काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरूको मागलाई सम्बोधन गर्दै ५० हजार वटा नयाँ विद्युत् मिटर भित्र्याएको छ ।
प्राधिकरणका अनुसार नयाँ मिटर जडानका लागि पर्खिरहेका सेवाग्राहीहरूलाई मध्यनजर गर्दै ती मिटरहरू सम्बन्धित सातै प्रदेशका प्रादेशिक तथा स्थानीय कार्यालयहरूमा पठाइसकिएको छ ।
नयाँ मिटर उपलब्ध भएसँगै प्राधिकरणले मिटर आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई आ-आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
इच्छुक ग्राहकहरूले कार्यालयमा गई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर तत्काल निवेदन दर्ता गर्न सक्नेछन् ।
विगतमा मिटर अभावका कारण केही समय रोकिएको नयाँ कनेक्सन प्रक्रिया अब तीव्र गतिमा अघि बढ्ने प्राधिकरणले जनाएको छ ।
आफ्ना सेवाग्राहीहरूलाई सहज, पारदर्शी र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नेपाल विद्युत् प्राधिकरण सधैं प्रतिबद्ध रहेको र आगामी दिनमा पनि मिटरको अभाव हुन नदिने विश्वास प्राधिकरणले दिलाएको छ ।