२ महिनामा ३९.१५ अर्ब रुपैयाँ राजस्व सङ्कलन, जेनजी आन्दोलनले १ दिन ठप्प
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले चालु आवको २ महिनासम्म कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९०.९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए । ‘साउन महिनामा कार्यालयले १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । जेनजी समूहको आन्दोलनले भदौ महिनाको १ दिन राजस्व सङ्कलन ठप्पजस्तै हुँदा पनि राजस्व सङ्कलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३.९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ,’ उनले भने । वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा २ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते १ खर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै भदौ २८ गते १ अर्ब ७१ करोड रुपैयाँ र भदौ ३१ गते भने १ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते ३ करोड रुपैयाँ, भदौ २५ गते भने शून्य राजस्व सङ्कलन भएको छ । त्यस्तै भदौ २६ गते ६ करोड रुपैयाँ र भदौ २७ गते भने ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्याे भने भदौ महिनामा भने २० अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरूको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । बुधवार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो माग गरेका हुन् । उनले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भीर क्षति पुर्याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराए । उनले भने, ‘आगामी दिनमा जुन सुरक्षा दिने कुरा छ, यो एकदमै महत्त्वपूर्ण छ । जबसम्म सुरक्षाको इन्स्योरेन्स हुँदैन तबसम्म लगानीको सम्भावना छैन । अहिले भएको आगजनी तथा तोडफोडको निष्पक्ष ढंगले छानविन गरेर कारबाही गर्नुपर्छ । २०४६ यताका सबै प्रकारका आन्दोलनमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’ महासंघले उद्योग व्यवसाय सञ्चालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । अध्यक्ष ढकालले निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।
जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छ : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताएका छन् । बुधबार अपरान्ह सो आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । काठमाडौंमा मात्रै नभएर सो आन्दोलनको क्रममा देशभर ठूलो क्षति भएको मन्त्री घिसिङको भनाई थियो । उनले क्षतिग्रस्त भवनहरुको पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियाननै संचालन गर्ने कार्ययोजना रहेको पनि बताए । मन्त्री घिसिङले भने, ‘पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ । देशविदेशमा रहेका सबै नेपाली जनताहरुले देशलाई समृद्धितर्फ ल्याउनलाई हामीले पनि योगदान गर्नुपर्छ भन्ने यो अभियान हुनेछ । त्यसबाट नपुगे सरकारले अरु पनि व्यवस्था गर्छ । यहाँ काठमाडौंमा मात्र होइन, देशभरी क्षति भएको छ । त्यो क्षतिको जुन एसिस्मेन्ट छ । त्यो चाँडै आउँछ ।’ मन्त्री घिसिङले सरकारले क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कामलाई पनि अघि बढाएको बताए ।
जेनजी आन्दोलनकर्ताले लुटे बैंकको १८ केजी सुनसहित ३८ करोड, राष्ट्र बैंकको डिभिजनमा पनि क्षति
काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरकाे नगद र सुन लुटिएको बताए । उनका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरेर ३७/३८ करोड रुपैयाँ लुटिएको छ । राष्ट्र बैंकको केही डिभिजनमा पनि क्षति पुर्याएको उनको भनाइ छ । ‘राष्ट्र बैंक परिषर बाहिर एनआरएनए भवनमा आक्रमण हुँदा सो भवनमा रहेका डिभिजनमा क्षति पुगेको छ । तर, कोर काम भएको ठाउँमा भने आक्रमण भएको छैन । तर, बैंकका ६८ वटा शाखा कार्यालय र ६९ वटा एटीएम मेसिनमा क्षति पुगेको छ,’ उनले भने, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरी ३७/३८ करोड रुपैयाँ लुटिएको छ ।’ सो शाखाबाट लुटपाट गर्नको अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘लुटेर पनि कहाँ लैजाला र ? सिसिटिभी हेरिरहेका छौं ।’ यस्तै, नबिल बैंकको चाबहिल शाखा, राष्ट्रिय वाणिज्य बैंककै दुहबी शाखा आक्रमण गर्न गएपनि धेरै क्षति नभएको उनले बताए । तर, अन्य ठाउँमा बैंकलाई लक्षित गरेर भन्दा पनि सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा आगजनी र तोडफोड गर्दा बैंकका शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुगेको उनको भनाइ छ । ‘बैंकहरू नै लुट्ने नै भन्दा पनि भाटभटेनीभित्र रहेको एटीएम तोडफोड गरिएका छन् । उनीहरुको उद्देश्य एटीएम भन्दा पनि भाटभटेनी थियो,’ उनले भने, ‘सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा रहेका बैंकको शाखा र एक्सटेन्सन काउण्टरमा आक्रमण भएको छ । तर, बैंक नै आक्रमण गरौं भनेर गएको भने देखिँदैन ।’ जेनजी आन्दोलनको समयमा भुक्तानी प्रणाली नियमित र डिजिटल पेमेन्ट एकछिन पनि नरोकिएको उनको दाबी छ । उनका अनुसार निक्षेपकर्ताहरुको निक्षेप सुरक्षित छ । लकरमा राखिएको पैसा सुरक्षित छ । बैंक खातामा राखेको रकम जोखिममा छैन ।
जेनजी आन्दोलनले एमालेलाई ३ अर्बको क्षति, ९४ कार्यालयमा आगजनी
काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा नेकपा एमालेका केन्द्रीय कार्यालयदेखि ६९ जिल्ला, सातै प्रदेश कार्यालय, केही पालिका र वडा कार्यालयसहित ९४ भन्दा धेरै कार्यालयहरूमा क्षति पुगेको छ । आक्रोशित भीडको निशानामा परेको ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय पूर्ण रूपमा क्षति भएको छ । नेकपा एमालेका देशैभरिका धेरै कार्यालयहरूमा आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेको पार्टीका संगठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उक्त आन्दोलनमा परेर नेकपा एमालेको करिब ३ अर्ब रुपैयाँ बराबरका भौतिक संरचनामा अनुमानित क्षति भएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार यो प्रारम्भिक अनुमान मात्रै हो । क्षतिको आँकडा अझै धेरै बढ्न सक्छ । भौतिक क्षतिको त अनुमान गर्न सकिएला तर अभिलेखहरूको विनासले अपुरणीय क्षति पुगेको ती नेताले बताए । पछिल्लो जेनजी आन्दोलन सुरुमा शान्तिपूर्ण नाराबाजीमा सीमित थियो । आन्दोलनले हिंसात्मक स्वरूप लिँदै जादा युवा आक्रोशले पार्टी संरचनालाई निशाना