विशेष साधारण सभाबाट पारित भयो नेरुडे र मिर्मिरे लघुवित्तको मर्जर प्रस्ताव
विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था मर्जर सम्बन्धिको प्रस्ताव पारित गरेको छ । संस्थाको आइतबार बसेको बिशेष सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित गरेका हो । सभाले एक आपसमा गाभिए पश्चात बन्ने लघुवित्त संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने, दुबै लघुवित्त कम्पनिको शेयर अनुपात क्रमशः १ः१ कायम गर्ने प्रस्ताव पारित गरेको छ । सभाले एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही/प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारित भएको छ । मोरङ्गको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच गत पौष ११ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । २०७९ माघ २६ गते नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमती प्राप्त गरी मर्जर सम्बन्धिको काम कार्यवाही अगाडी बढाईएको थियो ।
मर्जरमा गएका बैंकहरुको हालत खराब
काठमाडौं । राष्ट्र बैंकको बिग मर्जरको नीति अनुसार गत वर्ष एक दर्जन वाणिज्य बैंक मर्ज भए । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण गत वर्ष १२ वटा बैंक मर्जर प्रक्रियामा सामेल भएर ६ बैंकमा सीमित भए । गत वर्ष नबिल र नेपाल बङ्गलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन र सिभिल बैंक, प्रभु र सेञ्चुरी बैंक र कुमारी र एनसीसी बैंकबीच मर्ज सम्पन्न भयो । हाल लक्ष्मी र सनराइज बैंक मर्जर प्रक्रियामा छन् । मर्जर पश्चात् बैंकहरुको बिजनेश ग्रोथमा फड्को मार्ने अपेक्षा गरिएको थियो । मर्जरले सिनर्जी सिर्जना गर्ने धेरैको धारणा थियो । तर, मर्जर पश्चात् पनि बैंकहरुको सिनर्जीमा खासै प्रगति नभएको जानकारहरु बताउँछन् । बिग मर्जरमा सामेल भएका बैंकहरुलाई मर्जर बिनै अन्य बैंकले पनि टक्कर दिन थालेको देखिन्छ । बैंकरहरु पनि मर्जर पश्चात् बैंकको बिजनेश ग्रोथ नभएको बताउँछन् । मर्जरमा गएर पूँजीमा अब्बल बनेको बताइरहने बैंकहरु अन्य सूचकमा भने कमजोर बनेका छन् । पूर्व बैंकर पर्शराम कुँवर मर्जरमा गएका बैंकहरुको सिनर्जी आजको भोलि नै नआउने बताउँछन् । मर्जरमा गएका बैंकहरुको लागत उच्च हुने भएकाले वित्तीय विवरण उत्साहजनक आउन अझै समय लाग्ने उनको भनाइ छ । ‘मर्जरमा गएका बैंकहरुको सिनर्जी तत्कालै आउँदैन, आजको भोलि नै उत्साहजन वित्तीय प्रतिवेदन आउँदैन, बैंकको सिस्टम राइट गर्नुपर्ने, मर्जरमा भएको खर्च व्यवस्थापन गर्नुपर्छ, मर्जरको सिनर्जी आउन १÷२ वर्ष अझै लाग्छ तर, सिनर्जी आउने गरी बैंकहरुले लय समातेका छैनन्,’ उनले भने । उनका अनुसार मर्जरमा गएका बैंकहरुले तथ्याङ्क तोडमोड गरेर सार्वजनिक गरेका छन् । हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा मर्जरबाट आएका दुइटै बैंकको तथ्याङ्क भएपनि गत वर्षको तथ्याङ्कमा भने एउटै बैंकको मात्रै उल्लेख गरेको उनको भनाइ छ । ‘अहिले केही बैंकहरबीच सिनर्जी आउने किसिमको मर्ज भएको देखिँदैन, खराब खराब बैंक मर्ज हुँदा महाखराब हुन सक्छन्,’ उनले भने । राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल मर्जरमा गएका बैंकहरुको वित्तीय विवरण उत्साहजन आयो वा आएन भन्दा पनि समग्रमा हेर्नु पर्ने बताउँछन् । अहिले मर्जरमा मात्रै नभएर मर्जरमा नगएका बैंकहरुको वित्तीय प्रतिवेदन खासै उत्साहजनक नभएको उनी पनि बताउँछन् । समग्र अर्थतन्त्रमा परेको प्रभाव वित्तीय प्रतिवेदनमा परेको उनको भनाइ छ । ‘बैंकिङ्ग क्षेत्र चुनौतिपूर्ण अवस्थामा भन्न मिल्दैन, पूँजी लगायतका सूचक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरु अब्बल नै छन्, बैंकको खराब कर्जा दर टाइट भएपनि त्यो पनि असहज अवस्था होइन, बैंक तथा वित्तीय संस्थाहरु कुनै असर गरेके छैन, राम्रा छन्, पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव बैंकिङ्ग क्षेत्रमा देखिएको हो,’ उनले भने । उनले बैंकहरुको बिजनेश ग्रोथ, कर्जा विस्तार लगायतका हिसावमा विस्तारै सिनर्जी आउने बताए । कुनको अवस्था कस्तो ? नबिल बैंक गत असारमा नेपाल बङ्गलादेश बैंकलाई गाभेको नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब भन्दा बढी नाफा कमाएर बैंकिङ्ग क्षेत्रमा नम्बर वान बनेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवण अनुसार चैत मसान्तसम्म ५२.