समृद्धि र पोखराको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, यस्तो बन्नेछ सञ्चालक समिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सलाई एक आपसमा गाभ्ने (मर्जर) प्रक्रियाका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले दुवै संस्थाबीच भएको मर्जर सम्झौता तथा प्रक्रिया पूरा भएपछि वैशाख २९ गते अन्तिम अनुमति दिएको हो । 

अब मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्नेछन् । राष्ट्र बैंकका अनुसार मर्जरपछि कायम हुने संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा सम्बन्धित विनियमावली र राष्ट्र बैंकका सम्पूर्ण निर्देशनहरूको पूर्ण पालना गर्नुपर्नेछ ।

त्यस्तै, दुवै संस्थाको सेयर स्वाप अनुपात १:१ रहने गरी पुँजी मिलान गर्नुपर्ने, धितोपत्र सूचीकरण प्रक्रिया पूरा गर्नुपर्ने तथा मर्जरपछि बनेको संस्थाको सेयर कारोबार एकीकृत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको पुतलीसडकमा रहनेछ भने रजिष्टर्ड कार्यालय गण्डकी प्रदेशको पोखरा महानगरपालिका-९ मा रहनेछ । राष्ट्र बैंकले मर्जरपछि शाखा कार्यालयको व्यवस्थापन, स्थानान्तरण वा गाभ्ने विषयमा आवश्यकता अनुसार पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पनि गरेको छ ।

त्यस्तै, मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्राप्त भएको १५ दिनभित्र एकीकृत कारोबार सुरु हुने मिति सार्वजनिक गर्नुपर्ने र १ महिनाभित्र पूर्ण रूपमा एकीकृत कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । 

null

यस्तो बन्नेछ मर्जरपछि सञ्चालक समिति

मर्जरपछि बन्ने पोखरा फाइनान्सको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जपछि बन्ने सञ्चालक समिति सात सदस्यीय हुनेछ । समृद्धि फाइनान्सबाट चार जना र पोखरा फाइनान्सबाट तीन जना सञ्चालक रहने सहमति भएको छ ।

समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे सञ्चालक बन्नेछन् । हालका अध्यक्ष अजय मिश्र गाभिएपछि पनि अध्यक्ष बन्ने स्रोतले जनाएको छ । विनोद कुमार सुवेदी र रोशन पन्त भने बाहिरिने छन् ।

पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ सञ्चालक बन्नेछन् । हालका अध्यक्ष राजकुमार गुरुङ र गंगा घले भने बाहिरिनेछन् ।

मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश गुरुङ बन्ने सहमति भएको छ । कर्मचारी व्यवस्थापन आन्तरिक रूपमा भइरहेको कम्पनीले जनाएको छ । कर्मचारीहरू हाल जुन पदमा छन्, सोही पदमा रहने र सेवा-सुविधामा कुनै कटौती नहुने स्पष्ट पारिएको छ ।

कर्मचारी संख्या करिब ३ सय पुग्नेछ, जसमा पोखरा फाइनान्सका करिब २ सय र समृद्धिका करिब १ सय कर्मचारी समाहित हुनेछन् । मर्जरपछि शाखा सञ्जाल ३६ वटा पुग्नेछ । 

Share News