
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकमाभन्दा सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुने बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बचतकर्ताले बैंकमा पैसा राख्नुभन्दा सेयर बजारमा लगानी गर्दा फाइदा हुने बताएका हुन् ।
सेयर बजारलाई स्वस्थ्य बनाउन नेपाल राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ छ ।
‘आम लगानीकर्ताको बैंकमा भन्दा सेयर बजारमा लगानी गर्दा अलिकति फाइदा हुन्छ की भनेर लगानी गरेका हुन्छन्, लगानीकर्ताहरुले पेट कटाएर (खाना नखाई) आम्दानी हुन्छ भनेर लगानी गरेका हुन्छन्,’ उनले भने, ‘सेयर बजार आम लगानीकर्ताको लागि हुनु पर्छ, बजारको विकासका लागि पनि राष्ट्र बैंकले पनि भूमिका निर्वाह गर्नु पर्छ ।’
उनले सेयर बजार प्रतिको विश्वास कम गराउने काम आफूहरुबाट नहुने बताए । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको भएपनि सीमित व्यक्तिहरुले चलखेल गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार रियल सेक्टरका उद्योगहरुलाई सेयर बजारमा ल्याउन जरुरी छ ।
‘सीमित व्यक्तिहरुले बजारमा चलखेल गर्ने र उनीहरुको स्वार्थ अनुसार नै बजार तलमाथि भईरहेको छ, यसलाई तत्काल रोक्नु पर्छ,’ उनले भने, ‘बजारमा धेरै सक्रिय र बिज्ञ लगानीकर्ताहरुले सबै लगानीकर्तालाई करको दायरमा ल्याउँछ भनेर करका बिषयमा गलत प्रचार गरे, करको गलत ब्याख्या गरेर सीमित ब्यक्तिहरुले फाइदा लिए ।’
उनले ५६ लाख लगानीकर्तालाई देखाएर सीमित व्यक्तिले फाइदा लिने काम बन्द हुनु पर्ने धारणा राखे । अर्थमन्त्री डा. महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताए । उनका अनुसार सेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण रहेकाले बोर्डको जिम्मेवारी र दायित्व बढेको छ ।
‘पुँजी बजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी हो, उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्ने छ र अझ उचाइमा पुर्याउने छ,’ उनले भने ।
सेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने उनले बताए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउन होइन । यस विषयमा सीमित गानीकर्ताहरुले गलत हल्ला चलाएको उनको भनाइ छ ।
‘सेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न हुँदैन, पूँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरुको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी हो,’ उनले भने ।