सामान्य थुनुवाजस्तै हिरासतमा छन् पौडेल, भेट्न जाने नेता/कार्यकर्ताको भीड

काठमाडौं । यतिखेर पूर्वअर्थमन्त्री विष्णु पौडेल प्रहरीको हिरासतमा छन् । ललितपुरको पुल्चोक प्रहरी प्रभागकाे हिरासतमा उनी छन् ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएपछि विभागको सिफारिस अनुसार प्रहरीले केही एक साताअघि उनलाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

उनलाई सामान्य थुनुवा व्यक्ति जस्तै गरेर हिरासतमा राखिएको ललितपुर प्रहरी परिसरका प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताए । उनका अनुसार कुनै पनि सुविधायुक्त ठाउँमा राखिएको छैन । 

उनको सम्पूर्ण अनुसन्धान विभागले गर्ने गरेको छ । प्रहरीले स्वास्थ्य सुरक्षादेखि  बसोबासको प्रबन्ध मिलाएको उनको भनाइ छ ।

‘हिरासतमा रहेका अन्य थुनुवा व्यक्ति सरह उनलाई पनि प्रहरी हिरासतमा राखिएको छ,’ उनले भने,’ हिरासतमा रहेका अन्य मानिसलाई जस्तै भेटघाटको समय तय गरिएको छ । हिरासत भित्र हुनुहुन्छ ।‘

परिवार, आफन्त तथा साथीहरू भेटघाटका लागि आउने गरेको प्रहरीले जनाएका छन् । सामान्य नागरिक, कार्यकर्ता तथा नेताहरू भेटघाटका लागि आउनेजाने गरेको एक प्रहरीले विकासन्युजलाई बताए ।

भेटघाट गर्ने समयमा नाम चलेका नेता तथा कार्यकर्ताहरू आउन गरेको प्रहरीले जनाएका छन् ।

हिरासतमा रहेका पौडेललाई भेटघाट गर्न आउने प्रत्येक व्यक्तिहरुको रेकर्ड राखिएको प्रहरीले बताएको छ । विशेष तरिकाले भेट्न आएका नेतालाई भने विभागको अनुमति लिएर मात्र भेटघाट गर्न दिने गरेको उनको भनाइ छ । 

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलविरुद्ध ३ दिनको म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो । उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राख्न पठाइएको छ ।

पहिलो पटक पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

Share News