
काठमाडौं । सरकारले ७० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य बीमा योजना भदौदेखि कार्यन्वयनमा ल्याउने भएको छ । अर्थ मन्त्रालयले स्वास्थ्य बीमा कार्यन्वयनमा ल्याउन अहिले कार्यविधि तयारीमा जुटेको छ ।
भदौभित्र कार्यविधि कार्यन्वयनमा आउने अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले बताइन् । उनले भदौभित्र कार्यविधिको काम सकिने जानकारी दिइन् । भदौमा कार्यन्वयनमा आएपनि बीमा साउनदेखि नै लागु हुने छ ।
सरकारले मासिक वृद्ध भत्ता बढाउनुका सट्टा जेष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य बीमा योजना अघि सारेको हो । सरकारले १ लाख रुपैयाँ बिमाङक रकमको बीमा गर्ने घोषणा गरेको छ । जसअनुसार बीमा शुल्क वार्षिक ६ हजार रुपैयाँ सरकार आफैले भुक्तानी गर्ने छ । मासिक ५ सय रुपैयाँका दरले बीमा शुल्क भुक्तानी गर्ने छ ।
सरकारले स्वास्थ्य बीमा भनेपनि अप्रत्यक्ष रुपमा मासिक भक्तामा वृद्धि भएको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष बीमा र आगामी वर्ष वृद्धाका लागि आवास योजनामा जाने बताइसकेका छन् । सरकारले स्वास्थ्य बीमा गरेको जस्तै आवास निर्माण गरिदिने छ ।जेष्ठ नागरिकको धेरै खर्च स्वास्थ्यमा हुने भन्दै सरकारले स्वास्थ्य बीमामा जोड दिएको बताएको छ ।