बनायो । केन्द्रीय कार्यालयमा गरिएको आगजनीले पार्टीको अभिलेख, सदस्यता विवरण, वित्तीय हिसाबकिताब, पुस्तकालय र सूचना–प्रविधि उपकरण नष्ट भएको दलको इतिहास र सञ्चालन एकैपटक हराएको ढुङ्गेलले बताए । प्राविधिक मूल्यांकन अनुसार करिब तीन अर्ब रुपैयाँको क्षति देखिएको छ । तर, असली असर भने संगठनात्मक उपस्थिति र जनविश्वासमा परेको छ । कार्यालयहरु नष्ट हुँदा पार्टीका स्थानीय सम्पर्क केन्द्रहरू ठप्प भएका छन् । त्यसमाथि पार्टीका अन्य रचनात्मक कार्यमा लाग्नुपर्ने नेता कार्यकर्ता पार्टी कार्यालय खोज्न वा नवनिर्माणमा लाग्नुपर्ने अवस्था आएको छ । धेरै जिल्लामा अस्थायी टेन्ट, भाडाको कोठा वा नेताहरूको निजी घरबाट गतिविधि चलाउन बाध्य हुनुपरेको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए । यो घटना केवल तत्कालीन प्राविधिक चुनौती मात्र नभएर दीर्घकालीन संगठनात्मक संकट सृजना गर्ने उद्देश्यले अभिप्रेरित रहेको एमालेको ठहर छ । एमाले सचिव गोकर्ण विष्ट यस आक्रमणले एमालेलाई अझ बलियो बनाएको बताउँछन् । यस आक्रमणलाई उपमहासचिव प्रदीप ज्ञवालीले नियोजित प्रहारको संज्ञा दिएका छन् । यो प्रहार एमाले सिद्याउने उद्देश्य प्रेरित रहेको ज्ञवालीको ठहर छ । ‘एमाले जनताको पार्टी हो, यसलाई कसैले सकाउने दुस्वप्न नदेखे हुन्छ,’ ज्ञवाली भन्छन्, ‘एमाले फोनिक्स चरी हो जो खरानीबाट जुरुक्क उठ्छ । र अझ जवान र सक्रिय हुन्छ ।’ तर केही राजनीतिक विश्लेषकहरूको दृष्टिमा यो आन्दोलनले दिएको सन्देश केवल विध्वंसमा मात्रै सीमित छैन । युवापुस्ताको पुराना दलप्रति गुमेको विश्वासको रूपमा पनि बुझ्नु पर्ने विश्लेषकहरूको मत रहेको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजाल यो क्षतीलाई परिपूरण गर्न नसके पनि पार्टीका संरचनाहरूमा भएको विनाशलाई पुराना राजनीतिक संरचनालाई सुधार्न बाध्य बनाउने चेतावनीको रूपमा बुझेर अगाडि बढ्नुको विकल्प नरहेको बताउँछन् । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे एमाले अब एकैपटक तीन मोर्चामा उत्रन बाध्य भएको बताउँछन् । उनका अनुसार एमालेले तत्कालै तत्कालीन भौतिक पुनःनिर्माणका लागि ‘पुनःनिर्माण कोष’ स्थापना गर्दै पार्टीका भौतिक संरचना निर्माणमा लागि हाल्नुपर्ने अवस्था आएको छ । आगामी निर्वाचनको तयारीमा पनि आजैबाट गर्नुपर्ने पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पाण्डे बताउँछन् । कहाँ कस्तो क्षति ? एमालेले आफ्ना विभिन्न कार्यालयमा भएको क्षतिको विवरण संकलन गरिरहेको छ । संगठन विभाग सचिवसमेत रहेका एमाले नेता माधव ढुङ्गेलका अनुसार सातै प्रदेशका अध्यक्षहरुले आआफ्नो प्रदेश मातहत रहेका कार्यालयहरुमा भएको क्षतीको बिवरण तयार गरिरहेका छन् । ढुङ्गेलले भने, ‘सम्भवतः आज अबेर रातिसम्म क्षतिको प्रारम्भिक विवरण एमाले केन्द्रीय कमिटीमा आइपुग्छ ।’ प्रदेश अध्यक्ष तथा नेताहरूले दिएको जानकारीअनुसार मधेश प्रदेशमा एमालेका संरचनामाथि धेरै आक्रमण भएको छ । एमाले मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलका अनुसार मधेश प्रदेश पार्टी कार्यालय पूर्णरूपमा क्षति भएको छ । धनुषा जिल्ला कार्यालय पनि शतप्रतिशत जलेको छ । महोत्तरी र सिराहामा प्रदर्शनकारी पुग्नु पहिले नै एमालेका स्थानीय नेता/कार्यकर्ता पार्टी कार्यालयमा पुगेर आन्दोलनकारीलाई रोक्न सकेकाले कार्यालय जोगाउन सकिएको मण्डल बताउँछन् । मधेश प्रदेशका आठ जिल्लामध्ये ६ जिल्लाका पार्टी कार्यालय, एक प्रदेश कार्यालय, १० पालिका कार्यालयमा आगजनी र तोडफोड भएको उनले जानकारी दिए । सुदूरपश्चिमको पनि प्रदेश कार्यालय चार जिल्लाका कार्यालयमा तोडफोड र आगजनी भएको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । कैलाली, कन्चनपुर, दार्चुला र बैतडीका जिल्ला पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ भने झुलाघाटको स्मारक पनि भत्काइएको छ । कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार झापा, मोरङ, सुनसरी, उदयपुर, तापलेजुङ र इलामका जिल्ला कार्यालयसहित प्रदेश कार्यालयमा पूर्ण आगजनी र तोडफोड गरिएको छ । यस्तै, इटहरी, धरान उपमहानगरपालिका कमिटीका कार्यालय पनि नष्ट भएको छ । खतिवडाका अनुसार कोशीमा ६ जिल्ला कार्यालय, एक प्रदेश कार्यालय, १० पालिका कार्यालय र १० भन्दा धेरै वडा कार्यालय भत्काइएको वा आगो लगाइएको छ । बागमतीको भक्तपुरमा एमालेको आफ्नो कार्यालय नभएर भाडाको घर भएकोले आगलागीबाट जोगिएको एमाले बागमतीका अध्यक्ष कैलाश ढुङ्गेलले जानकारी दिए । उनका अनुसार रामेछापमा नयाँ भवनमा सरी नसकेकोले उक्त भवन पनि नष्ट हुनबाट जोगिएको छ । च्यासलमा रहेको प्रदेश कार्यालयसहित काठमाडौं, ललितपुरका जिल्ला कार्यालय जलाइएका छन् । चितवन, मकवानपुरका जिल्ला कार्यालय ध्वस्त भएको ढङ्गेलले बताए । उनका अनुसार बनेपाको कार्यालय पनि जलाइएको छ । गण्डकी प्रदेशमा कास्की जिल्ला कार्यालयसहित तनहुँ, गोरखा, स्याङ्जा, नवलपुर म्याग्दीका जिल्ला कार्यालय पूर्ण रूपमा क्षति भएको एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले जानकारी दिए । गण्डकीमा पोखरा उपमहानगर पार्टी कार्यालय र प्रदेश कार्यालय पनि पूर्ण क्षति भएका छन् । यस्तै, गण्डकीमा ४ वटा वडा कार्यालय पनि जलाइएको छ । लुम्बिनी र कर्णालीमा पनि एमालेका थुप्रो संरचनामा आक्रमण भएको ती प्रदेशका नेताहरूले जानकारी दिएका छन् । एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार पाल्पा, रुकुम, रोल्पाका जिल्ला कार्यालयबाहेक अरू सबै जिल्लाका पार्टी कार्यालय जलाइएको छ । प्रदेश कार्यालयसहित ९ वटा जिल्ला कार्यालय र ४ पालिका कार्यालय र ९ वडा कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको छ । कर्णालीमा पनि सुर्खेतमा रहेको प्रदेश कार्यालयसहित सुर्खेत, जुम्ला, कालीकोट जिल्ला कार्यालयमा आगजनी भएको कर्णालीका एमाले नेता टेकराज पछाईले जानकारी दिए ।
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पोस्टमार्टम सकिएसँगै ज्यान गुमाएका शहीदहरुको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । शव यात्रामा गृहमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो । द्वय मन्त्रीहरूले मृतकको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । आन्दोलनमा ७० जना भन्दा बढीले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरी बलले मृतकलाई सलामी अर्पण गरी सम्मान व्यक्त गरेका छन् । सरकारले आन्दोलनमा मृत्यु हुनेहरुलाई शहीद घोषणा गरी जनही दश लाख नगद राहत स्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।
