा महत्वपूर्ण कुरा हो । यो एक मात्र चीज हो जसले मेरो विश्वकप जित्ने सपना साकार पार्न सक्नेछ । म यहाँ विश्वकप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरु केही होइन ।’ एमबाप्पेले आइतबारसम्म आफूले सञ्चारमाध्यमसँग कुरा नगर्नुको कारण पनि स्पष्ट पारेका छन् । उनले भने, ‘पत्रकारप्रति मेरो व्यक्तिगत कुनै आपत्ति छैन । मैले फुटबल र प्रतियोगितामा मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ । म कुनै कुरामा ध्यान केन्द्रित गर्नका लागि अपनाउने तरिका मात्र हो ।’ उनले भने, ‘म यो प्रतियोगिताका लागि तयार हुन चाहन्थें र अहिलेसम्म सबै कुरा राम्रो भइरहेको छ । तर हामी अझै पनि हाम्रो लक्ष्यबाट धेरै टाढा छौं र अब हामीले क्वार्टरफाइनलमा ध्यान केन्द्रित गर्नु पर्दछ’, उनले भने, ‘क्वाटरफाइनलमा पुग्न पाउँदा हामी निकै खुसी छौं । पोल्याण्डको विरूद्धमा खेल्नु एक कठिन क्षण थियो ।’ ‘हामीले कडा टोलीसँग खेल्यौं र खेलको समयमा महत्वपूर्ण समयमा गोल गर्न सफल भयौं । यद्यपि, अझैपनि हामीले राम्रो खेल्न सकेनौं, हामीले जित्यौं र हामी खुसी छौं’, उनले भने ।

विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३(० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३(० ले जित्यो । इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २ (१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन । प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ । यसअघि आजै भएको अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)

सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि क्वाटर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् । साथै आजबाट प्रि क्वाटर फाइनलका खेलहरु शुरु हुँदैछन् । विश्वकप फुटबल मध्यपूर्वमा र यस समयमा हुन लागेको यो पहिलो पटक हो । यससँगै कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो । यतिबेला कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरुको भीड विश्वभर नै छ । नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । यतिसम्मकी होटल, रेष्ुटराँ मात्रै होइन, सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन । यस पटकको विश्वकप विगतको भन्दा धेरै नै रोचक बनिरहेको पनि छ । किनभने फुटबलका महारथी मानिने देशहरु कमजोर मानिएका देशहरुसँग पराजित भइरहेका छन् । जसकारण नकआउट चरणमा पुगेका देशहरुको समीकरण पनि हेर्न लायक बनिरहेको छ । आफ्नो मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर भएपनि समर्थकहरु विश्वकपका हरेक खेलहरु हेर्न छुटाउँदैनन् । घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले पनि होला आजभोलि काठमाडौं उपत्यकाका विभिन्न होटलहरु राति पर्यटकहरुले होइन, विश्वकप हेर्नेहरुले भरिभराउ देखिन्छन् । होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्वकपको मज्जा लिन युवाहरु चुक्दैनन् । होटलहरुले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सिमित भने छैन । जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरुको जमात पनि बाक्लै छ । फोटो : न्युज एजेन्सी नेपाल ।

एनआईसी एशियाले विश्वकप खेलको सही विजेता अनुमान गर्नेलाई २ हजार रुपैयाँ दिने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने ग्राहक मध्ये प्रत्येक खेलमा ५ देखि १० जनाले ५०० देखि २ हजार रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ । २० लाख पटक भन्दा बढी डाउनलोड भैसकेका एनआइसी एशिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् । काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौं । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर खेलको ४६औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोड्यो । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो । त्यसैगरी गए राति कतारको लुसाइल रङ्गशालामा सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित ग¥यो । खेलको ४७औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५२औँ मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे । समूह ‘सी’ बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । चार अङ्क जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने तीन अङ्क जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुङ्गायो ।

विश्वकप फुटबल प्रतियोगिता : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा फोडेनले गोल गर्दै इङ्ग्ल्याण्डलाई २–० को अवस्थामा पु¥याए । खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३–० को सहज जित दिलाए । जितसँगै इङ्ग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ । वेल्स भने एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । त्यसैगरी कतारको अलथुमामा रङ्गशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ । इरान तीन अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

विश्वकप फुटबल : समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा

काठमाडौं । पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले नायक बने । खेलको ५४औँ मिनेटमा बु्रण्नोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बु्रनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए । उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । पोर्चुगलले २ खेलमा छ अङ्क जोडेको छ । पराजित उरुग्वेको १ अङ्क छ । त्यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘जी’ मा ब्राजिल नकआउट चरणमा पुगेका छ । कतारको स्टेडियमा ९७४ मा गए राति भएको खेलमा स्वीट्जरल्याण्डलाई १–० गोलअन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो । यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अङ्क जोडेको छ । समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा छ । स्वीट्जरल्याण्ड दुई खेलमा तीन अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

