काठमाडौं । सरकारले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा आज आगामी वर्षको बजेट प्रस्तुत गर्न लागिएको हो ।
हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज (आईतबार) सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । शनिबार प्रतिनिधि सभाको बैठकबाट सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएसँगै आगमी वर्षको बजेट ल्याउने बाटो खुलेको हो ।
राष्ट्रिय सभाबाट भने गत शुक्रबार नै नीति तथा कार्यक्रम पारित भइसकेको छ । आगामी वर्षको बजेट अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नेछन् । सभामुख अग्नि सापकोटाले सम्पूर्ण सांसदहरूलाई आईतबार दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न रुलिङ गरेका छन् ।