जेनजी आन्दोलनमा काठमाडौंमा एक हजारभन्दा बढी सरकारी गाडी जले
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा मात्रै एक हजारभन्दा बढी सरकारी सवारीसाधनमा आगजनी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । विभिन्न सरकारी निकायहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार आन्दोलनका क्रममा ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे गरी कुल १ हजार ०४२ वटा सरकारी सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् । यद्यपि, अधिकारीहरूले दुईपांग्रे सवारीसाधनको संख्यालाई तुलनात्मक रूपमा न्यून भएको बताएका छन् । सरकारी तथा निजी सवारीसाधनमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको कुल आर्थिक क्षतिको मूल्याङ्कन गर्न अझै केही समय लाग्ने सरकारी अधिकारीहरूको भनाइ छ । विवरणअनुसार सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारीसाधन नष्ट भएका छन् । त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा गाडी जलेका छन् । यस्तै, शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी आगजनीबाट नष्ट भएका छन् । भदौ २३ गतेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि उच्चपदस्थ कर्मचारीहरूले सरकारी सवारीसाधनहरूलाई कार्यालय परिसरमै पार्किङ गर्न निर्देशन दिएका थिए । तर, भदौ २४ गते आन्दोलन अझ हिंसात्मक बनेपछि सिंहदरबार परिसरभित्र र बाहिरका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट र आगजनीका घटना घटेका थिए । त्यसक्रममा आगो लागेका सवारीसाधनहरू अहिले पनि सरकारी कार्यालय परिसरहरूमा देखिन सकिन्छ ।
मानवअधिकार आयोगको नौ बुँदे आह्वान : जेनजी आन्दोलनका मृतकको शवपरीक्षण र राहतमा जोड
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलल सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परीक्षण, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायत कार्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख छ । ‘देश, जनता, लोकतन्त्र, मानवअधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकार भएकाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउनु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्नुपर्छ ।’ आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न, द्वन्द्व र हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन र आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रियाअनुरूप शिष्टतापूर्वक राख्न आयोगले आग्रह गरेको छ । विकसित परिस्थितिमा आमनागरिकको मानवअधिकारको उपभोगमा आइपर्ने अवरोध पहिचान गरी त्यस्ता अवरोध हटाउन प्रभावकारी कार्य गर्नुपर्ने र सङ्कटको अवस्थामा हुनसक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गर्न आयोगको आग्रह छ । दैनिक उपभोग्य सामग्री र सेवालाई सहज रूपले सञ्चालन गर्ने आवतजावतलाई सहज बनाउनुपर्नेमा जोड दिएको छ । ‘प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षति विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’
जेनजी आन्दोलनका शहीद धिरजका परिवारलाई भेट्दै पौडेलले भने - शहीदको बलिदान खेर जान दिने छैन
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका धिरज श्रेष्ठका परिवारलाई भेटेका छन् । आन्दोलनका क्रममा ज्यान गुमाएका श्रेष्ठका परिवार निवासमा पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरे । उनले आफूले जेन जी आन्दोलनका माग पूरा गराउन सरकारमा रहँदा प्रयत्न गरेको भए पनि सफल नभए पछि राजीनामा दिएको बताए । नेता पौडेलले दुःखद् घटनाको निष्पक्ष छानविनका पक्षमा आफू रहेको भन्दै भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा धिरजजस्ता जेनजी युवाहरुले पाएको सहादतको मूल्यांकन हुने बताए । ‘धिरजबाबु र उनीजस्ता शहीदहरुको बलिदान खेर जान दिने छैन,’ उनले भने ।
जेनजी आन्दोलनले पर्यटन सिजनमा ठूलो संकट, पुनरुत्थानमा चुनौती
काठमाडौं । भदौ २२ र २३ गते दुई दिन जेनजी प्रदर्शनीले गर्दा अहिले देश संकटको अवस्थाबाट गुज्रिरहेको छ । प्रदर्शनीको क्रममा सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । यो आन्दोलनको कारण नेपालको पर्यटन क्षेत्रमा समेत गहिरो असर पारेको छ । आन्दोलनले ल्याएको उथलपुथलका कारण नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगमा ठूलो धक्का पुगेको छ । पर्यटन सिजनको सुरुवातमै देशमा संकटको अवस्था सिर्जना हुँदा पर्यटन व्यवसायी चिन्तित छन् । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटन क्षेत्रको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यो समयमा अरू समयमा भन्दा बढी पर्यटन नेपाल आउने गर्छन् । विशेषगरी पर्वतारोहण, पदयात्रालगायतका लागि हजारौं विदेशी पर्यटक आउने गर्छन् । पर्यटन सिजनको सुरुवातमै निम्तिएको यो संकटले नेपालको पर्यटन क्षेत्र अत्यन्तै कठिन परिस्थितिमा रहेको व्यवसायीहरू बताउँछन् । होटल संघ नेपाल (हान), नेपाल पर्वतारोहण संघ (हान), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) लगायत पर्यटनसँग सम्बद्ध संस्थाहरूले हालको अवस्थाले निम्तिएको संटक र समाधानको लागि चाल्नुपर्ने प्रयासबारे विज्ञप्ति नै जारी गरेका छन् । हानका अनुसार आन्दोलको क्रममा हिल्टनसहित दुई दर्जन होटलमा ठूलो क्षति पुगेको छ । हिल्टन होटलमा मात्रै ८ अर्ब रुपैयाँको क्षतिको अनुमान गरेको छ । यसरी देशभर करिब २५ अर्बभन्दा बढी क्षतिको प्रारम्भिक आंकलन हानले गरेको छ । धेरैजसो होटलहरू मर्मतसम्भार, पुनः निर्माण नगरी सञ्चालनमा आउन सक्ने अवस्था छैन । हानका अध्यक्ष विनायक शाह २ हजारभन्दा बढी होटलमा कार्यरत कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर पर्ने देखिएको बताउँछन् । पर्यटन क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएको र आन्दोलनले धेरै ठूलो असर पारेको पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पा सुनाउँछन् । ‘पर्यटन क्षेत्र एकदमै संवेदनशील विषय हो,’ अध्यक्ष शेर्पाले भने, ‘अलिकति मात्रै घटना हुँदा पनि यसको असर पर्यटन क्षेत्रमा परिहाल्छ ।’ नेपालमा जेनजी आन्दोलनको कारण सिर्जित संकटले पर्यटकहरु आत्तिएको र टिकट बुकिङ क्यान्सिल हुने क्रम बढेको अध्यक्ष शेर्पाले बताए । ‘पर्यटन सिजनमा आउनुपर्ने विदेशीहरू आउन सकेका छैनन्, यहाँ आउनेहरू पनि जानको लागि हतार छन् । पहिले बुकिङ गरिसकेकोहरूले पनि रद्द गर्न थालेका छन् । यो गम्भीर विषय हो,’ उनले भने । अहिले सिर्जित समस्याले विश्वमा नकारात्मक सन्देश गएको छ । यसले नेपालमा भित्रिने पर्यटकको संख्यामा पनि कमी आउन अध्यक्ष शेर्पाको भनाइ छ । उनले यो सिजन मात्रै गुमाउँदा त्यसको असर नेपालकै अर्थतन्त्रमा पुग्ने बताउँछन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके नेपालको पर्यटनलाई सधै केही न केही घटनाक्रमले असर गरिरहेको विचार राख्छन् । ‘कहिले राजनैतिक अस्थिरता, बाढीपहिरो, भूकम्पजस्ता घटनाले पर्यटनलाई असर गरिरहेको छ, अहिले झन् यो आन्दोलनले पर्यटनलाई थप असर पुगेको हामीले महसुस गरेका छौं,’ उनले भने । आन्दोलनकारीले निजी होटलहरूलाई पनि टार्गेट गरेर क्षति पुर्याएको जसको कारण विश्वका पर्यटकमा नेपालको बारेमा नकारात्मक सन्देश पुगेको अध्यक्ष चुके सुनाउँछन् । ‘विदेशबाट आएको चेन होटलले राम्रो गरिरहेको थियो, यसरी आज नष्ट हुँदा विश्वमा नेपालको बारेमा राम्रो सन्देश गएको छैन,’ उनी भन्छन् । अहिलेको अवस्थामा नेपालमै भएका पर्यटकलाई घुमाउन नसक्ने स्थिति भएको र आउन चाहने पर्यटकले पनि बुकिङ क्यान्सिल गर्ने संख्या बढेको छ । पुनरुत्थानमा चुनौती कोरोना महामारीपछि बल्लतल्ल उठ्न थालेको पर्यटन उद्योगमा यो आन्दोलनले अर्को ठूलो चुनौती थपेको छ । व्यवसायीहरूका अनुसार पर्यटन क्षेत्र उठ्न अब फेरि केही वर्ष समय लाग्ने भएको छ । अध्यक्ष चुके अहिले सिर्जित परिस्थितिको कारण नेपालको पर्यटन क्षेत्रलाई पुनः ५/७ वर्ष पछि धकेलेको बताउँछन् । उनी अहिलेको सिर्जित परिस्थितिले होटलको अकुपेन्सी झन् घट्न पुग्ने उनले बताए । ‘अहिले होटलको औसत अकुपेन्सी ३० प्रतिशत छ, आन्दोनलको कारण सिर्जित परिस्थितले अबको दिनमा अकुपेन्सी १०/१५ प्रतिशतमा आउने अवस्था हुन्छ,’ उनी भन्छन् । होटलको व्यवसायमा संकुचन आउँदा कर्मचारीलाई तलब खुवाएर राख्न नसक्ने र हटाउन पनि नमिल्ने हुँदा व्यवसायीलाई सस्टेन हुन गाह्रोउनले सुनाए । अध्यक्ष चुके जेनजीले उठाएको माग नयाँ सरकारले छिटो सम्बोधन गर्नुपर्ने र नेपालको पर्यटन प्रवद्र्धनको लागि निकासा दिनुपर्ने सुझाव दिन्छन् । अध्यक्ष चुकेले भने, ‘हामीले यो परिस्थितिलाई केही समय थेग्न सक्छौं, तर लामो समय जान सकिँदैन । यो परिस्थितिमा हाम्रो त्यस्तो माग छैन । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको लागि निकास निकाल्नुपर्यो ।’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का वरिष्ठ उपाध्यक्ष जिश्वान तुलाधर श्रेष्ठले संसारकै सबैभन्दा ठुलो चेन होटल हिल्टनमा क्षति पुग्नु भनेको पर्यटन क्षेत्रको लागि निकै दुःखदायी रहेको औंल्याएकी छन्। कुनै पनि घटनाले सुरुमा पर्यटन क्षेत्र प्रभावित हुने उल्लेख गर्दै श्रेष्ठ भन्छिन्, ‘नेपालमा होस् या कुनै पनि ठाउँमा संकट आउँदा सबैभन्दा पहिला असर पुग्ने क्षेत्र भनेको पर्यटन हो र सबैभन्दा पछि उठ्ने भनेको पनि यही पर्यटन नै हो ।’ पर्यटन सरकारको दृष्टिमा पहिलो प्राथमिकता नपर्ने हुँदा यसको असर अझ बढी व्यवसायीहरूले भोग्नुपर्ने उनको गुनासो छ । ‘यो बेलामा पर्यटकहरू नेपाल आउन डराइरहेका छन्, फ्लाइट क्यान्सिलको कुरा धेरै आइरहेको छ, उनले भनिन्, ‘दुई दिन फ्लाइट रोक्दा धेरै पर्यटक रोकिएका छन्, उहाँहरूलाई एकैचोटि मोबिलाइज गर्न सक्दैन ।’ उनका अनुसार कोभिडपछि बल्लबल्ल उठ्न लागेको पर्यटन क्षेत्र फेरि यो आन्दोलनको कारण केही वर्ष पछि धकेलिएको छ । आन्दोलनले सिर्जित अन्योलताको वाबजुत पनि व्यवसायीहरूले पर्यटकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गरेको श्रेष्ठले सुनाइन् । पर्यटकहरूको सुरक्षाका लागि समूह नै बनाएर काम गरेको उनले बताइन् । साथै कहाँ कुन होटलमा केकस्तो छ त्यसको अवस्था र तथ्यांक बुझ्ने काम भइरहेको उनको भनाइ छ । ‘हामीले हिल्टन, बर्नबास जस्ता होटेलहरूमा के कस्तो अवस्था छ भन्ने तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भनिन्, ‘यसका साथै हामीले पर्यटकहरू र हाम्रो सदस्यहरूलाई आवश्यक सहयोग प्रदान गरिरहेका छौं ।’ अहिले नियमित उडान भएको हुँदा यात्रुहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्याउनको निम्ति वायुसेवा कम्पनीसँग समन्वय भइरहेको उनले जानकारी दिइन् । क्यान्सिलभन्दा पोस्टपोन्डमा जोड आन्दोलनको क्रममा केही बुकिङहरू रद्द भए पनि पर्यटन सम्बद्ध निकाय र व्यवसायीहरूले क्यान्सिल गर्नुको सट्टा पोस्टपोन्ड (मिति सार्न) अनुरोध गरिरहेका छन् । विदेशी पर्यटकहरूलाई नेपालमा सिर्जित परिस्थिति सामान्य हुँदै गएको र पर्यटकहरू पूर्ण रूपमा सुरक्षित रहेको विश्वास दिलाउने प्रयास गरिरहेका नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणि लामिछानेले बताए । निर्देशक लामिछानेका अनुसार पोखरालगायत पर्यटकीय क्षेत्रमा कुनै समस्या छैन र पर्यटकहरू सुरक्षित रहेका छन् । होटेल र रेस्टुरेन्टहरूले विशेष सतर्कता अपनाएर पर्यटकलाई सेवा दिन समन्वय गरेको उनको भनाइ छ । निर्देशक लामिछानेले भने, ‘सिजनको समयमा देशमा सिर्जित समस्याले पर्यटनमा ठुलो असर परेको छ नै । धेरैले बुकिङ क्यान्सिल गर्न खोजिरहनुभएको छ, कतिले आफ्नो यात्रा छोट्याउन खोजिरहनुभएको छ । तर हामीले क्यान्सिलभन्दा पोष्टपोन्ड गर्न सुझाव दिइरहेका छौं ।’ लामिछानेले आन्दोलनको सुरुको २/३ दिन पर्यटकलाई असहज भएपनि अहिले धेरै सामान्य हुँदै गएको जानकारी दिए । सुरक्षा र समन्वयमा जोड नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक (सीईओ) दीपक जोशीले अहिलेको अवस्थामा पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । उनले सबैभन्दा धेरै पर्यटक काठमाडौं र पोखरामा रहेको र उनीहरुलाई सुरक्षित बसोबास र निश्चित गन्तव्यसम्म पुर्याएको जानकारी दिए । ‘व्यक्तिगत रूपमा पर्यटकलाई क्षति पुगेको छैन । केही होटलहरूमा क्षति पुग्दा त्यहाँ भएका पर्यटकहरूमा त्रासपूर्ण वातावरण चाहिँ सिर्जना भएको छ,’ सीईओ जोशीले भने, ‘ हामीले पर्यटकलाई सुरक्षित साथ राखेका छाैं, आफ्नो देश फर्कन चाहनेलाई सुरक्षितसाथ एयरपोर्टसम्म पुर्याएका छाैं ।’ बोर्डले अहिलेको संकट परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर पर्यटन व्यवसायीसँग भर्चुअल छलफल गरेको जोशीले बताए । साथै तत्काल रिकभरीको लागि के कसरी अघि बढ्ने भनेर रणनीति बनाउने तयारीमा बोर्ड जुटेको जोशीले जानकारी दिए । देशमा सिर्जित अहिलेको परिस्थितिले नेपाल भित्रिने पर्यटकको संख्या घट्ने सहजै अनुमान गर्न सकिन्छ । साथै होटलमा लगानी गर्ने लगानीकर्ता पनि निराश बनेका छन् । सीईओ जोशीका अनुसार यो संकटको अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय पर्यटन सम्बद्ध निकाय, डायस्पोरालगातसँग समन्वयसमेत भइरहेको छ ।
