पत्रकारको परिचयपत्रसहित ‘प्रहरी हुँ’ भन्दै धम्क्याउने डंगोल पक्राउ

काठमाडौं । आफूलाई प्रहरी हुँ भन्दै धम्क्याउने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ को फुटबल ग्राउन्ड क्षेत्रमा ‘म प्रहरी हुँ’ भन्दै धाकधम्की दिने ४७ वर्षीय शैलेश डंगोललाई नियन्त्रणमा लिएको हो ।

बुधबार राति करिब साढे ९ बजे काठमाडौं महानगरपालिका–३२ स्थित फुटबल ग्राउन्ड क्षेत्रमा एक व्यक्तिले प्रहरीले प्रयोग गर्ने जस्तो देखिने वाकी–टकी सेट देखाउँदै ‘म प्रहरी हुँ’ भन्दै धाकधम्की दिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सूचनापछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले डंगोललाई नियन्त्रणमा लिएको हो । डंगोलले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको छ ।

बाफिङ ब्रान्डको वाकी–टकी सेट, सवारीको ब्लुबुक तथा सूचना तथा प्रसारण विभागबाट प्रभाव दैनिक सञ्चार संस्थाको प्रेस प्रतिनिधिका रूपमा जारी गरिएको तर नवीकरण नगरिएको पत्रकार परिचयपत्रसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रहरी वृत्त नयाँ बानेश्वरबाट अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

Share News