६२ प्रतिशत नाफा बढाएर ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको हो ।गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७.७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष २५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । बैंकको तथ्याङ्क अनुसार वितणयोग्य नाफा १ अर्ब७७ करोड २० लाख रुपैयाँ रहेको छ ।९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ ।चैत मसान्तसम्म बैंकको खराब कर्जा दर बढेर २.७३ प्रतिशत बढेर ३.८७ प्रतिशत पुगेको जनाएको छ । ९ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी ८४ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मेगा बैंकसँग मर्जर गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तेस्रो त्रैमासमा २३ प्रतिशत नाफा बढाएर३ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकले ३ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले मेगा बैंकसँग मर्ज गरेपछि हरेक सूचकमा सुधार आएको देखिएको छ । तर, सिनर्जी नै सिर्जना भने भएको देखिँदैन । बैंकको खराब कर्जा ३.९४ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८७.०५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा २.२० प्रतिशत खराब कर्जा थियो भने ९२.४३ प्रतिशत थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।यस्तै, बैंकको प्रतिसेयर आम्दानी १५.२० रुपैयाँ रहेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर भई बनेको ग्लोबल आइएमई बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा१७ प्रतिशतनाफा वृद्धि भएर ४ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको निक्षेपसंकलन ४ खर्ब ९ अर्ब र कर्जा प्रवाह ३ खर्ब ६२ अर्ब रुपैयाँ गरेको छ । गत वर्षकोसोही अवधिमा बैंकले २ खर्ब ७६ अर्ब निक्षेप र२ खर्ब ५८ अर्ब कर्जा लगानी गरेको थियो । बैंकको हाल ३.९६ प्रतिशत खराब कर्जा पुगेको छ । गत वर्षको सोही समयमा बैंकको खराब कर्जा १.४५ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ । हिमालयन बैंक सिभिल बैंकलाई गाभे पश्चात् हिमालयन बैंकको खुद नाफा२४.४६ प्रतिशत बढेर १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ । गत आवको सोही त्रैमासमा बैंकले१ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको देखिन्छ । बैंकको यसअवधिमा निक्षेप संकलन ५६.५४ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब रुपैयाँ रकर्जा प्रवाह ६१ प्रतिशत बढेर २ खर्ब ३७ अर्ब रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.९९ प्रतिशत खराब कर्जा थियो । प्रभु बैंक सेञ्चुरी बैंकलाई गाभेको प्रभु बैंकको १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले तेस्रो त्रैमासमा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन र २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, यो अवधिमा बैंकको खराब कर्जा ३.४८ प्रतिशत पुगेको छ । कुमारी बैंक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर गरेको कुमारी बैंकले१ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले यस अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन र २ खर्र्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.९ प्रतिशत पुगेको छ ।
यूनियन, प्राइम र गुराँस लाइफबीच मर्जरको लागि अन्तिम सम्झौता सम्पन्न
काठमाडौं । यूनियन, प्राइम र गुराँस लाइफबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । तीन कम्पनीबीच बुधबार विशेष साधारण सभामार्फत एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित भएको हो । सो सभाले गाभिए पश्चात बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । साथै तिनवटै कम्पनिको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र ,सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने , चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनतयार गर्नका लागि नियुक्त गर्ने प्रस्ताव पारित भएकाे छ ।