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय, परिवारलाई १० लाख सहयोग
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्ने भएको छ । आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् । सरकारले प्रत्येक शहीदका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
जेनजी आन्दोलनपछि बैंकका सीईओ र उद्योगी व्यवसायीसँग गभर्नरको भेट
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । जेनजी आन्दोलनपश्चात के कति क्षति भयो र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर डा.पौडेलले बैंकर र उद्योगी व्यवसायीहरूसँग छलफल गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार गभर्नर पौडेलले नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । ‘वर्तमान परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको हो । साथै भेटमा के कस्तो समस्या भयो र कति क्षति भएको छ भन्ने विषयमा गभर्नरले जानकारी लिनु भयो,’ प्रवक्ता न्यौपानेले भने । उनका अनुसार धेरै लामो छलफल भएको छैन । छोटो भेट गरेर वर्तमान विषयमा जानकारी लिने काम मात्रै हो ।
जेनजी आन्दोलनले होटल क्षेत्रमा २५ अर्बको नोक्सान भएको अनुमान, पर्यटकले बुकिङ रद्द गर्न थाले
काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनले हिंसात्मक रुप लिँदा त्यसको प्रत्यक्ष असर पयर्टन क्षेत्रमा पनि परेको छ । पर्यटन व्यवसायीहरुले आन्दोलनले यो क्षेत्रमा ठूलो क्षति भएको बताएका छन् । होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले अहिलेको अवस्थाले पर्यटन क्षेत्रमा विकराल अवस्था आएको बताए । उनले भने, ‘यो एउटा आकस्मिक अवस्था हो । जब देशभर कफ्र्यू लाग्छ, विमानस्थल बन्द हुन्छन्, पसलहरू बन्द हुन्छन्, तब देश नै ठप्प हुन्छ, यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ ।’ उनका अनुसार पर्यटनको मुख्य सिजन सुरु हुनै लाग्दा आन्दोलन हुँदा थप ठूलो नोक्सान हुनेछ । उनले आन्दोलनकै कारण ‘बुकिङ भइसकेको होटल पनि रद्द हुने क्रम सुरु भएको बताए । जेनजी आन्दोलनका क्रममा देशैभरिका करिब दुई दर्जन होटलमा ठूलो क्षति पुगेको अध्यक्ष शाहको भनाइ छ । उनका अनुसार तोडफोड, आगजनी र लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षतिसहित देशभर करिब २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । जसकारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ । काठमाडौंको लागि ठूलो लगानीको रूपमा विकास गरिएको हिल्टन होटल सञ्चालनमा आएको एक वर्ष नपुग्दै जलेर ध्वस्त भएको छ । २०७८ साल साउन १८ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरेको यो होटलमा जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगो लगाएपछि पुरै ध्वस्त भएको हो । हिल्टन काठमाडौंको सबैभन्दा ठूलो होटल हो । यो होटल शंकर ग्रुपको हो । ८ अर्ब ३५ करोड रुपैयाँ लगानीमा होटल निर्माण भएको थियो । यस्तै, काठमाडौंको बालुवाटारमा रहेको वर्णवास होटलमा पनि आगजनी भएको छ । जसको सञ्चालक राजेन्द्र बजगाईं हुन् । पोखराको बगैचा रिसोर्ट र सरोवर होटलमा पनि ठूलो नोक्सानी भएको छ । अन्य नोक्सान हुने होटलहरूमा पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डका होटलहरू रहेका अध्यक्ष शाहले बताए । उनले यी होटलहरू मर्मतसम्भार र पुनर्निर्माण नगरिकन सञ्चालनमा आउन नसक्ने भएकाले चाडपर्वको मुखमा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर परेको बताए । जेनजी आन्दोलनले राष्ट्रिय सम्पदाको संरक्षणमा गम्भीर प्रश्न खडा गरेको छ । अध्यक्ष शाह भावुक हुँदै भन्छन्, ‘हाम्रो धरोहरमा आगलागी भएको छ । यस्तो हुनु हुँदैन, हामीलाई त यो भोलिको लागि पनि चाहिन्छ । ’ उनका अनुसार यस्तो अस्तव्यस्त अवस्थामा पर्यटकहरूले ठूलो असहजता भोगिरहेका छन् । एयरपोर्ट बन्द हुनु, आवतजावतमा रोक लाग्नु र आधारभूत आवश्यकता पूरा गर्न पनि समस्या हुनुले उनीहरूको नेपाल बसाइ कष्टकर बनेको छ । ‘अहिले क्षतिको मूल्याङ्कन गर्ने बेला होइन,’ शाह भन्छन्, ‘मेरो अगाडि पर्यटकहरू अलपत्र परेका छन्, उनीहरूलाई कसरी खानेकुरा र पानी पु¥याउने भन्ने चिन्ता छ । हामी अहिले त्यसैमा केन्द्रित छौं ।’ पर्यटन व्यवसायीहरूले अहिले सेनाको सहयोग र सहकार्यमा अलपत्र परेका पर्यटकहरूलाई सुरक्षित राख्न र उनीहरूको व्यवस्थापन गर्न हरसम्भव प्रयास गरिरहेको होटल एसोसिएसन अफ नेपालका महासचिव साजन शाक्यले बताए । उनका अनुसार क्षतिग्रस्त होटलहरूले बैंक तथा वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रूपमा भुक्तानी गर्न असमर्थ रहने अवस्था सिर्जना भएको छ । होटल एसोसिएसन अफ नेपालले यी होटलहरूलाई मर्मतसम्भार र पुनःनिर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर पर्यटन विकासको क्षेत्रलाई अघि बढाउन माग गरेको छ । शाक्यका अनुसार घुम्ने र रमाइलो गर्ने उद्देश्यले आएका पाहुनाहरूलाई सुरक्षित र सहज वातावरण प्रदान गर्नुभन्दा अर्को ठूलो प्राथमिकता छैन । उनले भने, ‘यो संकटले नेपालको पर्यटन उद्योगमा दीर्घकालीन असर पार्ने निश्चित छ । अहिलेको तत्कालको प्राथमिकता भनेको सबै पर्यटकलाई सुरक्षित राख्नु र उनीहरूको आधारभूत आवश्यकता पूरा गर्नु हो ।’ भविष्यमा नेपालले पर्यटकहरूका लागि एउटा सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश कसरी दिन्छ भन्ने कुरामा ठूलो चुनौती रहेको उनको भनाइ छ । यसका लागि देशमा शान्ति स्थापना र क्षतिको पुनः निर्माण अपरिहार्य देखिएको महासचिव शाक्य बताउँछन् । पर्यटन विभागका निर्देशक हिमाल गौतम पनि जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताउँछन् । उनका अनुसार हालैको परिस्थितिपछि नेपालको पर्यटन क्षेत्र बिस्तारै सामान्य अवस्थामा फर्किनेछ । पर्वतारोहणका लागि परमिट लिएका पर्यटकहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् भने अन्य पर्यटकहरूको आगमनको क्रम पनि जारी छ । उनले प्रिबुक गरिएका भ्रमणहरू रद्द वा क्यान्सिल नभएको र यस विषयमा खासै आपत्ति नरहेको स्पष्ट पारे । परिस्थिति बिस्तारै सामान्य हुने अपेक्षा उनको छ । यद्यपि पछिल्लो समय पर्यटकहरूले अनुभव गरिरहेको चुनौती र केही पसल तथा होटलहरूमा आगजनीजस्ता घटनाबारे प्रश्न गर्दा अधिकारीले सरकार र सम्बन्धित निकाय सक्रिय रहेको जनाए । उनले भने, ‘यस अवस्थामा पर्यटक प्रहरीको भूमिका बढाइएको छ र पर्यटन बोर्ड, पर्यटन विभाग, मन्त्रालय तथा पर्यटन प्रहरीहरूले समन्वय गरी स्वयंसेवक परिचालन गरिरहेका छन् ।’ विशेषगरी एयरपोर्टबाट होटलसम्म र होटलबाट विभिन्न स्थानसम्म पर्यटकलाई पुर्याउन पर्यटक प्रहरी र टुरिजम बोर्डले सवारीसाधनको व्यवस्था गरेको छ । अहिलेको अवस्थामा पर्यटकहरूको सुरक्षा र सहजीकरणमा विशेष ध्यान दिइएको गौतमको भनाइ छ ।
