५० वर्ष पूरा गरेको नाडाको स्वर्ण उत्सव सुरु, पूर्वअध्यक्षहरू सम्मानित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण उत्सव समारोह सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रबार काठमाडौंमा स्वर्ण उत्सवको उद्घाटन गरिएको हो ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा अटोमोबाइल क्षेत्रको पाँच दशक लामो यात्राको समीक्षा गर्दै आगामी योजनाबारे पनि चर्चा गरिएको थियो । २०३२ सालमा स्वर्गीय तोलाराम दुगडले स्थापना गरेको नाडाले स्वर्ण जयन्तीको अवसरमा राजधानीसहित सातै प्रदेशमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

उत्सवको पहिलो दिन दशरथ रंगशालादेखि होटल याक एन्ड यतिसम्म वाकाथन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नाडाका पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि, विभिन्न विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

यस अवसरमा नाडाले संस्थाका पूर्वअध्यक्षहरूलाई सम्मान पनि गरेको छ । स्वर्ण उत्सवअन्तर्गत असार १३ देखि १९ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

नाडाले हालसम्म २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन् । संस्थाले नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री, नाडा अटो न्यूज तथा नाडा अटो ड्राइभ क्यालेन्डर नियमित रूपमा प्रकाशन गर्दै आएको छ । साथै, आगामी भदौमा १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारीसमेत भइरहेको जनाएको छ ।

नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्नुका साथै राष्ट्रिय विपद्का समयमा सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने सञ्चालन महासचिव मिलनबाबु मल्लले गरेका थिए । 

Share News