कम्प्युटर/ल्यापटपमा यसरी हेर्न सकिन्छ सित्तैमा विश्वकप फुटबल

एजेन्सी । कतारमा विश्वकप २०२२ चलिरहेको छ । विश्वकप अझै झण्डै डेढ महिनासम्म सञ्चालन हुनेछ । संसारका धेरै मानिसहरुले फुटबल खेल हेर्न र खेल्न मन पराउँछन् । त्यसमध्ये हामी धेरै नेपालीहरु पनि फुटबल विश्वकप हेर्न मन पराउँछौं । शुल्क वा पहुँचका कारणले विश्वकप हेर्न रुची भएका धेरै दर्शकहरुले विश्वकपको लाइभ हेर्नबाट बञ्चित भइरहेका छन् । विगतमा जस्तै यसपालीको विश्वकप भने हामीले टेलिभिजनको पर्दामा निःशुल्क हेर्न पाएनौं । नेपालमा मिडिया हबले विश्वकप प्रसारण गर्ने इजाजत लिएर निश्चित च्यानलमार्फत् श:शुल्क प्रसारण गरेको छ । टिभी च्यानल प्रदायक संस्थाहरुसँग पैसा तिरेर मात्रै उक्त च्यानलमार्फत विश्वकपको लाइभ हेर्न सकिन्छ । धेरै नेपालीको पहुँचमा विश्वकप पुग्नै सकेन भन्ने गुनासो पनि छ । जसको घरमा टिभी छैन् तर मोबाइल छ र टिभी छैन तर कम्प्युटर वा ल्यापटप छ भने उसलाई पैसा खर्च नगरेरै विश्वकप घरमै बसेर हेर्ने सुविधा छ । यदि तपाईंलाई थाहा छैन भने हामीले त्यो जानकारी दिन खोजिरहेका छौं । मोबाइलबाट निःशुल्क विश्वकप हेर्नका लागि केही एप्लिकेसन सुविधाहरु छन्, जसको बारेमा हामीले पहिले नै सामग्री प्रकाशन गरिसकेका छौं । त्यो थाहा पाउन तपाईंले याे लिंकमा क्लिक गरेर पढ्न सक्नु हुन्छ । यदि तपाईंसँग कम्प्युटर वा ल्यापटप र इन्टरनेटको सुविधा छ भने तपाईंले सजिलोसँग एचडी क्वालीटीमा नै पैसा खर्च नगरीकन विश्वकप हेर्न सक्नुहुन्छ । त्यसको लागि तपाईंलाई स्पोर्ट फ्याक्ट डट नेटले त्यो सुविधा दिएको छ । स्पोर्ट फ्याक्ट डट नेट खेलकुदका कार्यक्रम हेर्ने धेरै ठूलो प्लेटफर्म हो । यो प्लेटफर्म सञ्चालन गर्नको लागि भिपिएनको व्यवस्था पनि गर्नुपर्दैन र यो साइट अवैधानिक पनि होइन । सो साइटबाट सित्तैमा विश्वकप हेर्नको लागि साइटले होम पेजमा नै विश्वकपको लाइभ खेलको सेड्युल राखेको छ । जहाँ सो दिन हुने खेलहरुको क्रमशः लिस्ट राखिएको छ र खेलको समय पनि दिइएको छ । विश्वकप सम्बन्धी रुची हुने भएपछि खेलको तालिका र समयको विषयमा पनि तपाईं पक्कै सुसुचित हुनुपर्छ । त्यसैले जुन खेलको लाइभ भइरहेको छ त्यसमा क्लिक गर्नुभयो भने तपाईंले आनन्दले ल्यापटप वा कम्प्युटरको स्क्रिनमा नै फुटबल विश्वकप हेर्न सक्नुहुन्छ । माथि उल्लेखित साइट बाहेक पनि सम्बन्धित साइटको सदस्यता सस्क्राइब गरेर र भिपिएनको प्रयोग गरेर निःशुल्क रुपमा फुटबलको विश्वकप हेर्न सकिने धेरै नै वेबसाइटहरु रहेका छन् । जसलाई तपाईंले गुगल सर्च गरेर भेटाउन सक्नुहुन्छ । मिडिया हबले भने विश्वकप प्रसारण गर्ने निःशुल्क साइटहरुलाइ नेपालमा प्रतिवन्ध लगाउनुपर्ने माग गरिरहेको छ । त्यसको लागि सरकारमार्फत् पहल गरिरहेको मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले बताए । उनले सरकारले एथेस्ट पहल नगरे फिफामार्फत् पनि सरकारलाई दबाब दिन लगाउने आफूहरुको तयारी भएको बताए । साथै उनले मिडिया हबले सबै दर्शकहरुले सजिलोसँग विश्वकप हेर्नको लागि मोबाइल एप्लिकेसनको पनि लञ्च गर्न लागेको जानकारी दिए ।

हुन्डाई टेस्ट ड्राइभका विजेताहरू विश्वकप हेर्न कतार उडे

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ । नयाँपाल बहादुर पाण्डे अभियानकाे विजेता घाेषित भएका छन् । उनले विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन् । यसैगरी, कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई कतारका लागि बिदाइ गरेको छ । हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने अवसर दिइएको थियो । यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन् । दुवै विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरिसकेकाे कम्पनीले जानकारी दिएकाे छ ।