काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।
मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं.८५ (घ) अन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने सुधार कार्यक्रमअनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो ।
मन्त्रालयले सरकारी अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च घटाउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखेको जनाएको छ ।
मन्त्री मेहताले सरकारी अस्पतालमा आउने बिरामीले आवश्यक औषधि सहज र सस्तो मूल्यमा अस्पतालबाटै प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएकी थिइन् ।
सोही निर्देशनअनुसार ट्रमा सेन्टर र वीर अस्पतालमा पनि सेवा सुरु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अब यी अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले आवश्यक औषधि बजारको तुलनामा सहुलियत मूल्यमा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
मन्त्रालयले शासकीय सुधार कार्यसूचीअनुसार देशभरिका सरकारी अस्पताललाई सुलभ फार्मेसी सुरु गर्न निर्देशन दिएको छ ।