अजोड र यूनाइटेडले डाके विशेष सभा, मर्जरपश्चात् अजोडको ८२.५ कित्ता सेयर
काठमाडौं । मर्जर प्रस्तावलाई अन्तिम रुप दिन अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैशाख ४ गते बसेको बैठकले बैशाख २५ गते विशेष साधारण सभा बोलाएका हुन् । अजोड इन्स्योन्सको सभा यूनाइटेड ट्रेड सेन्टर त्रिपुरेश्वर र यूनाइटेड इन्स्योरेन्सको अनमोल ब्याङ्क्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे बोलाएका हुन् । सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिए पश्चात् यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन बीमा व्यवसाय सुरु गरिने प्रस्ताव पारित गर्नेछन् । दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । एकीकृत कारोबार पश्चात् अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् । विशेष साधारणसभा प्रयोजनार्थ अजोडले बैशाख १२ गते र यूनाइटेडले बैशाख १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, सेयरधनीको हात रित्तो
काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले २६औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितीको बैशाख ४ गते बसेको बैठकले बैशाख २९ गते प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको सभाले भविष्यमा कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने ( एण्ड एक्विजिशन) सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । फाइनान्सको साधारणसभा प्रयोजनार्थ बैशाख १२ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
मर्जरलाई अन्तिम रुप दिन नेरुडे र मिर्मिरेले डाके विशेष सभा, स्वाप रेसियो १:१ अनुपात
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएका छन् । नेरुडे लघुवित्तको सञ्चालक समितीको चैत २४ गते र मिर्मिरे लघुवित्त सञ्चालक समितीको चैत १६ गते बसेको बैठकले बैशाख १० गते साधारण सभा बोलाएका हुन् । दुवै लघुवित्तको सभाले एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । दुवै लघुवित्त एक आपसमा मर्जर भएपश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ । साथै लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १२ मा र कर्पोरेट कार्यालय काठमाडौं र ललितपुर महानगरपालिका बाहेक काठमाडौं उपत्यका भित्र रहने प्रस्ताव पारित गर्नेछ । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त १ः१ सेयर स्वाप अनुपात रेसियोमा मर्ज हुनेछन् । दुवै लघुवित्तबीच गत चैत १८ गते मर्जर सम्बन्धी अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३८ करोड, २५० शाखा कार्यालय, ३ लाख सेवाग्राही पुग्नेछ । साथै, लघुवित्तको निक्षेप ६ अर्ब २५ करोड रुपैयाँ, कर्जा लगानी १९ अर्ब रुपैयाँ र कर्मचारी संख्या १ हजार ३ सय पुग्ने मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशीले जानकारी दिए । मिर्मिरे लघुवित्तबाट मर्जर समिति संयोजक सन्तोष फुयालले लघुवित्त क्षेत्रमा दुवै लघुवित्तबीच बिग मर्जरको रहेको बताए । दुवै संस्थाबीच गत पुस ११ गते एक आपसमा गाम्भे तथा गाभिने गरी प्रारम्भिक सम्झौता भएको हो ।
मर्जरलाई अन्तिम रुप दिन धौलागिरी र खप्तड लघुवित्तले डाके सभा, धौलागिरीको नामबाट कारोबार हुने
काठमाडौं । मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्न धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेका छन् । मर्जरको अन्तिम चरणमा रहेका दुवै लघुवित्तले बैशाख १६ गते वार्षिक साधारण सभाबाट पारित गर्न सभा बोलाएका हुन् । धौलागिरी लघुवित्तको सञ्चालक समितीको चैत २१ गते बसेको बैठकले चौँथो वार्षिक साधारण सभा उपल्लाचौर बागलुङमा बिहान १० बजे बोलाएको छ भने अप्तड लघुवित्तको सञ्चालक समितिको चैत २० गते बसेको बैठकले तेस्रो वार्षिक साधारण सभा अत्तरीया कैलालीमा दिउँसो १ बजे बोलाएको छ । दुवै लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, दुवै लघुवित्तले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछन् । दुवै लघुवित्तको सभाले एकआपसमा मर्जर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच गत मंसिर १८ गते सम्झौता भएको हो । मर्जर पश्चात् धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा धौलागिरी लघुवित्तका अध्यक्ष ईश्वरलाल राजभण्डारी र सीईओमा खप्तड लघुवित्तका सीईओ सुरेश बहादुर बम रहने सहमति भएको छ । बैशाखसम्म एकीकृत करोबार गर्ने लक्ष लिइएको छ भने स्वाप रेसियो डीडीए रिपोर्ट अनुसार निर्धारण गरिनेछ । मर्जरपश्चात् धौलागिरी लघुवित्तको केन्द्रिय कार्यालय बागलुङलाई मुख्य कार्यालयका रुपमा तोकिने छ । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १४ करोड ३१ लाख रुपैयाँ पुग्नेछ भने ५० वटा शाखा कार्यालय पुग्नेछ । राष्ट्रियस्तरको धौलागिरी लघुवित्तको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ । सुदूपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।
विशेष साधारण सभाबाट पारित भयो आइएमई जनरल र प्रुडेन्सियलको मर्जर प्रस्ताव
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीचको मर्जर आज विशेष साधारण सभाबाट पारित भएको छ । बुधबार दुवै कम्पनीको विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको हो । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । मर्जरपछि नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ भएको छ ।
बिग मर्जरका कारण बैंकका कर्मचारीले जागिर छाड्न थाले : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा कर्मचारीहरुलाई वेवास्ता गरिएको बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं महाधिवेशन तथा ३३ औं दिवश कर्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । बैंकिङ्ग क्षेत्रमा बिग मर्जरको अवधारणा अघि बढाइएको भएपनि कर्मचारी व्यवस्थापनमा चुकेको थापाको भनाइ छ । मर्जरपश्चात् कर्मचारीलाई अपायक पर्ने ठाउँमा सरुवा गरेको उनले बताए । ‘बिग मर्जर पछाडि लगानीकर्ताको लगानी सुरक्षित भयो, अर्थतन्त्रको आवश्यकता पनि बैंकहरुको मर्ज हुनुपर्छ तर, वर्षाैदेखि काम गरेर आएका कर्मचारीलाई वेवास्ता गरिएको छ,’ उनले भने, ‘मर्जरका बेलामा कर्मचरीको वृत्ति विकास वा अधिकारको ख्याल गरिएन, कतिपयलाई अपायक पर्ने ठाउँमा पठाएर हतोत्साहित गरेको छ, काम छोड्नु पर्ने सम्मको अवस्था श्रृजना गरिएको छ ।’ उनले यस्ता गतिविधिमा व्यवस्थापन तहको आँखा नपुगेको बताए । बाहिरबाट मर्जर भएपनि भित्रि रुपमा सकसको अवस्था रहेको उनको भनाइ छ । साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि छुट्टै स्वास्थ संस्था खोल्नका लागि प्रयास गर्ने उनले बताए । बैंक विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । ‘देशको आर्थिक स्थिती खराब रहेका बेला प्रतिकूलताको फाइदा उठाएर केही अराजक व्यक्तिहरुले संगठित भएर बैंक तथा वित्तीय संस्थाको विरुद्धमा आन्दोलन गर्दैछन्, जसले समग्र राजनीतिक र आर्थिक स्थीरता खलबल्याउने काम गरेको छ,’ उनले भने, ‘बैंकमा काम गर्ने कर्मचारीलाई अप्ठ्यारो पार्ने गतिविधिलाइ सरकारले किन्तुपरन्तु नभनेर कारवाही गर्नुपर्छ, अराजक गतिविधि भनेको अपराधिक गतिविधि हो, अपराधीक गतिवधिले दण्ड पाउनुपर्छ ।’ उनले नेपालको अर्थतन्त्र संकटग्रस्त नभइ समस्याग्रस्त अवस्थामा पुगेको बताए । बाह्य क्षेत्रमा कडाइ गरेपछि विदेशी मुद्राको सञ्चिती बढेको उनको भनाइ छ । आयातमा कडाइ गर्दा राजश्व संकलनमा कमी आउँदा चालू खर्च गर्न ऋण लिनुपर्ने स्थिती आएको उनले बताए । नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएपनि सरकारसँग पारस्परीक सम्बनध कायम गरेर अर्थतन्त्र सुधार गर्नुपर्ने उनको धारणा छ । ‘सबैभन्दा बढी कर्जा जग्गामा जान्छ, जुन अनुत्पादक क्षेत्र हो, जसलाई ब्यापारले धेरै मूल्यअभिवृद्धि गर्दैन्, अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र नेपाल रास्ट्र बैंकबीच पारस्परिक सम्बन्ध हुनुपर्छ,’ उनले भने, ‘राष्ट्र बैंकले को कहाँबाट सरकारमा आएको छ भनेर हेर्नु हुँदैन, विश्वसनीय र पारदर्शी सम्बन्ध कायम गर्नुपर्छ ।’
युनियन र गुराँससँगको मर्जर प्रस्ताव पारित गर्न प्राइमले बोलायो विशेष साधारण सभा
काठमाडौं । युनियन लाइफ र गुराँस लाइफसँगको मर्जर प्रस्ताव पारित गर्न प्राइम लाइफ इन्स्यारेन्सले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख ७ गतेको लागि विशेष साधारण सभा बोलाएको हो । सभाले मर्जर गरेपछि जिवन व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले तीन कम्पनीबीचको मर्जरलाई लिएर सम्बन्धी सबै प्रस्ताव पारित गर्नेछ ।
