जब शुभमले ई–सेवाको कर्मचारी बनेर आईफोन–१७ किने...

काठमाडौं । ई–सेवाको कर्मचारी भन्दै ‘रिवार्ड पोइन्ट’को प्रलोभन देखाएर ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

मंगलबार प्रहरीले राैतहटको माधवनारायण नगरपालिका– २ का २२ वर्षीय शुभम साहलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीले जानकारी दिए ।

साहले ‘तपाईंको ई–सेवामा धेरै रिवार्ड पोइन्ट रहेको छ, किन प्रयोग नगर्नुभएको ? भन्दै ९७७–९७६३५७१८१२ नम्बरबाट विभिन्न व्यक्तिलाई पटक–पटक फोन गर्ने गर्थे । उनले काठमाडौंस्थित याक एण्डको इन्टरप्राइजेजको मोबाइल नम्बर ९८०२०३४३२३ मा सम्पर्क गरी पीडितलाई ई–सेवा चेक गर्न लगाएका थिए।

फोनमा निर्देशन दिएपछि पीडितको मोबाइलमा आएको ओटीपी समेत प्रयोग गरी उनले पीडितको खाताबाट एक लाख ९८ हजार ४९९ रुपैयाँ इभोलुससन ट्रेडिङको ई–सेवा आईडीमा ट्रान्सफर गरेका थिए । उनले पैसा पाएपछि आईफोन–१७ मोबाइलसमेत खरिद गरेका थिए ।

साहको साथबाट ४ वटा मोबाइल फोन, ४ वटा सिमकार्ड तथा ठगी प्रयोजनका लागि तयार पारिएका १ सय ५३ जनाको ई–सेवा आईडीसँग सम्बन्धित मोबाइल नम्बरको विवरण बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध विद्युतीय माध्यमसम्बन्धी ठगी अपराधमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार साह यसअघि पनि यस्तै प्रकृतिका दुई वटा ठगी मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन्। 

प्रहरीले यस्ता फोन कल, रिवार्ड पोइन्ट तथा ओटीपी सम्बन्धी प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Share News