
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक हुनुपूर्व नै सेयर बजारलाई प्रभावित गर्ने सूचनाहरु चुहिएका छन् । आजै शेयर बजारमा २७ अंकको गिरावट आएको छ ।
एउटै व्यक्ति, परिवार तथा कम्पनीले सेयर कर्जा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड लिन पाउने व्यवस्थालाई नयाँ मौद्रिक नीतिमा केही संशोधन गरिने भएको छ । उक्त व्यवस्था व्यक्ति तथा परिवारको लागि यथावत रहने भएको छ भने कम्पनीको हकमा उक्त सीमा नलाग्ने व्यवस्था गर्न लागिएको छ ।
संशोधित नयाँ व्यवस्थाले पुँजी बजारलाई सहयोग नगर्ने भएकोले शुक्रबारको बजारमा उच्च गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । ‘कर्जा लिएर सेयरमा लगानी गर्ने गरी कम्पनीको संख्या नगन्य छ, व्यक्तिलाई दिने कर्जाको सीमा नबढ्ने भयो’ एक लगानीकर्ताले भने- ‘त्यहि भएर बजार घट्यो ।
मौद्रिक नीति मार्फत ४/१२ को सीमा हट्ने अनुमानसहित गत साता सेयर बजारमा मूल्य र कारोबार दुबै बढेको थियो । शुक्रबार भने नेप्से परिसूचक २७.२६ विन्दुले घटेर २०१७ अंकमा सीमित भएको छ । आज एक अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
राष्ट्र बैंकले समग्रमा कर्जा विस्तार नियन्त्रण गर्ने, उत्पादन मुलक क्षेत्रमा जाने कर्जालाई प्रोत्साहित गर्ने र सेयर, घर जग्गा, गाडी लगायत अनुत्पादक क्षेत्रमा जाने कर्जा लगानी नियन्त्रण गर्ने नीतिगत व्यवस्थालाई जोड दिने भएको छ । यसले पनि आजको सेयर बजार प्रभावित गरेको लगानीकर्ताहरु बताउँछन् ।
सेयर लगानीकर्ता दवाद समूहका अध्यक्ष हरि ढकाल पनि शुक्रबारको बजार नचाहिने हल्लाले घटेको बताउँछन् । ‘बजारमा व्याजदर बढ्ने लगायतका नकारात्मक हल्ला खल्ला छ, त्यसैले घटीरहेको हो,’ उनले विकासन्युजसँग भने ।
नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भने बजारमा मौद्रिक नीति चुहियो भन्ने हल्ला रहेको बताएका छन् । तर आफ्नो जानकारीमा भने त्यस्तो केही पनि नभएको उनको भनाई छ । ‘मौद्रिक नीतिमा अनउत्पादक क्षेत्रको ब्याज रिटर्न बढाउने, तर उत्पादक क्षेत्रको ब्याजदर यथावत राख्ने अथवा १/२ प्रतिशत घटाउने होला,’ रौनियारले बताए ।