मर्जरलाई अन्तिम रुप दिन यूनियन लाइफले बोलायो विशेष साधारणसभा
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न यूनियन लाइफ इन्स्यारेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख ६ गते चैरहवा रुपन्देहीमा बिहान साढे १० बजे साधारण सभा बोलाएको हो । यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने र मर्जरपश्चात् हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा व्यवसाय सुरु गर्ने प्रस्ताव पारित गर्नेछ । तीनै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने र मर्जर पश्चात् कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौं महानगरपालिका १ मा रहने गरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि चैत २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।
युनाइटेड-अजोड इन्स्योरेन्सबीच अन्तिम मर्जर सम्झौता, अध्यक्षमा श्रेष्ठ, स्वाप रेसियो कति ?
काठमाडौं । मर्जर प्रकृयामा रहेका युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौता भएको छ । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । श्रोतका अनुसार दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको हो । अर्थात अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । दुई कम्पनी मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने छ । जसको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् भने सीईओको भने हालसम्म टुंगो लागि नसकेको श्रोतले बतायो । सम्भवतः युनाइटेडको तर्फबाट सीईओ हुने सम्भावना प्रवल रहेको बुझिन्छ । त्यस्तै, हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ (५ प्रतिशत बोनसपछि) पुगेको छ । अजोडको एक अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ । १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्ने छ । अन्तिम सहमति पत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीले अब करिब डेढ महिनाभित्रमा एकीकृत कारोबार गर्ने योजना बनाएका छन् । ‘सबै काम समयमै सकिएमा आगामी बैशाख अन्तिम साताभित्र एकीकृत कारोबार गर्छौं होला,’ सम्बद्ध श्रोतले विकासन्युजसँग भन्यो । यसअघि अजोड इन्स्योरेन्स प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति भएको थियो । तर अन्तिम घडीमा स्वाप रेसियोमा कुरा नमिलेपछि दुई कम्पनीबीचको मर्जर भाँडिएको थियो । त्यसको लगत्तै अजोड र युनाइटेडबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो ।
सेवा सुविधा सुनिश्चित गरेर मात्रै मर्जर गर्न दुई बीमा कम्पनीका कर्मचारी संघको माग
काठमाडौं । प्राइम, गराँस र युनियन लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको रोजगार सुनिश्चि गरेर मात्र मर्ज हुन पाउने कर्मचारीहरुले माग राखेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघ र गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघले संयुक्त मर्जर समितिलाई चिठी लेख्दै यस्तो माग राखेका हुन् । कर्मचारीहरुको सम्मानजनक रुपमा समायोजन गरिनुपर्ने, कर्मचारीहरुले खाई(पाई आएको तलव भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामुहिक सौदावाजीको माध्यमबाट प्राप्त हुदै आएका सेवा सुविधा कटौती गर्न नहुने, मर्जर पश्चात कर्मचारीहरुले पाउने तलव भत्ता सुविधा र अन्य सेवा शर्तमा विभेद गर्न नहुने उनीहरुको माग छ । यस्तै, उनीहरुले कर्मचारीहरुका लागि सम्मानजनक र न्यायोचित स्वेच्छिक अवकास ९ भिआरएस० को योजना ल्याउनुपर्ने र मर्जर पश्चात कम्पनीको नयाँ बन्ने कर्मचारी विनियमावली बनाउंदा कर्मचारी संघको छलफल र सहमतिमा निर्माण गरिनुपर्ने माग राखेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिने अन्तिम सहमति भइसकेको छ । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिने भएका हुन् । तसर्थ, यी तीन वटै कम्पनीमा १०० कित्ता सेयर हुने सेयरधनीहरूले मर्जर पछि बन्ने कम्पनीको पनि १०० कित्ताकै दरमा सेयर पाउनेछन् । मर्जरपछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ ।