अर्थशास्त्रीहरूहरू भन्छन्– ‘जेनजी आन्दोलन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर
काठमाडौं । अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा उल्लेखनीय क्षति बेहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध मुलुकभरबाट मानिसहरु एकसाथ जाग्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरु एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधनलगायतका विषय पछि जोडिएका हुन्,’ उनले भने, ‘अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनःनिर्माण, नयाँ लगानीको अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।’ उनले अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ती नभइ आन्तरिक रूपमा मानव सृजित समस्या भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको बताए । ‘यसप्रकारको अवस्था २०३६ साल र माओवादीको द्वन्द्वको समयमा पनि देखिएको थियो, तत्कालीन समयमा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो, सडक, पुलमा ठूलो क्षति हुनुका साथै सञ्चार सेवा नै अवरुद्ध भएको अवस्था थियो,’ उनले भने, ‘तर अहिले त्यो अवस्था छैन, त्यसैले हामीलाई फेरि उठ्नका लागि ठूलो समस्या हुन्छ भन्ने लाग्दैन ।’ पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएकाले उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको बताए । उनले यस प्रदर्शनले भ्रष्टाचार र कुशासन हटाउँदै शासकहरुलाई सच्चिनका लागि पनि सन्देश दिएको प्रतिक्रिया दिए । ‘जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रुप लियो, यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ,’ खनालले भने, ‘आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ ।’ खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरु रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए । तर यसका लागि सञ्चारमाध्यमले सूचना दिँदा सत्यतथ्य र संयमित हुन भने जरुरी रहेको उनको भनाइ छ । अर्थशास्त्री डा समर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे । ‘जेनजी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ’, उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो ।’ खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए । उनले भने, ‘अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।’ उनले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिए । उनले जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने बताए । ‘हामीले ल्याइरहेको विदेशी लगानी कुल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशतमात्रै हो, त्यो आफैमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन, बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ,’ उनले भने ।
जेनजी आन्दोलन र नयाँ नेपालको आवश्यकता
नेपालको सडकमा हालैको जेनजी आन्दोलनले पुरानो राजनीतिक सोचलाई हल्लाइदिएको छ। यो केवल युवाहरूको असन्तुष्टि मात्र थिएन, यो नयाँपुस्ताको जवाफदेही, पारदर्शी र सक्षम शासन चाहिन्छ भन्ने सन्देश थियो। यस आन्दोलनले नेपालको राजनीतिक संरचना र शासन प्रणालीमा व्यापक सुधारको आवश्यकता औंल्याएको छ । हामीले यसलाई केवल विरोधको रूपमा होइन, नयाँ अवसरको रूपमा हेर्नु जरुरी छ । अब लोकतन्त्रलाई बलियो, पारदर्शी र जनमुखी बनाउन आवश्यक सुधारहरूलाई अवलम्बन गर्नु अपरिहार्य देखिन्छ । यहाँ मैले प्रमुख सुधारका बुँदाहरू प्रस्तुत गरेको छु । १. लोकतान्त्रिक प्रणालीको निरन्तरता नेपालको वर्तमान लोकतान्त्रिक प्रणालीलाई पूर्णरूपमा विस्थापित नगरी आवश्यक सुधारसहित जारी राख्नुपर्ने माग बढ्दो छ । प्रणालीको स्थायित्वसहित कार्यक्षमता वृद्धि गर्नुपर्छ । २. संवैधानिक संशोधन र संस्थागत सुदृढीकरण पारदर्शिता, जवाफदेहिता र शक्तिको सन्तुलनलाई बलियो बनाउन संविधानमा आवश्यक संशोधन गरिनुपर्छ । यसले लोकतान्त्रिक संस्थाहरूलाई अझ प्रभावकारी र निष्पक्ष बनाउनेछ । ३. प्रादेशिक सरकार खारेजी र स्थानीय सशक्तिकरण महंगा र अप्रभावकारी प्रादेशिक सरकारहरूलाई हटाएर स्थानीय तहलाई सशक्त बनाउनुको माग व्यापक छ । यसले जनताको समस्या समाधानमा तीव्रता ल्याउने अपेक्षा गरिएको छ । ४. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली प्रधानमन्त्री वा सरकार प्रमुखलाई प्रत्यक्ष नागरिकबाटै निर्वाचित गर्ने प्रणालीले सरकारप्रतिको जनविश्वास र जवाफदेहितालाई बढाउनेछ। ५. प्रधानमन्त्रीको पदावधि सीमा कुनै पनि व्यक्तिले जीवनमा दुई पटकभन्दा बढी प्रधानमन्त्रीको पद धारण गर्न नपाउने व्यवस्था गरिनु लोकतान्त्रिक परम्परालाई स्वस्थ बनाउने उपाय मानिन्छ । ६. सांसदका लागि शैक्षिक योग्यता सक्षम र जानकार नेतृत्व सुनिश्चित गर्न सांसद बन्न न्यूनतम शैक्षिक योग्यता अनिवार्य गर्ने माग गरिएको छ । ७. योग्यतामा आधारित नियुक्ति राजनीतिक भागबन्डा अन्त्य गरी 'सही व्यक्तिलाई सही स्थानमा' राख्ने व्यवस्था लागू गर्नुपर्ने आवश्यकता छ । यसले दक्ष र नतिजामुखी प्रशासनिक संरचना तयार गर्नेछ । ८. गैर–राजनीतिक सामाजिक संस्था विद्यार्थी संघदेखि श्रमिक संघसम्म सबैलाई राजनीतिक प्रभावमुक्त बनाइ उनीहरूको वास्तविक उद्देश्यमा केन्द्रित गर्नुपर्ने सुझाव आएको छ । ९. आधुनिक एसओपी र पारदर्शी प्रशासन प्रशासनिक कार्यहरूका लागि स्पष्ट र आधुनिक मानक सञ्चालन प्रक्रिया (एसओपी) तयार गर्नुपर्छ। सरुवा, बढुवा र कारबाहीका मापदण्डहरू स्पष्ट हुनुपर्छ । १०. भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही मात्र होइन, सम्पत्ति समेत राष्ट्रियकरण गर्ने प्रावधान ल्याउनु जरुरी छ । ११. सूचनाको पूर्ण अधिकार नागरिकले राज्यका सबै निकायबाट निष्पक्ष र समयमै सूचना पाउने सुनिश्चितता हुनु लोकतन्त्रको आधार हो । १२. जनप्रतिनिधि फिर्ता गर्ने अधिकार काम नगर्ने, जनविश्वास तोड्ने वा भ्रष्टाचारमा लिप्त जनप्रतिनिधिलाई नागरिकले नै फिर्ता बोलाउने अधिकार सुनिश्चित गर्नुपर्छ । जेनजी आन्दोलनले देखाएको यो सुधारको खाका केवल माग मात्र होइन, नयाँ नेपालको मार्गचित्र हो । यी बुँदाहरू कार्यान्वयन भएमा लोकतन्त्र बलियो, पारदर्शी र जनमुखी हुनेछ । यसले राजनीति र शासन प्रणालीप्रति जनताको विश्वास पुनःस्थापित गर्नेछ र मुलुकलाई दीर्घकालीन स्थिरता दिनेछ ।
