काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि समानान्तर रूपमा सक्रिय रहेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशस्तरीय बृहत भेला मंगलबार दाङको देउखुरीमा सुरु गरेको छ । पार्टी संगठनलाई पुनः सक्रिय बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो भेला देउवा पक्षको शक्ति प्रदर्शनका रूपमा पनि हेरिएको छ ।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा तत्कालीन सहमहामन्त्री किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा भेलाको उद्घाटन गरिएको हो । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको नेता गिरीले जानकारी दिए । भेलामा संगठन सुदृढीकरण, पार्टीभित्रको एकता, आगामी निर्वाचनको तयारी तथा वर्तमान राजनीतिक परिस्थितिबारे व्यापक छलफल भइरहेको नेता डा. दामोदर भुसालले बताए ।
विशेष महाधिवेशनपछि विभिन्न प्रदेशमा क्रमशः आयोजना गरिएका देउवा पक्षीय भेलाको अन्तिम श्रृंखलाका रूपमा लुम्बिनीको यो कार्यक्रमलाई हेरिएको छ । त्यसैले पनि भेलालाई देउवा पक्षको आगामी राजनीतिक दिशा र संगठनात्मक रणनीतिको संकेतका रूपमा समेत विश्लेषण गरिएको छ ।
यद्यपि, यसअघि लुम्बिनी प्रदेशमा देउवा पक्षका प्रभावशाली नेताका रूपमा चिनिएका केही नेताहरू भने यस भेलामा अनुपस्थित देखिएका छन् । उनीहरूको अनुपस्थितिले प्रदेशभित्र देउवा पक्षको आन्तरिक समीकरण र भावी रणनीतिबारे थप राजनीतिक चासो बढाएको छ ।