आरएमडीसी लघुवित्तको २७ प्रतिशत लाभांशसँगै मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २७.३६ प्रतिशत लाभांश पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभाबाट लाभांश पारित भएको हो । लघुवित्तको संचालक समितिको गत वर्षको नाफाबाछ सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र १.३६४ प्रतिशत नगद लाभांश यस्तै, उक्त सभाले संचालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आ.व. २०७८/०७९ कोे वार्षिक प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । अध्यक्ष जोशीले आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाको ३१५ वटा साझेदार संस्थासँग कर्जा लगानीमा बाँकी ११ अर्ब ८४ करोड रहेको बताइन् । उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जस अनुसार आरएमडीसीको १०० कित्ता सेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।
हामी कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जरको प्रकृयामा छैनौं : सिद्धार्थ बैंक
काठमाडौं । सिद्धार्थ बैंकले आफु कुनै पनि प्रकारको मर्जरको प्रकृयामा नरेहको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै आफु कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जरको प्रकृयामा नरहेको जानकारी दिएको हो । ‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तिय संस्था बीचमा मर्जर एक्विजेशन सम्बन्धी फैलाइएको समाचार तर्फ यस बैंकको ध्यानआकर्षण भएको छ । त्यस्ता समाचारहरुमा कुनै पनि आधरिकता नरहेको व्यहोर सम्पुर्ण सरोकारवालाहरुलाई जानकारीका लागि अनुरोध गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।
४ कम्पनीको साधारणसभा आज हुँदै, लाभांश र मर्जर मुख्य एजेण्डा
काठमाडौं । तीन लघुवित्तसहित ४ वटा संस्थाको बार्षिक साधारणसभा शुक्रबार हुने भएको छ । छिमेक लघुवित्त, साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको वार्षिक साधारणसभा आज चैत्र १० गते बस्ने भएको हो । छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा हेटौंडा–४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कूल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ । लघुवित्तको सभाले अधिकृत पुँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउनेछ । साथै, बोनस सेयर वितरणपश्चात् चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, साना किसान लघुवित्तको २४ औँ वार्षिक साधारणसभा कृषि विकास बैंक केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.३६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, आरएमडिसी लघुवित्तको २४ औँ बार्षिक साधारणसभा अमृत भोग कालिकास्थान, काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साना किसाना लघुवित्त र आरएमडिसी लघुवित्तको सभाले एकआपसमा मर्ज हुने सम्बन्धी प्रस्तावहरु प्नि पारित गर्नेछन् । आरएमडिसी लघुवित्तको १ कित्ता सेयर बराबर साना किसान लघुवित्तको ०.८७ कित्ता (१ः०.८७)को स्वाप रेसियोमा मर्ज हुनेछन् । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा त्रिभुवन आर्मी अफिर्स क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
मर्जरमा जाने कम्पनी भाग्यमानी हुन् : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले मर्जरमा जाने कम्पनीको प्रशंसा गरेका छन् । बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कम्पनीहरुले बीमा समितिको मर्जर नीतिलाई अनुशासित ढंगले आत्मसाथ गरेर अगाडि बढेको भन्दै मर्जरमा जाने कम्पनीहरुको प्रशंसा गरेका हुन् । ‘बीमा कम्पनीहरु मर्जर हुनु समग्र बीमा क्षेत्रका लागि सकारात्मक हो, कम्पनीहरुले पुँजी वृद्धिका लागि मर्जर नीति अवलम्बन गर्नु प्राधिकरणका लागि पनि सकारात्मक हो, मर्जरमा जाने कम्पनीहरुले प्राधिकरणबाट केही सुविधाहरु पनि पाउँछन्,’ उनले भने, ‘मर्जरमा जाने कम्पनीहरु भाग्यमानी हुन् ।’ उनले समान किसिमका व्यवसायिक घरना भएका कम्पनी मर्जरमा जाँदा थप सिनर्जी उत्पन्न हुने धारणा राखे । मर्जर भएका कम्पनीहरुमा हालसम्म कुनै पनि समस्या नआएको पनि उनको भनाइ छ । ‘अहिलेसम्म भएका मर्जरमा कुनै समस्या आएका छैन, लगानीको दायरा बढाउनुपर्छ, इनोभेसन, रिसर्च, डिजिटल प्लेटफर्म जोड दिनुपर्छ, मर्जमा जाने कम्पनीलाई प्राधिकरणले पनि सहयोग गर्छ,’ उनले भने । अध्यक्ष सूर्यप्रसाद सिलवालले दुई वटा कम्पनी एकीकृत भई एउटा सशक्त कम्पनी बनेकोमा बधाईसँगै शुभकामना व्यक्त गरे ।
