विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको छ : सांसद विष्ट

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीप्रति आपत्ति प्रकट गरेका छन् । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकार सुशासनको नारा दिएर फासीवादतर्फ उन्मुख भएको र संविधानमाथि नै खतरा पैदा गरेको आरोप लगाएका हुन् । 

बैठकको शुरुमा धान दिवसको शुभकामना दिँदै सांसद विष्टले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको एक मार्मिक गीतको प्रसङ्ग उल्लेख गरे । उक्त गीतले सहकारी ठगी, गरिबको रगत र वैदेशिक ऋणको चपेटामा परेको मुलुकको यथार्थ चित्रण गरेको भन्दै उनले सरकारको पृष्ठभूमि नै विवादास्पद रहेको बताए । 

सांसद विष्टले हालै सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र सो पार्टीका आन्तरिक दस्ताबेजहरूको चर्चा गर्दै रास्वपाभित्र वैचारिक द्वन्द्व देखिएको टिप्पणी गरे । उनले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै रास्वपाको कडा आलोचना समेत गरे ।

सरकारको कुटनीतिक असफलताका बारेमा चर्चा गर्दै उनले राहदानी (एमआरपी) प्रकरणमा जर्मनीले नेपाली दुतावासलाई बोलाएर गालीगलौज गर्नले नेपालको कुटनीतिक छवि धमिलिएको बताए । 

उनले भने, ‘अर्थमन्त्रीको दस्ताबेजमा प्रदेश सभा खारेजीको कुरा छ भने पार्टी सभापतिको दस्ताबेजमा पुनर्संरचनाको कुरा छ । ४१०० प्रतिनिधिमध्ये सीमित व्यक्तिले मात्र मतदान गर्न पाएको चर्चा सुनिन्छ, के यो पार्टी विभाजनको सङ्केत होइन ।’

प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई ‘हिटलरको ग्यास च्याम्बर’ सँग तुलना गर्दै संवैधानिक अङ्गका प्रमुखहरू र मानवअधिकार आयोगका सदस्यहरूलाई बोलाएर धम्क्याउने काम भएको आरोप लगाए । रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्रीलाई भेट्न गएका प्रधानसेनापतिले घण्टौँ कुर्नुपर्ने अवस्था आएको भन्दै उनले सरकारको कार्यशैली रहस्यमय रहेको बताए । 

विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको र शिक्षा तथा स्वास्थ्य क्षेत्र अस्तव्यस्त रहेको उल्लेख गर्दै सांसद विष्टले सुशासनको नारा केवल भ्रम मात्र भएको दाबी गरे । २०७२ को संविधानलाई निकम्मा बनाउने र देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको भन्दै उनले सम्पूर्ण नागरिकलाई सचेत रहन आग्रह गरे ।

संविधानको रक्षाका लागि आफूहरू सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गर्दै सांसद विष्टले सरकारलाई राजनीतिक र कुटनीतिक संवादमार्फत मुलुकका समस्या समाधान गर्न सुझाव दिए ।  

Share News