आवास छोड्न व्यवस्थापनको दबाब, कर्मचारीकाे अस्वीकार

काठमाडौं । कान्ति बाल अस्पतालले अस्पताल परिसरभित्रको कर्मचारी आवास (क्वाटर) अवैधानिक रूपमा प्रयोग गरिरहेको भन्दै २९ जना कर्मचारीलाई आवास खाली गर्न निर्देशन दिएको छ । 

तर, कर्मचारीहरूले भने उक्त निर्णय गर्ने क्वाटर व्यवस्थापन समिति नै वैधानिक नभएको दाबी गर्दै सूचनालाई अस्वीकार गर्ने बताएका छन् ।

देशकै केन्द्रीय बाल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पताल सक्षम नेतृत्वको अभाव र व्यवस्थापकीय विवादका कारण बेला-बेलामा चर्चामा आउने गरेको छ । पछिल्लो पटक अस्पतालको क्वाटर व्यवस्थापन समितिले करार, अस्थायी तथा काजमा अन्यत्र खटिएका कर्मचारीलाई आवास खाली गर्न निर्देशन दिएपछि नयाँ विवाद उत्पन्न भएको हो ।

अस्पताल प्रशासनका अनुसार करार, अस्थायी, काजमा बाहिर रहेका तथा दोहोरो सुविधा लिइरहेका कर्मचारीलाई ३५ दिनभित्र आवास छाड्न सूचना जारी गरिएको छ । अस्पतालका प्रवक्ता रामबन्धु शर्माले यस्ता २९ जना कर्मचारीलाई आवास खाली गर्न निर्देशन दिइएको जानकारी दिए ।

क्वाटर व्यवस्थापन समितिका संयोजक राजेश गुप्ताले समितिको बैठकबाट विधिवत निर्णय गरी सूचना जारी गरिएको दाबी गरे । ‘हामीले बैठक बसेर विधिसम्मत रूपमा सूचना जारी गरेका हौं,’ उनले भने ।

तर, समितिका संयोजक गुप्तालाई नै अस्पताल आवासमा कति आवासीय युनिट छन् भन्ने यकिन जानकारी नभएको पाइएको छ । 

उनका अनुसार हाल २९ वटा आवासीय युनिट अवैधानिक रूपमा प्रयोग भइरहेको निष्कर्ष निकालेर ती खाली गर्न सूचना जारी गरिएको हो । 

‘अवैधानिक रूपमा प्रयोग भएका २९ वटा युनिट खाली गर्न सूचना जारी गरेका हौं,’ उनले भने । 

गुप्ताका अनुसार तर आवासभित्र कुल कति युनिट छन् भन्नेबारे उनलाई यकिन जानकारी छैन ।

उता कर्मचारी पक्षले भने अस्पताल प्रशासनले अस्थायी र करार कर्मचारीमाथि विभेद गर्न खोजेको आरोप लगाएको छ । कान्ति बाल अस्पतालको विकास समिति कर्मचारी युनियनका अध्यक्ष शमशेर नेपालीले व्यवस्थापनले कर्मचारीलाई विभिन्न आधारमा विभाजित गरी कमजोर बनाउने प्रयास गरिरहेको बताए ।

‘बाहिर सरुवा भएर पनि आवास नछोड्ने, एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी युनिट प्रयोग गरिरहेको अवस्था छ भने नियमअनुसार त्यस्ता युनिट खाली गराउन सकिन्छ,’ नेपालीले भने । 

उनले अस्थायी र करार कर्मचारीलाई मात्र लक्षित गरेर आवासबाट निकाल्न खोज्नु उचित नभएको बताए ।

नेपालीले अस्पतालमा कार्यरत कर्मचारीले लामो समयदेखि उपभोग गर्दै आएको सुविधामाथि हस्तक्षेप गर्न खोजिए त्यसको प्रतिरोध हुने चेतावनीसमेत दिए । 

‘कार्यालयमा कार्यरत कर्मचारीले प्राप्त गरेको अधिकार खोस्न खोजियो भने त्यसको परिणाम राम्रो हुँदैन,’ उनले भने । 

नेपालीका अनुसार आवास व्यवस्थापन समिति नै अवैधानिक रहेको छ । अस्पताल व्यवस्थापन समितिले नियुक्त गर्नु पर्ने क्वाटर व्यवस्थापन समिति निर्देशकले नियुक्ति गरेको नेपालीले दाबी गरे ।

अस्पताल प्रशासन र कर्मचारी संगठनबीच आवास व्यवस्थापनलाई लिएर देखिएको विवाद समाधानतर्फ नजाँदा आगामी दिनमा थप तनाव उत्पन्न हुन सक्ने देखिएको छ । अहिले दुवै पक्ष आफ्नो अडानमा कायम रहेका छन् ।

प्रयोगशाला रिपोर्ट किर्तेबारे कान्तिबाललाई परिषदले सोध्यो स्पष्टीकरण

कान्तिमा करोडौंका उपकरण थन्किए

कान्तिबालको बदमासीमा मुछिए पूर्वमन्त्री बस्नेत, अख्तियारमा उजुरी

कानुनी अपराधमा कान्ति बाल, निजी ल्याबको रिपोर्ट आफ्नो भन्दै हस्ताक्षर

बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन

कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण

काजमै राज गरिरहेका भीआईपी चिकित्सक

Share News