मर्जरलाई अन्तिम रुप दिन आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सले डाके विशेष साधारणसभा
काठमाडौं । मर्जर प्रक्रियामा रहेका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै कम्पनीका सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले चैत २२ गते विशेष साधारण सभा बोलाएका हुन् । आइएमई जनरल इन्स्योरेन्सको लैनचौर ब्याङ्क्वेट काठमाडौंमा र प्रुडेन्सियल इन्स्योरेन्सको होटेल इच्छा सिमरा बारामा बिहान ११ बजे साधारणसभा गर्ने भएका हुन् । सोमबार दुई कम्पनीबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो । आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी सेयर अनुपात १ः१ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जरपश्चात् कम्पनीको केन्द्रिय कार्यालय आइएमई जनरल इन्स्योरेन्सको हाल कै कार्यालय कायम रहने छ । विशेष साधारणसभा प्रयोजनार्थ आइएमई जनरलले चैत्र १३ गते र प्रुडेन्सियलले चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले अघिल्लो दिनसम्म सेयर खरिद गरि कायम सेयरधनीहरु मात्रै सभामा सहभागि हुन पाउने छन् ।
मर्जर, एफपीओ र लाभांश प्रस्ताव पारित गर्न नयाँ सारथीले डाक्यो साधारण सभा
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले १४औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको चैत ४ गते बसेको बैठकले चैत २८ गते होटल जुगल धुलिखेल काभ्रेपलाञ्चोकमा दिँउसो १ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, सर्वसाधारणको लागि छुट्याएको साधारण सेयर सम्बन्धीत निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्नेछ । यस्थै, एफपीओ र बोनस सेयर वितरणपश्चात् पूँजी वृद्धि हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्नेछ । नयाँ सारथी र विजय लघुवित्तबीच हुने मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यी दुवै लघुवित्त गत मंसिर २६ गते १ः१ स्वाप रेसियो अनुपातमा मर्जसम्झौता भएको हो । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् । मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन्
मर्जरमा गएकालाई पनि टप्दै एनआईसी र राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट आक्रामक
काठमाडौं । बैंकहरुबीच मर्जर गरेर नम्बर वान बन्ने रणनीति भइरहेका बेला एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक भने मर्जर बिना नै आक्रामक देखिएका छन् । मर्जर गरेर ठूलो पूँजी निर्माण गरी उल्लेख्य रुपमा नाफा गर्ने रणनीति बनाएका बैंकलाई पछि पार्दै यी दुई बैंकले चालू आर्थिक वर्षको माघमसान्तसम्म सन्तोषजनक नाफा गरेका छन् । चालू आर्थिक वर्षको ७ महिनासम्म सबैभन्दा बढी नाफा गर्ने बैंकको अग्रस्थानमा नबिल बैंक छ भने दोस्रोमा एनआईसी एशिया बैंक, तेस्रोमा ग्लोबल आइएमई बैंक, चौंथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ । यी पाँच बैंकमध्ये नबिल, ग्लोबल आइमएई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्जरले बढी नाफा गर्न सफल भएका छन् भने एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक मर्जरबिनै मर्जर भएका बैंकलाई टक्कर दिइरहेका छन् । समीक्षा अवधिमा नबिल बैंकले ४ अर्ब १३ करोड, एनआईसी एशिया बैंकले ३ अर्ब ६७ करोड, ग्लोबल आइएमई बैंकले ३ अर्ब ५५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड रुपैयाँ नाफा गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नबिल बैंकले १६ प्रतिशत बढी नाफा गरेको छ भने एनआईसी एशियाले २८.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ३४.३३ प्रतिशत नाफा बढाएका हुन् । ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा भने गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने १२ वटा बैंकको बढेको छ । समीक्षा अवधिमा सबैभन्दा नाफा बढी बढाउने बैंकको सूचीमा एभरेष्ट बैंक देखिएको छ । सबैभन्दा बढी घाटामा कृषि विकास बैंक देखिएको छ ।