जेनजी आन्दोलनमा विदेशी पर्यटक सुरक्षित
काठमाडौं । भदौ २३ र २४ गते जेनजी पुस्ताले देशभर गरेको आन्दोलनमा सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । साथै ३० जना बढीले ज्यान गुमाएका छन् भने ३ सय भन्दा बढी घाइते भएका छन् । उक्त आन्दोलनमा नेपाल भ्रमणमा आएका कोही पनि विदेशी पर्यटकलाई क्षति नपुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले बताउँछन् । उनका अनुसार हिल्टनसहित केही होटलमा क्षति पुगेपनि पर्यटक भने सुरक्षित नै छन् । हिल्टनमा प्रदर्शनकारीले आन्दोलन गर्दा त्यहाँ फसेका पर्यटकलाई इमर्जेन्सी एक्जिटबाट सुरक्षितसाथ बाहिर निकालेका थिए । सीईओ जोशीले सबैभन्दा धेरै पर्यटक काठमाडौं र पोखरामा रहेको र उनीहरुलाई सुरक्षित बसोबास र निश्चित गन्तव्यसम्म पुर्याउने काम भइरहेको बताए । कुनै पर्यटकलाई क्षति नपुगे पनि केही होटलहरूमा तोडफोड र आगजनी हुँदा पर्यटकहरूमा त्रासपूर्ण वातावरण भने सिर्जना भएको उनको भनाइ छ । जेनजी आन्दोलनमा हिल्टनसहित एक दर्जनभन्दा बढी होटलहरूमा क्षति पुगेको छ । जसमध्ये हिल्टनमा सबैभन्दा धेरै क्षति पुगेको छ ।
जेनजी आन्दोलनले बैंकिङमा नयाँ अभ्यास, धमाधम क्रिटिकल कमिटी गठन
काठमाडौं । जेनजी आन्दोलनका कारण देश शून्य अवस्थामा झरेपछि बैंक तथा वित्तीय संस्थाहरुले सेवालाई निरन्तरता दिन क्रिटिकल कमिटी गठन गर्न थालेका छन् । संकटकालीन अवस्थामा क्रिटिकल कमिटी गठन गरेर बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ सेवालाई नियमित सुचारु गर्न थालेका हुन् । व्यावसायिक निरन्तरता योजना (बीसीपी) अन्तर्गत सीमिति कर्मचारी राखेर सीमित सेवा दिन नेपाल बैंकर्स संघको निर्णय र नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकहरुले क्रिटिकल कमिटी (संकटकालीन समिति) गठन गरी शाखा खुला गरेर सेवा दिन थालेको बैंकरहरु बताउँछन् । ‘हरेक बैंकको विजनेश कन्टिन्यूटी प्लान (व्यावसायिक निरन्तरता योजना) हुन्छ । सोही अनुसार बैंकहरुले एउटा कमिटी गठन गरेका हुन्छन् । क्रिटिकल (चुनौतीपूर्ण) समयमा क्रिटिकल कमिटी (समिति) बनेका हुन्छन् । यो सबै बैंकले बनाएका हुन्छन्,’ एक बैंकरले भने, ‘नेपाल बैंकर्स संघको निर्णय र राष्ट्र बैंकको निर्देशन बमोजिम १० बजेदेखि २ बजेसम्म शाखा खुला गरेर सीमित कर्मचारीबाट सीमित सेवा दिइरहेका छन् । त्यो क्रिटिकल कमिटीले परिचालन गरेको हुन्छ ।’ उनका अनुसार बैंकहरुले निकै अप्ठेरो स्थितिमा क्रिटिकल कमिटी बनाउँछन् । त्यो कमिटी संकटको समयमा बैंकिङ सेवा कसरी सूचारु गर्नेमा केन्द्रीत हुने उनले बताए । ‘राज्य र सबै नागरिकको पहिलो प्राथमिकता बैंकिङ सेवा हो । बैंकमा विविध सेवा हुन्छन् । तर, संकटको समयमा नगद सेवाका लागि शाखा, काउण्टर, एटीएम सेवा दिनुपर्छ,’ उनले भने, ‘प्राकृतिक विपत्ति, राजनीतिक घटनाक्रम लगायतको समयमा बैंकिङ सेवालाई निरन्तर सूचारु गर्न बैंकभित्र क्रिटिकल कमिटी गठन गरेर काम हुन्छ । त्यो कमिटी अहिले सक्रिय भएको छ ।’ संकटको समयमा नागरिकलाई चाहेको बेला क्यास (नगद) उपलब्ध गराउने काम सोही कमिटीले गर्ने उनले बताए । कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौड्याल बैंकले यस्तो टिम खडा गरेर काम भइरहेको बताउँछन् । अहिलेको समयमा छिटोभन्दा छिटो बैंकिङ सेवा उपलब्ध गराउने गरी कमिटी सक्रिय रहेको उनको भनाइ छ । ‘अहिलेको समयमा कसरी काम गर्ने, कर्मचारीको जिउधनदेखि बैंकको सम्पत्ति संरक्षण र सुरक्षित गर्न केन्द्रीयस्तरमा एउटा टिम (सेल) गठन गरिएको छ । सोही कमिटीले काम गरिरहेको छ,’ उनले भने, ‘व्यवस्थापन टिम, शाखा, प्रादेशिक कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ । कमिटी मार्फत सूचना सम्प्रेषणको काम भइरहेको छ ।’ नेपाल बैंकका चिफ फाइनान्स अफिस प्रकाश कुमार अधिकारी क्रिटिकल समयमा विजनेश कन्टिन्यूटी प्लान (बीसीपी) अनुसार क्रिटिकल कमिटी गठन गरिने बताउँछन् । नेपाल बैंकमा कोरोनाकालमा यस्तो कमिटी गठन गरेर सेवा सुचारु गरिएको उनको भनाइ छ । ‘सबै जना अफिसमा जान सकिएन, सीईओ, डीसीईओ उपस्थित नहुन सक्ने अवस्था आयो वा सीईओ अफ्ठेरोमा पर्छ भन्ने लागेको अवस्थामा क्रिटिकल कमिटी गठन गरेर काम गर्ने गरिन्छ । कोरोनाकालमा क्वीक रेस्पोन्स कमिटी (क्यूआरसी) गठन गरेका थियो,’ उनले भने, ‘सीईओबाहेक अरुलाई अथोरिटी दिएको हुन्छ । बैंकहरुले कोरोनाकालको क्रिटिकल कमिटी पुन जन्माएको वा नयाँ गठन गरेको हुन सक्छ ।’ राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट आफ्नो संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको छ । नेपाली सेनाले जारी गरेको निषेधाज्ञा तथा कर्फ्युको समयमा नेपाल बैंकर्स संघले बिहान १० बजेदेखि २ बजेसम्म बैंकका शाखा खोल्ने निर्णय गरेर पत्राचार गरेको छ । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अघिकृत (सीईओ) अनिल शर्माका अनुसार काठमाडौंमा ३ वटा, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा र उपत्यका बाहिर प्रशासनसँग समन्वय गरेर सेवा दिन बैंकहरूलाई पत्राचार गरिएको छ । सोही अनुसार आज उपत्यकामा खुलेका बैंकका शाखाहरुमा १५/२० वटा कारोबार भएको बैंकरहरु बताउँछन् । ‘बैंकहरुले न्यूनतम बैंकिङ सेवा दिइरहेका छन् । डिजिटल बैंकिङ, इन्टरनेशनल ट्रेड सपोर्ट, आरटीजीए, आइपीएस, कनेक्ट आईपीएस सेवा दिइरहेका छन्,’ एक बैंकरले भने, ‘सेलेक्टेड गरेर बैंकका शाखा कार्यालय खोलिएका छन् । तर, भीडभाड छैन । खुलेका शाखामा १५/२० वटा मात्रै कारोबार भएका छन् ।’
जेनजी आन्दोलनमा बैंकको पैसा लुटपाट, लकर तोडफोड, कुन बैंकमा कति नोक्सान ?
