प्रतिनिधिसभाको बैठक बस्दै, रोकिएको निजामती विधेयक पारित गरिँदै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्ने गरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपति समक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

यस्तै, आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । अपरान्ह १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरू मध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरू माथि सामूहिकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।

Share News