रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ भोलि, पहिलो केन्द्रीय समिति बैठक पनि बस्ने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम भोलि बुधबार हुने भएको छ ।

पार्टीका अनुसार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराइनेछ । पार्टी सभापतिमा निर्विरोध निर्वाचित रवि लामिछानेले भने महाधिवेशनकै क्रममा यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

शपथग्रहणसँगै रास्वपाको नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हाल्ने बताइएको छ । त्यसलगत्तै बस्ने पहिलो केन्द्रीय समिति बैठकले पार्टी सचिवालयलाई पूर्णता दिने, सभापतिले मनोनयन गर्ने बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको टुंगो लगाउने र महाधिवेशनबाट पारित राजनीतिक तथा सांगठनिक कार्यदिशा कार्यान्वयनका विषयमा छलफल गर्ने तयारी गरिएको छ ।   

Share News