काठमाडौं । चार पूर्वप्रधानमन्त्रीले वामपन्थी शक्तिबीच एकता, सहकार्य र आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन् । उनीहरूले वर्तमान राजनीतिक चुनौती, प्रतिगमनको जोखिम, कम्युनिस्ट आन्दोलनको कमजोर अवस्था तथा राष्ट्रिय संकटको सामना गर्न वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य हुँदै दिगो एकतामा पुग्नुपर्नेमा जोड दिएका हुन् ।
जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा सहभागी हुँदै उनीहरुले बामपन्थी शक्तिहरुबीच एकता गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम एकता दिगो हुनुपर्नेमा जोड दिँदै एकतापछि पुनः विभाजन हुन नहुने बताए । नेपाली कांग्रेस विभाजित भइसकेको टिप्पणी गर्दै उनले वामपन्थी शक्तिले त्यही गल्ती दोहो¥याउन नहुने धारणा राखे ।
‘कांग्रेस त फुटिसक्यो । एकता गर्दा ठूलो मिहिनेत गर्नुपर्छ, तर विभाजित हुन सजिलै हुन्छ । त्यसैले हामी मिल्यौं भने फेरि फुट्नु हुँदैन,’ उनले भने ।
ओलीले एमाले अहिले पनि एकताबद्ध रहेको र पछिल्लो निर्वाचनको परिणाम अस्थायी धक्का मात्र भएको दाबी गरे । ‘हामी लडेका छौं, तर मरेका छैनौं । फेरि उठ्छौं र प्रक्रियावादीहरूसँग लडेर पराजित गर्छौं,’ उनले भने ।
उनले अहिलेको मुख्य चुनौती प्रतिगमनलाई पराजित गर्नु रहेको उल्लेख गर्दै त्यसका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताए ।
केपी शर्मा ओली ।
विश्वभर अस्थिरतावादी, हिंसात्मक र लोकप्रियतावादी प्रवृत्ति बढिरहेको उल्लेख गर्दै उनले यस्ता शक्तिले लोकतान्त्रिक र वाम आन्दोलनलाई कमजोर बनाउन खोजेको आरोप लगाए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ समाजवाद निर्माणको आधार भएको उल्लेख गर्दै सत्ता होइन, जनताको समृद्धिका लागि राजनीति गर्नुपर्ने बताए ।
ओलीले देशलाई कमजोर पार्ने गरी ‘जेनजी आन्दोलन’ भएको दाबी गर्दै त्यस्तो आन्दोलन लोकतान्त्रिक आन्दोलन हुन नसक्ने बताए । एमालेलाई योजनाबद्ध रूपमा बदनाम गरिएको, झुटा प्रचार, भ्रष्टाचारका आरोप र चरित्रहत्यामार्फत कमजोर बनाइएको उनको भनाइ थियो । निर्वाचन प्रक्रिया पनि प्रतिकूल अवस्थामा गराइएको आरोप लगाउँदै उनले वैचारिक रूपमा नजिक रहेका शक्तिबीच सहकार्य अपरिहार्य भएको बताए ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिबीच सहकार्य र एकता ढिलो भए मुलुकले ठूलो राजनीतिक दुर्घटना बेहोर्नुपर्ने चेतावनी दिए । ‘मिल्न जति ढिला ग¥यो, दुर्घटना त्यति नै चाँडो हुन्छ । सहकार्य ढिला गर्ने नियत पनि दुर्घटना हुन सक्छ,’ उनले भने ।
२०७४ सालमा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई जनताले दुईतिहाइ मत दिएर अनुमोदन गरेको स्मरण गर्दै उनले अहिले पनि राष्ट्रिय संकटको सामना गर्न वाम शक्तिहरू मिल्नुपर्ने बताए । तत्काल पार्टी एकता नभए पनि सहकार्यबाट प्रक्रिया सुरु गर्नुपर्नेमा उनको जोड थियो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
प्रचण्डले वाम एकतासँगै मधेशी, थारू, जनजाति तथा अन्य राजनीतिक शक्तिहरूसँग समेत साझा राष्ट्रिय एजेन्डामा सहकार्य गर्नुपर्ने बताए । परिस्थितिअनुसार राजनीतिक रणनीति परिवर्तन गर्न सक्नुपर्ने उल्लेख गर्दै उनले वैचारिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय हितका आधारमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले भावनात्मक र सिद्धान्तनिष्ठ वाम एकताको आवश्यकता औंल्याउँदै कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न सबै कम्युनिस्ट शक्तिले आत्मसमीक्षा गर्नुपर्ने बताए ।
‘अब भावनाका रूपमा वाम एकता हुनुपर्छ । सिद्धान्तनिष्ठ एकता हुनुपर्छ । जो अगाडि बढ्दैन, ऊ छुट्छ,’ उनले भने ।
माधवकुमार नेपाल ।
नेपालले जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्नु, व्यक्तिवाद, भ्रष्टाचार र वैचारिक विचलनका कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको उल्लेख गर्दै सबै कम्युनिस्ट दलले इमान्दारितापूर्वक आत्ममन्थन गर्नुपर्ने बताए ।
उनले भने, ‘हामी कहाँ चुक्यौँ, कहाँ गल्ती ग¥यौँ ? विचार, सिद्धान्त, व्यक्तिवाद वा भ्रष्टाचारमध्ये के कारणले आन्दोलन कमजोर भयो भन्ने समीक्षा गर्नुपर्छ,’ भन्दै विचार, व्यवहार र संगठनमा सुधार गरेर मात्रै कम्युनिस्ट आन्दोलनले जनविश्वास पुनः प्राप्त गर्न सक्ने बताए ।
यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले एमाले र नेकपाबीच चुनावअघि नै कार्यगत एकता भएको भए वामपन्थीहरूले प्रतिनिधिसभामा करिब एक सय सिट जित्ने दाबी गरे । ‘करिब एक सय सिट वामपन्थीको हुन्थ्यो । आज यो अवस्था आउने थिएन । देशको परिस्थिति बेग्लै हुन्थ्यो । हामी इतिहास र जनताले माग गरेका कुरा अनुरूप अघि बढ्न सक्यौं कि सकेनौं भन्ने आत्मसमीक्षा गर्ने घडी हो,’ उनले भने ।
खनालले कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणको समीक्षा गर्दै आगामी दिनमा साझा रणनीति र कार्यगत एकतामार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।
झलनाथ खनाल ।
चारै पूर्वप्रधानमन्त्रीले फरक–फरक कोणबाट धारणा राखे पनि उनीहरूको साझा निष्कर्ष भने वर्तमान राजनीतिक चुनौतीको सामना गर्न वामपन्थी शक्तिबीच सहकार्य, आत्मसमीक्षा र दिगो एकताको विकल्प नरहेको भन्नेमा केन्द्रित रहेको थियो ।