काठमाडौं । जेनजी आन्दोलनकारीहरुले बैंक तथा वित्तीय संस्थाहरूका दर्जनौं शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुर्याएका छन् । बैंकरहरुका अनुसार देशभर बैंकलाई टार्गेट गरी दर्जनौं शाखा कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । साथै, बैंकको शाखा कार्यालय तोडफोड गरी पैसा समेत लुटिएको पाइएको छ । एनआईसी एशिया बैंकका १४ वटा एटीएम मेसिन, ५ वटा शाखा कार्यालय, ६ वटा काउण्टरमा क्षति पुगेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले जानकारी दिए । उनका अनुसार भौतिक संरचनामा क्षति पुर्याएको भएपनि पैसा भने चोरी नभएको उनले बताए । उनले कर्मचारीहरू भने सुरक्षित रहेको जनाए । कुमारी बैंकको दुलेगौंडा शाखा कार्यालयमा क्षति पुगेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालले जानकारी दिए । घरमा बाहिरबाट ढुंगामुढा गर्ला बैंकको सिसा फुटेको उनले बताए । साथै, हेटौंडाको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिन ड्यामेज भएको उनले जनाए । कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो । ‘स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको थियो । त्यही क्रममा हुलदङ्गामा गोली प्रहार हुँदा बैंकका सहयोगी कर्मचारी अशोक श्रेष्ठको टाउकोमा लाग्यो । गोली कसले हानेको स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘उहाँ बैंकको कम्पाउन्ड भित्रै हुनुहुन्थ्यो । काम गरिरहेको अवस्थामा गोली लागेको हो ।’ उनका अनुसार हिजो नै अन्नपूर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए । ‘प्रेसर स्टेबल हुन नसकेका कारण डक्टरको सल्लाह अनुसार आज अप्रेशन गरियो । र, गोली निकालिएको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भनेर डक्टरले भन्नु भएको छ,’ उनले भने । उनका अनुसार बैंकको कीर्तिपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरिएको छ । लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ । हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा क्षति भएर खरानी भएको सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खालीले जानकारी दिए । तर, लकर र भल्टमा भने क्षति नभएको उनको भनाइ छ । न्युरोड शाखामा क्षति हुन्छ की भन्ने आशंका गरिएको भएपनि खासै क्षति हुन नपाएको उनले बताए । उनका अनुसार भैरहवा एयरपोर्ट, आईटी प्लाजा कमलादी, हिलटन होटल परिसर, विराटनगरको भाटभटेनीको र बुटवलको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको छ । तर, नगद भने सुरक्षित रहेको उनले बताए । ‘अन्य संरचनामा आगजनी गर्दा क्षति भएको भन्दा पनि आन्दोलनकारीले फुटाउनै खोजेको देखिएको छ । उनीहरुले एटीएम नै झिकेर फालेका छन्,’ उनले भने । ग्लोबल आइएमई बैंकका अनुसार कान्तिपुर भवनमा रहेका बैंकका २ वटा विभागमा क्षति पुगेको छ । भवनमा आगो लगाउँदा बैंकको सेन्ट्रल ट्रेड र इन्टरनल अडिट विभागमा क्षति पुगेको बैंकका चिफ फाइनान्स अफिसर चन्द्रराज शर्माले जानकारी दिए । उनका अनुसार आन्तरिक राजस्व विभाग, यातायात व्यवस्था, मालपोत कार्यालय लगायतमा रहेको बैंकको राजस्व संकलन काउन्टरमा भौतिक क्षति पुगेको छ । देशभर के कति क्षति भएको छ भनेर भोलीसम्म तथ्याङ्क आउन सक्ने उनले बताए । ‘चितवन र सर्वाेच्च अदालत परिसरका एक/एक, पोखरामा ३ वटा, तुलसीपुरमा २ वटा काउण्टर गरी ७ वटा काउण्टरमा क्षति भएको छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार कुन ठाउँमा बैंकमा कति क्षति भएको छ भनेर विवरण संकलनको काम भइरहेको बताउँछन् । बानेश्वर शाखा, दुहबी शाखा, भैरहवा शाखा र केही एटीएम मेसिन तोडफोड भएको सूचना आएको उनले बताए । ‘शाखा, काउण्टर र एटीमए मेसिन गरेर एक दर्जन संरचनामा क्षति पुगेको छ । बानेश्वर शाखामा पैसा पनि चोरि भएको जानकारी आएको छ । अरु शाखामा कम्प्युटर चोरी भएका छन् । कति रकम चोरी भएको छ त्यो संकलन भइरहेको छ । ५ वटा एटीएम तोडफोड भएका छन् । पैसा भने निकालिएको छैन । थप क्षतिको विवरण आउन बाँकी छ,’ उनले भने । नेपाल बैंकका सीईओ तिलकराज पाण्डेयका अनुसार बैंकको काँकडभिट्टा, गौरादह, ताप्लेजुङमा गरी ३ वटा काउण्टर र एउटा एटिएम मेसिनमा क्षति भएको छ । माछापुच्छ्रे बैंकको भरतपुर मालपोत, सिंहदरबार परिसर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग परिसर गरी ३ वटा एटीएम मेसिनमा क्षति पुगेको बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए । सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको जनाएको छ । प्रभु बैंकको लैनचौर शाखामा पनि तोडफोड भएको बैंकले जानकारी दिएको छ ।
जेनजी आन्दोलनको नाममा अराजकता, थापाथलीका विभिन्न शोरुममा तोडफोड र आगजनी, अर्बौंको क्षति
काठमाडौं । जेनजीको नाममा भएको आन्दोलनका क्रममा थापाथली क्षेत्रका विभिन्न कम्पनीका गाडीका शोरुमहरूमा व्यापक तोडफोडसँगै आगजनी गरिएको छ । जबकी कुनै पनि राजनीतिक दल वा विवादमा संलग्न नरहेका निजी कम्पनी तथा ब्राण्डहरूका शोरुममा आक्रमण गरिएको हो । प्रदर्शनकारीहरूले शोरुमको सिसा फुटाएरभित्र प्रवेश गरी बिक्रीका लागि राखिएका नयाँ गाडीहरूको सिसा र संरचना निर्ममतापूर्वक नष्ट गरेको कम्पनीहरुले बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियोहरूमा शोरुमहरु तोडफोड गरेको देख्न सकिन्छ । यसैगरी केही प्रदर्शनकारीहरूले शोरुमको कार्यालयभित्र पसेर फर्निचर, कागजात, कम्प्युटर आदि जलाउने, लुटपाट गर्ने र आगजनी गर्ने कार्यमा समेत संलग्न भएको बताइएको छ । निजी सम्पत्तिमा गरिएको यस्तो व्यापक क्षतिले आन्दोलन अराजक लुटपाट र हिंसात्मक मोडमा प्रवेश गरेको संकेत दिएको छ । थापाथली क्षेत्रमा रहेको सिजी, हुण्डाई, महिन्द्रा, टाटालगायतका अन्तर्राष्ट्रिय ब्राण्डका शोरुमहरू पूर्ण रूपमा क्षतिग्रस्त छन् । यो घटनापछि थापाथली क्षेत्र अहिले उजाड र त्रासित देखिएको छ । व्यवसायीहरू आक्रोशित भएका छन् भने प्रतिक्रिया दिन नसक्ने अवस्थामा छन् । प्राप्त जानकारीअनुसार सुजुकी ब्रान्डका ११ वटा सवारीसाधनमा क्षति पुगेको छ । महिन्द्राका ३ वटा गाडी क्षतिग्रस्त भएका छन् भने १ वटा गाडीमा आगजनी गरिएको छ । सिप्रदी ट्रेडिङ (टाटा) का ४ वटा सवारीसाधनमा क्षति पुगेको छ । सिजी मोटर्स अन्तर्गतका १४ वटा गाडीमा क्षति पुगेको छ । यस्तै, हुण्डाई शोरूमको मुख्य गेटमा तोडफोड गरिएको छ । जेनजी आन्दोलनको नाममा मंगलबार गाडीका शोरुमहरू मात्र होइन, अर्बौं रुपैयाँ लगानीमा स्थापना गरिएका ठूला होटल, सुपरमार्केट, टेलिकम कम्पनी, विद्यालयहरूमा समेत आक्रमण गरिएको छ । यसले देशको पहिल्यै कमजोर रहेको व्यवसायिक वातावरणलाई थप अस्थिर बनाएको छ ।
जेनजी आन्दोलनले कठिन परिस्थितिमा पर्यटन क्षेत्र
काठमाडौं । पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटन मैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् । ‘जेनजीका मागहरु सम्बोधन गर्न एक पल पनि ढिला गर्नुहुन्न र देशलाई अरु थप क्षति हुनबाट जोगाउनु आवश्यक भइसकेको छ, अब उपरान्त ध्वंसको बाटो सदाका लागि अन्त्य हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । जेनजीका माग सम्बोधन गर्ने गरी निश्कलंक र सर्व स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्न र देशमा अबिलम्ब शान्ति र अमन चयन कायम गर्न अनुरोध पनि विज्ञप्तिमा गरिएको छ । सङ्घ र टानले जेनजी प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।